दीपेन्द्र के.सी
स्तव्ध छु म
तिमी नआउने खवरले ।
बर्षौबर्ष प्रतीक्षाले ठडिएका
पहाडहरूमाथि उक्लिएर हेर्दैथिएँ
तिम्रा बाटाहरू ;
वाचा पूरा गर्ने
रहरका उपहारहरू लिएर आउँछौ भन्ने थियो
गोरेटोमा धेरै पाइलाहरू टेकिए
तर तिमी देखिएनौ ।
सल्लेरीका एकोहोरो सिरेटोसँग
खबर मात्र आइरह्यो –
तिमी आउँदैनौ यसपालि पनि !
जगै हल्लिन लागेको पहाडमाथि स्तब्ध छु म
तिमी नआउने खवरले ।
आज कान्ति देख्दिन जूनमा
अँध्यारो ओढेर निदाएको बस्ती
मेरै सपना निलेजस्तो लाग्छ
धाराहरूमा बाढी उर्लिएको छ
र पोथराहरू चुटिएका छन
गह्रुङ्गा पाइलाहरू लतारेर
झर्छु फेदीतिर
आँधीजस्तै आउँछ कि ? खवरै नगरी ?
यस्तै झूठो आशा जोडेर
खोज्छु सपनाका अधिकारहरू ।
सबेरै यो उज्यालो, यो उमंग
हजारौं जवानी फक्राएर हाँसेका फूलहरू
यी सबैबाट टाढिएर देख्छु
त्यही डढेलो लागेको प्रतीक्षाको पहाड
र, ठोक्किइरहन्छ कानमा बारम्बार
तिमी नआउने खवर !
शंकैशंकाको सिंढी चढेर उक्लन्छु फेरि त्यही प्रतीक्षाको पहाड
र, रित्तो आकाश हेरेर
फेरि स्तब्ध हुन्छु म
तिमी नआउने खवरले ।।
दीपेन्द्र के.सी
१२ अप्रिल २०१३,
बागलुङ
हाल ओस्टण्डे बेल्जियम ।
