आज केही लेख्ने मुड चलेको छ तिम्रो बहानामा। तर सुरु कहाँबाट गरौँ! यति लामो बिछोडपछि पनि म केही लेख्नै सक्दिन तिम्रा लागि । किन थाहा छ? किनकि समयको पर्वाह नगरी, भौगोलिक दूरीको हरहिसाब नगरी तिमी हरदम मैमा छौ र म तिमीमा लपेटिएको हुन्छु । यो अटुट स्नेहको लहरोमा जेलिएपछि केही लेख्नै नसकिने रहेछ । तिमीलाई थाहै छ कुन बाध्यता र विवशताको मारमा परी म आजभन्दा ६ वर्ष पहिले तिमीलाई नाघेर ठुलो जहाजमा बसेर अपरिचित गन्तब्यतर्फ उडेको थिएँ । तिमीलाई छोड्दा आफ्नो दुधे बालक, मायालु पति र ब्रिद्दा आमालाई पनि त्यतै कतै छोडिराखेर यता बत्तीएको थिएँ । आजै जस्तो लाग्छ डाँकै छोडेर प्लेनभित्र पसेको, हेर्दाहेर्दै घर छुट्यो, परिवार छुट्यो, तिमी मेरो धरती छुट्यौ र लामो उडानसँगै तिमीमाथिको मेरो आकाश छुट्यो । तर पनि मैले त्यसबेला यतिधेरै गुनासो गरिन । तिमीलाई त केही भन्दै भनिन । आज यतिका पछि तिमीलाई नै भनेर केही शब्द जुटाउनुको कारण केही गुनासा र केही वाचा कसमका कुराहरू छन् जो आजै नभनी भएको छैन ।
तिम्रो छाती नाघेर कहिल्यै पर ननिस्किएको मान्छे म, त्यतिबेलासम्म लाग्थ्यो कि तिमी जस्तो छौ त्यस्तै ठिक । तिमीमा जे जे छ त्यही र त्यति नै संसार हो । त्योभन्दा पर र अरु केही नया होला भन्ने मलाई थाहा नै थिएन । तर जब जब तिमीबाट म टाढा टाढा उडिरहें तिमीमाथिको आफ्नै आकासबाट अरुका प्रगति, अरुका उपलब्धि र अरुकै सबथोक । अनि जब तिमी माथिको आफ्नो आकास छोडेर पराइको धरतीमा टेकें अनि पो देखें । तिमी मेरो नेपाल, मेरो ‘सबथोक’ कति पछाडिरहिछौ । तिमीलाई थाहा छ नेपाल! जब मैले माथि आकाशबाटै अरुका संसार रातको बिचमा पनि बेहुलीझैं उज्याली देखें, धरोधर्म तिमीलाई सम्झेर म कति विव्व्हल भएको थिएँ । संसारको दोस्रो धनीको गिन्तीमा तिमी आफ्ना छाती चिरेर बारैमास छंग्छंग छहरा पानी उमारेर बगाउँछौ तर रातको अन्धकारमा छिमेकीको दयास्वरुपको मट्टीतेल टुकीको धिप्धिपेमा म तिमीलाई नै देख्न सक्दिन थें । कत्रो बिडम्बना! यहाँको सडकमा लहरै आवस्यकताभन्दा बेसी झल्झलाइरहेका बत्तीबाट केवल एउटा बत्ती भएपनि रातमा त्यहाँ म तिमीलाई नियाल्न सक्थें होला । र सत्य अहिले पनि यी झिलमिल हेर्दा हरेकपटक म इर्श्याले जल्नेगर्छु ।
तिमीलाई लाग्ला म किन आफ्नै सोचाइ र भोगाइ बारे एकोहोरो फलाक्दैछु, किन तिम्रो हालखबर सोधिरहेको छैन । सोध्नु जरुरि नै छैन त के सोधुँ? हरेक दिन पराइलाई बेचेको समयबाट थोरै समय उब्रिदा हतार हतार समाचार पढ्छु अनलाइनतिर । नाराम्रा सही तर तिम्रो बारे हर एक खबर पढिरहेको हुन्छु । कुनै खबरमा पनि तिमी हाँसेको खुसी भएको र सन्तुस्ट भएको खबर कहीं कतै लेखिएको हुँदैन । जहिल्यै जतापनि भत्केको, खस्केको, रोएको चिच्याएको दुर्गति मात्रै लेखिएको हुन्छ । तिम्राबारे समाचार पढ्दा संधै सुस्केरा छुट्छन । झन् अचेल त जहिल्यै तिमी बन्द भएको खबर आउँछ । थाहा छ नेपाल! म यो इजरायल भन्ने मुलुकमा पाखुरा बजार्दैगरेको पुरा ६ बर्ष भयो तर आजसम्म यो देश एकैपटक पनि कुनैपनि राजनैतिक बहानामा बन्द भएको थाहै छैन । जबकी यो बिचमा यहाँ पनि संसदीय चुनाब भयो । स्थानीय चुनाब भयो । सरकार फेरियो, ससदमा अदलबदल भयो र संसारकै एक शक्तिशाली र बिकशित मुलुकमा यो उभिएको छ । तर तिमीलाई भने तिम्रै सन्तानले दैनिक जसो बन्दी बनाउछन । संसारका अन्य बिकशित मुलकसँग प्रतिस्पर्धा गर्नलाई त तिम्रा सन्तान शिक्षित हुनु पर्छ । तर संधै बन्दैवंदले खान त पाउदैनन् पढ्नु को के कुरा! उफ्फ्फ्फ़ यस्ता गुनासा तकति हो कति, गरेर साध्य छैन । फेरि भन्लाउ अरुलाई यस्तो गुनासो गर्नेले आफू चाहिं किन पलायन भएको त? किन मैसँग नबसेको त? तर तिमीलाई थाहा छ म तिमीदेखि टाढा लाग्नुको कारण । कत्रो जोश जाँगर थियो ममा । बिपन्न परिवारमा जन्मेर हुर्केर पनि मैले आफूलाई शिक्षाको उज्यालोले चम्किलो बनाउने कोसिस गरें । कैयन मुस्किलका बाबजुद म डटिरहें । आफूले सकिनसकी आफ्नो गाउँलाई शिक्षित बनाउँ भनेर म शिक्षक बनिन कि । सूचना र संचारलाई फराकिलो पारौं भनेर पत्रकार बनिन कि । बजारब्यबस्थामा केही गरौँ भनेर हात हालिन कि ।
जे जति गरें त्यो थोरै थिएन । छोरी हुनुको भूमिका निभाउँदा निभाउँदै कसैकी मायालु बनें । कुनै घरकी बुहारी बनें र अन्तत: कुनै सन्तानकी आमा बनें । कहाँ सजिलो थियो तिम्रो छातीमा कुनै महिला भएर जन्मिसकेपछि त्यति सजिलो आफूलाई प्रगति पथमा लम्काउन । मेरा रहरको त कुरै नगर । जिम्मेवारी र कर्तब्य कति थियो थियो । ती सबैलाई एकैसाथ अगाडि लैजाने हिम्मत हुँदाहुँदै पनि तिम्रो छातीमा पाखुरा बजारेर खाने अवस्था नरहेपछि नै मैले यो निर्णय लिएको थिएँ नि । तिमीलाई लाग्ला म स्वार्थि भएँ । र पलायन भएँ । त्यस्तो केही होइन नेपाल! चाहे जस्तो सुकै अवस्था होस्, भूगोलमा तिम्रो कहीं नाम र अस्तित्व छ र नै मैले घमण्ड गर्न सकेको छु । यहा जे छ सबै अर्कैको हो । यो पराइको माटोमा टेकेर पराइकै आकाश ओढेको हरेक पल मैले तिमीलाई सम्झेको छु । ज्याला मजदूरी गरेर आर्जन गरेको एक एक कौडी जम्मा गर्दै तिमी तिरै पठाएको छु । यहाँ जाने सिकेका शिप र ज्ञान अनि अनुभव बटुलेर भोलि फर्केपछि तिम्रो खुसीको लागि केही न केही गर्ने अठोट बोकिरहेको छु । तिमी मान या नमान तर मैले हरेक धड्कनमा तिमीलाई स्मरण गरेको छु । र लाख गुनासा बोकेरै पनि तिमीलाई अटुट माया गरेको छु अनि गरिरहनेछु । मलाई विश्वास छ ढिलो सही तर एक दिन तिमी हाँस्ने अनि म खित्किने दिन आउनेछ ।
यो भूमध्य सागरको अथाह पानीको कसम! यसैको छालसँग उत्ताउलिंदै बहने सिर्सिरे बतासको कसम! यी रात भगाउने झिलमिल उज्यालोको कसम! यी चौडा काला चिल्ला सुकिला सडकको कसम! कसम तिम्रो अनवरत ममत्वको कसम! म छिटै फर्कनेछु फेरि तिम्रो छातीमा लुटपुटिन । तिम्रो हरियालीमा लडिबुडी गर्न । तिम्रो छाती हुँदै सलल बग्ने संग्लो पानी घटघटी पिउन । म फर्किनेछु फेरि तिमीमै समाहित हुन । बस् अब थोरै अरु धैर्य गर । अब अलिकति अरु पर्ख । दुखले बाँचेर आर्जेको ज्ञान र धन बोकेर म हुत्तिन्दै आउनेछु तिम्रो मगमग सुवासमा झुम्न । अवस्य आउनेछु ।
तिम्रो केवल तिम्रो आफ्नो ‘म’
दीप्स शाह इजरायलबाट ।
