Skip to content

यात्रा थालौं प्रगतिको

  • by


आऊ साथी अब सब मिली, देश माथी उठाऊँ,
लाग्यो जो ग्रहण जगतमा, शान्त बन्दै छुटाऊँ ।
हामी जागे सकल जनता, फेर्छ यस्ले मुहार,
आमा नेपाल-कन सबले, पुष्पको लाउँ हार ।।

हामी जस्तै हुन-भुवनका, अन्य लागे अगाडी,
खाली वाँध्यौ कर-अनि गयो, देश हाम्रो पछाडी ।
भोलीसम्मन् पनि चुपबसे, होला की देश नष्ट,
खोजौला फेरि भन कसरी खै, न सोचौँ अनिष्ट ।।

नेता नीती जब कठिनमा, पर्छ गारो असाध्य,
नारीजाती अति कुपित भै, भोग्न पर्ने दुसाध्य ।
देशै छोडीकन नवयुवा, जान सोच्छन् विदेश,
खाली गाऊँ घरहरु सबै, बन्न थाल्यो विशेष ।।

यस्तो सारो विषम घडिको, पार तर्ने कसोरी,
सोचौं हामी छलफल गरी, देश बाँचोस् यसोरी ।
नेताकै पो भरपरि बसे, सिद्धियो साफ माटो
लोभीपापी नबन अनि पो, खुल्छ राम्रो सुबाटो ।।

आँखामा राख लिइ ममता, देश राम्रो बनोस,
माया साँची मुटुविच धरी देश हाम्रो भनोस ।
यात्रा लामो कठिन कसरी, पार गर्ने भनेर
बस्यौं भै चूप अनि चुचुरा, सक्छ कोही गनेर ।।

छाडौं त्यै लोभपन जनले, देशका जो जती छौं
यात्राथालौं प्रगतिपथको, देशमै को कती छौं ।
फिर्ता हौ देश अब परदेशी, हरु फर्किआऊ ।
फर्की आफ्नै रगतपसिना, देशमा नै बगाऊ ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *