Skip to content

मजदुरको जिन्दगी

  • by


लाज ढाक्न एउटा भोटो र धोति को जोहो गर्न
अनि, एक मुठी सास धान्नको लागि
घाम पानीको प्रवाह नगरी
बर्ष भरी नै गधा जस्तै लादिनु पर्ने
गोरु जस्तै जोतिनु पर्ने
यस्तै छ म एउटा मजदुरको जिन्दगी
मरुभूमिको छातीमा पसिनाको धारा पुछ्दै
कतै तातो घामसँग पाखुरी बजाउँछु
कतै उँट र भेडा चराउँछु
फेरि मान्छेको अनुहारै नदेखिने अनकन्टार ठाउँमा
कुनै पल डराउँदै, आफैँ भित्र हराउँदै एक्लै रमाउँछु
यस्तै छ म एउटा मजदुरको जिन्दगी
कहिले, भिर पहराहरूको साँघुरो गोरेटोमा धर्खरिंदै
पट्पटि फुटेको नाङ्गो पैतालाले
चुच्चे गग्रेटो र काँडाहरूमा टेक्दै हिमाल पुग्छु
कहिले, जीवन र मरणको दोसांधमा अल्झिंदै
बाध्यता र बिवास्ताको घाउहरू बल्झिंदै
कोइला खानीको ओढार भित्र पुरिन्छु
यस्तै छ म एउटा मजदुरको जिन्दगी
भोको पेटलाई पटुकीले टम्म कस्दै
अजंगको ढुंगा फोरेर
बिशाल गगनचुम्बी महलहरू बनाउँछु
साँझ बिहान पैदल हिंडेर
चिल्ला मोटर गाडी गुड्ने बाटो बानाउँछु
न झरीले रोक्छ न गर्मीले छेक्छ
अन्धाकार झुपडीमा गुजारा गर्दै
निरन्तर मेसिनसँगै आफूलाई घोटिरहन्छु
यस्तै छ म एउटा मजदुरको जिन्दगी
काम गर्दा गर्दै बिछ्याउनामा ढलेको हुन्छु
दलालको फन्दामा परेर छट्पटिन्दै रोएको हुन्छु
गुहार माग्ने ढोका बन्द हुन्छ
भोक र प्यासले तड्पिएको हुन्छु
न त कोही सहारा हुन्छ न त केही आशा हुन्छ
खाइ नखाई गरेको श्रामको मूल्य माग्दा
कि त बाँधिनु पर्छ कि त ज्यानै गुमाउनु पर्छ
यस्तै छ म एउटा मजदुरको जिन्दगी
मेरो नाममा सेमिनार र गोष्ठी हुन्छ
यही नाम कसैको लागि मागी खाने भाँडो भएको छ
अनि, कसैले राजनीति गर्ने साँघु बनाएका छन्
हरेक बर्ष श्रमिक दिवस पनि मनाउँछन् अरे
तर,
खोइ कहाँ र कसरी आउँछ श्रामिक दिवस
मलाई त केही अत्तो पत्तो नै हुँदैन
मत, झिनु प्राण धान्न एक छाक जुटाउनै तल्लिन हुन्छु
मेरो दिनचर्या संधै दुरुस्तै हुन्छ
यस्तै छ म एउटा मजदुरको जिन्दगी
यस्तै छ म एउटा मजदुरको जिन्दगी

लक्ष्मी अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *