Skip to content

यसकारण केयरगिभरको काम सबभन्दा कठिन हुन्छ


काम भनेको सबै नै गहारो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी तर हुन त सबैमा केही न केही गारो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन भने सुबिधा र रम्झम अर्कैको धेरै लाग्छ ।

विशेष पैसाकै निमित्त देश छोडेर टाढिएकाहरूको सवालमा र अँझै न्यून कमाइमा कष्टकर शारीरिक श्रम विनिमय गर्ने अदक्ष या अर्धदक्ष कामदारको हकमा भन्ने हो भने काम काम मात्र नभएर सजायं जस्तो बन्न पुग्छ । जिन्दगीको लम्बाइमा ‘बाध्यता’ भन्ने शब्द कसले निर्माण गर्यो होला भोगाइको शब्दकोशमा ? यही साढे तीन अक्षरको बाध्यताले मान्छेलाई हुत्यौंदै भूगोलको कुन कुन दिशामा लघार्छ र हामी उनीन्छौँ तिखो झिरमा विवश माछा उनीएझै अनेक कष्टसाध्य ‘काम’ नामको सुइरोमा ।

सामान्यतया काम भनेपछि कुनै निश्चित समयावधीको लागि तोकिएको स्थानमा कसैबाट निर्दिष्ट कर्तब्य पुरा गर्नु हो । चाहे त्यो सडकमा साबेल,पिक चलाउने होस्, डोकोमा इट बोकेर बिल्डिंग नामको सगरमाथा चढ्नु होस्, ढोकामा उभिएर पहरा दिनु होस् या अशक्त बिरामी कुरेर उसको म्रुत्युमंचन हेर्नु नै किन नहोस । यस्ता तमाम काम मध्ये अधिकांश अँझै भनुँ लगभग सबै काममा केवल काम र दामको सोझो साइनो हुन्छ । काम गर, पैसा थाप । तोकिएको समय कटाउ र बिदा होउ । त्यहाँ केवल श्रमको मूल्य तोकिएको हुन्छ । अधिकाँश श्रम बेच्ने हामी श्रमिकहरूको सवालमा बिसेष निकै पहिले देखि आउजाऊ हुने ठाउँ ‘खाडी’ मुलुकमा जाने श्रमिक दाजुभाइहरूको हकमा यो देखिन्छ कि तोकिएको समयावधीमा जस्तोसुकै कष्टसाध्य काम किन नहोस, पुरा गरेर आफ्नो पारिश्रमिक थापेर हाँसीहाँसी घर फिर्छन । त्यहाँ उनीहरूको केवल तोकिएको कामसँग साइनो हुन्छ र त्यसैसँग सम्बद्द श्रमको मूल्य तोकिएको हुन्छ चाहे त्यो श्रमको तुलनामा ज्यादै न्यून पारिश्रमिक दिएर चरम अन्याय गरिएको किन नहोस । यही अवस्था केयरगिभर नामको काममा पनि हुन्छ । उसरी नै श्रमको मूल्य तोकिएको हुन्छ तर यहाँ उठाउन खोजिएको कुरो के हो भने दुनियामा श्रमको मूल्य भएझैं मानवीय समबेदनाको कुनै मूल्य हुँदैन/ हुनैसक्दैन।

लामो बिछोडपछि, बर्षौको कहालीलाग्दो एकांकी रातहरू र निस्सार दिनहरू पछि सुटकेशमा मनोचाहि उपहार, खल्तीमा धेरथोर पैसो र हृदयमा उकुसमुकुस उल्लास अनि अनुहारमा आभायुक्त लालीगुराँस बोकेर आफ्नाहरूलाई भेट्न, आफ्नो माटो टेक्न फर्किंदै गर्दापनि अधिकांश केयरगिभर नेपाली अनुहारहरू गहभरी आँशु र मनभरी नजानिँदो बिषाद बोकेर फर्किन्छन,यो कस्तो बिडम्बना!! जबकी एकाधबाहेक खासगरी इजरायलमा कार्यरत नेपालीहरूले काम दाम या सुरक्षाको नाममा कुनैपनि अनावस्यक अवस्थासँग सम्झौता गर्नु पर्दैन । उनीहरूले काम गरे अनुरुप पाउनुपर्ने सबैखाले सुबिधा र पारिश्रमिक पाएकै हुन्छन तर पनि फर्किंदा आँखामा आँसु हुन्छ किन?

घरदेखि हुत्तिएर टाढा निकै टाढा पुगे देखि कुनै एक रोगी बृद्ध/बृद्धा को को स्याहारमा चौबिसै घण्टा लागि पर्ने केयरगिभरहरू समय र अवस्थासँगै एक कामदार मात्र नरहेर एक नर्स, शिकारु डाक्टर, आपतकालीन सहयोगी यन्त्र, सामान्य सुसारे, एक अतिव प्रिय आफन्त र यदाकदा ‘भगवान’ समेत बनिन्छन् । अत्याधुनिक युगको अति ब्यस्त समयले आफ्नाहरूलाई हुत्याएर एक्ल्याइएका अशक्तहरूको एक सुसारे मात्र नभएर सबैथोक र सबसे नजिकको आफन्त साबित भैदिन्छ्न । र अधिकांश रोगीहरू तिनै केयरगिभरको हातको अन्तिम थोपा पानी पिएर उनैका काखमा इहलिला समाप्त गर्छन । यसरी देख्दादेख्दैको परदेशी अन्नदाता हिंडदै, बोल्दै डुल्दै, हर रात एक छानामुनिरहंदा, हर छाक खाना एउतै टेबुलमा खाँदा कतिबेला थाहै नपाइ हृदयको एक अभिन्न ‘आफ्नो’ बनिसकेको हुन्छ र हेर्दाहेर्दै आफ्नै काखमा असह्य पीडामा छटपटउँदै सुटुक्क संसार छोडीदिन्छ । त्यसबेला आफूले पाउने हर सुबिधा र पारिश्रमीकको साथ् अतिरिक्त जेसुकै पाएपनि उसलाई बिदा गर्दा हृदयको अति सम्बेदनशील पाटो चर्किन्छ र आँखाबाट आँशु ओइरिदिन्छ किनकि त्यहाँ त्यसबेलासम्म थाहै नपाई जुन मानवीय समबेदना टुसाएर झाँगिसकेको हुन्छ त्यसको कुनै भरपाई, कुनै मूल्य हुँदै हुँदैन ।

जागिरको यही सबसे कठिन मोडमा उभ्याइदिएको छ क्रुर समयले आज मलाई । लगातार चार बर्ष एकै छानामुनि रात बितायौं चिपोरा र मैले । एकै टेवलमा खायौं,सँगै बाहिरको बगैचामा फूल रोप्यौं र गफिंदै पर बेनगुरियनको छातीबाट चिप्लिन्दै उडेका भीमकाय हवाईजहाज हेर्यौं । आफ्नो समयमा अति सुन्दर रुप परेकी चिपोरा इजरायलजस्तो शक्तिशाली बिकशित देशको मन्त्रालयमा अन्वेषक जस्तो काम गरेकी, इजरायली बौद्दिक समुहमा आबद्द रहेकी तीक्ष्ण दिमागी आधुनिक सफल महिलासँग लामो समय रहंदा धेरथोर पैसो त कमाएँ नै साथसाथै उनका अनुभव र भोगाइबाट निस्केका ती दृढ सोच, त्यो अमूल्य जीवनप्रतिको धारणा र स्वाभिमानका अनन्य गहना मैले हासिल गरें जसको मूल्य कुनै पनि जागिरबाट हात लाग्ने धनराशीमा तुलना हुनैसक्दैन । केवल एक सुसारेको महसुस हुन नै नदिने चिपोराले शेक्सपियरका कुरा झिक्दा म सिल्भिया प्लाथको प्रसंग निकाल्थें । उनले रुसी क्रान्तिको कुरो गर्दा म डायस्पोराको उद्गम प्रसंग उधिन्थें । उन्ले क्यानाडाको हरियाली सम्झंदा म नेपालकै सगरमाथा गफिन्थें ।

यस्तो लाग्थ्यो हामी आमै नातिनी हौँ, हामी स्कुल कलेजका सहपाठी हौँ र कहिले लाग्थ्यो एकै अफिसका कर्मचारी जस्तो । हाम्रा कुरा गरेका बिषय मिल्थे, स्तर मिल्थे र मिल्थ्यो हार्दिक सम्मान । उनैको साथमा मैले इजरायलको खेरमोंनको हिउँ खेलें । जेरुसलेमको पातलो जंगल नियालें र कोतेलको भित्तोमा प्रार्थना गरें । एलातको डल्फिनसँग पौडी खेलें अनि तिमना पार्कको सुन्दरता नियालें । उनैको पछि लागेर मिज्पे रमोनको बिशाल क्राटर मरुभूमिको स्वतन्त्र छाती विचरण गरें र हाइफाको अदभुतता द्र्श्यपान गरें । उनैको हात समातेर किन्नेरेतको पानीमा तैरिएँ अनि मृतसागरको कालिमाटीमा लटपटिएँ । उनीसँगै मुस्कुराउँदै इजरायलका तारे होटलका आनन्द लिएँ र डुलें सांगोपांगो इजरायल । जीवनमा संधै आशाबादिरहेर संसारलाई नियाल्ने यिनै अन्तरमुखी स्वाभाविमानी सफल महिलासँग जीवन बुझ्दै र तलब थाप्दै चार बर्ष बिताउँदा मैले सोचेकै थिइन त्यस्तो अग्राखजस्तो शरीर यसरी खोक्रिंदै थलिन्छ भनेर । सोच्नै भ्याएको थिइन त्यस्तो चम्चामाउँदो सूर्य जस्तो तेज यसरी क्रमशः मधुरो हुँदै जाला भनेर ।

भूमध्यसागरको पानीमा म लर्बराउँदा मलाई समात्ने हात आज केवल छालले मोरिएको हड्डी बनेर थर्थराइरहेछन मेरै सामु कति कमजोर बनेर । “why your eyes are teary?” भनेर मेरो हरेक उदासीमा नियाल्ने आँखाहरू मलाई नै नाचिने जस्तरी अनौठो हेर्छन भित्र कता कता खोपिल्टामा भासिएका गुच्चा जस्तो बनेर । त्यो बलियो सिंगो ज्यान केवल एक बोरा आलुजस्तो लडिरहेछ मेरै सामु र घरि घरि थर्थराउन्दै मेरा हात समात्न आइपुग्छ ती हात र सुनिन्छ आवाज,”आत अल्यादी?(तिमी मेरो छेउमै छौ?)” । मलाई थाहा छ म र चिपोरा दुवै मौन मौन मृत्यु कुरिरहेछौँ । तर म बेकारको भरोसाको पूल बाँध्न खोज्छु,” चिपोरा! हिए आकोल बेसेदर।” सबै ठिक हुन्छ” । तर यो त हामी दुवै जान्दछौं कि केही पनि ठिक हुनेवाला छैन । मैले चिपोरलाई स्याहारे मुताबिक हरेक महिना तोकेबमोजिम तलब पाएको छु र उनले मबाट आवस्यक रेखदेख पाएको आफ्नो ठाउँमा छ । आफ्नोहरूबाट टाढा रहंदा मेरो राजाको अँगालोले दिने न्यानो र सुरक्षित आभास, मेरो आमाको मिठो ममत्व र मेरो सानुको बदमासीले दिने प्रफुल्लता र मिठो हैरानी अनि मेरो देशले दिने स्वामित्वको न्यानोपन त दुनियाको कुनै बिलासिता या उपलब्धिसँग तुलना हुनैसक्दैन । तर ती सारा अपुरोपनलाई निकै हदसम्म पूर्ति गर्ने चिपोराको आफ्नोपन र सामिप्यताले मलाई यति धेरै नजिक बनाइसकेको रहेछ, यति कमजोर बनाइसकेको रहेछ । मलाई समातेर लम्किने मान्छेलाई विवश र लाचार देख्छु र व्हिल्चियरमा राखेर धकेल्छु, अनायासै मेरा आँखाहरू सुटुक्क रोइरहेका हुन्छन यो आभासमा कि कुनैपनि बेला हामी अलग्गिंदै छौं । र यिनको मृत्यु हेरेर म फर्किनेछु एक भग्न मन बोकेर ।

यो सारा अनुभूति, हृदयको न्यानो उष्मा, यो समबेदनाको कुन बिन्दु हो म परिभाषा गर्न सक्दिन । यो अव्यक्त आफ्नोपन, यो समयले या नियतिले जोडीदिएको आत्मियताको कुनै मूल्य हुन्छ र! “आज के लेख्यौ?” भनेर सिर्जनामा जतिबेलै मलाई उचाल्ने मेरो कुनै जन्मको साक्षात् र यस जन्मको अघोषित ‘आमा’ यसबेला यी पंक्ति लेखिरहेको बेला मुस्किलले स्वास तानिरहेको हेर्दैछु र अर्को पोइन्ट अक्सिजनको मात्रा थप्दैछु । र सोचिरहेछु काम, पैसा र जिम्मेवारीभन्दा परको यो मानवीय समवेदनाले यसरी आक्रान्त बनाउँछ र यसै कारण केयरगिभरको अरु सबैखाले कामभन्दा कठिन छ / हुन्छ ।

दीप्स शाह, इजरायल

5 thoughts on “यसकारण केयरगिभरको काम सबभन्दा कठिन हुन्छ”

  1. जब यस्ता आँसुले लछेप्रै
    जब यस्ता आँसुले लछेप्रै भिजेका अनुभुतिहरु कुनै स्रस्टाले पस्कन्छ भने त्यस्बेला स्रस्टा स्वयम त रुन्छ नै, पाठकले समेत त्यही द्रिश्यलाई आफैं भित्र अनुभुत गर्छ र झन बढी रुन्छ ।

    “… र, अधिकांश रोगीहरू तिनै केयरगिभरको हातको अन्तिम थोपा पानी पिएर उनैका काखमा इहलिला समाप्त गर्छन । यसरी देख्दादेख्दैको परदेशी अन्नदाता हिंडदै, बोल्दै डुल्दै, हर रात एक छानामुनिरहंदा, हर छाक खाना एउतै टेबुलमा खाँदा कतिबेला थाहै नपाइ हृदयको एक अभिन्न ‘आफ्नो’ बनिसकेको हुन्छ र हेर्दाहेर्दै आफ्नै काखमा असह्य पीडामा छटपटउँदै सुटुक्क संसार छोडीदिन्छ । त्यसबेला आफूले पाउने हर सुबिधा र पारिश्रमीकको साथ् अतिरिक्त जेसुकै पाएपनि उसलाई बिदा गर्दा हृदयको अति सम्बेदनशील पाटो चर्किन्छ र आँखाबाट आँशु ओइरिदिन्छ………”

    जस्तै पाषाण हृदयलाई पनि हल्लाउन के यो बर्णन स्वयममै पर्याप्त छैन र दीप्स ?

    “…भूमध्यसागरको पानीमा म लर्बराउँदा मलाई समात्ने हात आज केवल छालले मोरिएको हड्डी बनेर थर्थराइरहेछन मेरै सामु कति कमजोर बनेर । “why your eyes are teary?” भनेर मेरो हरेक उदासीमा नियाल्ने आँखाहरू मलाई नै नाचिने जस्तरी अनौठो हेर्छन भित्र कता कता खोपिल्टामा भासिएका गुच्चा जस्तो बनेर । त्यो बलियो सिंगो ज्यान केवल एक बोरा आलुजस्तो लडिरहेछ मेरै सामु र घरि घरि थर्थराउन्दै मेरा हात समात्न आइपुग्छ ती हात र सुनिन्छ आवाज,”आत अल्यादी?(तिमी मेरो छेउमै छौ?)” । मलाई थाहा छ म र चिपोरा दुवै मौन मौन मृत्यु कुरिरहेछौँ । तर म बेकारको भरोसाको पूल बाँध्न खोज्छु,” चिपोरा! हिए आकोल बेसेदर।” सबै ठिक हुन्छ” । तर यो त हामी दुवै जान्दछौं कि केही पनि ठिक हुनेवाला छैन ।…”

  2. हार्दीक आभारी छु प्रतिक दाइ !
    हार्दीक आभारी छु प्रतिक दाइ ! मेरो लेखनीमा एक अभिन्न र आत्मीय अभिभाबक बनिरहनुहुने दाइको यो असिम माया र हौसलाको बलमा नै म अरु केहि लेख्न सक्छु l

  3. लेख मन त पर्र्यो नै ! तर मन
    लेख मन त पर्र्यो नै ! तर मन पर्नु भन्दा पनि लेखभित्र यथार्तता छ,

  4. “मान्छे समझदार होऊ, ईमान्दर त
    “मान्छे समझदार होऊ, बफादार त कुकुर पनि हुन्छ” यो लाईन कसैको स्टाटस वा कुनै दार्शनिकको भनाई थाहा चाहिं भएन तर अबश्य, हामी नेपाली ईमान्दार भन्दा माथी समझदार पनि छौ र त अरुको मनको आवाज सुन्छौ,कसैको मनलाई सुन्ने वा देख्नेनै तेस्रो नेत्र हो। तेस्रो नेत्रभित्र त माया, सदभाव अनि सबै न्याय-अन्याय अटाएका हुन्छन, प्रस्तुत गर्न सक्नुपनि त्यसको एउटा सुन्दर छाप हो, दीप्स् मेडमले द्वारा यो सृजित मनका भाव पढ्दा मन उथलपुथल हुनु एउटा साँचो कुरामा घोरिनु र रहस्य पर्दाफास हुनु हो। तसर्थ अति समसामयिक र भोगाईको चोईटा उछिदा यता मन साँच्चीकै रसायो। धन्यबाद भागबन्डोको लागी।

  5. केयरगिभरको काम
    ठिक भन्नुभो दीप्सजी,

    मानवीय पक्ष समेटिएको यो काम अरूभन्दा भिन्न, गहारो, र उच्च छ । तर जहाँ पनि “प्रोफेसनल” हुन सक्नु पर्ने अर्को सामाजिक बिडम्बना छ । अर्को कोणबाट हेर्ने हो भने, कामप्रति त्यति नै समर्पित तपाईँको पाटो पनि यस लेखमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *