Skip to content

सत्य लुक्दैन झुठो टिक्दैन !

  • by


एकादेशमा एउटा स्वाभिमानी राजा थिए । उनले आफ्नो राज्यमा बिभिन्न सागसब्जी, पशुपालन फलफुल खेती गराएर अर्को राज्यमा निर्यात गरी राज्य कोषमा ठुलो धनराशी जम्मा गर्न सक्षम भएका थिए । जो कोही बेरोजगारलाई बोलाई खेती पाती पशुपालन गर्न राज्य कोषबाट बिना ब्याज ऋण सहयोग गर्थे ।

ती राजाले भर्खरै अर्को एउटा सानो राज्यमाथि विजय प्राप्त गरी आफ्नो राज्यमा गाभी फर्केका थिए । उनले विजय प्राप्त गरेको त्यो राज्यमा नागरिक धेरै गरिब र दुखी थिए । खाध्यान्नको अभाव थियो पशुपालन कृषिजन्य कुनै उत्पादन थाहा थिएन । सबै अर्को राज्यबाट महँगोमा किनेर लेराउनु पर्दथ्यो । त्यसले गर्दा त्यो देशको राज्य कोष समेत खालि थियो ।

राजाले भर्खर बिजय प्राप्त गरेको त्यो भूभागमा पशुपालन सागसब्जी फलफुल उत्पादन गर्न आफ्नो राज्यमा भएका अनुभवी किसानलाई छानेर पठाउने उदेश्यले झ्याली पिटाए – “सबै किसानले आ आफ्नो दक्षता प्रमाणित गर्न आफूले उत्पादन गरेको फलफुल सागसब्जीको नमुना लिएर दरबारमा हाजिर हुन् आउनु ।”

यो कुरो त्यहाँको एउटा छट्टु नागरिकले पनि थाहा पाएछन् । र उसले जसको राम्रो खेती बारी छ त्यहाँ त्यहाँ गएर एक दुई एक दुई राम्रो उत्पादन चोर्दै माग्दै घरमा थुपारेर तोकिएको दिन अरुसँगै ऊ पनि ती समान बोकेर दरबारमा हाजिर भयो ।

राजा सबैको उत्पादन हेर्न र किसानको परिचय माग्न अगाडि के बढेका थिए । त्यहाँ भेला भएका अरु किसानहरू एक अर्कामा काने खुसी गर्दै मरी मरी हाँस्न थाले । राजा छक्क परे अनि अलमलमा पनि नागरिकहरूको हाँसो रोकिएको थिएन राजा अगाडि बढेर जिज्ञासा राख्दै सोधे, “तपाईंहरू किन हास्नु भएको ?के कारण पर्यो होला ?”

तब किसानहरूले जवाफ दिए, “रिसानी माफ होस् सरकार । ऊ त्यो अगाडि धेरै थरी फलफुल सागसब्जी बोकेर आउने कुनै काम गर्दैनन । त्यो सब केही हामीसित मागेको त केही चोरेर थुपारेका हुन् ।”

त्यही भीडमा सबै किसानहरूको पछाडि एक झुम्रे मानिस खालि हात् उभिएको देखेर राजाले सोधे, “तपाईं को हो नि ? किन खालि हात आउनु भएको ? मेरो आदेश सुन्नु भएको थिएन ?”

ती मानिस केही बोल्नै आँटेका थिए कि बाँकी सबै किसानले एकै स्वरमा निवेदन गरे, “सरकार यो राज्यमा असली किसान हाम्रा पथ प्रदर्शक उनै हुन् । यिनलाई बिहान उज्यालो भएदेखि साँझ झमक्क नहुन्जेल हाम्रा खेत बारीमा आएर हामीलाई खेती पाती गर्न सिकाउने खेतीको नमुना देखाउन हाम्रो खेतबारीमा काम गर्दैमा फुर्सद हुँदैन । हामीले जे जति पनि उत्पादन गरेका छौ यो सबै यिनैको शिक्षा र सहयोगले गर्दा सम्भब भएको हो ।”

त्यो सुनेर राजाले ती झुम्रे किसानलाई अगाडि बोलाए, अँगालो मारे अनि सबैलाई सुनाए, “देशको लागि यिनी जस्तो इमान्दार र त्यागी नागरिक चाहिन्छ । म नतमस्तक छु तपाईंप्रति । तपाईं जस्तो नागरिक नहुने हो भने म एक्लैले देश बचाउन कहाँ सक्छु र ?”

राजाले नयाँ भूभागमा खेतीपाती गर्ने र राजस्व संकलन गर्ने मुख्तियारी दिएर पठाउने निर्णय सुनाए । साथै उनले त्यो छट्टुलाई पनि अगाडि बोलाएर भने, “यो देशमा सबै तपाईं जस्तै धुर्त र छट्टु नागरिक भए देश कहाँ पुग्छ ? चलाखी धुर्त्याई मानिसको जीवनको ठुलो कलंक हो । एक पटक म माफ गरी दिन्छु ।ठगेर खाने बुद्धि अब आइन्दा न गर्नुस । ल तपाईं पनि वहाँसँगै जानुस र हाम्रो नया भूभागमा खेतीपातीमा सहयोग गर्नुस । म मेरो राज्यमा कोही बेरोजगार धुर्त ठग देख्न सक्दिन ।”

त्यसो भन्दै सबै किसानलाई भोजन खुवाएर उनीहरूले लेराएको उत्पादनको उचित मूल्य बराबर सुन सिक्का दिएर बिदा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *