Skip to content

महिला हिंसा भो कि पुरुष हिंसा ?

  • by


मलाई लाग्दैन अब म कसैको निम्ति बाँच्नु पर्छ र अरु पनि मेरो निम्ति बाँचुन । हो, उमेरले दुई बीस पार गरी सक्दाको यो क्षेणमा मैले यती बिग्न पीडाको सामना गर्नु पर्छ भने मैले बाँच्नुको कुनै औचित्य रहन्न ।

जवानीमा सुनकोशी र भोटेकोसी दुई हातले छेक्न सक्ने म बिरसिंह त्यतिकै कहलिएको थिएन सिन्धुपाल्चोक जिल्लामा । कतिलाई काटियो, कतिले आफूलाई काटे त्यो गनि गनी साध्ये नै छैन । गाउँले परिबेशमा जन्मे, हुर्के पनि खान लाउनको निम्ति कुनै कमि थिएन मलाई । दाइभाइ दुबैको पन्चायतकाल देखि नै राजनीतिमा दखल भएकाले गाउँ टोलका मान्छेहरू हामी देखि डराउथे । त्यसैको प्रभावले पनि होला, अरुहरूले केटी घिस्याउदा (केटाले मन परेको केटीलाई जबर्जस्ती तानेर जीवन साथी बनाउन लानु) उल्टै केटीहरू हाम्रो पछि लाग्थे ।

त्यो नखर्मौलीलाई पनि ७, ८ साल अघि मात्रै कान्छी स्वास्नीको रुपमा घर भित्राएको थिए । त्येसैले आज मलाई समेत बर्वाद गरी । बिहे गरेको केही सालमै विभिन्न तान बान बुनेर मेरो घर बारी सबै आफ्नु नाममा गर्न भ्याइछ त्येसले । हामी दुबैको उमेर पनि ढल्किसकेको र जेठीपट्टिका सबैको बन्दोबस्त भइसकेकाले मैले नि चुप चाप उसले जे जे भन्यो त्यसै त्यसै गर्न थाले । आफ्नै गाडी (ट्रक) भएकोले पेशाले म गाडी चलाउछु भने उनी चाहिं आफ्नै घरमा सामान्य किराना पसल गरेर बस्थिन ।

कुरा यही ६९ साल हो । म आफ्नै पेशामा तल्लिन थिएँ । उनी भने घरमै थिएन । त्यो दिन, गन्तब्य नपुग्दै गाडीले गति लिन छाड्यो र गाडीलाई बाटैमा छाडेर मैले घर जाने निधो गरे । किनकि गाडी बिग्रेको स्थान आफ्नै घर देखी केही दुरी मात्रै टाढा पर्थ्यो । पुर्निमाको आगमन हुँदै थियो शायद, र त सुनकोशी र भोटेकोसी दौडिएका बगर प्रस्ट देख्न सकिन्थ्यो । टाढा टाढाका थुम्का थुम्की पनि मज्जाले गन्न सकिन्थ्यो । दिनमा केही सार्वजनिक यातायात चले पनि रातमा भने सुनसान हुन्थ्यो तेतातिर । जुनेली रात सिवाय मसँग अरु कोही थिएन त्यो बेला । केही दुरी उकालो चढेपछि तेर्सो बाटो आइपुग्यो । जहाँबाट मेरो घर प्रस्ट देखिन्थ्यो । यिनै मेरी कान्छी बुढी भनाउदिको बिषयमा गाउँमा चलेको हल्लाले मनमा संकाको साम्राज्य जमाउन थालेको थियो ।

मनमा अनेक तरङ्ग आउदै थिए तर मनमनै गम्छु – “आ….. यो गाउँलेले के पो भन्दैनन् र ? आफूले देखेको छैन, त्यो पनि बेला बेला मैले सरितालाई समझाकै त छु ! आफूले गर्ने मायामा कुनै कमि पनि त गरेको छैन नि !”

यस्तै सोच्दै घर तर्फ अघि बढिरहे । शित नै नखसेको अवस्था भाले बास्ने त कुरै थिएन । बिहानको पौने चार बजेको हुदो हो, म आफ्नो घरको आडमा आइ पुगें । घरको आँगनमा उभिए र दायाँ बाया हेर्न थाले । यतिकैमा घर भित्रबाट लोग्ने मान्छेले कुरा गर्दै गरेको आवाज मेरो कानमा ठोक्किन आइ पुग्यो । अनौठो लाग्यो । सतर्क भएर त्यतैतिर आफ्नु दुवै कानलाई तेर्साएँ । बैसालु उन्मातले भरिएका नव जोडीको झैँ हाँसोको फोहोरा सबैतिर छताछुल्ल पोखिएको चाल पाएँ । मेरो निश्चल र शान्त मन भित्र एक्कासी भोटेकोसी उर्लेर आयो जसको पत्तो आफैले पाएनछु र सिधै गएर ढोका ढक-ढक्याउन थालें ।

“को हो हँ ?” भित्रबाट स्त्री आवाज आयो, जुन मेरै बुढीको थियो ।

“म हुँ, ढोका खोल सरिता !” निक्कै बेर पछि मात्रै मूल ढोका नखोली जस्केल (झ्याल) खोलिन । मलाई थाहा भयो अब, मेरो घर भित्र बन बिरालो पसेको छ । त्यसैले बत्ती बालेर चारैतिर हेर्न थालें । कुनामा फ्रिजको आडमा भिजेको मुसा झैं एक परिचित नाताले भाइ पर्ने जो गाउँलेहरूले मेरी त्येही कान्छी बुढीसँग नाम जोडेर कुरा गर्ने गर्थ्यो’लाई देखें । आँखा नै नदेख्ने गरी रन्थनिए एकछिन त । रिस थाम्नै सकिन मैले । हावा नचली पात कहाँ हल्लिदो रहेछ र ? भन्दै बाघले झम्टे झैं एकाएक दुवैलाई झम्टेर झापट लगाउन थालें । धन्न कसो-कसो खुकुरी भेटेन छु । उत्कर्समा पुगेको रिस र आबेग मेरो स्खलित भै सक्दा दुवै भागिसकेछन त्यहाबाट ।

पारि शेर्पा गाउँमा भाले बास्यो । बिहानीले धर्ती टेक्यो । भत्किएको मनको पाखै भरि डढेलोले उजाड थियो । एक्लै मुर्मुरिदै बस्न थालें । गाउँ मस्त निद्रामा डुबेको थियो उक्त घटना घटेको बेला । त्यसैले कसैलाई केही थाहा थिएन ।

भए भरको घर खेत बारी जति सबै नै उसैको नाममा थियो । मनमा पहिले देखिका सबै, ऊसँग बिताएका र मैले दुख गरेका दिन सम्झिन थाले । सम्झेर अचाक्ली रिस उठ्न थाल्यो । उसैको निम्ति तन मन धन सबै सुम्पिंए तर उसले भने आफ्नै घरमा नाठो पालेको कुराले मन थाम्न सकेन । मथिंगल नै घुम्न थाल्यो । भेटे काट्छु दुबैलाई भन्दै गाउँ गाउँ खोज्न हिंडे । तर सब प्रयास असफल मात्र भो । भेटाउन सकिन मैले त्यो दिन । एक कान दुई कान मैदान हुदै यो घटनाको खबर गाउँ भरि फिजियो ।

दुई दिन पछि मात्रै मलाई थाहा भो । उनी म बिरुद्ध मुद्दा हाल्न माइती नेपाल काठमान्डौ को शरणमा पुगेकिरहिछिन । म ताक्छु मुढा बन्चरो ताक्छ घुंडा भने झैँ भयो । न भन्दै घटनाको केही दिन पछि जिल्ला अदालत सिन्धुपलान्चोक चौताराबाट मेरो नाममा म बिरुद्ध महिला हिंसाको मुद्दा परेकोले अदालतमा उपस्थित हुन आदेश सहितको पत्र आई पुग्यो । छाँगाबाट खसे झैँ भए । यो देशको नागरिक भएको हैसियतले र त्यसमा पनि आफू बेकसुर भएकोले अदालतमा उपश्थित हुने निर्णय गरे र जिल्ला अदालत चौतारा पुगे । अदालत परिसरमा मेरी बुढी भनाउदी लगाएत केही चिनेजानेका गाउँलेहरू पनि देखें । उनीहरू साक्षी बक्न आएका रे ।

सोच्दै छु एक मनले -आबेसमा आएर मैले जे जस्तो गरे पनि या बाटो बिराएर उसले जे जस्तो गल्ती गरे नि हाम्रो कुरा हामी मै सीमित राखेको भए हुन्थ्यो । म एकपल्टलाई माफ गरिदिन्थे यदि उनले आफ्नो गल्ती स्वीकार गरेकी भए । कठै! यस्तो पनि दिन आउदो रैछ जिन्दगीमा । आखिर सयौं जुनीसँगै बाँच्ने र मर्ने कसम खाएका त थियौ नि ।

तर उनी, अदालत परिसरमा निक्कै नै ठुलो शिखर चढिसकेको झैं अरुसँग ठुल्ठुला गफ दिंदै थिइन भने घरि-घरि तिखा शब्द बाणहरू मतिर प्रहार गर्दै थिइन । उनले जति नै ठुल्ठुला गफ फलाके पनि म ढुक्क थिए न्याय पाउने आशमा । मनमनै लाग्दै थियो- अदालतले सही र निश्पक्षे फैसला गर्नेछ र उसको शेखी झार्नेछ । तर अफसोच ! भैदियो अर्कै ।

केही दिनमा, हाम्रो मुद्दाको पेशीपछि, यानि कि हाम्रो बयानपछि मुद्दाको फैसला भो । नतिजामा उनको जित र मेरो हार भो । अदालतले मलाई साँच्चै दोषी ठहरायो । ५० हजार जरिवाना पनि तोकिदियो ।

मलाई यहाँनिर प्रश्न गर्न मन लागेको छ त्यो अदालत र आम नेपाली जनसमुदायलाई कि –“के लोग्नेको जाय जेथा सबै आफ्नो नाममा गरेकी महिलाले, लोग्ने दुई दिन घर बाहिर हुँदा नाठो खेलाउदै भए भरको धन सम्पत्ति उडाउदा चाहिं पुरुष हिंसा नहुने । तर आफ्नो स्वास्नी गलत बाटोमा हिंड्दा सम्झाउने क्रममा एक दुई चटकन हान्दा महिला हिंसा हुने?”

यो देशमा म जस्ता पुरुष बर्गको निम्ति कुनै कानून नै नबनेको हो? या पुरुषका पक्षमा न्यायोचित फैसला गर्न उचित ठान्दैन अदालत ? सोचनीय कुरो छ पीडित बर्गका लागि ।

यदि अदालतको यही फैसलालाई सही मान्ने हो भने मेरो निम्ति रमा जस्ता हजारौको निम्ति हाम्रो देशमा नियम कानून र न्याय भन्ने केही रहेनछ । मसँग भएको जे जति सम्पत्ति थियो सबै उनैको नाममा भएकोले अब अगाडि बाँच्नुको औचित्य देख्दिन म ।

(केही महिना अघि महिला हिंसा मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दोषी ठार्याइ सजाय पाएको व्यक्ति संगको कुरा कानिमा आधारित। पुन्श्चय: कथा यथार्थ नै भए पनि माथि उलेखित नामहरू काल्पनिक हुन।)

-राजेश रुम्बा लामा ‘अतृप्त’

बिरेन्द्रनगर-१, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *