उदयपुरमा एक मूर्तिभित्र पाँच मान्छे

  • by


वि.सं. २००२ बैशाख ११ गते नामेटार–३, चित्रेथानमा आँखा खोलेर रौता–९, मुर्कुचीमा साहित्यको कलम समाउँदै, चित्रकारिताको कुची पक्रदै, काष्ठकलाको छिनो समाल्दै, मूर्तिकलामा घुँडा धस्दै र आयुर्वेदमा जडीबुटी घोट्दै जीवनरथ हाँकिरहेका तेजनारायण शेर्पा ‘रञ्जन’लाई नचिन्ने र नजान्ने मान्छे विरलै होलान् । ‘पूर्णिमा’ (इ.सं. १९७०, हिन्दी, नेपाली, मैथिली कविता सङ्ग्रह), ‘रौता महारानी भगवती चिनारी’ (२०५३, काव्य), ‘अधुरो’ (२०५६, कविता सङ्ग्रह), ‘कविको कविता मनभित्र’ (२०६९, कविता सङ्ग्रह) गरी चार कृति नेपाली साहित्य मन्दिरमा समर्पण गरी साहित्य, कला र जडिबुटीका माध्यमबाट लोककल्याणको मार्गमा दर्बिलो पाइला टेक्ने शेर्पा देशभक्त नेपाली हुन् ।

‘मुक्तिमार्ग’, ‘अक्षर’, ‘जडिबुटी विज्ञान’, ‘शरीर विज्ञान’, ‘आरोग्य विज्ञान’ गरी पाँच वटा पुस्तकका पाण्डुलिपी हातमा राखी प्रकाशक वा आर्थिक सहयोगीको खोजीमा निस्केका शेर्पाको अधिकांश समय जङ्गलमा वित्छ । उनी भन्छन्– ‘अरू ज्ञानविज्ञानका लागि सहर पस्छन्, धन कमाउन जागिर खान्छन्, कला सिक्न गुरुकहाँ धाउँछन्, ख्याति कमाउन ठूलाबडाको पाउ मोल्छन् । म भने सिर्फ जङ्गल पस्छु । त्यही ज्ञानविज्ञान छ, धन छ, गुरु छ, प्रशिद्धि छ ।’

उनी कुरैकुरामा अघि थप्छन्– ‘म केके गर्दै छु, त्यो यही छ । म शेर्पा हुनुपूर्व नेपाली हुँ । त्यसपूर्व मान्छे हुँ । मान्छेले मान्छेसँग मानवीय व्यवहार गर्छ । दानवीय व्यवहार देखाउने मानव हुन सक्दैन । दानव भनिरहन पर्दैन । म दानवबाट बचेर अहिलेसम्म मानवकै श्रेणीमा उभिएको छु । मानव बन्न खोज्दा नै ९ वर्षको उमेरमा दरभङ्गा पुगेँ । होटलका जुठाभाँडाकुँडा समालेँ । पान, बिँडी, सलाईको बिक्रेता भएँ, ढोकाको रखबारी गरेँ । कैयौँ पटक सडकलाई बिस्तारा तुल्याएँ । ’

सबै कुकुर काशी जान थाले गुहु कसले खाने भन्ने फुपूको प्रश्नको जवाफ खोज्दाखोज्दै संस्कृतमा शास्त्री समेत गरेँ । आइ.ए. परीक्षामा सफलता प्राप्त गरिसकेपछि बी.ए.तिर लम्कने सोच हुँदाहुँदै काकाज्यूको गुलियो बोलीमा मख्ख परेँ ।

हाम्रा छिमेकी र नातेदारहरू अमेरिकातिर लागे । म पनि प्रभावै प्रभावमा जान ठिकठाक परेँ । सोच्न थालेँ–अमेरिकामा गएर डलरमा साटिन्छु । गुन्दै जाँदा त कठिन श्रम र साधनाले एउटै मात्रै परिवार पालिँदो रहेछ, एउटै मात्र परिवार उक्सदोँ रहेछ । सारा नेपालले त मबाट केही पाउँदो रहेनछ । म संसारमा भएको चिनारी अमेरिकाले दिने कुरा आएन । मैले आफ्नो छोरालाई अमेरिका लखेटेको छु भनेर नेपालले भन्ने कुरा आएन । म विलखबन्दमा परेँ । जसले मलाई प्राण दियो, वायु दियो, जल दियो, अन्न दियो र उभिने धर्ती दियो त्यसलाई चटक्कै छाडेर हिँड्नु कृतघ्न हो भन्ठानेँ । जसले जन्मायो र टुकुटुकु हिँड्दै, कतिपय ठाउँ पछार्दै संसार देखायो, चिनायो बाँकी जीवन उसकै पाउमा समर्पण गरे उसैले पालनपोषण गर्छ, उसैले नाम दिन्छ । माम दिने काम पनि उसैको हुन्छ ।

जन्तरमन्तरमा विश्वास नगर्ने, धामीझाँक्रीलाई पाखण्ड मात्र ठान्ने मेरो जीवनलाई परिवर्तन गरिदिने काममा एउटा छेपारोको भूमिका छ । एक जना छिमेकीले छेपारालाई मोहनी लगाएछन् । खालि त्यो उनकै पछि दगुर्थ्यो । त्यो देखेर मैले पनि मन्त्र सिकेँ । प्रयोग गर्ने मन भयो । केमा गर्ने त ! केही दिन पछि नजरमा छेपारो नै आयो । सिद्धीप्राप्त भएकै थियो । मेले प्रयोग प्रारम्भ गरेँ । प्रभाव पर्दै गएछ । छेपारो मलाई पछ्याउन थाल्यो । म भाग्न थालेँ । जति भाग्थेँ, छेपारो उत्ति नजिक हुन थाल्यो । डरले मेरो होसहवास गुम हुन थाल्यो । भाग्ने क्रममा नै बलिरहेको आगो नाघेर म अघि बढेँ । मलाई पछ्याउँदै आएको छेपारोले बाटो मोडेन । सिधै आउँने हुँदा आगो पर्यो र जलेर खाग भयो । यस घटनाले मेरो मन अमिलो भयो । मैले मन्त्रसाधना पनि त्यागिदिएँ । यो लोककल्याणको बाटो नभएको ठहर गर्न पनि पछि परिन ।

मैले गरेको कामबाट ज्यान जाने होइन जोगिने काम हुनुपर्छ । म मानव कल्याणमा समर्पित रहनुपर्छ । मान्छेले सम्झिरहने मान्छेमा गनिनुपर्छ । ठगेर अकल्याण गर्नु भनेको धिक्कारको जीवन हो । त्यस्तो जीवनप्रति घृणा छ । म बढी सोच्ने, चिन्तन गर्ने र गुरुविना सिकेका र सिकिरहेकोे मान्छे हुँ । गुरु नथापीकनै मैले केही कुरा जानेँ । जानेका कुरा बाँडेँ । तर, गुरु हुन रुचाइन । गुरु जे भन्छन्, त्यत्तिमे सीमित हुनु दुर्भाग्य हो । मेरा गुरु जङ्गल हुन् । गुरुले अथाह ज्ञान दिइरहेका छन् । मैले सिक्न सकेको छैन । मेरो अर्को गुरु किताब हो । हर घडी थरिथरिका ज्ञान भेटिरहेको छु । त्यसकै आधारमा म अहिले ‘छेटु शेर्पा’ भनेर चिनिएको छु । धर्म गर्दिनँ, गुरु बन्दीनँ, ऋण बोकाउदिनँ, पाखण्ड लाद्दिनँ । तैपनि सामान्यदेखि असामान्यसम्मलाई सिकाइराखेको छु । दर्जनौं युवायुवतीलाई हर्वो तालिम दिएको छु । भर्खरै ६५ जना धामी/झाँक्रीलाई प्रशिक्षण दिएको छु । रोगमुक्त समाज खडा पार्ने काममा जुटेको छु । शारीरिक पीडा कम गर्दै हरण गर्ने कार्य गर्दै आएको छु । हुन त किताबलाई आधार बनाएको छु तर मेरो ब्रह्मले सत्य ठहर गरेबमोजिम मात्र ओखतिमुलो गर्ने गरेको छु । चेतना छर्ने काममा होस् या होस् जगाउने काममा होस् आफूलाई हरपल होसियार बनाउँदै आएको छु । सात दशकको यो बुढ्यौली कायालाई विश्राम दिएको छैन । दिने मन पनि छैन ।

मेरो स्पष्ट मत छ– धामीझाँक्री समाजका अभिसाप होइनन्, बरदान हुन् । बरदान सावित हुन आजका धामीझाँक्रीले सुझबुझले काम चलाउनुपर्छ । पेटमा चुका भएको बिरामी होस् कि गानोगोला भएको वा बच्चा पेटमा रहेकी महिला नै किन नहोस् तिनीहरूलाई धामीझाँक्री कोशले विकार ठान्छ । त्यो विकारलाई निर्मूल पार्न भनेर अन्य झारफुक गरेर कहाँ हुन्छ । वैद्य–डाक्टरहरूबाट मात्र निदान सम्भव हुन्छ । मैले धामीझाँक्रीहरूलाई यी र यस्तै कुराहरूमा हरबखत सचेत पारिराखेको हुन्छु । नठगौँ । कालो भाले र बोकाको खोजी नगरौँ । काम नगरी दाम लिने काम अपराध हो भन्ठानौँ । जनसेवा नै परलोक सपार्ने उत्तम उपाय हो । अधर्मीले इहलोकमा केही समय मोज गर्ला तर परलोकमा कतै सुख मिल्दैन ।

नन्दलाल आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *