Skip to content

नेपालमा आत्महत्याको वृद्धि किन ? -त्रिचन्द्र प्रतीक्षा


पत्र-पत्रिकाहरुको पानामा कहिं न कहिं कुनै न कुनै तरिकाबाट आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ- हाम्रो समाजमा आत्महत्याको श्रृंखला । किन यसरी तिब्र गतिमा फैलिरहेको छ? यो सोचनीय र चिन्ताको विषय हो ।

मानिस एक संवेदनशील प्राणी हो । ऊ एक्लै जीवनयापन गर्न सक्दैन । जीवनका उतारचढावहरुलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ । विभिन्न किसिमका घटनाहरु मध्ये आत्महत्या अति महत्वपूर्ण घटना हो । आत्महत्या गर्नु आफैंमा एक अपराध हो । तर मानिस किन आत्महत्या गर्न चाहन्छ ! जो कसैमा खुल्दुली हुनु स्वभाविक हो । आत्महत्या कसैको रहर र इच्छाका कारणले हुँदैन । सामान्यतयाः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक हो ।

नेपालमा आत्महत्या गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिजोआज हुने गरेका आत्महत्याको घटना र प्रकृति हेर्दा अधिकांश मात्रामा घरेलु हिंसाकै कारण हुने गरेका छन् । प्रेमको बहानामा बसेको अनैतिक गर्भ, पतिको कुटाई, सौताको आगमन, दाइजो, पढाईमा असफलता, आदि जस्ता विकृत मानसिक दवाव नै उनीहरुको आत्महत्याको प्रमुख कारण हुन पुग्दछ ।

पछिल्लो समयमा १० प्रतिशत आत्महत्याको कारण मानसिक रोग भएको मनोचिकित्सक निराकारमान श्रेष्ठको भनाई छ । उहाँले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका छन्- ”उदासपन, मादक पदार्थको सेवन, लागु औषधका दूर्व्यसनी र व्यक्तित्वमा असमझदारी यसका कारण हुन् ।” लागू औषध दूर्व्यसनी मध्ये १५ प्रतिशतले आत्महत्या गरेको तथ्यांक उनले आफ्नो कार्यपत्रमा समावेश गरेका छन् ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखाले ७ वर्षो तथ्याङ्क अनुसार नेपालमा दैनिक सरदर ११ जनाले आत्महत्या गर्ने गरेको र पछिल्लो ७ वर्षा २१ हजार २ सय २७ जनाले आत्महत्या गरेका कुरा उक्त तथ्याङ्कमा उल्लेख गरिएको छ । २००६ देखि २०१२ सम्मको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेको संख्या वर्षोनि बढ्दो छ ।

मनोचिकित्सक निराकारमान श्रेष्ठका अनुसार यथार्थमा आत्महत्या गर्नेको संख्या अझै बढी भएको बताउँछन् । प्रतिष्ठा, कानुनी कारवाही र झन्झटिलो प्रक्रियामा फस्नुपर्ने डरले धेरै आत्महत्याका घटना प्रहरीसम्म नपुग्ने हुनाले यसको वास्तविकता प्रहरीले गरेको र्सार्वजनिक तथ्याङ्क भन्दा दोब्बर हुने उनको दावी छ ।

प्रहरीको वाषिर्क तथ्याङ्क अनुसार हरेक सय जनामा ७० जना झुण्डिएर, १८ विष खाएर र १२ पानीमा वा आगोमा जलेर आत्महत्या गर्दछन् । हालैको प्रहरी रिपोर्ट अनुसार बाँकेमा आत्महत्या गरेर अकालमा ज्यान गुमाउनेको संख्या वर्षोनी वृद्धि हुँदै गएको देखिएको छ । आर्थिक वर्ष२०६७/६८ मा ८७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कमा उल्लेख छ । त्यहाँ एक महिनामा ४ देखि १३ जना जतिले आत्महत्या गर्ने गरेको कुरा पनि प्रहरीले जनाएको छ । आत्महत्या गर्ने अधिकांश युवा-युवतीहरु रहेको प्रहरी उपरीक्षक विक्रम सिंह थापाले बताएका छन् । उनका अनुसार आर्थिक वर्ष०६८/६९ मा जिल्लामा झुण्डिएर ६८, विष सेवनबाट ३२ र आगो लगाएर १ जनाले आत्महत्या गरेका थिए ।

मनोवैज्ञानिक, समाजशास्त्री र मनोचिकित्सकहरुले आत्महत्या गर्नुमा मनोवैज्ञानिक कारणको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा निश्चित गरेका छन् । समाजशास्त्री इमाइल दूर्खिमले व्यक्तित्वमा तनाव बढेर चरम निराशा पैदा भएपछि आत्महत्या गर्ने र सामाजिक कारणबाट निराशा पैदा हुने, जस्ता आत्महत्या सम्बन्धी कुराहरु आफ्नो सिद्धान्तमा उल्लेख गरेका छन् । तनावको प्रमुख कारक एउटा गरिबी पनि हो । यसलाई उनले समाजको संरचनागत प्रकार्यका रुपमा हेरेका छन् ।

मनोविज्ञ गंगा पाठकको भनाईमा- ”मानिसले आफू चारैतिरबाट समस्याले घेरिएर अगाडि जाने स्थान छैन भन्ने ठानेपछि आत्महत्याको बाटो रोज्छ । हाम्रो समाजमा आत्महत्या गर्नेलाई कायर मानिन्छ । तर उसले त्यसो गर्नुपर्ने वाध्यता किन आइलाग्यो भन्नेतिर कसैले ध्यान दिंदैनन् ।”

मानिसले जुनबेला आफ्नो जीवनमा नमीठो महसुस गर्दछ त्यसबेला ऊ चिन्ता र पीडाको सागरमा डुबुल्की मारिरहेको हुन्छ । आत्महत्याको मुखमा पुर्याउने मात्र पनि चिन्ता नै हो । यस्ता घटनाका पछाडि मुख्यतया पीडा, चिन्ता र दुःख नै भेटिन्छ । तर यसको राम्रो अध्ययन गरी रोकथाम गर्ने व्यवस्था भने कतै छैन र देखिंदैन पनि ।
”आर्थिक दुरावस्था, वेरोजगार, कोलाहलयुक्त शहरी परिवेश र निम्न आयबाट महंगो शहरमा जिउनुपर्ने वाध्यताले निराशा बढ्छ ।” -अपराधशास्त्री प्रा. माधव प्रसाद आचार्यको कथन रहेको छ, त्यस्तै अपराधशास्त्री थप्छन्- अहिलेको बढ्दो निराशा र यसकारण बढिरहेको आत्महत्यालाई राज्य विहिनताको स्थितिका रुपमा लिएका छन् । यसलाई सामान्य ढंगले लिएर राज्य पन्छिन पाउँदैन । राज्यले नागरिकका लागि गर्नुपर्ने दायित्व निर्वाह नगरेकोले यस्तो भयावह स्थिति आएको हो ।

विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि लिङ् अङ्ले नेपालमा आत्महत्या विरुद्धको राष्ट्रिय नीति नै आवश्यक रहेको र ग्रामीण तहसम्मको कार्यान्वयन र सामुदायिक सक्रियतामा यो न्यूनीकरण हुन सक्ने बताएका छन् ।
आत्महत्या व्यक्तिको आत्मनिर्णय भएकोले स्वेच्छाले आत्महत्या गर्न पाउनुपर्ने विचार पनि केहीको होला, तर अपराधशास्त्री प्रा. आचार्य भने सामाजिक अमनचयन तथा सांस्कृतिक सुव्यवस्था कायम राख्नका लागि पनि आत्महत्याका कारक माथि कारवाही गर्ने कानुन बन्नुपर्ने आवश्यकता रहेको औल्याउँछन् ।

सरकारी तथ्याङ्क अनुसार अझै पनि मुलुकमा ४३ प्रतिशत बेरोजगार र चौथाई जनता गरिबीको रेखामुनि रहेको देखिएको छ । आत्महत्याका विभिन्न कारणहरु मध्ये राष्ट्रले जनतालाई न्यूनतम शिक्षा, स्वास्थ्य र गाँस-बासको सुविधा दिलाउन नसक्नु पनि हो । अर्थशास्त्री प्रा. विश्वम्भर प्याकुर्याल सरकारले सामाजिक सुरक्षा बढाउनै पर्ने ठान्छन् । आर्थिक आत्महत्या भएका र उन्मुखहरुको तथ्याङ्क राख्न केन्द्रीय स्तरमा एउटा निकाय बनाउन सकिन्छ भन्ने उनको तर्क छ । ”यसले आत्महत्याका कारणहरु पहिल्याई त्यसको न्यूनीकरणका नीति बनाउन सहयोग गर्न सक्छ ।”

गोरखापत्र दैनिक, २०७० वैशाख ७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *