पुष्प अधिकारी अञ्जलिको ‘म कवितामा देश खोजी रहेको छु’ संक्षिप्त विवेचना

  • by


स्रष्टा जन्माउने स्रष्टाप्रति भावपूर्ण अभिवादन
गजलबाट माथि उठी कविताले पायो छादन
पश्चिम काली पूर्व मेची पुष्पजीको फूलबारी
कविताले खोजेको छ शान्ति-स्वस्ति वाद्यवादन

परिचय

स्व. पिता झपन बहादुर अधिकारी र माता देवकुमारी अधिकारीको पुत्ररत्न हुन पुष्प अधिकारी अञ्जलि । उनी एक यस्ता स्रष्टा हुन् जो आफै गजलकार, सम्पादक, हाइकुकार, मुक्तककार, निवन्धकार र कवि पनि तर यो भन्दा पनि माथी उनले साहित्य साधनमात्र गर्दैनन् नयाँ र युवा पुस्ताका युवायुवतीलाई साहित्य साधनमा सहभागी गराएर अभिपेरित गर्दछन् । पूर्व मेची देखी पश्चिम महाकाली दक्षिण दशगजादेखि उत्तर हिमालसम्म मात्र नभएर विदेशमा रोजगारीमा गएका साहित्यिक मनहरूलाई समेत समेटेर कृतिहरू प्रकाशन गर्दछन् । गजलकार, मुक्तककार, हाइकुकार, कविको साथै, मनभित्रको मन (गजलसङ्ग्रह), एक अञ्जुली घाम (मुक्तकसङ्ग्रह), जून फुलेको बस्ती (मुक्तकसङ्ग्रह) मनको तृष्णा हाइकुसङ्ग्रह), स्वप्लिन नयन (गजलसङ्ग्रह) र म कवितामा देश खोजी रहेको छु..कृति रचना गरी कृतिकारको रूपमा आफूलाई परिचित बनाउने पुष्पजीले हाम्रो मझेरी/पुष्पाञ्जलि/गजलबिम्ब, गजलदिप/ गजलयात्रा (१) गजलयात्रा (२) गजलगङ्गा /समयका स्वरहरू/समकालिन नेपाली गजल जस्ता कृतिहरूको सम्पादन गरेर आफूलाई दक्ष सम्पादकको रूपमा प्रदर्शन गरिसक्नु भएको छ । व्यक्तित्वको हिसावले पुष्प व्यक्ति त एक हो तर व्यक्तित्वमा भने बहुआयामिकरूपमा देख्न सकिन्छ । पुष्पको कृति रचनालाई र व्यक्तित्वलाई केलाउँदा हामिले उनका कृतिमा र व्यक्तित्वमा समनता पाउँछौं । शिष्टता, शालिनता, हर्दिकता र मर्यादित गुणले सुसोभित छन् उनका कृतिहरू र उनको व्यक्तित्व । म उनको साहित्यिक यात्रा सफल ठान्दछु र उनका रचनमा जीवनवाद र मानवतावाद पाउँछु । हाम्रो मझेरी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष र गजलमञ्च चितवनका सचिवमा रहेर अञ्जलिले साहित्य सिर्जनामा आफूलाई समर्पित गर्नु भएको छ । अञ्जलिले अनामिका साहित्यिक अभिनन्दन (२०१, नवलपरासी), चितवन साहित्य परिषद) द्वारा पुरस्कृत (२०६१, गजल प्रतियोगिता), देवकोटा अध्ययनकेन्द्रबाट सर्वोत्कृष्ट पुरस्कार (२०६१, चितवन), तुल्सीराम स्मृति प्रतिष्ठानबाट पुरस्कृत र सम्मान (२०६३, बाँके) मितज्यू साहित्य प्रतिष्ठानबाट सम्मान (२०६३, चितवन) कालिका स्रष्टा अभिनन्दन सम्मान र पुरस्कार (२०६३, चितवन) गजल साधना सम्मान तथा पुरस्कार (२०६४, धनगढी), आँकुरा नेपालबाट सम्मान पत्र (२०६४, नेपालगञ्ज), अन्तरङ्ग मुक्तक राष्ट्रिय सम्मान (२०६८) लगाय त विभिन्न सङ्घ र संस्थानजस्तै लक्ष्मीस्मृति साहित्य समाजबाट पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएको छ ।

म कवितामा देश खोजी रहेछु … कवितासङ्ग्रह र कृतिकारप्रति साहित्यकारहरूको धारणा :-

यस कृतिकोको भूमिका बरिष्ठ बिम्ब कवि हेम प्रभाले लेख्नु भएको छ र बिम्ब कविले विश्लेषणात्मक चिरफारको क्रममा लेख्नुहुन्छ (‘कवि नेपाली गद्यकविताको लामो दौडमा दौडिएका छन् । यो नै सबै भन्दा ठूलो प्राप्ति हो । हालसम्मका दृश्यहरूको दृश्यावलोकन गर्दा गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, मोहन कोइराला, भूपी शेरचन, रमेश क्षितिज, बिप्लव ढकाल, मनु मञ्जिल, श्रवण मकारुङ र नवराज लमसाल, दौडमा सबभन्दा अगाडी देखिएका छन् । त्यही विन्दुमा पुग्न वा अघि बढ्न पुष्प पनि दौडी रहेका छन् ।’

स्वयम् कविको धारणा :- ‘हिजोआज सभ्यता र संस्कृतिलाई टुक्र्याएर देश विभाजनको सङ्घारमा पु¥याएको बेला म म भने कविताहरूमा देश खोजी रहेको छु ।’

गेविन्दराज विनोदीको धारणा :- ‘राष्ट्रपीडाले छटपएिका कवि एवम् गजलकार पुष्प अधिकारी अञ्जलिले कवितामा देश खोजेका छन् । अव हरेक सर्जकले आफ्नो सिर्जनामा देश खोज्नुपने भएको छ ।’

भूपिनको धारणामा (‘जैविकरूपमा मोतीराम र पुष्प अधिकारी अञ्जलिमा रगतको कुनै साइनो नहोला तर कुशल साहित्यिक सङ्गठनको रूपमा उनमा मोतीराम अनुवंशिकता प्रवल देखिन्छ ।’

डा. निरज भट्टराईको धारणा :- …‘ कविहरूले कवितामा कविता नखोजी रहेका बेला कवितामा देश खोजी रहनुहुन्छ।’

प्रभाकर पण्डितको धारणा :- ‘उनलाई चिन्ता छ आफू उभिएको धरातल भोली आफ्नो रहन्छ कि रहदैन, आफ्नो भाषा आफ्नो परिवेश आँफै माथि आफ्नो अधिकार रहन्छ कि रहदैन ।’

सुमित्रा पौडेल आँचलको धारणा :- ‘चाहे गजल होस् या कविता यहाँका सिर्जनाहरूमा प्राय देश र माटोको सुवास मिसिएकै हुन्छ ।’

विजयराज ज्ञावलीको धारणा :- ‘पुष्प अधिकारी अञ्जलि नाम नै गजल, कविता, कथा र मुक्तकको एउटा अमिट ब्राण्ड हो नेपाली साहित्यको बजारमा ।’

विर्खे अनजानको धारणा :- ‘समयले बोकेको इतिहासको आलो दस्तावेज नै यिनका कविताहरू हुन्’

कृतिको संरचना

कविताको संरचनालाई हेर्दा (२६+१३२) = १५८ पृष्ठको छ । १२८ अनेक बिम्बहरूले सृङ्गारेको फूलका थुङ्गाहरूको एउटा सुन्दर कृति हो ‘म कवितामा देश खोजिरहेको छु…’ । कविता सङ्ग्रहमा कविजीले देश खोजी रहनु भएको छ प्रतिबिम्ब भएर देश आँखामा उभिएको मनमा सजिएको कवितामा देश उठाउन खोजी रहेको, देशको सिङ्गो अस्तित्व र स्वाभिमान बचाउन खोजी रहेको कविको चाहना हो तर कुम्भकर्णहरू सुतिरहेका छन्, कसैले देशलाई लुटिरहेका छन् । देशको चिन्तनमा कोही छैन । कविको चाहना त सत्यताले भरिएको सुन्दरताले सजिएको र शिवत्वले रमणीय भएको बाँझा मनहरूलाई हरियालीले भरिएको देशको चाहना हो कविको ।

समय हराएको छ । संवेदना र विश्वास हराएको छ, देश दुखेको छ, मान्छेको मन दुखेको छ छोरीहरू वलाल्कृत हुँदा छोरीहरू स्वयम्भूले न्याय र अन्याय छुट्याउन सकिरहेको छैन । कविले उज्यालो भविष्यको खोजीमा छन् मानव अस्तित्वको संरक्षण चाहान्छन् । आजको दिनलाई नै रात वनाउने, आफैले बनाएका मन्दिर आफै भत्काउनेजस्ता मानव प्रवृति, सिंह दरवारले रमिता हेर्नु वालुवाटारले कानमा सिरानी राखेर सुतिरहनु, वानेश्वरका बाँदरहरू, यत्रतत्र भौंतारी रहनु, अपराधीहरूले सरकारको संरक्षण पाउनु, बिखण्डन्तिर देश जान्छ कि भन्नेदेखिनु, राष्ट्र, राष्ट्रियता, देश आगोमा दनदनी जलिरहँदा, गुराँसका रक्तिम आभा खोसिदा, सुनाखरीका मनहरू ग्यास च्याम्बरमा थुनिदा बुख्याचाहरूलाई देशप्रति मन दुख्न पर्ने हो तर अरुले लगाइदिउको लेपमा शिङ्गारिदै मनभरी उन्यू फुलाएर ठिङ्ग उभिएको व्यङ्ग छ कविताहरूमा ।

आज देशले विदेशसँग भिख मागेर बनाएको याजनाको सडक, चरक्क चर्किएको ऐनाजस्तै, ज्वलामुखीले च्यातिएको अनुहारजस्तै, महत्वकाङ्क्षाले बर्बादभएको मुलुकजस्तै, भागबण्डा नपाएका फुटेका दलहरूजस्तै, चर्किएको र निस्प्राण सुतिरहेको अनुभूति हुन्छ बनाइएका योजनाहरूमा । कविको ‘आखिर सडक भन्नु त योजनाहरू तन्काउने अर्को योजना न हो ।’ प्रकृथि प्रेम पनि गाढा छ । कविले प्रकृतिसँग प्रेम बाँडेका छन् । मानवमा अहम्ता देखेका छन् । बर्तमान समयको यथार्थता यस्तै कृयाकलाप रहदै गएमा हाम्रो इतिहास कुनैदिन विदेशीको क्यालेन्डरमा झुण्डिने, बुद्ध, भृकुटी, सगरमाथाको वीरता आदिमा निर्लज्य भएर आफ्नो अस्तित्व वेच्न वाध्य हुनु पर्ने सम्भावना पनि देखेका छन् कविले । मानव आज सजिव भए पनि निर्जीव हुन परेको छ र मन्दिर, मस्जिद, चैत्य र विहारहरूमा आस्थाको उज्यालोको खोजी गर्दा आफैसँग उदाएको र /अस्ताएको पाउँछन् र प्रेम भन्दा कविले राष्ट्र, राष्ट्रियतामा समर्पित भएर देशकै अस्तितव र स्वाभिमान बचाउनको लागि आह्वान गरेका छन् । आज शहिदहरू अवमूशल्यन भएका छन्, ऐतिहासिक शालिकहरूको परिचय हराएको छ, रत्नपार्कमा उभिएर समयको ऐना हेरेर युद्धको घोषणा गरिरहेको छ पुरानो घण्टाघर, घिसार्दै अंध्यारो गल्ली र चोकहरूमा बलात्कार गरिरहेको छ न्यायालय, इजलासमा हरिया नोटहरूको फैसला सुनाइन्छ, ढोकामा साँढे पालेर भक्तिजनहरूको खिसी गररहेका छन् पशुपतिनाथ, जङ्गवहादुरहरूले देशलाई तमासा बनाएका र सपना बाँडिरहेछन् । छिमेकीहरूले नीलो ल्याम्पपोष्टको उज्यालोमा तमासा हेरिरहेका छन् । कुमारी जूनका ती उत्ताउला वैंशहरू, अव बन्दुक सुत्नुपर्ने धारणाहरू, जतनसँग राख्नुपर्ने प्रेमका धड्कनहरू, बूढी आमा, समय र पीपलका पातको जीर्णता र त्याग र समर्पणको पर्खाइहरू, आजको युगको सिसाझैं चर्किएको बर्तमान र ती पुराना अनुहारहरू, भूगोलको कुुनै छेउमा पर्खिराख्ने र भेट्न आउने धारणाहरू, विहान हुँदा नहुँदै च्यातिने सपनाजस्तै यस देशको भाग्य नच्यात्तियोस् भन्ने धारणाहरू, एउटा धुमिल स्मृति साँझको आकाशमा अर्पण गरिएका ती श्रद्धाञ्जलीहरू, देशको कानुन हातमा बोकेर फासिस्ट बनेर निरङ्कुस बनाउँदै ऊ कुन साम्राज्य बनाउँदै छ भन्ने राखिएका प्रश्नहरू, भूगोलबाट हराएका ताराहरूको खोजीहरू, विनिर्माण हुँदैछन् जिन्दगीका आयामहरू, आततायी पर्खालहरू लाउन नखोज्ने र आफ्नै घरभित्र साँध सिमानाहरू बनाउन नखोज्ने सुझावहरू, निर्जीव मान्छेको भीडमा उएटा सजीव युग गुञ्जाउन र मङ्गल धुन सुन्ने चाहनाहरू, यत्रतत्र सर्बत्र पलपल घुमिरहन्छन् स्मृतिका यादगारहरू, रहस्य मय स्पर्शहरू, कवितामा हुनुपर्ने शालीनताहरू, मनको भूगोल र जिजीविषाहरू, दिनानुदिन भूगोल हराइरहेछ, सुस्ता रोइरहेछ तर बगिरहेका छन् भ्रमका सिलसिलाहरू, सुनाखरीसरी गमगाइ रहेको अक्षरहरू, खोजी भैरहेका छन् सपनाहरू र गर्नु परेको छ सपनाहरूको शल्य क्रिया, आधा फैलावटमा आह परागसेचनको समय पर्खिरहेछन् कुमारी आमाहरू, आकाशमुनि मानवता ओछ्याएर थाकेका विद्रीण जीवनका निरन्तरता बनेका छन् कविका कविताहरू, दम्भको उच्चाइ बोकेर अभिमानको शिखर टेकेर दर्शि रहेछन् पहाडका रङ्गहरू, आँखाभरी छिरलिएका छन् दुर्घटित सपनाहरू, यो मातृभूमिमा एउटा शालीन बस्ती बसाऔ जहाँ जितको झण्डा फहराउने छन् सबैले भन्ने अभिव्यक्तिहरू, मान्छे हुनको अर्थ अरुको पीडामा गदगद हाँसेर उत्सव मनाउनु पनि होइन भन्ने धारणाहरू, देश हाँक्ने सिंहदरबार दन्त्यकथाजस्तो लाग्ने यथार्थताहरू, कुमारी यौवनबाट तिर्खा पिउने कालारातहरू, वैधानिकता खोजेको अमर प्रेमहरू, जीवनमा उतार चढावका ती समयहरू, फेसबुकमा भेटिने प्रेमिकाहरू, सेताम्मे कुहिरो बोकेका बेला सम्झना हुने तिम्रा यादहरू, म झस्याङ्ग हुन्छु सम्झेर अतितका घटित घटनाहरू, कालो जीवनको उत्सव नमनाउ मैले भनेकै हुँभन्ने धारणाहरू, सबै प्रतिक्षारत हुने छन् हामीले बनाएको प्रयोगशालाको चौतारिमा भन्ने कल्पनाहरू, अँध्यारो जीवनमा खण्ड खण्ड भएर विभाजित मनहरू, ऊ अर्थात कवि सालिक पनि हुन सक्छ र काव्यको मालिक पनि हुन सक्छ भन्ने अभिप्रायहरू र तिम्रो रूमानी आगमनमा दोबाटोमा पर्खी रहने आदि आदि विविध धारणाहरूले भरिएको छ कवितासङ्ग्रह ।

कविताको बारेमा माथि लेखिएका विभन्न साहित्यकारहरूका धारणा र माथी कविले कवितामा माथि पोखेका शीर्षकगत अभिव्यक्तिबाटै कविताको धरातलदेखि उच्चाई कति उच्च र प्रष्ट छ भन्न सकिन्छ संसारमा प्रेम चाहिन्छ । प्रेमबाटै मानवमा अपनत्व जगाउँछ । कविले प्रेमका दुबै रूपहरू (संयोगान्त र वियोगान्त) लाई प्रयोगमा ल्याएका छन् । कवि जीवन र जगतसँग परिचित छन् । त्यसोहुँदा कविताहरूले प्रकृतिका विविधरूप, परम्पपरा, धर्म, सांस्कृति, अग्रगामी विचारहरू, मूल्य र मान्यताहरूलाई जत्रो संसार छ त्यत्रै छाती बनाएर भावनाका लहरहरू बगाएका छन् । नदी, घाम-जून, फूल, हिमाल, जूनेली-अँधेरी रात आदि विविध बिम्बलाई कवितामा सजाएका छन् र, राष्ट्र र राष्ट्रियतालाई हरेक कदममा अङ्गालेर, पसिनाका बूँदबूदले सिञ्चित गराएर समाजरूपी फूललाईलाई फुलाएका छन् । कवितामा इतिहासलाई हेरिएको छ, बर्तमानलाई समेटिएको छ र भविष्यलाई सुन्दर बनाउने सिर्जनाको धारणा बोकेका छन् कविताले । संसार परिवर्तित छ । परिवर्तनका हरेक बीजहरूले सिर्जनाका वृक्षहरू उमारी रहेका छन् । प्रकृतिका सप्तरङ्गी सिङ्गारमा इन्द्रेणीमा सुन्दरता देखिएसरी पुष्पजीका कवितामा कृतिमताको ह्रास छ यथार्थताको सिङ्गार छ, सत्यताको प्राण छ । वास्तवमा पुष्प प्रयोगशिल्पी र जीवनवादी कवि पनि हुन् । कविमा शान्तिको धारणा छ र युद्ध कविलाई मन पर्दैन यदि युद्ध नै लड्ने हो भने सबैको जीत हुने युद्धको चाहना छ, हिजोको जस्तो मुलुकले भोगेका संत्रास आज परिवर्तन भएकोमा पुनः भोग्न नपरोस् भन्ने कामना छ । बिम्ब, प्रतिक, उपमा, अलङ्कार, भाषिक सरलता लयल आदि कविताका तत्वहरूलाई समाएर समाजमा घटित घटनालाई आधार बनाएर लेखिएका कविताहरूले समाजको यथार्थ घटनालाई टपक्क टिपेर कल्पनामा सजाइएको छ । अत कविका कविता बिम्बैबिम्बले जिएका छन् । प्रयोगशिल्पी छन् । अनुकरणीयछन् र पठनीय छन् । यस्ता जीवनवादी बिम्बशिल्पी कविलाई गहन कृति सिर्जना गरेकोमा मुरीमुरी धनयवाद छ ।

२०७०/३/१ गते कावासोती साँढ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *