
अमूल्य श्रोतका धनी ।
विशेष लाग्छ मोहनी ।।
छ भानु झैँ समुज्वल ।
लुटिन्छ नेत्र चन्चल ।।१।।
बिहान सूर्य आउँदा ।
खुलेर हाँस्नु सर्वदा ।।
बनेर स्वर्ण बद्लिने ।
अपूर्व बन्छ टल्किने ।।२।।
जडीवुटी र औषध ।
छँदैछ भव्य दौलत ।।
वहन्छ हैम पग्लिए ।
नदी बनेर बग्दिए ।।३।।
खिँचेर ध्यान तान्दछ ।
मनुष्य डाक्न जान्दछ ।।
विदेशबाट आउँछन् ।
खुशी हुँदै रमाउँछन् ।।४।।
लिँदैन दिन्छ अन्यको ।
दिने यही महान हो ।।
म मान्छु देश गौरव ।
हिमाल यी लगालग ।।५।।
उठेर माथ उच्च छ ।
नझुक्न चेत भर्दछ । ।
विचार यो प्रदायक ।
हिमाल बुझ्नु नायक ।।६।।
अजस्र स्वच्छ कन्चन ।
खुशी बनाउँछन् मन ।।
प्रभात गर्नु दर्शन ।
हुनेछ धन्य जीवन ।।७।।
नियाल्छु जिन्दगीभरी ।
रमेर हेर्न क्यै गरी ।।
हुँदै त मृत्युका घडी ।
म पाउँ देख्न झल्झली ।।८।।
चूडा निर्भीक
छन्दःप्रमाणिका
