
हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी फुलेर चना भयौ । हामी चाम्रेर नासिन्छौँ । तिमी उम्रेर झ्यागिन्छौ ।
तिम्रो बुद्धि पलाएको पलायै छ । हाम्रो सुद्धि हराएको हरायै छ । अरू बेला हप्काउँछौ, थर्काउँछौ, त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा हाम्रो छाप लिन भने गुलिया भजन सुनाउँछौ ।
तिमीलाई जिताउँदा पनि उही भयो । तिमीलाई हराउँदा पनि त्यही भयो ।
मन मिल्दा सहकर्मीसँग घाँटी जोडिएको कुरा गर्छौ । मन भाँडिँदा पानी बाराबार गर्छौ । अझ, आफ्नो स्वार्थको घैंटो रित्तियो भने बन्द-हडताल, धर्ना-अनसनको परिपञ्च रच्छौ ।
तालीका लागि बेसुर हुन्छौ । सुर आएपछि पत्रुकारको मनपरी हो भन्छौ । आफूलाई सधैँ सत्यको राजमार्ग ठान्छौ । जगत्लाई असत्य नै असत्यको नरकधाम मान्छौ ।
त्यसैले त तिमीलाई पदम कुँबर चाहिएको छ । त्यसकै प्रतिक्षामा युवा पिँढी थामिएर उभिएको छ ।
