Skip to content


किसानहरू
कोही थाप्लोमा
कोही काँधमा
कोही हात पाखुरामा
हलो, कोदालो
र डोको भरि
ईश्वरहरू बोकेर
खेत बारीमा पुग्छन्
अर्को इश्वर भेट्टाउन
अर्को ईश्वरको सिर्जना गर्न ।

हो हो माले हो हो
हो हो तीखे हो हो
जब हली ईश्वरहरू गाउन थाल्छन्
चुपचाप चुपचाप जुवा नारिएका ईश्वरहरू
हिलो माटोमा नाच्न थाल्छन्
“तिम्रा लागि ठुल्ढुंगासम्म
मेरा लागि चरौंदी बेसीमा”
छुपु छुपु धान रोप्दै रोपाहार ईश्वरीहरू
बैंशालु जुहारी गाउँछन्
बाउसे ईश्वरहरू
जुहारीको आनन्द उठाउदै बाढी, खडेरी र असिनामय
दैत्यहरूको गर्धन ताछे जस्तै
आली कान्ला ताच्छन् ।

खेतबारीको हिलो माटो
ईश्वरको मन्दिर हो
परिश्रम तपस्या हो
चोखो गङ्गा जल हो पसिना
उन्मुक्त असारे गीतहरू
वेदका ऋचाहरू हुन्
मुस्कुराइरहेका धानका वालाहरूमा
मैले साक्षात ईश्वर देख्ने गरेको छु ।

(ईश्वर छन्, ईश्वर छैनन् कविता संग्रहबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *