Skip to content

भान्जी किमाथाङ्कालाई पत्र

BalKrishnaPokharel


भान्जी किमाथाङ्का !
मेरी भृकुटी दिदैकी प्यारी छोरी किमाथाङ्का !
मेरा स्रङचन भेनाको काख खुँद्ने किमाथाङ्का !
तिमी कति निष्ठुरी !
बाफ्रे ! कति अल्छे बानीकी अभिनेत्री तिमी !
हर्र मोटर चढेर आउँदिनौ तिमी मोरङ ।

भान्जी !
बरु तिम्रा ग्यारेजबाट अरुण नदीले बगाएका
कति थान ट्रक, भ्यान र मोटरहरू बेगले
हाम्रो चतराको किनारमा
आएर धेरै दिन थन्किएका थिए ।
हामी रमिते भएर प्यारी भान्जीका ती मोटरहरू
हेर्न कुद्दै चतरा पुगेका थियौं ।

याँकी सिन्धु नाउँकी कोशीलाई
सिन्धुपाल्चोके र सिन्धुलिया ‘खुसी’लाई
चित्रेबाघ देखी डराउनेहरूले
चित्रागङ्गा भनेको सुनेर मेरा पुर्खाले
कतै चौतरा र कतै चतरा भनेथें ।

तिम्रा मोटर बगाउने हिम्मत गर्ने
अरुण बास्साले
उदाङ्गैमा सिंदूर दलिदियो
सुन्दरी चित्राको सिउँदोमा !
तिमी आउनुपर्थ्यो यो रमाइलो दृश्य हेर्न
हरर मोटरमा सबार भएर ।

तर कस्ती निष्ठुरी त मेरी भान्जी !
आफ्नो साटो ग्यारेजका रित्ता मोटर पठायौ ।
म झैँ मामाको मन कटक्क दुखायौं ।

किमाथाङ्का !
उहिले महिषी अर्थात् भैंसी पनि त्यहीं थी रे !
आफ्नी चौंरी दिदीसँग रिसाएर यता आएकी रे ।
त्यसलाई हेपेर पाडी या रोङ्ली भन्दैछन् ।
कतैकतै रँगेली भन्दैछन् ।
कतै कतै पाडाखोपी र पाडाजुङ्गी भन्दैछन् ।

आफ्नै कुलकी भैंसालाई चिन्न नसकी
बरा भिक्षु वाङ–हुएन– चेले
हेपेर भैंसा भने महिषी पुत्रलाई
अर्थात् अरुणाश्वलाई
अनि भैंसालोटननेरि पछारेर पाता कसे ।
अनि निरपराध मगरनरेश
अर्थात् महिषनरेश
अर्थात् मुङ्गेर नरेश अरुणाश्वलाई
बाँधेर महाचीनसम्म पुर्याए ।

यसैले भान्जी !
यस्ता भूललाई हुन नदिन
मामा भान्जी बीचको नाता अमर राख्न
अब झट्टै किमाथाङ्का र मोरङबीच
मितेरीको राजमार्ग बनिहाल्नुपर्छ ।

खेल्दा भने राजनीतिको भकुन्डो खेल्ने
तर काम गर्दा भने राजमार्गलाई जनमार्ग भन्ने
कुन्नि केथरी प्राणीको सपनाविरुद्ध
मामा भान्जीबीचको सम्पर्क बढाउन
तिम्रो मामलीलाई भूस्वर्ग बनाउन
त्यहाँदेखि यहाँसम्म एउटा
गतिलो पक्की चक्रेटो बन्नैपर्छ !
भान्जी !
सुन्यौ ? छिटै बन्नुपर्छ !

बालकृष्ण पोखरेल
वि.सं. २०६९।११।८ मङ्गलबार

प्रसिद्ध भाषाविद वालकृष्ण पोखरेलले २०६९मा किमाथाङ्कासँग मोरङ् जोड्ने मोटरबाटो परिकल्पना गरेर लेख्नुभएको कविता । कविता उपलब्ध गरिदिनुभएकोमा जयबहादुर घिमिरेलाई धेरै धन्यवाद !

3 thoughts on “भान्जी किमाथाङ्कालाई पत्र”

  1. यो कविता २०१९ सालमा लेखेको
    यो कविता २०१९ सालमा लेखेको नभएर २०२९ सालतिर लेखेको हुनुपर्छ , किनभने अरुण नदीमा २०२१ साल् असोजको अन्तिम सातामा ठुलोबाढी आएको थियो | त्यही बाढीले मोटरका चक्का लगाएत विभिन्न भागहरु बगाएर ल्याएको थियो | तुम्लिंटार नजिक मनकामनाको बगरमा यौटा चक्का भेटिएको हो र अलिक तल लामिबगर्मा यौटा टायार फेला परेको थियो भने खहरेको बगरमा अर्को चक्का भेटिएको थियो भने २०१९ सालमा लेखेको कवितामा कसरी एस्तो कुरो लेखियो ? के यो भविस्यवाणी गरेको हो त ?

  2. खासमा चाहिं २०६९ हो
    हैन टिकाजी, गल्ती भएको हो । खासमा चाहिं २०६९ हो । ५० वर्षको हेरफेर परेछ, सच्याइएको छ ।

  3. धन्यवाद ! मलाई त अचम्मै
    धन्यवाद ! मलाई त अचम्मै लागेको थियो र पो त !!!!!

Leave a Reply to ks Cancel reply

Your email address will not be published. Required fields are marked *