Skip to content


असार पन्ध्र आजको दिन हिलोमा मैलोमा
डुबाई हात डुबाइ खुट्टा हाँसेर रमेर
छ्यापेर हिलो हल्लाई शिर कम्मर मर्काई
छुपुमा छुपु रोपेर धान नाचेर गाएर

चिउरा दही मुछेर खाई आजको दिनमा
खेताला सबै किसान सबै आजको दिनमा
बिभेद छैन बिमति छैन रमेको दिनमा
कोरेको मैले असारे छन्द आजको दिनमा

हलोले जोती मानोमा रोपी कृषिको देशमा
लागौंन हामी जुटौंन हामी पाउन मुरीमा
मल र खाद पुगेको छैन जोतेको खेतमा
तैपनी बनी बुतोमा गरी रोपौंन सबैले

नाचौंन सबै भुलेर दुःख गिताङ्गी तालमा
गाऔंन साथी आजको दिन असारे भाकामा
असारे लय रमेर गाऔं दिवस धानको
खुलेर नाचौं बधाइ दिऔं असार पन्ध्रको

छन्द :– असारे छन्द ३ २ ३ २ ३ ३ १६

२०७० असार १५
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *