Skip to content


नियात्रा !
अहिले प्रत्येक पलमा
म तिमीलाई सम्झिरहेछु

हो ;
तिमी नमान्न सक्छौ
यो एउटा सहयात्रा मात्र हो
सगै हिड्ने साथीको सम्बोधन मात्र हो
मेरो यो आशयलाई
तिमीले -“यो एउटा घटिया पुरुष शोच मात्र हो !”
भनेर थुक्न पनि सक्छौ

नहोस् पनि कसरी
तिमीले नै शंकलन गरी तयार परेको अभिलेखमा
थुप्रै नियत्राहरूलाई आततायी पुरूषहरूबाट
बेचिएको,बलात्कार गरिएको,जलाइएको कथा
मैले नपढेको कहाँ हो र !
दाइजोको निहुमा,सन्तान नपाएको मिथ्या आरोपमा
धेरै नियात्राहरूले चरम यातना भोग्दै
मृत्यू बरण गरेको दृश्य
मेरा यी आँखामा नसल्बलाएको कहाँ छ र !

तर नियात्रा !
लिंगकै आधारमा कोही निच र कोही प्रिय हुन सक्तैन
राम्रो काम गर्ने मान्छे,पुरुष भए पनि राम्रो हुन्छ
नराम्रो काम गर्ने मान्छे नारी भए पनि नराम्रै ठहर्छे
यसैले अग्लो होचो कालो गोरो पढेको नपढेको हुने नहुने
भन्ने कुरामा अल्झेर लगाउने दोष पनि
असलमा नियात्रा !बेकार छ

अनि त
उत्पीडनको बिरुद्दमा लड्नेहरू
अन्यायको खातिर अघि बढनेहरू
राष्ट्रियताको खातिर आवाज बुलन्द गर्नेहरू
शीपले जागरले देशको नाम रोसन छर्नेहरू
चाहे पुरुष हुन् या नारी
प्रत्येक नेपाली मुटूमा छाप छाडेकै हुन्छन्

तर नियात्रा!
भ्रष्ट भ्रष्ट नै हो
भलै ऊ आफ्नै कित्ताको किन नहोस्
फटाहा फटाहा नै हो भलै ऊ अगुवा किन नहोस्
यसर्थ पनि सम्झिरहेछु
नियात्रा ! यी सबै कुरा चिन्ने
तिम्रो आक्रोश कहिले नरोकियोस् भनेर

हिड्दै गर्दा
ठेश लाग्दा पनि
सपनामा ऐठन हुदा पनि
स – साना कुराले मन
बोझिल हुदा पनि
मैले सम्झी हाले भने तिमीलाई
पितृसतात्मक शोच भनेर नदुत्कारे है !

सत्य त यो हो कि –
तिम्रो प्रखरताले यति लठ्याएछ कि मलाई
नियात्रा !
म अहिले प्रत्येक पलमा
तिमीलाई नै सम्झिरहेछु

अस्तु :

@विवेक दुलाल क्षेत्री “दमक ”
(वास्तविक नाम : भानुभक्त दुलाल )
दमक, झापा
हाल :अबुधाबी, यू ए इ

Leave a Reply

Your email address will not be published. Required fields are marked *