“यसैले आज मलाई तिमीले खुसी गरायौ भने निश्चय नै तिम्री आमा खुसी हुनेछिन् । बाबु मलाई खुसी गराऊ । तिम्रो शरणमा आएँ भन्दै पहिले कसिलो अंगालोमा बाधिन् मलाई र वात्यल्यपूर्ण तरिकाले चुम्बन गर्दै मेरा अंगप्रत्यइगमा सुमसुम्याउन थालिन । तर, बिडम्बना निमेषभरमै त्यो वात्सल्यमय ममता परिवर्तन भई वासनामय बनिसकेको पनि मलाई ख्यालै भएन । उनले अत्यन्त शीघ्र यति कामकुशलताको सिप प्रयोग गरिन् कि, त्यसबेला मैले क्षणभरमै उनलाई ममतामयी माताको दर्जाबाट तुरुन्त हटाई कामकुशलताले निपुण सुन्दरीका रुपमा उपभोग गर्न विवश भए ।”
सहित्यको मुलधारमा झुल्किएका कथाकार जयबहादुर घिमिरेको कालिजको सिकारभित्र उनीएको कथा “आमाको श्राद्ध”को अंश हो यो । पितृहरू जिउँदा रहुँन्जेल “सन्चो बिसन्चो”सम्म सोध्न नभ्याउने समाजमा आज पनि मरेपछि पिण्डादान श्राद्ध गर्ने प्रबृतिलाई कथामा भरमार व्यंग्य गरिएको छ । आत्मपरक शैलीमा लेखिएको कथामा कथाकारले मरेपछि पुण्य कमाउने हिन्दु संस्कृतिमाथि नै प्रश्न तेस्र्याएका छन् । कल्पनाको उडानमाभन्दा कथाकारले गरुण पुराण, श्रीमद्भागवत्का छद्म तर्कहरूलाई सप्रमाण पेश गरेर प्रश्न तेस्र्याउन खोजेका छन् ।
उनको शिल्प, शैली र भाषागत विच्छन्नतालाई एकछिनका लागि पर राख्ने हो भने कथाकारको कथाकारिता कुनै मूलधारका स्वघोषित वरिष्ठ साहित्यकारकोभन्दा कम्ति छैन । १० वटा कथाको सग्रह कालिजको सिकारले नेपाली समाजको एकसरो झझल्को दिन्छ । शीर्षक कथामा ग्रामिण नेपाली समाजमा जरो गाडेर बसेको साहु महाजन सस्कारले कसरी विद्रोहको बीउ रोपिरहेको छ भन्ने दृष्टान्त पेश गरेको छ । कथाकारिताका हिसाबले कालिजको सिकारभित्रका कथा कथाभन्दा आत्मलाप अलि बढी देखिन्छन् । संग्रहका हिसावले कथाकार नवप्रवेशी देखिए पनि विषयवस्तुका हिसाबले घिमिरे वर्तमान युगका कथाकार हुन् भन्ने प्रमाण “विर्यदान” कथाले दिन्छ । विषय, परिवेश र मुद्दाका हिसावले यो निकै खारिएको छ ।
कथाकारको कलम समाजका अन्याय विद्रोह भ्रष्टाचार लोभीपापी, चरित्र, यौन कुण्ठा, यौन उद्वेग मात्रै लेख्न समर्थ छैन राष्ट्रिय स्वाधिनताका लागि मुलुकलाई राज्यले कसरी न्याय गर्नुपर्थ्यो भन्ने भावना ओकल्नसमेत समर्थ छ । सोनाम डोल्मको देशभक्ति कथामार्फत कथाकारले डोल्पाली जीवनको झझल्को दिने प्रयत्न गरेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी त परै जाओस, नूनसम्म नपाएको पीडा पात्रमार्फत ओकल्दै उनले यसभन्दा त पराधीन …. भन्दै सरकारप्रति गहिरो आवेग पोखेका छन् ।
समग्रमा उनका कथा पठनीय हुँदाहुदै पनि कतिपय ठाउमा कथा शैली प्रयोग गरिदिनाले कथाले रफतार लिन नसकेको अनुभूति हुन्छ । कहीकतै आञ्चलिकताको झझल्को दिनुलाई कथाकार घिमिरेको मौलिकताका रुपमा स्वीकार्न सकिन्छ । त्यसैले पनि कालिजको सिकारभित्र समाविष्ट अन्य केही कथा पनि पठनीय छन् । यद्यपि कथाका कतिपय अंश पढिरहँदा लेख, निवन्ध, आत्मलाप पो पढिरहेको छु कि भन्ने भान वेलावेलामा हुने गर्छ ।
प्रकाशक– मणिकुमार गुरुङ, खा.न.पा. –६, माल्टा, हाल युके
विधा : कथा संग्रह कलिजको सिकार
लेखक : जयबहादुर घिमिरे
शिवराज योगी
साभार : नेपाल साप्ताहिक श्रावण ८, २०६९
कान्तिपुर पब्लिकेशन