Skip to content


मुलुक ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ घोषित हुँदा खुशी थाम्न नसकेर बारीको कान्ला–कान्ला बुर्कुसी मारें– दोस्रो जनआन्दोलनताका पुलिसले पुर्पुरोमा फुरौला उठाउँदाको पीडा पनि बिर्सिंदै। सबैले ‘नयाँ नेपाल’ भनेकाले आकाशतिर हेर्दै दगुरियो, मानौं चमत्कारी विगुत माथिबाटै खस्छ। दगुर्दादगुर्दै स्याल–साँढे कथाको सम्झ्ना भएपछि भुईंतिर हेर्दा त आफूले टुटुल्को उठाएर ल्याएको गणतन्त्रलाई नेताजीहरूले ‘गनतन्त्र’ भन्न थालिसकेका रहेछन्। कन्पारो तातेर आयो।

“हाम्रो गणतन्त्रको किन यति चाँडै अपभ्रंश भयो, गुरुवर?” दौडिंदै आदरणीय गुरुसामु पुगेर जिज्ञाशा राखें।

“यो देशाँ कि त धनतन्त्र चल्छ कि त गनतन्त्र!”

“हामी जस्ता भुईंमान्छेको कन्पारो तातिए पनि केही लछारपाटो लाग्दैन त गुरुवर?”

“चित्त धेरै नदुखाऊ, नत्र मेरो जस्तै पित्त विकार झेल्नुपर्ला”, चाउरिएको पेट छाम्दै गुरुवर आसनमा लेट्नुभो।

पहिले ‘गन’ को बलमा रजगज गरेकाहरू दोस्रो चुनावमा बुचिट्वाँट भएको देखेपछि मात्र गुरुवाणीले भेजाप्रदेशमा बिजुली चम्कायो। जनताले उत्तान्टाङ्ग बनाइदिएकाहरूले फेरि ‘गन’ कै ध्वाँस लगाउन थालेपछि हामी ‘गनतन्त्र’ नेपालमै छौं कि क्या हो भन्ने शंका उब्जिएर अन्तरिम संबिधान पल्टाउँदो भएँ। त्यहाँ गणतन्त्र नै लेखिएको थियो। मुद्राराक्षसले गडबड गर्‍यो कि भन्ने तुलबुली बोकेर भौंतारिंदै थिएँ, अनायासै चर्किएको नाराबाजीले झ्स्याङ्ग बनायो। “पाइँदैन, पाइँदैन।”

“हुँदैन, हुँदैन।”

जिन्दावाद र मूर्दावाद मात्र सुनिरा’को मेरा कान यस्तो विरलाकोटी नारा हजम गर्न नसकी चिलाए। नजिक गई सोधें, “के भएछ, मित्र?”

“लास्टै गर्द्यो नि साथी! पुलिसले हाम्रो मान्छे समात्यो।”

“किन समातेछ त पुलिसले?”

“हाम्रो मान्छे भने’सी पुगेन? एउटा मान्छे मार्‍यो भन्दैमा थुन्न मिल्छ?” “नेपालको पुलिसले हत्यारा पक्रेछ!” मेरो आँतले आश्चर्य पचाउन सकेन। “हाम्रो मान्छेलाई हत्यारा भन्ने यो डलरजीवी दलाल जस्तो छ, सुँघेर हेर, हेर।”

“खल्तीमा एउटा डबल छैन, कताको डलरजीवी…”, बिस्तारै फतफताएँ। एउटाले छेउमा आएर शिकारी कुकुरले झैं स्वाँक्क सुँघ्यो। “साम्राज्यवाद र घरेलु प्रतिक्रियावादको फ्युजनबाट उब्जिएको तत्व हुनुपर्छ यो। खाँट्टी नेपाली होइन।”

“साह्रै नकाम गरेछन् पुलिसले…”, मित्र मण्डलीको ‘बडी ल्यांग्वेज’ पनि बुझ्ेपछि खैरियत जोगाउने मनसुवाले अर्कोतिर लस्किएँ। त्यहाँबाट उपियाँ झ्ैं फड्केर गफिइरहेका दुई भद्रको पछाडि उभिएँ।

“शान्तिका भँडुवाहरूले शान्तसँग बस्न नदिने भए”, पेट सम्याउँदै प्यान्ट मास्तिर तानेर एक भद्रले मुख अमिलो पारे। “कसैले भोक हडताल गर्‍यो भन्दैमा हाम्रो मान्छे थुन्न पाइन्छ? सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नगरुञ्जेल जे गरे’नि हाम्रो मान्छे छुन पाइन्न”, दोस्रो भद्र डुक्रिए।

“आयोग गठन गरिदिएको भए लफडा हुन्थेन कि?” मेरो जीव्रो फेरि चिलायो। “हामीले भने जस्तो बनाउन मान्नु पर्‍यो नि!”

“कस्तो होला त्यो?”

“मेलमिलाप आयोग भन्या कस्तो हुन्छ? दुवै पक्ष भेला हुने, उताकाले हाम्रालाई नमस्कार गर्ने, हाम्राले’नि नमस्कार फर्काइदिने।”

“पीडितहरू मान्लान् र?”

“शान्ति चाहिया भए मान्छन्, नत्र मान्दैनन्। अघिल्लो चुनाउमा मनखुशी भोट हाल्न पा’थेम संबिधानसभा शान्तिपूर्वक चल्यो। यसपालि मनमाफिक भोट हाल्न दिएनन्, हामी’नि संबिधानसभा चल्न दिन्नम्। कसैलाई मार्‍यो भन्दैमा ‘आँखाको बदला आँखा’ गर्न पाइन्छ?”

“त्यस्तो जंगली कानून शहर पस्या छ र?”

उनको प्रतिक्रिया नआउँदै भीड सल्बलायो। सरकारी सुरक्षा घेरामा रहेका नेता गर्विलो स्वरमा चिच्याए, “हत्याको आदेश दिने मैं हुँ, हुती भए मलाई समाऊ।”

भीडले थपडी बजायो, मेरो सन्देह पनि मेटियो– हामी गनतन्त्र नेपालमै रहेछौं।

हिमाल खबरपत्रिका
७ पुस २०७०
22 December 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *