हिमचुलीको काँख
झरनाले सजिएको सुन्दर मुहार
सुनगाभा जस्तै फक्रिएकी यौवन
मनै लोभ्याउने
लालिगुरासँ शीरमा सिउरेर
बस्थिन उनी
थाहा छैन कुन मोडले लम्किए चम्किए
उकाली ओराली गर्दै
भिरपाखा छामछाम छुमछुम गर्दै
खगरे खोल्सा तर्दै
देउरालीलाई फूलपाती दिन्दै
सपना भनु या बिपना सपना जस्तै लाग्छ
त्यो दृश्य त्यो क्षण झलझली आउछ
उनको ममता
तिलस्मिले भरिएको
यो समसानमा जल्ने मन
हिउँ झै पग्लियो
सागर जस्तै बदलियो
आँदीले रोक्न सकेन
पहाडले छेक्न सकेन
न त दैवले नै
मानौ,
यो नै सृष्टिको पहिलो रजस्वल्ला थियो
हाम्रो महान प्रेम
उनी अभिनय गर्थिन
वतासको झोक्कामा गीत गाउथिन
उनको सुर अनि तालमा
पंक्षीहरू नाच्थे,गित गाउँथे
साँच्चै उनी अप्सरा थिइन
स्वर्गबाटै झरेकी
कहिले काहीँ झर्किन्थिन
बर्षात झै तुवालोको झरी
खुशीको आँसुमा
अंजुली भरीभरी पिउथे
सरावी मातमा हास्थे
रिक्तताले भरिन्थे उमेरका वोतलहरू
अंधेरी मुस्कानका हाँसो र गुनासोहरू
उजेलीमा बिसाउथे
त्यो दिन त्यो रात त्यो समय
स्वर्ग झै लाग्थ्यो
तर
अहिले अतित नै अतित भो
बर्तमानको अग्नि ज्वलाले सम्झानामै ब्यतित भो
खुशीका प्यासहरू
रूवाईका आँसुहरू
माँयाका चुम्वनहरू
बिदाइका बातहरू
आजकाल कथा झै लाग्छ
इतिहासका पानामा कोरिएका शब्द जस्तै लाग्छ
क्षितिजपारीको वादल बहकिए झै
मनभित्रको एेना सप्तरंगित पर्दामा
प्रतिबिम्बन तरंगित भई झझल्किन्छ
पलपल दुई नजर विहानीको मिरमिरे उषालाई पर्खन्दै टोलाइरहन्छ
मनै मनले उनको तस्वीर बोलाइरहन्छ
