Skip to content
KarnaBahadurMajhi


वसन्तको हरियाली कोइलीका धुनमा
सुनु सुनु हेरुँ हेरुँ जस्तो लाग्छ मनमा

कोइलीको स्वर सुन्दा रमाइलो हुन्छ
वसन्तले समयको स्वर्गलाई छुन्छ

वसन्तले सुख्खा फाली हरियाली डाक्छ
धुलो, मैलो, धुवाँ, त्वाँलो फाले जस्तो लग्छ

पृथिवीलाई फुल्ने फल्ने मौका यस्ले दिन्छ
जीवात्माको अल्छी लिई जागरण दिन्छ

कोइलीले बोलाई बोलाई सत्य व्यक्ति छान्छ
एक एक गरी गरी नाम सबको लान्छ

अरुसबै पंछीहरू सहायता गर्छन्
फर्सदको समयमा तिनीहरू चर्छन्

कराङ्गकुरुङ्ग आउँछ जैले चैत वैसाखतिर
दिन्छ थाहा सबैलाई आउँछ जतिखेर

सबै भन्छन् किसानहरू अब बाली लाउँ
बेलामा नै बाली लाउन बेशी तराई जाउँ

कोही पंछी थाहा दिन्छन् बेला सकिएको
साथसाथै थाहा दिन्छन् बाली भरिएको

वसन्तले ढाकि सक्यो सब चारैतिर
छाडीदेऊ त्यस ठाउँ जाऊ कतैतिर

हाम्रो काम पुरा भयो वसन्तले छायो
हरियाली भरिएर बर्षा ऋतु आयो

घाम पानी बादल बर्षा मिली मिलिरह्यो
यस्तो भइसकेपछि क्वैली कहाँ गयो ?

निरिक्षण गरिसक्यो पृथिवीको यहाँ
मूल्याङ्कन लिई लिई गयो कहाँ कहाँ

समाजको दृश्य त्यहाँ उतारेको होला
उसको ठाउँमा गई गई फायल गर्दो होला

जीवनभरि के के गर्यो निरिक्षक भई
त्यसको फल पाइएला जीवनान्त गई

पंछीहरू वसन्तमा कार्य गर्छन् ठाउँमा
पृथिवीमै काम गर्छन् हरेक प्रत्येक गाउँमा

वसन्तको हरियाली रुखमा लुकी लुकी
हेर्छ प्रत्येक छानी छानी कोही भोका छन् कि

संसारको काम गर्ने पंछी नै हो भनी
थहा दिन्छ गृष्म लिन्छ निरिक्षण पनि

पंछीलाई दिउँ हामी उपनाम पनि
सबै भनौं त्यसलाई निरिक्षक भनी

वसन्तलाई पनि एक उपनाम दिउँ
निरिक्षणकाल भनी यसलाई लिउँ

स्व. कर्णबहादुर माझी
२०३५/१/२ दिउँसो

Leave a Reply

Your email address will not be published. Required fields are marked *