परिचय
लक्ष्मीदत्त ‘सत्यप्रेमी’कोजन्म २०२९साल आश्विन २० गते आमचौरा -५, तल्लो स्वराड, सैलोडा, बैतडीमा बुबा रामदत्त भट्ट र आमा स्व. रत्नादेवी भट्टका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ चाँदनी -५, विष्णुनगर, कञ्चनपुरमा स्थायीरूपमा बसोबास गर्नुहुन्छ ।
वहाँको ‘हाम्रो कर्तव्य र गन्तव्य’ (खण्डकाव्य, २०६३), चाँदनीको व्यथा (गजल सङ्ग्रह,२०६८), प्रकाशन भैसकेको छ । यो शोक काव्य उनको तेस्रो कृति हो । यसको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानले गरेको छ र यस कृतिलाई www.pallwa.com.npमा पढ्न पाउने व्यवस्था पनि मिलाइएको छ ।
सत्यप्रेमीले जापान सरकारबाट प्रदान गरिने शिक्षा पुरस्कार Special award २००० प्राप्त गरिसक्नु भएको छ भने महाकाली साहित्य सङ्गम डोटी शाखाको अध्यक्ष, आजीवन सदस्य सल्लाहकार सिद्धनाथ युनेस्को समाज र त्रिवेणी कला सङ्गम, आजीवन सदस्य महाकाली साहित्य सङ्गम, पल्लव साहित्य प्रतिष्ठान, चितवन, नेपाल रेडक्रस सोसाइटी, दिप्लेश्वर सनातन समाज सहित करिब एक दर्जन साहित्यिक र सामाजिक क्षेत्रमा आद्ध हुनुहुन्छ । गुगुल्डी मासिक साहित्यिक पत्रिका र चिनारी दुई मासिक साहित्यिक पत्रिकाको डोटी प्रतिनीधि हुनुका साथै हिमिका गजलप्रधान पत्रिकाको व्यवस्थापक/सह-सम्पादक हुनुहुन्छ । हरेक विद्यामा उहाँको कलम चल्दछ ।
उहाँले थाइल्याण्ड र जापानको भ्रमण गरिसक्नु भएको छ भने उहाँमा निकै लामो प्रशिक्षण क्षेत्रको अनुभव पनि छ ।
शोककाव्यको संरचना
आमाको स्मृतिमा शोककाव्यको संरचना (२७+१०१) =१२८ पृष्ठको छ । यो शोककाव्यको श्री इष्टकुलदेवाय नमः (मेरो विनय, शार्दूलबिक्रीडित छन्द) शब्दसुमनबाट थालनी गरिएको र आमाको सम्झना (शार्दूलबिक्रीडित छन्द), आमाको सम्झना (शार्दूलबिक्रीडित छन्द), आमाको सम्झना (शार्दूलबिक्रीडित छन्द), पश्चाताप (शार्दूलबिक्रीडित छन्द), त्यो कोमलै काखको (शार्दूलबिक्रीडित छन्द), बृद्धाश्रममा बस्ने ती बृद्धाजननीहरूमा यो कविता समर्पण, (छन्द शिखरिणी), बिन्ती छ आमा (शार्दूलबिक्रीडित छन्द), के देख्नु मैले प¥यो (शार्दूलबिक्रीडित छन्द), मातृबन्दना (शार्दूलबिक्रीडित छन्द), जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी (शिखरिणी छन्द), विनय शिखरिणी छन्द), यो युग (शार्दूलबिक्रीडित छन्द), परानीको गाथा (डोटेली कविता), ती पलहरू (शार्दूलबिक्रीडित छन्द), सब गर राम्रो (कुसुमविचित्रा छन्द), ती पुर्खाहरू (इन्द्रबज्रा छन्द), मनको व्यथा (मँदाक्रान्ता), त्यो बाल्यैपन (शार्दूलबिक्रीडित छन्द), आत्मज्ञान नै सुख हो (शार्दूलबिक्रीडित छन्द), हे जन्म भूमि माता (कुसुमवित्रिा छन्द), जननी गाथा (बसन्ततिलका छन्द), मातृ अराधना (शार्दूलबिक्रीडित छन्द), मातृ देवो भवः (शार्दूलबिक्रीडित छन्द), के भयो आज मलाई (इन्द्रबंशा छन्द), मलाई सत देऊ जननी (तोटक छँद), तनय हो जननी गर बन्दना (द्रुतबिलम्बित) र काखै म पाऊँ जननी (भुजङ्गप्रयात छन्द) गरी २७वटा शीर्षकमा शार्दूलबिक्रीडित छन्दलाई प्राथमिकता दिंदै स्वच्छन्दरूपमा विविध धारणा, भावना, कारुणिक शब्दसुमनले सजाईको छ शोककाव्य ।
डोटेली कवितालाई पनि यसमा समावेश गरी राष्ट्रभाषामात्र नभै मातृभाषाको मायाले पनि उच्चस्थान लिएको छ कविको हृदयमा । छन्दमा रचित यो शोक काव्य आफैमा एक गौरान्वित कर्मको थालनी हो । आज गद्यकविताको लहर चलेको बेला छन्दमा रचना गरिएको र हरेक छन्दको पहिचान समेत कवितामा दर्शाइएको हुँदा छन्दको ज्ञान नभएकाको लागि पनि यो मार्गदर्शन बन्न गएको छ । कविको छन्दप्रतिको मोहले आजको साहित्यिक बृतमा छन्दमा कविता लेखनले प्राथमिकता पाउनुको साथै छन्दमा कविता लेख्नेहरूको संख्यामा पनि कमि छैन भन्ने धारणा प्रष्टिएको छ ।
शोककाव्य र कविप्रति साहित्यकारको धारणा
कृतिकार र कृतिप्रति भूमिका लेखन र शुभकामना पुष्पहरूको बृष्टि गर्दै धेरै साहित्यकारहरूले आफ्ना सार गर्भित धारण र भावनाहरू बगाएका छन् । जसले गर्दा यस शोककाव्यको गरिमा बढाएको छ । ती अमूल्य धारणा तथा भावनाको पोखाइहरू यस प्रकार छन् ।
गोर्खे साइँलो लेख्नुहुन्छ – ‘आमाको स्मृतिमा लेखिएका कविताहरू यथार्थ र हृदयग्राही छन् ।’
केशवराज आमोदीले यस शोककाव्यको भूमिका लेख्नेक्रममा चिरफार गर्नु भएको छ उहाँको धारणामा – ‘उनी विविध छन्दमा कविता गर्नसक्ने काव्यकलाका रमणियताका कुशल काव्यशिल्पी हुन् । ललित पदावली, सुकुमारशैली र हर्दिकता परक अभिव्यक्ति, एव म विषय बस्तुका प्रस्तुतिले स्वच्छन्दतावादी, आदर्शवादी मात्र हैनन् प्रभाववादी र परम्परावादी कवि पनि हुन् ।’
सारा शोककाव्यको अध्ययन गर्दा केशवराज आमोदीले पोखेका धारणामा म पनि सहमत हुन पुग्दछु । किनकि उनको यो शोककाव्यमा स्वच्छन्द प्रस्तुति छ । आदर्शका फूलका गुच्छाहरू लटरम्मै फुलेका छन्, उनका श्लोकको अध्ययन गर्दा सबैको मन छुन्छ र मानवले मानवप्रतिको धारणामा आफूलाई समपर्ण गर्नुपर्छ भन्ने चाहन्छ । पुर्खाको परम्परलाई कविले आत्मसात गरेका छन् र पुर्खाले खनेको बाटोको यात्रा गर्न कविले बारम्बार आग्रह गरेका छन् ।
डा. माधव प्रसाद पोखरेलले शुभकामनाका शब्दसुमनमा लेख्नुहुन्छ – ‘भावना अघिअघि हिडेको छ श्लोक पछि पछि कुदेको छ कविको आफ्नै हृदय श्लोक बनेर पग्लेको छ ।’
शुभकामनाका शब्दहरूको पुष्पबृष्टि गर्दै चक्रपाणी अधिकारीको धारणा यसप्रकार छ – ‘विभिन्न छन्दमा लेखिएका श्लोकहरू पढ्दा साँच्चै नै पाठकका आँखारू रसाउने छन् तथापि काव्यको मिठासमा भने प्रचुर मात्रामा आश्वादन गर्न सकिन्छ ।’
आत्मराम ओझाको शुभकामनामा भनिएको छ – ‘आफ्नी ममतामयी स्वर्गीय जननीको मधुर संझनामा लेखिएको प्रस्तुत शोक काव्य समाजको लागि कर्तव्यप्रेरक स्रोत बन्न सक्ने क्षमता रहेको छ ।’
वीरबहादुर चन्द ‘विश्राम’ लेख्नुहुन्छ – छन्दबद्ध र सुन्दर शिल्पकलामा रचित कविताहरू आकर्षक र पठनीय छन् ।
शोककाव्य भित्र पस्दा
शोककाव्यको यर्थाथता माथिका साहित्यकारहरूको अभिव्यक्तिबाटै प्रष्ट भैसकेको छ कि काव्य कारुणिक छ । केशवराज आमोदीको स्वच्छन्दतावादी, आदर्शवादी मात्र हैनन् प्रभाववादी र परम्परावादी कवि पनि हुन् भन्ने कथनलाई यस शोककाव्यले पुष्टि गरेको छ ।
कविले यस शोककाव्यमा आमाको ममता कहिल्यै प्राप्त गर्न नसकिने, आमाका ती मार्गदर्शनहरू जो निस्वार्थ काम गर्नु अर्कालाई दुःख नदिने, दीनलाई खल्लो पार्न नहुने, जीवनको लक्षलाई हेर्ने, शालिनतामा रहनु, विवेक र सत्यपथ नछोड्ने, संसार परिवर्तनशील छ कहिलै दीनत्व नदर्शाउनु जस्ता अमूल्य अमृत बचनहरूले कविलाई सधैं उत्पेरित गरेका धारणारू यस शोक काव्यमा प्रस्तुत गरिएका छन् ।
कविले कहीं कहीं भाग्यवादी सोचलाई पनि प्रस्तुत गरेका छन् । मानावतावादी कविले मानवताको उपहार यस काव्यमा भरिपूर्ण रूपमा पस्केका छन् । पुर्खाको आर्जन र पूर्खा जाने स्थानलाई ग्राह्यता दिएका छन् । कवि भन्छन् मृत्यु स्वास्वत सत्य हो । मानव जन्मन्छ अनि एक दिन मर्छ तर यो सबैले जानेकै कुरा हो तर पनि चोला फेरिन्छ मानवले मरेर जाँदा पायपुण्यमात्र लिएर जान्छ, पञ्चभौतिक तत्वहरूसँग तन मिल्छ, मानिसको पार्थिव शरीर मात्र यस संसारमा रहन्छ, सबै यथार्थताको जानकारी हुँदा हुँदै पनि कविको मन वहकिन्छ भक्कानिन्छ अनि भन्दछन् आमाको क्षतिपूर्ति कहिल्यै कसैबाट पनि हुन सक्दैन ।
कविले यस शोककाव्यमा आमा र बाबुको बीचको सम्बन्धमा पनि बाबाभन्दा बढता मर्माहत आमाको मृत्युले परेको छ किनकि उनको प्रष्ट धारणा छ आमा आमा मात्र नभएर सृष्टिकी गौरव र सौरभ पनि हुन् उनको योगदान, उनको त्याग माया ममता, आशीर्वचन गुण गरिमाको सबै अवर्णनीय छ । जो जति बयान गरे पनि अपुरो नै बन्छ । यो काव्यको अध्ययनमा सबै भावुक बन्दछन् आँखा रसाउँछन् र आफ्नै आमाको देहावसानको झभल्को आउँछ ।
मानव जति कठोर हृदयको किन नहोस् उसको हृदय पग्लन्छ अनि सम्झन्छ आमाका ती मार्गदर्शनहरू । कविको धारणा छ आमा जस्तो महान तिर्थ अरुकुनै तिर्थ हुन सक्दैन । मानव जीवनमा आमा बुबा पुर्खाहरू र पृतिहरूको गरिमामय मार्गदर्शनको अवल्म्वन गर्नु नै ठूलो सार्थकता हुनेकुरा यस शोककाव्यले दर्शाको छ । भनिन्छ देवताले दिए पनि पृति को आशीष प्राप्त हुन नसके प्राप्त उपलब्धी नास हुन्छ ।
कविले लेखेका कारुणिक श्लोकलाई केलाउँदा यहाँ हामी मातृभक्ति भरपुर रूपमा पाउँछौं । कविको शब्दहरू पुर्खाको र पृतिको भक्तिमा पनि निकै खर्चिएको देखिन्छ । पुर्खाको आदर्श र पुर्खाको मार्ग दर्शनमा चल्नु पर्दछ भन्ने आग्रहलाई कविले आफूलाई समर्पण गरेको देखिन्छ । कविका अभिव्यक्ति जननी जन्मभूमि राष्ट्र राष्ट्रियताको भावनामा देवभक्तिका भावनालाई दर्शाउँदै जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी जस्ता सुसज्जित धारणाले भरिएको यो शोककाव्य हृदयस्पर्सी छ, पठनीय छ भाषा सरल छ ।
कविले शीर्षक गत रूपमा प्रस्तुत गरेको यस शोककाव्यलाई समालोचनाको दृष्टिमा मैले शोक काव्यकै रूपमा लिएको छु । यस्ता गहन कामको लागि काव्यकारलाई मुरी मुरी धन्यवाद दिंदै विदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
शान्तिचोक, नवलपरासी
२०७० साल अषाढ २१ गते
