फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता


शुभेच्छुक मित्र, बन्धुबान्धवहरू !

गुड मर्निङ्ग/नमस्ते/अभिवादन/लालसलाम !

सर्वप्रथम त जन्म दिनको शुभकामना दिने र शुभेच्छा प्रकट गर्ने सबै अग्रज, अनुज र सहकर्मी मित्र बन्धु बान्धवहरूमा हृदयदेखि नै आभार प्रकट गर्दै हार्दिक धन्यवाद भन्दछु । त्यस पछि भने मेरो यस जन्म दिनले ल्याएको मेरो जीवनको अर्को खुट्किलोको वारेमा मनमा लागेका कुराहरू ओछ्याउन खोज्दै छु । शुभेच्छुकहरूका समूहमा कुरा गर्न पाउनु पनि सौभाग्य नै हो । त्यसकै भरमग्घुर उपयोग गदै आज धेरै दिनदेखि मनमा गडेर बसेको ध्वाँसो हटाउने प्रयास गर्दै छु । यसबाट मर्का परेको वा चित्त कुडिएको अवस्था वोध गर्नुभएमा दश औंला जोड्नुको विकल्प मसँग छैन । बेर नगरिकन आजको अनुभूति सुनाउँदै छु ।

एका विहानै छोरी गरिमा उठेर आँखा मिच्दै थिई उसकी महतारीको सङ्केत आयो । हत्त न पत्त पुत्री बोली– ‘ह्याप्पी वर्थ डे बाबा !’ म झसङ्ग भएँ । भानुभक्त आचार्यको जन्मदिन असार २९ को अवसर पारेर ‘मूलबाटो’ अनलाइन साहित्यिक मासिक साहित्यिक पत्रिका निकाल्ने कुरा ताइपेईबाट डा. लेखनाथ काफ्लेले बरोबर मलाई जानकारी दिइरहनुभएको थियो । पत्रिकाका केही काम पनि सुम्पनुभएको थियो । ती सारा काम गरेर म पनि मूलबाटोमा हिँड्ने यात्री जमातमा सहभागी भएको थिएँ । तर, आफ्नो जन्म दिनको सम्झना भने विल्कुलै गरेको थिइन । राजेश कोइराला, सुरेश वाग्ले, छविरमण सिलवाल, ज्ञानेन्द्र यादव, शैलेश मानव, लोकेन्द्र बञ्जरा, दिनमान गुर्मछान, इन्द्रनारायण साह, विजय रजक, सूर्य चेम्जोङ, वेदमणि घिमिरे, प्रतीक ढकाल, सचीन मण्डल, लक्ष्मी भट्ट, कृष्ण बस्नेत ‘भाग्य’, तीर्थ देव, आकाश दैलो, रोहित भण्डारी, महेश यादव, खगेन्द्र देव, सुमीत गिरी, ऋषिराम खनाल, निरज मण्डल, किशोर पहाडी, प्रज्वल मण्डल, राधेश्याम लेकाली, चन्दन झा, नवराज ढकाल ‘नवोदित’, जुली मिश्रा, अजय साह, निरज सुवेदी, बसन्ता रिजाल, सीमा देव, पूजन न्यौपानेहरूका हातले लेखिएका शुभकामना सन्देश पढ्न भेट्टाएँ । अर्को पटक फेसबुक खोल्दा विवेक सिंह, हितेष झा, मनोज ढुङ्गाना, रोशन शर्मा, सन्तोष यादव, पशुपति देव, सितेश सिंह, मुकेश यादव, उज्जवल मिश्रा, मतिप्रसाद ढकाल, राघवेश देव, कृष्ण वस्ती, निरज कोइराला, सुसन प्रेसलर, कवि विक्रम आदित्य, आयुष कुमार, विष्णु सिग्देल, सुनिल पोखरेल, अर्जुन घिमिरे, राम अविकास, मोहनराज शर्मा, रेश्मा देव, ओम साह, अनुराग रुँगटा, रोशन गाउँले, किरण रिमाल, उदय सिंह, इम्रान खान, अमृत भादगाउँले, आशीर्वाद पौड्याल, विद्या सापकोटा, आशीष देव, पुष्कर सिंह, रमिता झा, श्रेष्ठ धीरकुमार, विवेक मण्डल, प्रवीणकुमार देव, राजेन्द्र शलभ, छविरमण घिमिरे, रमेश घिमिरे, वीरेन्द्र पाल, नरेश रोक्का, अमरद्वीप देव, नवराज पोखरेल, सागर अजनवी, रवि शंकर, सुनिल संगम, रमिता देव, इन्द्रनारायण चोङ्बाङ, आदर्श यादव, लेखनाथ काफ्ले, विनोद रिजाल, फूलवावु यादव, गोपाल विरही, ममता यादव, मित्र मिलन, स्प्रीया दाहाल, सुरेश वाग्ले, मधु माधुर्य, तमन्ना पी. झा, केदार श्रेष्ठ ‘गगन’, यात्री शेखर, पूजा गोवद्र्धन, आयुषी झा, उज्जवल देव, लक्ष्मी गरिमा आचार्य, युआरएस बिट्टु, विजय साह, वैद्यनाथ झा, नवीन रिजाल, अञ्जना गौतम, अशोक आचार्य, कविराज गौतम, दलवीर सिंह ‘घायल’, बीना तामाङ्ग, साउ रोज (सरोज मण्डल), कृष्णानन्द यादव, पशुपति देवहरूको समेत शुभकामना–शुभेच्छा फेला पारेँ । समय फरक पारी फेसबुक संसरमा विचरण गरिरहँदा मेनुका थापा, अमृता घिमिरे, नतशा मिश्रा, राजेश यादव, विशाल खतिवडा, रञ्जु रिजाल, गणेश खड्का, सर्वेस यादव, गणेश खडका, आदित्य अर्यान, दीपक जडितलगायत दर्जनौंले फेसबुक वालमा शुभकामना र शुभेच्छा प्रकट गरेको पाएँ । खुशीको सीमा फराकिलो भयो । देसदेखि विदेशसम्म जन्म दिनको खबर फैलिएछ । ती सबै शुभेच्छाहरूलाई सलाम ठोक्दै धन्यवाद भन्नु यत्तिखेरको धर्म ठान्दछु ।

नाम त जानिनँ तर कोही शुभेच्छुक हुनुपर्छ । ९८५११३३२९९ बाट एउटा रोमनमा म्यासेज आयो– ‘पास्ट इज एक्पेरिएन्स, पर्जेन्ट इज एक्सपेरिमेण्ट ! फ्युचर इज एक्सपेक्टेशन, युज योर एक्सपेरिएन्स इन योर एक्सपेरिमेण्ट टु एचिभ योर एक्सपेक्टेशन । ह्यापी वर्थ डे टु यु ।’ अर्को पनि त्यस्तै चाख लाग्दा म्यासेजको आस गर्दै थिएँ । आउन त आयो, ९८०७७०५०१९ बाट आयो । रोमनमा लेखिएको थियो– ‘प्रिन्सिपल सर ! आइ ह्याभ फिबर टुडे । सो, आई कुड नट कम टु स्कुल ।’ छक्क परेँ । कसले पठायो । ३५ जना स्टाफ साथीहरू मध्ये कसैको होला भन्ठानेँ । सोच एकातिर छ, परिस्थिति अर्कैतिर भइदिन्छ । बडो रहस्यमय छ, जीवन । यसलाई नबुझी बालेका बत्ती निभाउन मन लागेन । मनमा बत्ती बाल्न मन लाग्यो । र, ९८५११३३२९९ लाई जवाफ फर्काएँ– ‘ऊर्जावान् विचार र शुभेच्छाका लागि सधन्यवाद आभार प्रकट गर्दछु ।’ अर्कोलाई फर्काउन आवश्यक देखिनँ । औपचारिक सन्दर्भका अरू गन्थनको लहरो लामै हुन सक्छ । अरू लम्बेतान पाराले तिनलाई समेट्न रुचाइनँ । अब भने मैले जाहेर गर्न खोजेको सन्दर्भतिर लैजान्छु ।

अरविन्दकुमार यादव सरकी नेपालगञ्ज बस्ने बहिनीका लागि धर्तीको बाटो बन्द भएछ । उनले हिँड्ने–हाँस्ने–नाच्ने स्थान, अवस्था र अवसर भेटिनछिन् । भुवनहरि कोइराला सरको भतिजोका परिवारजनले पनि उसको असामयिक निधनको पिरलो खप्नु परेछ । र, आसिन मियाँको मुखराविन्दबाट सुनेको अर्को खबर– ‘जितेन्द्र नामक ठिटो रुपनी–कठौना–कल्याणपुरस्थित लोकराजमार्गको पेटीमा बाइक रोकेर गफ गरिरहेको बेलामा बसले हानेर ठहरै पार्यो ।’ कलिला उमेरका ती विचाराहरूका लागि धर्ती प्यारो भएन । सांसारिक मायामोह प्रिय ठहरिएन । कलिला उमेरका ती नवजवानहरूले समाजको मुहार फेर्न सक्ने सामर्थ्य लिएर आएका थिए । आखिर अमूल्य मानिएको यस जीवनको मूल्य कति पो रहेछ र ! जति वसन्त ओइलिएर झर्छन्, उत्ति नजिक यमराज आइरहेको देखिरहेछु । कसैलाई बाँकी नराखी सबैले धर्तीबाट फर्कनु नै पर्ने रहेछ भन्ने सोचिरहेछु ।

हुन त मित्रहरू ! जताभावी मन ओछ्याउनु ठीक होइन । मन छोएको छ एक ठाउँ, अर्को ठाउँ छोएर शान्ति पाइने होइन । ओछ्याएर बरू केही पाइएला तर चुपचाप बसेर केही पाइने होइन । कुरा प्रष्ट पार्न बाल्यकाल फर्कनैपर्छ । क्रमशः, क्रमशः अघि बढ्नैपर्छ । छिटो–छिटो बढ्ने हो भने केही पाइन्न । म स्वयम्ले सुस्तरी पाइला चाल्नुपर्छ । म यस कुरामा पनि होसियार छु । मनको पिरलो खुलासा गर्न गाह्रो भइरहेछ । कारण म अहिले बोर्डिङ्गे शिक्षक नामक काममा छु । त्यो पनि गोरू जोताइको सिलसिलालाई आत्मसात् गर्दै जीवनरथ गुजारी रहेको छु । अर्कातिर पिलिन्धरे लेखक भई समाजलाई ढाँटिरहेको छु । नैतिकताको पगरी गुथेर अनैतिक तवरले बाँचिरहेको छु । जसोतसो श्वास फेर्नु नै सत्य भइरहेको छ । असत्यको जलप कतकतैै लागेको हुन सक्छ । तर, खोल भने सत्यभन्दा बाहिरको पहिरिरहेको छैन । आखिरमा, मलाई खोक्रो आदर्शको माला भिन्नु पनि छैन ।

माफी चाहन्छु । आज म बाल्यकालका सपनाहरू तपाईंहरूका सामु राख्दै छु । यसले कुनै ठोस ज्ञान वा जानकारी कसैलाई नदेला तर मैले लेख्न खोजेको कुरा चाहिँ प्रष्ट हुन्छ । मेरो अभीष्ट पूरा हुन्छ । र, म त्यसै, उसै बाँचिरहेको प्रष्ट हुन्छ । मलाई मनको मैलो पखाल्ने प्लेटफर्म मिल्छ । भन्नु त धेरै थियो तर शब्द खसाल्न साह्रो परिरहेछ । यत्तिखेर मन हल्लिरहेछ । कारण– मेरी श्रीमती–छोरीले के भन्लान्, मेरा ससुराली खान्दानले के ठान्लान्, मेरा शिष्य–शिष्या दर्जाका दूधओठे अनुजहरूले के मान्लान्, मेरा अग्रज कलमधारीले के लेख्लान्, मित्रबन्धुहरूले सोच्लान् ! म प्रश्नैप्रश्नका बीच उभिएर उत्तर खोजिरहेछु । खोजिरहेछु उत्तर ! भेटिरहेकै छैन उत्तर ! मनले भन्दै छ– नभेट्ने उत्तर खोजेर हुन्न बाबै !

आज अर्थात् २०७० असार २८ गतेदेखि मैले नेपालको जागिर खाने दिनजति सबै खाएँ । हातमा सीप छैन । पाखुरीमा तागत छैन । घरमा बुढ्यौली उमेरमा हिँडिरहेका डाँडापारीका जूनघाम बाबुआमा छोराको कमाइ खान पाउने आशमा बस्नुभा’को छ । यहाँ डेरामा खर्चालु पुत्री सधैं खर्चमा डुबाइरहेकी छे । आठ वर्ष उमेर वित्दा पनि होसियार हुनसकेकी छैन । अर्कातिर भात–तरकारी खाँदै नखाने श्रीमती पनि साथमा नै छे । उसकै पेटमा संसार हेर्न तम्तयार अर्को सृष्टि पनि समय कुरेर बसिरहेको छ । उसको डा. दीपा यादवको क्लिनिकमा पुगिरहनु मासिक धर्म भएको छ । एक पटकमा आधा तलव त्यतै चढाउन वाध्य हुनुपरेको छ । दवाईको दाम पनि कत्ति हो, हो । दवाईको सट्टामा खानेकुरा किन्न पाए र तागत बढाउनुपर्ने मान्छेले खाइदिए कत्ति मज्जा आउँथ्यो ! आफू परियो बोर्डिङ्गे माष्टर ! स्कूलको सानोतिनो जागिर, कमाइका बारेमा भन्न पर्दैन । पुर्खेउली धरोहर सामान्य छ ! समाल्ने भाइ छ । म पनि त्यहीँ पासो लाग्नु मनासिब देखिएन । यी सबै मेरा वास्तविकता हुन् । दुनियाँलाई आशीर्वचन बाँड्दा–बाड्दा आफूसँग भने रत्तिभर राखिएनछजस्तो लागिरहेछ । अहिले पो शिक्षा मिलिरहेछ ।

चालीस पार भएको यस घडीमा मलाई विषालु कीरा पौडने अँध्यारो दहमा हाम फालेझैं भएको छ । यत्तिखेर म शिक्षकको पगरी गुथेको रक्स्याहा लोग्ने पाँच कक्षाकी बच्चीसँग सल्केको थाहा पाए पछि बेइज्जत हुन नसकेर आफ्ना तीन सन्तानसहित विष खाएर आत्महत्या गर्ने कोसिस गरेकी सप्तरीकी एक महिलालाई सम्झिरहेको छु । मलाई पनि कताकता बेइज्जत हुने पिरलो मनमा गडेको छ । आत्महत्या नै अन्तिम छुटकारा हो झैं लागिरहेको छ । अकारणझैं लाग्ने घटना तर कारण लुकेको हुनपर्छ । त्यो पनि मैले सुनेको र पढेको नभएर देखेकै र भोगेकै कुरा पनि याद आइरहेछ । काखभरिका छोराछोरी, गालाभरिकी श्रीमती, सहरको तीन तले भवन, पेन्सन हुन लागेको अधिकृत दर्जाको सरकारी जागिर अनि पर्याप्त श्रीधनसम्पत्ति सबैलाई त्यागेर मेरो लङ्गौटे साथीले विषपान गरेर धर्ती त्यागेको दुई वर्ष लागेछ । मेरै डेरा नजिककी घरधनीकी बीबीए पढिरहेकी छोरीले परीक्षामा फेल हुनुपर्दा बेइज्जत खप्न नसकेर गुम्छाको सहरा लिइछिन् । यी सबै इज्जतका लागि नभई बेइज्जत हुनबाट बच्नका लागि गरिएका कामहरूको नालिबेली हुनुपर्छ । इज्जत राख्न त सकिएको छैन । बेइज्जत हुनबाट बच्ने मन थियो । मन हुँदाहुदै उमेर खलास भएछ । अब यताको भइएछ, न उताको ठानिएछ । अब आफ्नै देशमा अनागरिक बनेर मृत्य पर्खनुको विकल्प देखिरहेको छैन । यो अवस्था ल्याइदिने यो एकचालीसौं बसन्तलाई म कसरी स्वागत गर्न सक्छु ! यस घडीमा म कसरी सुखी हुन सक्छु ! म कसरी खुशी हुन सक्छु !

२०७० सालको मेरो जन्म दिवस त मेरो बाँकी जीवन स्वाहा पार्ने एन्थ्य्राक्स हो । मन्द प्वाइजन हो । यो दुर्भाग्यको घडी सावित भयो । अब म कहिल्यै सरकारी जागिरतिर फर्कन पाउँदिनँ । चाहेर के हुन्छ र ! परिवारजनलाई सुखी तुल्याउने साधन जुटाउन सक्ने छुइनँ । अब अग्रगति सोचका साथ काम गर्ने दिन सकिए । मेरो मूल्य दिनानुदिन घट्दै जाने भो । जतिसुकै हाड घोटे पनि कार्यक्षमतामा ह्रास आएको परिणाम निकाल्ने दिन सुरुआत भो । मूल्यसहित बाँच्ने मेरो अडान टुक्राटुक्रामा परिणत हुने भो । अब गुलामी गरी जिउन सक्नु पर्ने परिस्थिति जन्मियो । जन्म दिवसले सपना धुजा–धुजा पार्यो । मेरो अस्तित्वमा नै ठूलो प्रश्न चिन्ह लगाइदियो ।

दुनियाँ त जसरी पनि चलिरहेको छ । जे गरेर पनि चलिरहेको छ । म भने दुनियाँभन्दा अलगै तवरले हिँडिरहेको छु । ‘चोरी चकारी नगरी चतुर्याइँ हुन्न, दङ्गा फसाद नगरे इज्जतै रहन्न । सोझा र सज्जन कबै नलिनु दलैमा, पार्टी चलाउनु सधैं छल औ बलैमा ।’ भनेर ‘नेता एक से एक’का अर्याललाई सम्झन सकिरहेको छुइनँ । वरपरका कतिपय कुराहरू आँखाले हेरिरहँदा पनि मुखले बोल्न सकिरहेको छुइनँ । ‘अमलालाई अमूल्यानी, सुन्तलालाई मूल्यानी, बेलझैं चाहिँ नानी, भोगटेजस्ती कौडी नजानी’ भनेर सधैं युवावय मन ल्याउन पनि सकिरहेको छैन । सम्झँदा सम्झँदैमा आफ्नै डायरी उल्टाउन पुग्छु र भेट्छु आफ्नै पाङ्दुरे तीन सिर्जना जसमा चोखा कुराहरू खोज्न थाल्छु । लेखकले आत्ममूल्याङ्कन गर्न पनि जान्नुपर्छ र हिम्मत जुटाउन पनि सक्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन खोज्छु ।–

१–आएन हैन आयो,
न्यानो असहज भएर आयो ।
भविष्य धरमरिएर आयो,
नाङ्गालाई झन् पीडा आयो ।
भोकालाई अझ हैरान आयो,
रोगीलाई चाँडो मृत्यु आयो ।
बैशाखसँगै घनघोर चट्याङ्ग आयो,
रोग, भोक र शोक अझ थप भएर आयो ।
त्यही बाटो हुँदै आउनुपर्ने,
बसन्तले चाहिँ बाटो नै पाएन ।

हिमाल फुल्यो,
रक्तफाल्साले नदी सुसाएन ।
यस पाला बज्रेको कठोर बज्र,
फेरि, फेरि
सुनामी भएर, स्वाइन्फ्लू, वर्डफ्लू नाम गरेर
जितुवाको पंक्तिमा बस्यो,
जित्नेले हार्यो, हार्नेले जित्यो,
परिणाम सत्य आएन ।
समय त आयो, नयाँ वर्ष
तर बसन्तले आउने बाटो नै पाएन ।

जनघात बढ्न पुग्यो,
मान्छे मन रुखबाट लड्न पुग्यो,
दानव मन घरभित्र पस्न पुग्यो,
रावणराज मात्र आयो,
रामराजचाहिँ आएन ।
त्यसैले त,
बैशाख मात्रै नयाँ वर्ष लिएर आयो,
बसन्तले भित्रने बाटो नै पाएन ।
(शारदामा प्रकाशित आफ्नै ‘बाटो नै पाएन’ कविता)

देखेको वास्तविकता लेख्न त जानियो । भोगेको वास्तविकता समेत लेख्ने कोसिस गर्दा गर्दै जन्मिएछ अर्को पाङ्दुरे सन्तान–

२–‘तँ के र को होस् अनि कत्ति पानीमा छस्, हामीलाई पूरापूरी थाहा छ । तँलाईं यही धर्तीमा बाँच्नु छ भने होस्को दबाई खाएर काम गर् । हैन धर्तीबाटै सुइकुच्चा ठोक्नुछ भने आफ्नो मनमौजी गर् । आफ्नो अहमता प्रदर्शन गर्दै हिँड् । मृत्युको मुख देखेको छैनस्जस्तो छ । यो अन्तिम चेतावनी हो, अब फुकीफुकी पाइला चालिनस् भने तँ नन्दलालको रूपमा कदापि रहँदैनस् । तँ नन्दलाल हैन गन्देलाल हुन्छस्, गन्देलाल, बुझिस् ? पहाडपर्वतका गुहेकीराहरू मैदानमा झरेर गुहुमुत गर्ने जमाना गए….कुरो सुन्दै छस् हैन…?’

चेतावनीले चेतना उघार्यो । कसैको पिँडालुबारी नखनीकनै पनि धेरै हण्डर खप्नुपरिरहेछ । अझ आक्कल–झुक्कल पिँडालु बारीमा पस्ने हो भने त झन् के–के होला, होला । म भन्नै नसक्ने अवस्थामा छु । अर्कालाई आइपर्ने पिरलो र पीडाको कारक तत्व आफूलाई नै ठहर्याएको भेट्दा मन उम्लन्छ । कहिल्यै काहीं यस्तै हुन्छ भन्ठानेर चित्त बुझाउँछु । त्यसको विकल्प पनि हुन्न । खोजेर पनि कुनै लछारपाटो लाग्न सक्दैन ।

३–‘प्रिय मित्र पुन्यजी, म वर्तमानले अघाएको छु । असाध्यै अघाएको छु । अरू एकपल यस ठाउँमा अडिने मन छैन । पाइलो उठाइहाल्ने सामर्थ्य समेत छैन । मेरो अन्त खनिएको बाटो छैन । खनिदिने अगाडि मान्छे छैन । अरूका मान्छेले अरूलाई नै बाटो खन्दिछन् । मैले त आफ्ना खातिर आफैँ बाटो खन्नुपरेको छ । त्यसका लागि आवश्यक पर्ने हँसिया–कतौडा, खुकुरी–भाला, फरुवा–कोदाली, बञ्चरो–छिनो आफैँले जुटाउनुपर्छ । मेरो कमजोरी नै हो– न मान्छे खटेको छ, न गतिलो औजार जुटाको छ, न कतै अन्त बाटो नै खनेको छ ! मनमा भित्रैदेखि आगो सल्केको छ । बिल्कुलै लाटो भएर जिउँन सकिएको छैन । केही चनाखो भएर हिँड्न खोज्दा पाइलो राख्ने ठाउँ नै पाउँदिनँ । कताकता अपूर्व मृत्युको त्रासले सपनी र विपनी दुबैलाई गाँज्न थालेको छ ।’

बेलाबेलामा यी विभिन्न थरिका कुराहरू लेख्न त लेखियो । धेरै काल हण्डर पनि खपियो । बाँकी काल कसरी विताउने त्यही उल्झनमा नमज्जाले परियो । जन्म दिन बारे घोत्लँदा घोत्लँदै नाना थरिका गन्थन पनि पानाभरि–भरि समेटियो । यस बारे स्पष्ट मेरो मत के हो भने जन्म दिन जन्मको उत्सव नभई यो त मृत्युउत्सव हो । यसमा खुशी मनाउनु राम्रो कुरा हो तर बुझेर मनाउँदा अति उत्तम हो । मृत्युप्रेम जसले गर्न सक्यो त्यसले नै जीवनको सुखभोग गर्छ । हैन भने मृत्युको मुखमा हामी पुगिरहेका छौं, त्यसको वोध नगरी वरण गर्नुपर्यो भने त्यो अनर्थ हुन जान्छ । जीवनलाई धोका दिनु छैन । मृत्युलाई घृणा गर्नु छैन । इज्जत कमाउने स्वाङ रच्नु पनि छैन । तर, बेइज्जत हुनबाट जोगिनु भने छ । सरल र सौम्यतापूर्वक मृत्युको पदार्पणसम्म इज्जतका साथ शिर ठाडो पार्नु भने छ । त्यसका लागि बाटो खन्नु पथ्र्यो, खनिएनछ । त्यसका लागि गोडमेल गर्नुपथ्र्यो, गोडिएनछ । धत् ! विनासित्ती चार दशक वसन्त त्यत्तिकैमा फुलाइएछ ।

जन्मदिन सोह्र बर्षसम्म र साठी वर्षपछि मनाउनु उत्तम हो । त्यस बीचमा त मानिसले जीवन खोज्नुपर्छ । सोह्र र साठी बीचको उमेरमा त मृत्युलाई प्रेम गर्न सक्नुपर्छ । मृत्युलाई हृदयतः स्वीकार गर्न सिक्नुपर्छ । नजिकबाट मृत्युको चिना/जन्मकुण्डली जान्नुपर्छ । अनि पो जीवनको सुगन्ध लिन सकिन्छ त ! सुरुका सोह्र वर्ष सुझबुझको कमी हुन्छ । अपूर्व जोस हुन्छ, जाँगर हुन्छ । मृत्यु भन्ना साथ डर लाग्छ । त्यस डरलाई जित्ने सामर्थ्य हुन्न । सामर्थ्य नहुने काममा धेरै प्रयास गर्नु पनि हुन्न । अर्कातिर साठी पछि त बसी खाने उमेर हो । त्यत्तिञ्जेल मृत्यलाई पराजित गर्दै आएको अनुभव पनि हुन्छ । जीवन र मृत्यु दुबैप्रति उत्तिकै मोह हुन्छ । त्यस समय पछि जन्म दिवस मनाउनु स्वभाविक हो । किनभने जन्मको म१ल्य बढ्दै गएको हुन्छ । अतः म जन्म दिवस मनाउने समयबाट पार पाइसकेको मान्छे परेँ । यसमा दिलचस्पी नभएको मान्छे परेँ । लोकलाज ढाक्न र तबैतारे गर्न फुर्सदमा भएँ र मनले चाहेँ भने फेसबुकमा लेखिदिन्छु– ‘जनम दिन मुबारक हो ! जनम दिनके शुभकामना अछि । ह्यापी वर्थ डे टु यु ! जन्म दिनको हार्दिक शुभकामना !’ यदाकदा रिटर्न पाउने अपेक्षा पनि रहन जान्छ । ती कुरा फरक कुरा हुन् । तर, यो वसन्तले छाडेर जानु नै मेरो बाँकी जीवनमा धक्का लगाउनु हो ।

मित्र बन्धुहरू ! गन्थन त लामो भयो । अब छोट्याउनतिर लाग्दछु । पैसामा नैतिकता लिलाम भएको देखेको छु । ठूलो हाकिमले पनि दुई पैसाको लोभमा गद्दारी गर्ने गरेको सुनेको छु । सत्य काम गर्न पनि द्रव्यदानबिना हुँदै नहुने गरेको भोगेको छु । आ कत्ति त्रास लिनु ! कत्ति निराश हुनु ! आश राख्ने ठाउँ पनि त बनाएकै छु । आफ्नो मनबाट आफैँलाई भरोसा समेत दिएकै छु । सबैको मनमनमा ‘म पनि एक जना विजयी हुनसक्ने उम्मेद्वार हुँ’ भन्ने कुरा छाएकै छु । अझै इमान्दारिता कतैकतै लुकेको रहेछ भने म पनि सरकारी जागिरे हुन्छु । चाउरी परेका बुबाआमाको ओठमा मुस्कान ल्याइदिन्छु । निरास भएका ससुराली परिवारजनमा अपूर्व ज्योति छरिदिन्छु । जीवनसंगिनीका अनुहारमा आनन्दका रेखाहरू दौडाइ दिन सक्छु । पुत्रीको चञ्चल संसारलाई सम्बोधन गर्दिन सक्छु । संसारमा आइरहेको नयाँ मान्छेलाई स्वागत गर्न सक्छु । ‘यो सरकारी जागिरे हुनै सक्दैन’ भन्ने ज्योतिषी बाजेको भविष्यवाणीलाई फेलुअर बनाइदिन सक्छु । मुलुकको होनाहार सरकारी जागिरे ठहरिन सक्छु ! बेतिथिलाई रूपान्तरण गरी समुन्नत समाजनिर्माणमा कोसेढुङ्गा सावित हुन सक्छु । कारण– २०६९ सालको शिक्षा सेवा आयोगमा म पनि सम्मिलित छु । दर्बिलो उम्मेद्वारको रूपमा खडा भइरहेको छु । यस्तै यस्तै शुभेच्छा रहेमा म त पक्कै सगरमाथा काँधमा बोकेर नाच्न सक्छु । महोत्तरीको मुसहर्निया हत्केलामा लिएर हाँस्न सक्छु । टार/उपत्यकाहरूमा प्रगतिका गीतहरू गाउन सक्छु । छातीभरि विशाल नेपाल राखेर उदाउँदो सूर्य मज्जाले भेट्न सक्छु । शुभेच्छा र सद्भावका लागि लाख–लाख धन्यवाद !!!

नन्दलाल आचार्य
–तपेश्वरी–१, गल्फडिया, उदयपुर, मो.नं. ९८४२८२९२०६/९८१७७२९५६५
हाल ः लिटिल फ्लावर उच्च मा.वि., राजविराज–९, सप्तरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता”

  1. नन्दलालजी,
    बडो मार्मिक र

    नन्दलालजी,

    बडो मार्मिक र अर्थपूर्ण लेख पढ्न पाइयो । जीवन के हो अर्थ खोज्नुभन्दा यसलाई भरमग्दुर सार्थक पार्नु पर्छ । तपाईंले आफ्ना गत ४० वर्षलाई नकारात्मक देख्नुभएजस्तो लाग्यो, तर हाम्रो दृष्टिमा त्यस्तो छैन । तपाईका प्रकाशित/अप्रकाशिक रचना, तपाईंको कंचन चरित्र, र शिष्यहरू जो पायो त्यहीले सहजै बनाउन सक्तैन ।

    जीवनका हरेक पाटामा शुभकामना छ । आउँदो नवजीवनलाई, लेखनको लागि, र शिक्षाआयोगको कुरालाई ।

    ढिलै भए पनि जन्म दिनको शुभकामना छ ।

  2. Ks sir dhanyabad !
    Bicharlai sadhubad !
    Malai kehi niras paristhitile pareko ho.
    .
    .
    Bityo jiban yasai usai.
    Lekhdai chhu.
    Lekherai bachdai chhu.
    .
    .
    .
    Ganthan sametna matra janiyo ra po.
    .
    .
    .
    …………
    Shubhekchhaka lagi puhah thanks…

    .
    Maile mailma pani kehi lekhya chhu……
    Kaso garau….!
    Sadbhab jari rahos….!

Leave a Reply

Your email address will not be published. Required fields are marked *