मेरै मन हो, मै अनभिज्ञ
कुन बेला यो के गर्छ,
अझ् योभन्दा दुःख त मैले
डोरिनु योसित नै पर्छ

कवि दुर्गालाल श्रेष्ठले सपना कवितामा भनेजस्तै यो दशैंमा मेरो मन पनि एकातिर डोरिन पुग्यो। मनले भनेपछि मान्छे विवश हुन्छ, मनका कुरामा तर्कले खासै काम गर्दैन। यो दशैंमा मलाई खसीको फोक्सो तावामा तारेर भुटुवा खान मन लाग्यो। मनै न हो मेरो पनि, जसलाई मैले कजाउन सकेको रहेनछु। त्यसैले यसले अझै मलाई नै कजाइरहेछ। नवरात्रिको एक बिहान न देवी, न दुर्गा, न भवानी कसैको आराधनामा नलागी बकरेको पसलमा लाम लाग्न पुगें। एउटा फोक्सो मागें। फोक्सोको साथमा मुटुको डल्लो पनि आउँदोरहेछ। एक सय पचास रुपैयाँ पर्‍यो।

फोक्सोको भुटुवा खाने रहर पोहर साल अमेरिकादेखि पछि लागेर आएको हो। दशैं आयो, बोको खाउँला भनी पर्खिबस्ने धेरै नेपाली हुँदारहेछन् अमेरिकामा पनि। नेपालीलाई सिङ्गा-सिङ्गै बोकाको मासु सप्लाई गर्ने अमेरिकी बकरे विभिन्न प्रान्तमा भेटिँदारहेछन्। मासु पनि मज्जाकै पाइने, तर छाला, टाउको, भित्री आँच र फोक्सो भने ल्याउन नमिल्ने नियम रहेछ। गर्ने के? महाकवि देवकोटाले झ्ैं खसीको टाउकोको सुरुवा खाने रहर हुनेले अमेरिका नगए हुँदोरहेछ। मासु र छालाको बीचमा बोसो कस्सिएको कवाफ खानुपर्नेलाई पनि त्यही समस्या। यस्तै कारणले पोहोरको दशैँमा फोक्सो र भित्री आँचको भुटनको सितन जिब्रो पोल्ने गरी खाने इच्छा अमेरिका पुगेपछि फुस्सा भयो। अमेरिका बस्ने नेवार समुदायका नेपालीहरू पनि खसी-बोकाको फोक्सोमा मसालेदार पीठो भरेर भुटुवा खान नपाएको कति भयो भनी वर्ष गन्दा रहेछन्। मलाई पनि अमेरिकी नेपालीको त्यो प्यास लुतोजस्तै सरेर आयो।

पोहोरदेखिको रहर पूरा नगरी भएन भनेर भरखर काटिएको खसीको आलो फोक्सो घरमा ल्याएँ। तर त्यसलाई भर्ने हाम्रो परम्परागत विधि र प्रविधि मैले बिर्सिसकेको रहेछु। नाताकुटुम्ब र साथीभाइलाई फोन गरेर सिकें, तैपनि सीप पुगेन। फोक्सोको एकापट्टिको थैलो आधै खेर गयो। फागुमा रंग छ्याप्ने पचुकाको पम्प मार्दा पनि पीठो भरिएन, फुट्यो। डेरीको दूधको रित्तो पाकेट निचोरेर हावा पम्प गर्दा सजिलै भरिन्छ भन्ने थाहा थियो, तर त्यसबाट पनि काम लिन सकिएन। तैपनि म हरेश खानेवाला थिइनँ, दोस्रो थैलोमा अर्को प्रयोग र प्रयास गरेँ। त्यसमा सफल भइयो। अर्को पुस्तालाई काम लाग्ला भनेर आफूले अपनाएको विधिका बारेमा यहाँ उल्लेख गर्दैछु।

मैले ल्याएको आलो फोक्सोमा काटिएको खसीको प्राण अवशेषको रूपमा मनतातो न्यानो बाँकी नै थियो। गर्भबाट बाहिर निस्कनासाथ स्वाँ…स्वाँ… सास फेर्दै आएको त्यो फोक्सो मेरो हातमा तुन्दु्रङ्ग झुण्डिएको थियो। एक-दुई घण्टा अगाडिसम्म त्यो कति चलायमान थियो होला। बकरेको चुप्पीको धारले रेट्नुभन्दा पहिले आफैँ सास भर्ने र छोड्ने काम गर्ने यो फोक्सोलाई अहिले म सास भरिदिँदै थिएँ। सास नलीमा मुख जोडेर विस्तारै फुकेँ। फोक्सो फुलेर हावाले टम्म भरियो। कतैबाट हावा चुहिएको छ कि भनेर ठाकठाक-ठुकठुक पारेर हेरें। सबैतिर हावा भरिएर फुक्क भएको थियो। सबै सङ्लो रहेछ, कहीँ दाग थिएन। फिक्का रातो गुलाबी स्वस्थ फोक्सो मेरो हातमा झ्ुण्डिएको थियो। हावा छोडी दिएँ। त्यो सुक्यो। फेरि फुकें, फुल्यो।

एकपलका लागि मलाई लाग्यो, मैले जीवनभरि यसरी नै फुक्दै छोड्दै गरे पनि अब त्यसमा ज्यान आउने छैन। महिषासुर राक्षसलाई बध गर्ने दिन आफैँ पो राक्षस बन्न पुगें कि भन्ने हीनताबोध कताकताबाट पलाउन थाल्यो। उता मेरी अर्धाङ्गिनी डेढ लिटर पानी र आधा माना पीठोमा नुन, मसला र एउटा काँचो अण्डा हाली त्यसलाई लिक्विडाइजरमा मथ्दै चिया चाल्नीमा छानेर तयार पारेको लेदो सानो बाटामा लिएर आइन्।

चल्न छोडेको फोक्सोभित्र यदाकदा रगतका चोक्टाहरू जमिबसेका हुन्छन् भन्ने मैले सुनेको थिएँ। मलाई ती चोक्टाहरू फाल्नु थियो र हावाका सबै नलीहरू सफा गर्नुथियो। चार-पाँच चम्चा खाने तेल श्वास नलीको मुखबाट भित्र हालिदिएँ र फेरि फुकें। फोक्सोलाई घोप्टाएर भित्रको सबै तरल पदार्थ बाहिर फ्याँकें। हल्कासँग थाप्थाप्-थुप्थुप् गरें। भित्र केही बाँकी रहेन। अब शुरु भयो लेदो भर्ने काम। आधा कप जति लेदो सजिलै भित्र पस्यो। त्यस अवस्थामा फोक्सोलाई हावामा लत्र्याङ्ग झुण्ड्याई राखेमात्र त्यो लेदो फोक्सोको तल्लो भागमा पुग्न सक्दोरहेछ। बेला बेलामा थप्थपाउँदै र पीठोको लेदो थप्दै गएँ। लेदो धेरै बाक्लो भए भित्रसम्म छिर्न सक्दैन भन्ने थाहा थियो। त्यसैले प्रत्येक पल्ट लेदोलाई चम्चाले घोलेपछि मात्र कपबाट खन्याउँदै गएँ। बीचबीचमा प्लास्टिकको थैलोले पम्प पनि गर्दै थिएँ।

पम्प गर्न डेरीले दूध भरेर पठाएको चारपाटे प्लास्टिकको थैलोको एउटा कुनोमा कैँचीले काटेर प्वाल बनाउने र त्यो प्वालमा फोक्सोको श्वासनली छिराएर थैलोलाई मिची-मिची लेदो कोच्ने काम गरेँ। यति गर्दासम्म पनि फोक्सोलाई झ्ुण्ड्याएको झ्ुण्ड्यायै राख्नुपर्छ, नत्र पृथ्वीको गुरुत्वले पीठो भर्न पूरा सहयोग गर्दैन। फोक्सोको दायाँ पाटो, बायाँ पाटो सबैमा मसालेदार पीठो कोचिसकेपछि श्वासनली बन्द गर्न आलु काटेर त्यसको मुखमा बुझो लगायौँर सुत्लीले टम्म बाँध्यौं। अनि एउटा ठूलो देक्चीमा सिङ्गै फोक्सो उमाल्यौं। पाक्न धेरै बेर लागेन। पानी सेलाएपछि फोक्सोलाई पाउरोटी जस्तै पातलो पत्र काटेर इच्छानुसार टुक्रा पार्‍यौं। अब तावामा तार्ने काम मेरो हैन भनी हात धुन थालें।

स्तनधारी पशुको फोक्सो एक हावामहल हो, जहाँ निरन्तर वायुको अवागमन भइरहन्छ। जीवनको प्रत्येक सास फोक्सोबाटै सञ्चालन हुन्छ। स्वच्छ हावाबाट प्राणवायु (अक्सिजन) ग्रहण गर्ने र शरीरभरिबाट सोरिएर आएको कार्वनडाइअक्साइड परित्याग गर्ने अवयव फोक्सो नै हो। लिङ्ग, उमेर र परिवेशका आधारमा फोक्सोको आकार घटबढ पनि हुन्छ। सामान्य अवस्थामा हामी प्रतिमिनेट १० देखि २० पल्ट सास फेर्ने गर्छौं। कम उचाइमा बस्नेहरूको भन्दा धेरै उचाइमा बस्ने मान्छे वा जन्तुहरूको फोक्सोको श्वास फेर्ने क्षमता धेरै हुन्छ। तराई मधेशमा हावाको चाप बढी हुन्छ र कम क्षमताले नै फोक्सोको काम सम्पन्न हुन्छ। उच्च पर्वतीय क्षेत्रमा हावा पातलो र त्यसको चाप थोरै हुन्छ, त्यसैले फोक्सोको बढी क्षमता आवश्यक पर्दछ। त्यस्तै महिलाको भन्दा पुरुषको फोक्सो अलि धेरै क्षमताको हुन्छ।

मानिसको छातीभित्र फोक्सोमा वायु विनिमय गर्ने ३० करोडदेखि ५० करोड स-साना कोठा हुन्छन्, जसको सतहको पूरा क्षेत्रफलले टेनिस कोर्टको आधा भाग ‘गट्न पुग्छ रे! हाम्रो फोक्सोमा जडिएका सबै ठूला-साना वा सूक्ष्म वायु नलीहरूलाई जोड्यौँ भने त्यसले पूरा हिमालयको लम्बाइ, अर्थात् सिन्धु नदीको घाँटीदेखि ब्रह्मपुत्रको घाँटीसम्मको २,४०० किलोमिटर, लाई पनि उछिन्छ।

यसपटक मैले खसीको यस्तै वायुनलीहरू (एयरवेज) र तिनले भेट्ने करोडौं वायु कोषहरू (एलभि’ली)मा नुन, पीठो र मसला कोचेर दशैंको निम्ति स्वादिष्ट परिकार तयार गरेछु। धन्य हो मनको तिर्सना! जनकवि केशरी धर्मराज थापाको सुरिलो आवाज मनभरि गुञ्जिन्छ।

हिमाल खबरपत्रिका २२८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *