बिना लगानी तिब्बत भ्रमण

  • by


मैले ठानेको थिए महान पुरुषहरूको जीवन भोगाई मात्र पठनीय संस्मरण हुन्छ । तर खै किन मैले भोगेका भोगाईहरू पनि पो भकाभक छापिन थाले । कि पत्रिकालाई पेज भर्न आर्टिकलको खाँचो छ वा यो संस्मरणमा केही दम छ, मैले केही ठम्याउन सकिराखेको छैन । त्यसो हुनाले म विगत जीवनका भोगाईहरूलाई भकाभक सार्वजनिक गर्न अभिप्रेरित भइरहेको छु ।

अँ कुरा १८देखि २० वर्ष अघिको हो । त्यस बेलामा म श्री गुवाक्षेसा नि. मा. वि हटिया – २ हुङ्गगुङ्ग संखुबासभामा पढाउथे । शायद ५०देखि ५२ सालतिर होला, मेरो बसोबास त्यही गाउका प्रख्यात व्यापारि ठिलेन भोटेको घरमा थियो । जसको तिब्बतमा आफन्तहरू भएका कारण उनलाई तिब्बत जान आउन त्यति कठिनाई थिएन ।

म सानै उमेरदेखि नयाँ ठाउँ घुम्न फिर्नको सारै अभिलाषी । त्यसैले कहिले मौका पारेर ठिलेन दाइको सहयोगमा तिब्बतको छेउछाउ घुमौ भन्ने दाउ हेर्दै थिएँ । त्यस्तैमा श्रावणको अन्तिम महिनातिर हो कि ठ्याक्कै मिति मात्र बिर्सेछु । महिना कि श्रावण अन्तिम हप्तामा कि भदौ पहिलो हुनुपर्छ, भकाभक हुङ्गगुङ्ग गाउका मानिसहरू (मतलव भोटेहरू मात्र) क्षेत्रीय बाहुन काशी तिर्थ गर्न गएझै तिर्थ (तिब्बतमा लाग्ने १५ दिने मेला) जान तमतएर भए । तिर्थ स्थल भनौ कि मेला ? पायक (सेन) पनि भन्दा रहेछन् । जो नेपालको पूर्व संखुबासभा जिल्लाको तिब्बत वोर्डर जोडिएको गा.वि.स. किमाथांकाबाट पनि २ दिन र एक बिहान मजाले पैदल हिडेपछि रियु भन्ने व्यापारिक नाका पुगिन्छ । आजभोलि जस्तो त्यतिबेला रियू बजारभन्दा यता गाडीको सुविधा थिएन । त्यो रियु बजारबाट त्यस बेला ८ युआन भन्नाले नेपाली असी रुपैया भाडा लाग्ने रहेछ । मैले कति किलोमीटर भन्ने ख्याल राखिन तर तुफानसँग कुदेको बसमा ८ घण्टा लागेको थियो त्यो मेला भनौ वा सेन बजार पुग्न ।

तीन स्टेप चल्दा मात्रै राजा थुनिएको चेस खेल जस्तै भयो मेरो लेख ।

अँ सबै मिलनसार भोटे दाजुभाइ दीदी बहिनी जाने भए । पछि मैले जाने आशय प्रकट गरे, किन भने मेरो घरपेटी ठिलेन दाइको रियुमा पसल थियो । त्यसमा पनि उनी उतै थिए । त्यस बेला मैले बाटो खर्च बोक्नु मात्र थियो । उहाँ पुगेपछि उनले आवश्यक सहयोग गर्ने नै थिएँ ।

मैले जाने टिमसँग सरसल्लाह गरे, घुम राडीको बन्दोवस्त मिलाए, स्पीलिङ्ग व्याग बोके, बाटोमा ढिडो खाने पिठो, तिहुनमा भटमासको किनामा, सोमर, सेरगम आदिको पनि बन्दोवस्त मिलाए । गोरुको सुकुटी मलाई त्यति रुचि नलाग्ने । साथीभाइले डोको, ढाकर बोके मैले रुक्स्याक बोके । १०देखि १५ किलो मेरो पनि भारी थियो । २, ३ हजार नेपाली नगद बोकेँ ।

हुङ्गगुङ्गबाट हिडेको दिन किमाथांका नजिकै चौरी गोठमा बास बस्यौँ । चौरीको दुधसँग ढिडो खाईयो, गोठमा सुतियो मजा भयो । वल गरेर गएको भए किमाथांका नै पुग्न सकिन्थ्यो । हामी आरामले गयौँ । हामी यतै हुर्किएको मानिस भएर होला, प्राकृतिक दृश्य मनमोहक भए पनि हामीलाई मतलव थिएन, कहिले रियु पुग्ने? कस्तो होला ? भोटको शहर जस्तो उस्तुकता मात्र थियो मनमा ।

भोलि पल्ट बिहान किमाथांकामा गएर बिहानको ढिडो खायौँ । खाना भन्नु नै ढिडो भन्ने बुझ्नु पर्छ, त्यतातिर । अनि सीमा प्रहरी कार्यालयबाट दैनिक उपभोगको सामान लिन जान आउने खालको पास मिल्थ्यो । चौकीबाट त्यसैलाई लिएर हामी बाटो लाग्यौँ । किमाथांका मुनी कामु खोला र अरुण नदीको सारै रमणीय संगम छ । अरुणभन्दा आधा सानो छ कामु खोलो । देख्दै रहर लाग्दो निलो पानी छ त्यस खोलाको मतलव हिमनदीको । त्यसमा एउटा सिंगल ठुलो काठ तेस्र्याएर खोलो सागुरो भएको स्थानमा साघु हालिएको थियो कामु खोलामा । खोला पारीदेखि चिन सुरु । वारि पटी नेपाल, पारी पटि १५देखि २० मिनेट उकालो लागेपछि रमाईलो ठुलो गाउ लुम्देक (डेन्दाङ) छ, हामी त्यता लागेनौ केही समय तेर्सो बाटो हिडेपछि हामी पुग्यौ अरुणको किनार तर तिब्बतको भूमि । मलाई आश्चर्य लागेको थियो त्यत्रो विशाल राष्ट्रको त्यति ठुलो नदिमा वर्षै पिच्छे काठको पुल हालिदो रहेछ(अरुण नदिमा) । जसमा चौरी तर्न सक्छन् । नदी तर्यौँ । क्या रमाईलो चागा गाउ ! नदीको किनारमा । आजभोलि बस आउदछ त्यहाँ, त्यस बेला थिएन ।

केही समय त्यो मनमोहक गाउ हेर्दै हामी नाकै ठोकिने ठाडो उकालो लाग्यौ सारै लामो चाहि होइन । डाडा काटेपछि खाजा खायौँ । खाजामा खासै गरी छ्याङ्ग, बिहान मस्काएर बोकेको ढिडो, खोर्सानी र नूनसँग खाएको, कानका रौँ ठाडा ठाडा भएका थिए होलान् । अन्दाजी त्यो ठाउँ २५ देखि ३००० मीटर अग्लो अनुमान गर्छु म अहिले । यात्रा नै स्वर्गको भएपछि ठाउ ठाउमा रमाइलो लाग्यो, रमाइलो लग्यो कति भनौ तर भौतिक सुख सुविधामा होइन अनुभुत हुने स्वर्गीय आनन्द थियो ।

कहीं कतै भाषा नमिल्ने भोटेहरू भेटिएता पनि अनुहारमा यति हार्दिकता पाइन्थ्यो की ? भगवान ! म कसरी वर्णन गरौँ । हातको इसाराले कुरा गर्यौ । बोल्न उनीहरू पनि बोल्छन्, आफू पनि बोल्यो कुरै दुवै बुझ्दैनौँ । बाडेर खायौ, फोटो खिच्यो, एक अर्काको गह्रौँ भारी सघायौ, मलाई भने अप्ठ्यारो बाटो भेटेपछि समाएर भित्तातिर हिडाउथे । म लडुला कि भन्ने मलाईभन्दा उनीहरूलाई पीर । अहिले सम्झदा पनि आनन्द लाग्छ । कत्रो हार्दिकता ! भरखरै भेटिएको अपरिचित परदेशी विदेशी रोङ्वालाई (रोङ्वा तिब्बतीहरूले हामीलाई भन्ने शब्द शायद यसको अर्थ टाढाको मानिस हुदो हो) ।

त्यस दिन ताकटोक (टाकतोक) भन्ने ठाउमा बास वस्यौँ । अब रियु शहर (सानो व्यापारिक नाका उचाई अन्दाजी ३५०० मीटर) नपुगुन्जेलसम्म उकालो बाटो थिएन, दम्स्याईलो रियुबाट बगेर आएको समथर मैदानै मैदान भएर बग्ने खोलोले हामीलाई बाटो देखाए झैँ लाग्थ्यो । बिहान उठेर घुम्नेमा भन्ने ठाउँ आइपुग्यो जहाँ पाल टागेर ४ –५ वटा अस्थायी दोकान (मतलव मेला भरीका लागि १५ दिने मेला) बनाएका रहेछन् । हेर्दैमा मनमोहक अर्को सानो हिमनदी जो रियु तिरबाट बाटो देखाउदै आइरहेको ।

रमाइलो लागेर ट्वाँ परेर हेरिरहेको बेलामा टाइट जीन पेन्ट लगाएकी एउटी सुन्दरी युवतीले एक्कासि पाखुरामा समाउदै भोटे भाषा केके भनेको सुनेर मेरो सातोपुत्लो गयो । अनि भने कालले धजो हालेछ जस्तो पनि लाग्यो । फेरि अनुहारमा हेर्छु हार्दिकता छ, यता साथीभाइ छन् के होला त भन्ने सोचे, निमेष भरमा । अरु सोच्दै थिएँ कुरो खुल्यो । उनीले मेरा साथी भोटेलाई बताउदै रहिछिन् ।

“उहालाई हामीले चिनेका छौ । हामी उहाँलाई खाजा नास्ता दिन्छौ, नडराउनु भन्नुहोस् न,” पो भन्छिन् अरे ।

हरे शिव ! अनि मैले भने दोभाषे साथीको सहयोगमा, “कसरी यो हुन सक्छ ? म त चिन्दिन त ।”

जवाफमा साथीहरूले भने, “ठिलेन दाइको घरमा चिनेको रे ।”

“ए, त्यसो भए होला । कि त मैले बिर्सेको पो हुन सक्छु,” भनेर हामी उनको दोकानमा पस्यौँ ।

म सहित अरु ३ जना केटाहरू थियौं । सफा गलैचामा बसाएर तोङ्वा लगाइदिइन् । मैले पिउने तोङ्वाको पिप्र्सीङ्ग चाँदीले मोरेको थियो । अरु तिब्बती नौला खाना समेत साथमा थिए । आज भएको जति रकम चाहि यही नै सिद्धिने भयो जस्तो लाग्यो ।

यस्तैमा उनले काठको राम्रो बुट्टेदार सानो टंयाकाबाट महिलाले केश बाध्ने फूलको थुंगा जस्तो रबर देखाइन् मलाई । मैले अँझै कुरा बुझिन, अनि उनले साथीहरूलाई भनिन तिब्बत भाषामा त्यो उपहार मैले दिएको रे । अनि बल्ल सम्झे जस्तो त गरेँ, ठ्याक्कै सम्झिन सकिरहेको थिइन । अनि उनले बज्दै गरेको तिब्बती गीत बन्द गरी एउटा अर्को गीत क्यासेटमा हालिन् । अनि त नेपाली समुधुर दोहोरी लोकगित घन्कन थाल्यो, “नयाँ बानेश्वार …….नबोल्ने मायालाई बोलाई देऊ लौ न परमेश्वर …… ।”

मेरो चेहरामा अर्कै उमंग आयो । म त तुङ्वा तान्दै हल्लिन थालेछु । उनले हात समाएर नाच्न इसारा गरिन् । अनि निर्धक्क नाच्न पो थालेछु । उनी पनि सँगसँगै नाचिन् । वरिपरिका रमितेहरू भीड लागिसके ।

मलाई यति राम्रो मन पर्ने गीत कस्ले गाएको थियो ? कस्ले क्यासेट निकालेको थियो ? कस्का शव्दहरू हो ? केही थाहा छैन सरी ल । अनि उहाँहरू भेट भएको घटना हुबुहु, सम्झेँ ।

कुन साल हो बिर्सेँ, बैशाख १ गते नयाँ वर्ष मनाउदाको समय । ठिलेन दाइ घर हुङ्गगुङ्गको कुरा रहेछ । यी बैनीहरू लगाइत २८, ३० जना भरिया तिब्बतबाट लिएर दोकानको सामान ल्याएका रहेछन् ठिलेन दाइले । हामी भने अधेरी पानी खाएर सबै रमझम भैसकेका । अनि रमाइलोका लागि तास खेल्दै थियौ । त्यो दिन तास पनि जुवा वरावर । फलास खेल । जुन दिन मैले मेरो १ चौमासिक तलव उडाइसकेको थियो ।

यसै रनाहामा खेलबाट पिसाव फेर्न बाहिर निस्केको समयमा दोकानमा दुई वटी तिब्बती केटी देखेर मैले जिस्क्याउनुको लागि ५-५ रुपियाँ गोटा पर्ने कपाल बाध्ने रबर ठिलेन दाइको दोकानबाट झिकी तरुणीहरूको केश मसार्ने बहानामा मैले नै टाउकामा लगाइदिएको रहेछु यी दुवै जनालाई १, १ वटा । अनि म त तास खेल्न थाले । त्यो कुरा कै लागि सम्झनु, तर आज त्यस जावो रु १० को यत्रो प्रतिफल !

अँ हामीले १ डेढ घण्टा लगाएर तोङ्वा तान्यौ, विभिन्न परिकारहरू टन्न खायौ । मैले पैसा सोधे कति भो भनेर । तर जवाफमा मेरो गोजीमा १० युआन जवरजस्ती कोचिदिइन तिनले । जो नेपाली ८० रुपैया हो तिनीहरूले आजको बास त्यही बस्ने हार्दिक आग्रह गर्दा गर्दै हामी बाटो लाग्यौ । बेलुकी एउटा चौरी बस्ने गोठमा बास बसी बिहान खाना खान रियु पुग्यौ ।

ठिलेन दाइले गाली गर्नुभो, किन आको जाडोमा भनेर । मैले पायक जान भने । पैसा कति छन् भन्नु भो, जो भएको देखाए । चाइनिज युआन साटी दिन भो । त्यातिले नपुग्ने भन्दै थप रकम पनि दिनुभो । त्यसबेला चाइनिज युआनलार्य फेगर भन्थे १ फेगरको लागि रु ८ नेपाली दिनु पर्थ्यौ जम्मा मसँग ३ हजार नेपाली थियो ।

दाइले मलाई न्यानो खालको१ जोर जुत्ता मोजा हाली दिनुभो । मैल पैसा दिए लिनुभएन । त्यसपछि उहाले यता अउनु भनी आर्मी अड्डातिर लिएर जानु भो । मैले नबुझे पनि उहाले विनम्रता साथ मेरो चिनारी दिई मलाई त्यहाबट पायक मेला जाने अस्थायी भिसा नै होला, मिलाई दिनु भयो । जो मेरो टिम लिडरले बोके ।

हामीले एउटा ट्रक रिर्जभ भयौ । मैले १० युआन तिरे मेरो भागको भाडा । ट्रकमा आन्दोलनका बेलामा सैनिक पुलिस खादै झै खादिएर हामी ट्रकमा बस्यौ, १० बजे हामी गुड्न शुरु गर्यौ । घुम्ती नभएको डाडैडाडा तुफानसँग गुड्दा हामी ५, ६ बजे त्यो मेला लाग्ने ठाउ जो त्यस जिल्लाको शदरमुकाम (सेन) पुग्यौ । बाटोमा डाडा काडामा नालापानी जस्ता किल्लाहरू देखिन्थे ।

मैले सोचे, यहाँसम्म पनि पहिले नेपाल थियो कि कसो हो ? नत्र किन पुराना किल्लाहरूको भग्नावशेषहरू ? तर त्यो जिज्ञासा शान्त पारिदिने विश्बसनीय व्यक्ति कोही पाइन, मलाई तिब्बती भाषा नआउने ।

पुग्ने समयमा हल्का वर्षा भयो । पाल ओडाउन अल्छी गर्यो खलासीले । थाहा नपाईदो गरी निथ्रक्कै भिजेछौ हामी गाडीबाट ओर्लदा । सडकको छेउमा सामान झारेर म रुङ्गन बसे, साथीहरू बासको बन्दोवस्त, (पाल टाङ्ने ठाउ) को खोजीमा आवश्यक तारतुम्य मिलाउन कतै गएका थिए होलान म लखतरान परी मरे जस्तै भएर सडक छेउमा किनारा लागि सुतेको थिए ।

यो संसार राम्रै राम्रा मानिसले मात्र भरिएको नहुदो रहेछ । यो उदाहरण लुकाउन मन थियो किनभने धेरै इमान्दार तिब्बती दाजुभाइको चित्त दुख्ला जस्तो लाग्छ, के गरौ ? बास्तविकता हदैसम्म लकाउन मनै छैन । अँ म सुतिरहेको बेलामा एक जना तिब्बती मानिस आउनुभो र मेरो चिउडोमा जुत्ताले ठाडो पारी टाउको उठाएर हेर्नुभो, मैले म जाडोले मर्न लागेको इसारा गरे, खै उनले के के भने त्यसपछि देखिन । पहिले मैले देखेको तिब्बती चेहराको हार्दिकता तिनमा थिएन न त मुना मदनको भोटे दाइ जस्तो नै । खै यो कस्तो कस्तो भारत कटिहारको गुण्डा जस्तो ।

अँ त्यो गयो । साथीहरू आए, पाल टाँगियो ढिडो खाइयो अनि सुतियो सबै एकै ठाउमा । म चाहि कसो कसो दुई जना महिला को विचमा खटिए छु । संकोचले रातभर निदाउन सकिन, चलन पनि कस्तो ? छोरी मान्छे छोरी मान्छेसँग सुताएको भए म अँझ रमाउथे होला । अनौठो संस्कार लागेको मात्र खासै अप्ठ्यारो चाहि केही परेन ।

भोलि पल्ट १५ दिने मेला शुरु । मानिसहरू भन्थे १५, १६ जिल्लाका ठेजु हरू(सी.डी.ओ.) आएका छन् । विभिन्न प्रतियोगी नाचगान, घोडा दौड, रस्सी तानातान, लोक नृत्यआदी संचालन भइरहेको थियो । जतासुकै मानिसहरू रमाइलो मानिरहेको देखिन्थे । यस्तैमा म एक्लै घुम्न थाले किनकि त्यो ठाउ आजभन्दा २०, २५ वर्ष अगाडिको धरान जतिको मात्र थियो । त्यसैले त्यहाँका पढेलेखेका मानिससँग टाइतुइ अंग्रेजी बोली चीनजान गर्ने लहड चल्यो मलाई । अनि यसो अफिस जस्तो लागेको ठाउतिर पस्न थाले र अंग्रेजी बोल्न थालेँ । तर भगवान् ! मानिसहरू भने सानदार व्यक्तित्वका देखिन्छन् । तर कोही अंग्रेजी जान्दा रहेनछन् । खासमा आफ्नो मातृभाषा समस्त प्राविधििक ज्ञान आर्जन गर्न सक्ने राष्ट्रले अंग्रेजी भाषालाई हामीले जस्ता मान्यता दिदैन कि क्या हो ? पर्यटन क्षेत्रका निश्चितहरूलाई मात्र अंग्रेजीको जरुरत पर्दो रहेछ । नत्र किन झन्झट ?

त्यसै समस्यका कारण मेरो केहीसँग चिनजान हुन पाएन । उल्टो मलाई कुनै भारतीय शुराकी शंका गरी चेक जाँच शुरु भएछ । अनि परो कि फसाद ? पुलिस अड्डा पुर्याइए चेक जाँचको शिलशिलामा अंग्रेजी जान्ने विशिष्ट अधिकारी कहाँ पुगेपछि मात्र राहत पाए । ती अधिकारीले मलाई १५ दिनसम्म प्रहरी अफिसको गेस्ट बनाई बस्न दिने सुरसार गर्दै अडडातिर प्रहरीसँग पठाइदिएका रहेछन । मैलै हतारमा “Does it mean I am arrested here ?” भनेर क्रस प्रश्न गरेपछि उनले मलाई आफ्नै फुटपाथे पालमा बस्न पठाए ।

त्यहाँ त्यसरी स्वतन्त्र नघुम्न हार्दिक आग्रह गरे । फटाहाको फेला पर्ने सक्ने चेतावनी दिए । म उनको हार्दिकता कहिल्यै भुल्न सक्दिन । त्यस समयमा हुङ्गगुङ्गगुङ्ग बासी गाउले दाजुभाइले पनि मलाई राम्रो सहयोग गर्नु भएको थियो । त्यसमा पनि ठिलेन तथा मायनको म कहिल्यै रीण तिर्न सक्दिन । २, ३ दिन घुमेपछि म अरु १२ दिन बस्न चाहिन ।

हामीलाई त्यो मेलाभरि, भन्नाले १५ दिन, त्यहाँ बस्नै अनमति थियौ । १० फेगरतिर गाडीको टिउट काटेर रियु फर्के । त्यस दिन ठिलेन दाइ पसल बन्द गरी सेनतर्फ लागेका रहेछन । म एउटा नेपाली बोल्न जान्ने तिब्बती केटीको रेस्टुरामा सुते । २ फेगरको बन्दोवस्त थियो । रेस्टुरा सानो थियो, केही कुरा खादा छ्याङ खाँदा खास गरी जवानी केटीको हातले मुखमा लगी खुवाइदिने तिब्बतीय कल्चरले माधवी उपन्यासको झल्को दिन्थ्यो (पाहुना देवो भव भन्ने अर्थमा) । उनले मेरै छेउमा ओछ्यान बनाई सुतेको रहिछन्, मैले त बिहानी पख पो चाल पाए ।

बिहानी मैले तिर्दा बन्दोवस्त गरेभन्दा बढी मागिन । अँध्यारो मुख बनाउदै २ फेगरलाई ४ तिरै मैले । उनको चाहना के थियो मैले बुझिन । अनि म फर्कदै थिए । अलि अलि सौदा पनि गरेको थिए । साना साना तीन पोका थिए । १०, १५ किलो पक्कै थियो होला मेरो भारी, र म फर्कदै थिए रियुबाट ।

केही तल आइपुगेपछि तीन जना बटुवा भेटाए दुई महिला १ पुरुष । ती साथीका बहिनी र भाउजू रहेछन् । भाषा क्यै जान्नु छैन । तैपनि मैले म फर्केको भने इसारा गरेँ । अरु के भन्नु ? उनले नौलो आवाज निकाले । सायद हामी पनि फर्केको भनेका थिए होलान । यति बोल्ने बित्तिकै मेरा दुई वटा झोला खोसेर उनीहरूले बोके । पहिले त पाप पनि चिताए खोसेका पो हुन कि भनेर । इसी नाम गरेका विद्यार्थी रहेछन् । हाल उनी सिगात्से भन्ने शहरमा चिनिया सेनामा काम गर्छन भन्ने सुने ।

मलाई उनीहरूले बोकेको भ्याङ्लङ्गको मासुसँग बेलुका खाना खुवाए । पानी तताएर मेरा दाह्री उनैले काटी दिए । बोलिरहन्छन् के भन्छन्, बुझ्दिन म केवल घाटी तन्काइदिए । खुट्टा धोइदिन खोज्दै थिए मैले दिइन । उनले पानी तताइदिए, मैले धुएँ । राति उनकी बहिनी र भाउजूको विचमा सुताए । आफू छेउमा सुते, कस्तो चलन हो यो ? अतिथि देवो भवः भन्ने संस्कार हिन्दुहरूको मात्र कहाँ हो रछ र ?

भोलिपल्ट उठेरसँगै झर्यौं । अस्ति भेटेका बहिनीहरूसँग पनि भलाकुसारी गरी बिदा भयौं, फोटो खिच्यौँ ।

छुट्टिने दिन आयो । उनीहरूले आफ्नो घर जाने ठुलो आग्रह गरे । मैले मानिन । मैले मेरो सम्झना कोसेली स्वरुप एउटा थर्मस दिए, लिन मानेन । उनका आँखा रसाए, म त झनै भक्कनिएर रुन पो थालेछु । हे भगवान एक शब्द बोली नबुझ्दै त्यस्तो माया कसले पतयाउला र ? अनि थर्मस त्यही छोडेर आएँ । मलाई देखुन्जेल उनीहरूले टिपेका थिएनन् तर सम्झना कोसेली लगे होलान् । यसरी बिना पैसामा पनि तिब्बत भ्रमण गर्न आँट गरेको प्रतिफल यो संस्मरणको जन्म भयो ।

जय बहादुर घिमिरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *