सान्नानी,
चाइनिज मोबाईलको दुईचारवटा सेट बोकेर
बन ढाडे गाउँ पसेकै दिन हो
गाउँको बगैँचाबाट दुईचारवटा
फूलहरू गायब भएको
बेली, चमेली, मखमली
जाई, जुई, बेगमबेली
अरु थुप्रै फूलका
हाँङ्गाहरू लाछिएको
हो त्यही दिन त हो
मैले कालो, कैलो, निख्खर खैरो
अँझ अरु थुप्रै रङ्गका बन ढाडेले
आफ्नो पैतालाका डोबहरू
बास्नादार माटोले छोप्दै
ठाडो पुच्छर लाएर कुलेला म ठोकेको देखेको
म अवाक ! हठात ! उभिरहें
म एउटा जूनकिरी
फगत ! मेरो सानो उज्यालोले
देख्न सकिएन ती बन ढाडेहरू
यदि म जस्तै सयौं जूनकिरी
त्यहाँ हुदाँ हुन् त
पक्कै केही हुन्थ्यो
केही गरिन्थ्यो
कस्तो बिडम्बना?कस्तो दोधार?
त्रासै त्रास, डरै डर
त्यही दोधार वीचमा मैले आवाज दिएकै हो
तर सान्नानी,
सुनेनन्
हर्के, श्यामे, साधुरामले
अनि सुनेनन् एन्जियोले
सुनेनन् सरकारी निकायले
सुनेनन् दातृ निकायले
अहं कसैले सुनेनन्
म उसै गरी उभिरहें
सानो चेतनाको टुकी बालेर
तर कतिन्जेल सान्नानी?
अचानक् मध्यरातमा झ्याप्प निभ्यो
त्यो सानो उज्यालो
निल्यो त्यो ठूलो अध्याँरोले
तर पनि सान्नानी
मलाई विश्वास छ
मिर्मिरे त हुन्छ नै
उज्यालो छाउँछ नै
अवश्य पनि एकदिन बिहान हुनेछ
अनि म मेरो बगैँचाको फूल चोर्ने
ती बन ढाडेहरूको कम्मर भाँच्ने गरी हान्नेछु झटारो
अधमरो पारेर, उधो मुन्टो लाएर
चौबाटोमा झुण्ड्याएर
हरेकपटक ओहोरदोहर गर्नेहरूको
घृणाको एक लातले बजारेर
निशालाई चिर्ने हजारौं जूनकिरीहरू तयार पार्नेछु
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
