यता पनि एक दृष्टि दिने कि ? (साहित्यिक पत्रिका)

  • by


म जे कुरामाथि कलम उठाइरहेको छु, वास्तवमा यस विषयको म जिज्ञासु विद्यार्थी मात्र हुँ । मैले यसकारण यो विषयमा कलम चलाएको हुँ कि, कोही यस विषयको ज्ञाताको पनि यतातिर ध्यानाकर्षणहोस । कुरा साहित्यिक पत्रिकाहरूको वारेमा हो । अहिले सरकारी साहित्यिक पत्रिकाहरूमा मधुपर्क (२०२५) गरिमा, समष्टि आदि छन् । यी पत्रिकाहरूमा विशिष्ट विद्धानहरूको लेख रचनालाई प्राथामिकता दिई छापिन्छ । र उचित पारिश्रमिक पनि लेखकलाई दिइन्छ । अन्य गैर सरकारी साहित्यिक पत्रिकाहरूमा रचना (२०१८) अभिव्यक्ति (२०२७) नेपाली, भानु, शब्द संयोजन, वेदना, शारदा, रश्मी, जुहि, जनमत, मिरमिरे, फित्कौली, वनिता, कल्पतरु, शिवपुरी सन्देश, कौशिकि, पल्लव आदि छन् । यी सबैको वारेमा व्याख्या गर्दा ठुलै ठेली तयार हुन जाने भएकोले अहिले उत्कृष्ट मध्येको एक द्वैमासिक पत्रिका अभिव्यक्ति को वारेमा मात्र छोटो चिनारी गराउनु यो लेख को मुख्य आशय रहेको छ । उल्लेखित साहित्यिक पत्रिकाहरूले आज संम जसोतसो आफ्नो अस्तीत्व वचाउन सकेका छन् ।

२०१७ साल देखि निरन्तर २-४ वर्ष अघिसम्म साहित्यिक जनजागरण ल्याउन संघर्षरत रुपरेखा हालवन्द भैसकेको दुःखद अवश्था छ । भनिन्छ साहित्य समाजको ऐना हो । जसरी आफ्नो अनुहार कस्तो छ भनेर छ्याङङ्ग देख्न ऐनाको जरुरत पर्दछ । त्यस्तै समाज, राज्य, अथवा भनौ चराचर जगतलाई छ्याङङ्ग हेर्न साहित्यको गहिर्याईमा डुवुल्की मार्नुपर्छ । यो यस्तो महाँसागर हो, जो आफ्नो क्षमता अनुसार अनन्त गहिर्याईको रसस्वादन गर्न सक्छ । जुन देशका जनताको चेतनास्तर माथि छ, त्यस देशको उन्नती भएको छ ।

हाम्रो देशको राजनितिक स्थिति यति नाजुक भएको कारण जनता चेतनशिल नहुनाले हो । जनतालाई चेतनशिल वनाई राष्ट्र निर्माणमा उद्यत गराउन साहित्यिक खुराकको ठुलो महत्व छ । यो खुराकको अभावमा यो देशका जनताहरू राजनैतिक रुपमा लुला, लंगडा भएको फाइदा वर्तमानमा वर्चश्वमा रहेका राजनैतिक दलका शिर्षस्थ नेताहरूले उठाई यो देशलाई रसातलमा भसाइ आफू भने मोजमस्तीको जीवन वाँचिरहेका छन् । यस्तो विषम परिस्थितिको सामना गर्दै २०२७ साल दखि हालसम्म निरन्तर मरुँ कि वाँचुको दोसाधमा संघर्ष गर्दै आउनु भएको साहित्यिक धरोहर को नाम हो नगेन्द्रराज शर्मा जो चर्चित प्रतिभा जगदिश घिमिरेको सहोदर दाजु हुनुहुन्छ । उहाँको सम्पादनमा मर्दै वाँच्दै देश सेवामा समर्पित पत्रिकाको नाम हो ‘अभिव्यक्ति’ जो हालसम्म १५३ अंक मात्र निस्कन सफल भएको छ । साहित्यिक द्वैमासिक पत्रिका भएर ४१ वर्षको आयू वित्दा पनि १५३ अंक मात्र निस्केको किन होला ? यदि लगातार निस्कन सफल भएको भए आज हाम्रा सामुन्नेमा ४१×६=२४६ अंकहरू प्राप्त हुने थिए । यस पत्रिकाले राष्ट्रको लागि २०२७ सालदेखि हालसम्म विभिन्न राजनैतिक मोडहरूमा जनताहरूको राजनैतिक चेतनालाई कसरी उकास्यो ? अथवा सरकार वा अन्य कसैको अनाश्यक स्तुति गाएर समय गुजार्यो कि ? खोजकर्ताले सहजै यी प्राप्त अंकहरू खोजी गरेर अध्ययन गदौ छर्लङ्ग हुनेछ ।

हामीले निकै लामो समयदेखि हालसम्म देश विकास को लागि समार्पित शाशक वा राजनैतिक दल पाएका छैनौ । त्यसो हुनाले एक विद्धानले भने झै फटाहरूले शासन गरेको देशमा सज्जनहरू बस्ने ठाउ जेल हो । सच्चै नै निस्वर्थ भावले जनजागरण ल्याउने अभियनमा लागेको व्यक्ति वा समुहले राज्यद्धारा के कस्तो सम्मान र आदर पाउछ सहजै अनुमान गर्न सकिने कुरा हो । मतलव साहित्यिक पत्रिकाहरूले पनि सरकारवाट कुनै सहयोग सद्भाव पाएनन् वरु पाए तिरस्कार र अपमान । कारण ती पत्रिकाहरूले सरकार को कमीकम्जोरी को कटु आलोचना गरी जन समक्ष राखिदिने गरेको छन् ।

भन्न त केही मानिसहरूले यी पत्रिकाहरूले प्रशस्त कमाएका छन् । नत्र किन मरिहत्ते गर्थे ? कसले कर लगाएको छ र ? भन्न्नेहरू पनि छन् । तर पृथ्विमा आएका सबै मानिसहरूको, आनिवानि, नशा, सोख, एकै खालको नहुने रहेछ । उदाहरणको लागि मौन तपस्या गरेर वसिरहेका १ जना ऋषिलाई ४ वद्मासहरूले मरणाशन्न हुने गरी कुटेछन् । उनले कुनै प्रतिकार गरेनन् । घाउमा स्याउँ स्याउँ किरा परि हातवाट वरवर किरा भुइमा खस्दा विचरा किराको आहारको अभावमा मृत्यु नहोस भनी ऋषिले भुइमा झरेका किराहरू फेरि टिपेर हातको घाउमा नै लगाउने तपसीहरू पनि इतिहास को पानामा भेटिदारहेछन् । त्यसैले भनिएको होला मण्डमण्ड वुद्धि कुण्डकुण्ड पानी ।

यी पत्रकारको जीवन पनि अन्य उद्यमीहरूको जस्तो अवश्य हुन सक्थ्यो हाला । यदि उनले यो साहित्यिक पत्रिकालाई वचाईराख्न जे जति लगानी गरे त्यति नै पूँजी तथा समय आय आर्जनको उद्यममा लगाएको भए अथवा यदि ठमेलमा एउटा डान्स रेष्टुरेण्टमा लगानी गरेको भए । उहाँले त्यसो गर्नु भएन र जीवनको ७६ औँ वर्षमा पुगेर पनि भविष्यमा यो जनजागरण अभियान उहाँको मृत्यू पछि पनि निरन्तर कायम रहोस भनी कुनै साधुले चन्दा संकलन गरी मन्दिर निर्माण गर्ने अभियानमा जुटे झै अभिव्यक्ति अक्षय कोष रुपी झोली थाप्नुभएको छ । जसको खाता नं. यस लेखको अन्त्यमा उल्लेख छ । हामी साहित्यमा अभिरुचिराख्ने जो कोहिले अब रमिता हेरिरहन हुन्न । एक थुकी सुकी सय थुकी नदी भने झै सबैले अलि अलि सहयोग गरिदिए उहाँ को निधन पश्चात यो साहित्यिक अभियान जारी राख्ने उहाँको अभिलाषा पुरा हुन्थ्यो ।

हाम्रो देशमा सष्ट्राहरूको मरेपछि मात्र सम्मान गरिने परम्परा अब ताडौ उहाँ जीवित हुदै उहाँको आत्मालाई हौसला प्रदान गरौँ । उहाले हालसंम निकालेका संपूर्ण अंकहरू नवसर्जक अथवा साहित्य अनुरागी सबैलाई राम्रो खुराक छन् । उहाँको सपनालाई सफलिभुत वनाउन तन, मन, धन, वचनले सकेको सहयोग गरौ । उहाले आजसम्म के कसरी आय व्यय धान्नु भएको छ । भन्नेवारेमा केही कुरा प्रष्ट्याउन शान्दर्भिक नै होला । यो पत्रिका २५०० देखि ३००० प्रतिसम्म छापिन्छ । प्रतिगोटा बिक्रीमूल्य रु २०/- विस छ । सबै विक्रि हुँदाको आय ३०००×२०=६०,०००/- हुन्छ । त्यसमा छाप्ने प्रेसमा प्रति गोटा १२ देखि १५सम्म लाग्छ नै होला । भन्नाले ३६, ०००/- देखि ४५, ०००/- संम त प्रेसले नै लियो । वाँकिरहेको २४, ०००/- देखि १५, ०००/- सम्मले के कसरी खर्च धानिदो हो ? विशिष्ट सदस्यहरूवाट ४१ वर्षसंममा जम्मा जम्मी २.५ लाख जति आम्दानी भएको अनुमान छ । किनभने प्रति सदस्य पाँच हजारको दरले पचास साठीमात्र विशिष्ट सदस्यहरूको हिसावले । ती विशिष्ट सदस्यहरूलाई प्रति १-१ वटा अंक निशुल्क टक्रयाउनु नै पर्छ होला सम्पादकले, कारीन्दाले के तलव खाने ? अफीसभाडा, नेट, फाने विल केले तिर्ने ? रह्यो विज्ञापनको कुरा । सरकारले अभिव्यक्तिलाई कति विज्ञापन दिएर सहयोग गर्यो होला अनुमान गर्न अभिव्यक्ति १४९ अंकमा छापिएको एउटा गजल उद्धत गरेको छु ।

गजल (राकेश श्रेष्ठ)

सबैले रोजेर छाडेको साडी जस्तै
गति भुली दोवाटोमा ठोक्किएको गाडी जस्तै

दुनियाको आँखाँमा छारो हालेर
प्रेमी प्रेमीकाको लुक्ने झाडी जस्तै

विग्रिएको, भत्किएको, अलपत्र परेको
इतिहास हराएको, सिन्धुली माडी जस्तै

प्रधानमन्त्रीज्यू ! बेहाल भो नि देश त
पापी बगरेले घिस्याएको पाडी जस्तै

अब तपाई आफै भन्नुहोस यस्तो गजल छाप्ने गैरसरकारी साहित्यिक पत्रिकाले सरकारको तर्फवाट के कति विज्ञापन सहयोग पाउला ? प्राय व्यापारीहरू साहित्यिक पत्रिका नै पढ्दैनन् । के को विज्ञापन पाउनु तिनीहरूवाट ? हुनत आजसम्म जे जसरी धानिएको छ अब पनि त्यसरीनै धानिएला तर तपाई हामीजस्ता साहित्यमा रुचि राख्ने जो कोहिले पनि वहाजस्ता साहित्यिक धरोहरलाई प्रोत्साहन गरौँ उहाँको पत्रिका मार्फत भएर हुर्कने हजारैँ साहित्यिक विरुवाहरूलाई मलजल गरौँ भन्दै यो लेखको विट यही मार्न चाहन्छु ।

ठेगाना – अभिव्यक्ति अक्षयकोष
खाता नं. 5F10625
दुर्गा भवानी वचत तथा लगानी ऋण सहकारी संस्था लिमिटेड, धुम्वराही, काठमाडौ
सम्पर्क फोन नं. ०१-४४७२६३७, ९८४१६११२११
प्रस्तुति – जय वहादुर घिमिरे
श्री शिशु रक्षा प्रा.वि. पावाखोला ३ डिमा, संखुवासभा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *