धरापमा परे झैँ भयो जिन्दगानी
हरेक् पल् मरे झैँ भयो जिन्दगानी
शरदको चिसोले वनै शून्य पार्दै
पतिङ्गर झरे झैँ भयो जिन्दगानी
पलाएन हाँसो सुक्यो आश सारा
सबै थोक् हरे झैँ भयो जिन्दगानी
दु:खै दु:ख र पीडा सहित् उर्लिएको
समुद्रै तरे झैँ भयो जिन्दगानी
असल गर्छुभन्दा खराव आइलाग्ने
अधिक पाप् गरे झैँ भयो जिन्दगानी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
धन्यवाद
भट्टजी गजल होस् त तपाइँको जस्तो होस् । अरु पनि पढ्न पाउँ । भावना र शब्दहरुको समुचित सयोजन भएका रचनाहरुको अनिकाल परेको यो बेला अमेरिकाबाटै भए पनि नेपाली गीत गजलमा उज्यालो देखिएको मैले अनुभव गरे । रचनाका लागि धन्यवाद ।