Skip to content

नयाँ राष्ट्रियताको शहरमा


किन हो ? हरेक दिन–
फेरिएको राष्ट्रियतासँगै
एकफेरा जन्मन्छु
र, एकफेरा मर्छु म !
नयाँ परिचयमा जारी जन्म र मृत्यु
आधा बाँचेर मरेको छु
र, आधा मरेर बाँचेको छु ।

आत्मा बरालिएको छ अन्त कतै
म छु यहाँ नयाँ सीमानाभित्र ।

इलेक्ट्रिोनिक कार्डमा, लुकेको छ धेरै कुरा
तर कवै लुक्दैन
धारिलो नजर आफनै तस्वीरको
जो कटिरहन्छ घरीघरी आफैलाई
सपनाको मरुभूमिमा
आफनै रगतको पानी पिउन ।

हिंडदा सडकमा –
आफनै छातीमा पाइला राखेसरह
हरेक पाइलाहरू, सजायका कोर्राहरू सहन्छु म !
दुनियाँका सशंकित नजरहरू दाँयावाँया
अमूक यातनाहरू सहन्छु म !
मेरो टोपी जुत्ता बनिदिन्छ
उसको मोजा मैले टोपी बनाउनुपर्छ
धेरै जँग बहादुरहरू उभिएका छन ट्राफिक चोकमा
२+२= पाँच भन्नु पर्दछ मैले
आधा बाँचेर मर्दै
आधा मरेर बाँच्दै ।।

आज स्मृति दिवस मेरो राष्ट्रियताको –
असँख्य पूर्वस्मृतिहरूले
पुनः प्राण भर्न सक्दिन म
सँजीवनीविहीन म
ढाका टोपी टेकिएको
मलीन अनुहार दिलमा राखेर
मुखुण्डो हालेर नयाँ राष्ट्रियताको
गेटपास हुन्छु र छिर्छु
नयाँ राष्ट्रियताको शहरमा
त्यहीं क्रमशः धेरै कोर्राहरू सहदै
एकफेरा जन्मन्छु
र, एकफेरा मर्छु म !
आधा बाँचेर मरेको छु
र,आधा मरेर बाँचेको छु
नयाँ राष्ट्रियताको शहरमा ।।

दीपेन्द्र के.सी.
२ अप्रिल २०१३,
Oostende. Belgium

Leave a Reply

Your email address will not be published. Required fields are marked *