खुशी हुँदै रमाएर मित लाऊँ भन्यो शहरले
युगौं नछुट्टिने कसम खाऊँ भन्यो शहरले
अनुकरण गर सबै मेरा राम्रा कुराहरू
दूर बस्तीका कठिनाई पन्छाऊँ भन्यो शहरले
मेरो साधन तिम्रो श्रोत मिलाएर सम्बृद्धिले
नेपाललाई विश्व सामू चिनाऊँ भन्यो शहरले
स्वास्थ्य, शिक्षा, शान्ति, रक्षा, गास्, वास्, कपास्, दिई सबलाई
कुना-कन्दरामा प्रकाश छाऊँ भन्यो शहरले
म त किच्चिइसकें ‘शहर’ सुन्ने कोही हुन्नन् भोलि
बिन्ती विकास खातिर मुक्ति पाऊँ भन्यो शहरले
कस्तुरीले आफ्नै वास्ना खोजे जस्तो घुम्छौ किन?
तिमी खुशी हुने कति छन् ठाऊँ भन्यो शहरले
सक्दिन म खेप्न अरु पाहुनाको भार अब
हिंड साथी गाउँतिरै जाऊँ भन्यो शहरले
उषा न्यौपाने
