जब
उज्यालो रातमा
चन्द्रमा मलाई भेट्न
शीतलहरको साथमा
मुस्काउदै बाटो लाग्छ
तल आउदा मेरो अनुहारमा खुशीको पालुवा
पलाएको देखी देखी
उफ्रदै फिर्ता हुन्छ
आरुका फूलहरू फूल्छन रुखरुखमा
जंगलमा गुराँसका फूलहरू खुशी भई
हाँस्ता
कोइली आफ्नो प्रियसी संगको विछोडमा
कुहु कुहु गदै रुदा उराठ लागेको मेरो
मनमा
शान्त पार्छ हरियाली वनले
जब
म उकाली चढ्छु
वर पिपलका जोडीले दिएको छहरामा बस्दा
मेरो प्रियसीको याद आउछ
मेरो मुटुको स्पन्दन बढ्छ
ढक ढक ढक
जब
म मेरी पितृरुपी आमाको यादमा
छातीमा बलेको राँको निभाउन खोज्दा
झन दन्किरहेको समयमा
त्यही प्रियसी संगको बिछोडिनु परेकोले
रोएको कोइलीले सम्झाउँछ
जब
प्रभातले ल्याउछ सुनौला
किरण उराठिएको मेरो मनमा
एक प्रकारको आन्नद छाउँछ
जब
प्रकृतिले विछाउँदछ हरियो वुट्टेदार
तन्ना आनन्दित मेरो मनमा
एक्लिएको आभास हुन्छ ।
जब
बिहानी किरणमा टल्कन्छ निलगिरी
यी हातहरूका सट्टा पखेटा लगाउन मन लाग्छ ।
चुचुरहरूले लाएका हरिया सारी खोस्न मन
लाग्छ ।
अनि स्वर्गीय आमालाई चिठी लेखी
यही धर्तीमा डाँक्न मन लाग्छ ।
जब
मेरो मनमा वैरागका धर्साहरू कोरिन्छन्
सिमलका रुखमा लागेका बुट्टा हेर्न मन लाग्छ
जब
मेरो मनको खुशीका प्याला पोख्न
अश्रुरुपी प्रहार गर्छ
मेरो मुटु त्यसै ढुक ढुक गर्छ त्यसै त्यसै
जब
शिशीरले अन्तिम पल्ट बिदाइ गर्छ
म बसन्तको आगमन स्वागत गर्न पर्खिरहन्छु
जब
बसन्तले पहिलो प्रहार मेरो मुटुलाई नै
वैरागी बनाउछ
म बसन्तलाई बिदाइका
हात हल्लाउन तक्सिन्छु
हो हात हल्लाउन तम्सिन्छु ।
मनिषा अवस्थी (सञ्चारकर्मी)
