समयको सिपालु रेटाईले
रयाई रयाई रेटिएर
कहिले मायाका मुर्छना रेट्दै
कहिले आँशुका आलाप रेट्दै
कहिले सागर जत्रो आशा रेट्दै
कहिले मरुभूमिको प्यास रेट्दै
गाइने दाइले सारंगी रेटेझैँ
यो समयले जिन्दगी रेटिरहन्छ,
हो जीवन एउटा सजीव सारंगी
सारंगी एउटा सजीव जीवन ,
सारंगी बिरह रेटेर आँशु कमाउँछ,
जीवन नियति देखेर आँशु बगाउँछ,
पला-पला रेटिएर
यी बजिरहन्छन् इच्छानुसार
मलाई सारंगी र जीवन उस्तै उस्तै लाग्छ
समयका केही पानाहरूमा
सारंगीका केही तानाहरूमा
आशा र उल्लासका धून पनि हुन्छन्,
गुराँस र धपक्क फुलेका जैतुन पनि हुन्छन्,
रेटिनु नियति हुँदाहुँदै पनि
सारंगी सयौं ओठ हसाउँछन्
सारंगी सयौं दर्शक नचाउँछन्,
उसोरी नै केही जीवन रेटिएर
सयौं जीवन हसाउँछन्
सयौं जीवन बचाउँछन्,
अहो, कस्तो मिलेको तारतम्य
मलाई सारंगी र जीवन उस्तै उस्तै लाग्छ
सारंगी र जीवन
जीवनका रेखाहरू
धमिला हुँदै जान्छन्,
सारंगीका तारहरू खिईदै खिईदै जान्छन्,
हिड्दाहिड्दै ठोकिएर
बज्दा बज्दै चुँडिएर
सारंगी र जीवन निष्प्राण हुन्छन्,
सारंगी अब केवल काठ बन्छ,
जीवन अब केवल लास बन्छ,
कतै फ्याकिएको त्यो काठ
कसैले बालेर आगो ताप्छ,
कतै खोला किनारमा
एउटा लासमा आगो लाग्छ,
दुवैको अस्तित्व केवल खरानी
किन किन मलाई सारंगी र जीवन उस्तै उस्तै लाग्छ
मीरा मन थापा
माईधार झापा /हाल इजरायल
