रक्त आहाल यो परिवेश
युद्धहिंसाले दुखेको देश
ओहो कस्तो चित्र ?
गाढापीडा मनभित्र
यस्तो दृश्य आँखामा टाँसेर
यातना आफैं अविश्रान्त भोगेर
चराहरू गीत गाउँदैनन्
चराहरू त हिंसा चाहदैनन्
युद्धको बल्दो आगोनिर
चीत्कार रुवाइ तिमिर तिमिर
कोलाहल, भय, सन्त्रास निरन्तर
छरपष्ट पोखिएका छन् वरपर
गीत छैन, कसैको हित छैन
लय छैन, संगीत छैन
यस्तो बेथितिमा चराहरू
ऋतुको गीत गाउँदैनन्
विषम परिस्थितिमा चराहरू
नव सृजनाको प्रीत लाउँदैनन्
मान्छेहरू बेखबर छन्
शोक सन्तापका लहर छन्
मन पोल्छ, मुटु जल्छ
अश्रुनदीले खुशी बग्छ
घृणा र तिरस्कार छिःछि दुर दुर
ढल्दै छ मानवताको स्निग्घ धरोहर
विडम्बना छ यहाँ यस्तो, मृत्यु यो सस्तो
भाव विभोरमा, बिहानीको भोरमा
चराहरू गीत गाउँनै सक्दैनन्
चराहरू त सँधै सँधै
स्निग्ध शान्तिका गीत गाउँछन्
सुखसमृद्धिका इन्द्रेणी प्रीत लाउँछन्
“बसुधैव कुटुम्बकमको” नभमा
स्वतन्त्र निर्भीक उड्न चाहन्छन्
सत्यम् शिवम् सुन्दरम्
बुद्धम् शरणम् हुन चाहन्छन्
बहुजन हिताय बहुजन सुखाय
मन्त्र जप्दै चिरबिर ल्याउँछन्
मानव कल्याण र उत्थान देख्न
सुन्न वरपर आउँछन्
युद्ध र विनाशमा चराहरू गीत गाउँदैनन्
अशान्ति र कोलाहलमा चराहरू गीत गाउँदैनन्
यसर्थ,
विवेकको आँखा खोलेर छातीमा हात राखेर
सोच्ने बेला आएको छ अब
किन चराहरू गीत गाउँदैनन्
किन चराहरू हाम्रो नजिक आउँदैनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *