Skip to content


“भाग्य नाराँ…. ! ए भाग्य नाराँ….. !” कौशीमा हुँ कि, बारदलीमा, झ्यालमा हुँ कि कोठाभित्र नै, भाग्य नाराँलाई बाटोमा देख्यो कि म उसलाई जहाँको त्यहीँबाट बोलाइ हाल्छु । तर मैले अरु प्रश्न सोध्नै पर्दैन ऊ जवाफ दिइहाल्छ । कि त “ज्या वनेगु बाज्या….” भन्छ यदि त्यो समय बिहानको छ भने र यदि बेलुकाको छ भने “छेँ वनेगु बाज्या….” भन्छ । अनि जब “आसे रे आसे….” भन्दै कहिलेकाहीँ केही कुरा गर्ने उद्देश्यले म उसको पछि-पछि लागेको हुन्छु ऊ “लिवाया ढुन बाजे….” भन्दै लम्किन्छ । कहिलेकाहीँ त बाटोमा हिँड्दाहिँड्दै पाइन्टको खल्तिमा हात हालेको देख्नु हुँदैन उ “म्वा बाजे म्वा..” भन्दै भागिहाल्छ । गजबको व्यवहार देखाउन थालेको छ उ आज भोलि मसँग । अझ कहिले त देख्या नदेख्यै झै गरी पनि हिँड्छ र सुन्या नसुन्या झै‌‌‌‌‌ पनि गर्छ कानले । त्यसैले त हिजो पनि फेरि त्यो मसँग बोलेन । निकै बोलाएँ उसको पछि-पछि लागेर । तर बोल्नु त के, फर्केर सम्म हेरेन । त्यही एउटा फ्यांग्लो चप्पल भिरेर र त्यसै चप्पलले फट्कारेर मिल्काएको वर्षामासको हिलोले पछाडि नांगा पिँडुलादेखिको माथि तिघ्रासम्मकै शरीरको भागलाई हिलाम्मे बनाएर हिँडिरहेको थियो ऊ फट्यांग्रे हिँडाइमा । शरीरमा भने उस्तै फ्यांग्लोमा फ्यांग्लो कमिजमाथि अर्को एउटा फ्यांग्लो स्वेटर लगाएको जुन मध्य गर्मीको याममा आवश्यकै थिएन ।

अस्ति मात्रै त हो, ऊ बोलेको थियो मसँग । बेलुकाको अन्दाजि पाँच जति बजेको हुँदो हो । सडकको छेउको धुलो ठाउँमा शीतलमा बसेर एउटा निकै ठूलो झोलाभित्रबाट केके झिकेर खाँदै थियो । मैले उसको नजिकै उभिएर सोधेथेँ- के खान लाग्यौ – बोलेन तर देखायो त्यो धोक्रो नै । खाली धोक्रोमा अलिकति पकाएको चना थियो । प्रश्न गरेँ, “के तिम्रा चना बिहानदेखिको खाना हो कि अहिले खाजाको रूपमा मात्र खाएका हौ भाग्य नाराँ -” इशारा गर्यो “हो ।”

“के, हो – आजको पूरै खाना हो यो कि यस बेलाको खाजा मात्र हो भनेर पो सोधेको मैले -” मेरो दोहोरो प्रश्नमा पनि ऊ बोलेन र बरु उल्टो आफ्नो साविकको फाटेर पनि एक धोक्रोमाथि अर्को धोक्रो खप्टेर राखेको धोक्राको मुख बटारेर पो त्यसलाई काँधमा बोक्दै हिँड्न लाग्यो । सोधेँ, “आज कतिको बेपार गरेउ त -” ऊ जंगिहाल्यो एकदमै र सुनायो, “के कुरा गर्छ बाज्या तपाईँ – काँ हुनु बेपार आज भोलि ! कसले किन्छ – काँ शान्ति छ देशमा – – काँ सुख छ – काँ हामी जस्ताले बाँच्न पाउँछ – हुँदा-हुँदा त ब्यामान् पशुपति विकास कोष शुध्दले खाइदियो हामी गरीब जतिको बेपार सबै । पाहाड र पर्वतमा मात्र माओवादी लाग्या छ र यो देशमा – यीँ शर्मै पनि लाग्या छ नि ! असत्ती काँको ! मान्छे बस्नै दिदैँन, पसल थाप्नै दिँदैन । अनि केको बेपार हुनु ! त्यसमाथि सत्र अठार सालको बेपार हो र – यतिमा यो पाइने, यतिमा यो पाइने….” भन्दै भाउको परि लाउँदै र भुनभुनिदैँ हिँडिहाल्यो ऊ ।

त्यस मानिसलाई बर्षौँ भयो मैले देखिराखेको । मेरै घरको बाटो गरी हिँड्छ दिनहुँ र बिहान बेलुकी दुवै समय । जाडो कुन, गर्मी कुन, झरी-बादल कुन र ठिहिर्याउने तुषारो र कुहिरो कुन, हिँड्याहिँड्यै छ ऊ जुनसुकै समयमा पनि र जुनसुकै दिनमा पनि- टुइँ….टुइँ….टुइँ….टुइँ….टुइँ….। कसैलाई नपर्खी र कतै नहेरी एकोहोरो छ उसको हिँडाइ । यति छिटो हिँड्छ कि लरतरो मानिसले भेट्नै सक्दैन । यस्तो लाग्छ ऊ निकै जरुरी काममा र पुग्नै पर्ने बेलामा निर्देशित ठाउँमा पुग्न हतारिइरहेछ, निकै इमान्दार कर्मचारी झै । यसरी हतारिएर हिँड्दा गर्मीमा पसीना खलखली आउने त भयो, भयो तर जाडोमा उसको नाकबाट बगेको सिँगान भने हेरिनसक्नु नै हुन्छ । तापनि सिँगान बग्ने उसको यो क्रम भने नयाँ होइन । मैले देखिनै राखेको छु उसका यी गतिविधि धेरै पहिलेदेखि र कहिले धेरै त कहिले थोरै, अनि कहिले दाहिने नाकको प्वालबाट त कहिले देब्रे नाकको प्वालबाट- मानौँ हिमालबाट बगेको नदी झै गरेर बग्छ उसको नाकको यो लहर …. । अक्सर जाडोको बेलामा भने दुवै नाकका प्वालबाट तल झण्डै मुखसम्म नै चुहिएको दृश्य पनि मज्जासँग हेर्न पाइन्छ उसमा ।

थाहा छैन त्यो मानिस को हो । एउटा बडेमाको थोत्रो धोक्रो बोक्छ सँधै र धान नै भर्न परे पूरै एक मूरी जाला त्यसमा अथवा चामल आज भोलिको एक शय किलोग्राम । तर त्यहाँभित्र उसले बोकेको चीज धान वा चामल जस्तो लाग्दैन कसैलाई पनि । भरी पनि हुँदैन फेरि त्यो धोक्रो कहिल्यै । सँधैँ-सँधैँ एकै तौलमा र उति नै जसो सामान हुन्छ- आधा धोक्रोजति ओगटेको । देख्नमा भारी त लाग्दैन तर पनि कहिले दाहिने कुममा र कहिले देब्रे कुममाथि बिसाउँदै दौडिरहेको हुन्छ ऊ । दौडिनु यस अर्थमा कि ऊ हिँड्दा पनि र्सवसाधारणले दौडिएकै जस्तो गरी लम्किएको हुन्छ । मानिस अग्लो-अग्लो र दुब्लो-पातलो छ । कालो वर्णको, खबटे गाला, डँडाल्नुको हाड प्रष्ट देखिने र भुँडीको छाला चाउरिएको ।

यो मानिस को हो – मैले बाटामा हिँड्ने धेरै बटुवासँग सोधेँ । कसैले भने, “चिन्दिनँ ।” कसैले भने, “कुनै बहुला हो यो ।”

“घर कहाँ हो यसको -”

कसैले भने, “थाहा छैन ।” कसैले भने, “होला यता कतै ।” तैपनि मेरो चित्त बुझेन, सोध्दै हिडें, सोध्दै हिडें, “ए भन न ! यसको घर कहाँ हो र के यो साँच्चिकै बहुला हो त -” मेरा यी प्रश्नमा बहुला त ऊ सबैबाट ठहरियो नै । तर घरबार भने कसैले यहीँ काठमाडौकै मानिस होला भने, कसैले पहाड्-पर्वततिरबाट आएको भने । अझ कसैले त भने “यो मानिस मेरै गाउँको हो र भाग्य खोज्न भनेर धेरै पहिले यही राजधानी काठमाडौँ झरेको थियो तर आज यो गतिमा पो परिणत भएछ ऊ…. ।”

“होइन, हाम्रो देशका अरु-अरु मानिस माओवादीका डरले मुग्लान-मुग्लानमा ज्यान जोगाउन हिँडेका झै हिँडेको थियो यो केही पहिले मात्र तर यहाँ आइपुगेछ,” अर्कोले मलाई सुनायो ।

“अनि बस्छ कहाँ त -” मेरो मनको अर्को खुल्दुलीलाई कसैले देखेकै जस्तो गरी ठाउँको नाम किटेरै बताइदिए त कसैले फेरि उस्तै गरी र अझ बढी सहानुभूतिका शब्द खर्चिई सुनाए, “बस्छ नि सडकको पेटीमा ।”

“खान्छ के त -” फेरि मेरो अर्को जिज्ञासामा जवाफ दिए कसैले भावुक बनेर, “जसले जे दिन्छ उही ।” अझ कसैले त भने, “सडकका फोहोर र दुर्गन्धको रास उधिनी-उधिनी त्याहाँ भात, रोटीका टुक्रा जे पाउँछ, त्यही खान्छ ।”

“ए…. ! भनेपछि त बहुलामा पनि खत्तम भएछ,” फेरि कसैले कुरा थपे ।

“अनि जाडो-हिँउँदमा पनि त्यसै सडक-पेटीमै सुत्छ त – के ओढेर सुत्छ बिचरा -” मेरो मायापूर्ण प्रश्नप्रति जवाफ तेर्स्याउँदै बोले कसैले, “कुकुर, मान्द्रो, बोरा र घर-घरबाट फालेका सुकुलका टुक्रा, कार्पेट आदिले शरीरलाई गुम्स्याएर सुत्छ नाइँ…! उसको डस्ना र सिरक भन्नु नै त तिनै हुन् ! नत्र त के गरोस् विचरा त्यो दुखी बहुला…. !”

“ओहो ! त्यसरी पो सुत्छ त्यो -”

“नसुतेर के गरोस् त ! जसरी आज हाम्रो देशका अधिकांश जनता न भोक, न निद्रा, न गाँस, न बासमा दिन काट्न बाध्य छन्, त्यसरी नै बाँच्न बाध्य छ यो पनि । कतै द्वन्द्वको चपेटा, कतै भोकमरी र बासको चपेटा । पाहाड-पर्वतमा द्वन्द्वको चपेटाले मानिस बस्न सक्दैन, शहरमा आयो, यहाँ यो चाल…. । आफ्नो बास खोज्नका लागि कि महानगरपालिकाले भत्काइदिए जस्तो गरी मिचाहा र जोदाहाका घर कम्पाउण्ड भत्काउन जानु पर्यो आँट गरेर, कि त सरकारी पर्ती जग्गामा धनीमानी र ठूलाठालूले हड्पे जस्तो गरी हड्पेर घर बनाएर बस्न सक्नु पर्यो । अनि यी दुइटै काम गर्न नसक्ने गरीब-गुरुवाले उही पृथ्वीमातालाई आफ्नो बस्ने र ओछ्याउने ठाउँ बनाउनु र विशाल आकाशलाई छानो र ओढ्ने बनाएर सुत्नुबाहेक अरु के उपाय हुन सक्छ र…. !” कुनै कवि झैका भावविभोर शब्दले दिक्कै पार्यो मलाई ।

“अनि दिनहुँ यो जान्छ कहाँ त यस चालले – ठीक समयमा जान्छ र फेरि ठीक समयमा नै फर्किन्छ मेरै घर नजिकका एक जना गण्यमान्य व्यक्तिले रक्सी खान र खाएर आउने बेला समय मिलाएको झै गरेर ! यदि बहुला भएको भए कसरी मिल्छ त ठीक ऊ जाने र आउने बेला -” मेरो यस प्रश्नलाई कसैले उत्तर भरे, “देख्नमा केही न केहीको सोझो कर्मचारीले पनि घुस खान र सोझो मन्त्रीले घुस लिन कसरी जानेको हुन्छ, हो ! त्यसै गरी मिलाउँछ यसले पनि आफ्नो समयलाई ।” फेरि अरु कोहीले भने, “अब बहुला कहाँ जान्छ, के गर्छ भन्ने कुरा कसले हेरेर चियोचर्चो गर्छ र – यहाँ कस्ता-कस्ता घरानिया र इज्जतदार मानिस त कहाँ-कहाँ जान्छन् र के-के गर्छन् भनेर भेउ पाउन सकिदैन भने एउटा बहुलाको कुरा गरेर पनि साध्य हुने हो र -”

त्यसै बखत अर्कोले बुज्रुग्याइँ छाँट्यो, “जाँदो होला कहीँ आफ्नै सुरले र फर्किने पनि होला आफ्नै सुरले । यो त संयोग मात्र मिलेको हो उसको समयमा ।” अनि कसैले त बहुलाहरूको मनोविज्ञानको बारेमा मानौँ उपाधि नै प्राप्त गरे झै उसको हिँड्ने, जाने र आउनेको समयमा तर्क नै पेश गरे यस्ता कुरा साधारण हुन् भनेर ।

शायद मलाई त्यस तथाकथित बहुलाको बारेमा जान्न त्यति उत्सुकता पनि लाग्दैनथ्यो होला जसरी आज यहाँका अर्थात् यस शहरका र यस बस्तीका हरेक मानिसको बहुलापन देखिनै राखेकोछु । जसलाई जे मन लाग्यो बरबराउँदै र जसलाई जे मन लाग्यो त्यही गर्दै हिँडिरहेका छन्- नेतादेखि कार्यकर्तासम्म, सरकारदेखि कर्मचारीसम्म, चिकित्सकदेखि परिचारिकासम्म, विद्यार्थीदेखि प्राध्यापकसम्म र बुध्दिजीवि तथा प्राज्ञदेखि र्सजक तथा साहित्यकारसम्मले भने ऊ त तोकिएकै बहुला थियो । घरदेखि कति टाढा काठमाडौँ र रत्नपार्क वरपरका दिनदिनैका ती भाँडभैलो र बहुलठ्ठीपनका दृश्यहरूलाई देखेर हैरान भएको मैले मेरै घरको बाटो हिँड्ने त्यस मानिसलाई नहेरुँ र नदेखुँ भने पनि सुख पाउने

होइन । कौशीमा बसे पनि देखिएकै छ, बार्दलीमा बसे पनि देखिएकै छ, झ्यालमा बसे पनि देखिएकै छ र अझ कोठामा नै बस्दा पनि झ्यालबाट एकाबिहानै देखिएकै छ,। कालो, धुस्रो-मैलो र मयल परेको शरीर । त्यो पनि नाङ्गो रूपमा । गर्मीभरि त प्रायः ऊ केही लगाउँदैन नै, पूरा नाङ्गो । जाडोमा भने कहिलेकाहीँ एउटा मैलो पातलो कमिज जस्तो र कहिले स्वेटर नै जस्तो पनि भिरेको हुन्छ आङ्मा । गोडामा चाहिँ कट्टु जस्तो एउटा फ्याङ्लो लाउँछ । त्यो पनि एकदम झुत्रो र चारैतिर फाटेर देवताको गजूरमाथि हालेको रङ्गीचङ्गी ध्वजा-पताका जस्तो गरी चारैतिर फैलिएको । पैतालामा भने चुँडिनै लागेको चप्पल हाम्रा स्वर्गीय कवि तथा गीतकार हरिभक्तले लगाउने जस्तै ।

“ए…. ! ए…. ! सुन त ! ” एकदिन बोलाएँ मैले त्यस मानिसलाई अचानक । उ सुन्यानसुन्यै गरी हिँड्यो । अर्को दिन पनि बोलाएँ । ऊ उसै गरी लम्कियो । तेस्रो दिन उसकै अगाडि उभिएर बोल्न खोजेँ । त्यस दिन त ऊ अझ मदेखि उतर्सिएर झन् छिटो दौडियो मानौँ म उसको लागि प्रहरी हुँ र उसलाई समातेर कतै कोचिदिई हाल्छु । अथवा म उसको लागि एक नम्बरको फटाहा र चोर हुँ र उसको श्रीसम्पत्ति मैले हात पार्न खोजिरहेको छु । त्यसपछि त मेरो मनको उतर्सिदोपनालाई मैले झनै रोक्न सकिन । भोलिपल्टै भेटेँ र अगाडि नै परेर उसलाई रोक्न खोज्दै सोधेँ, “ए सुन न – तिम्रो घर कहाँ हो भन त -”

मैले सुनेँ एउटा प्रतिध्वनि झै को शब्द उसको मुखबाट निस्कियो-ओटु…. । त्यसपछि फेरि केही सुनिएको होइन र मेरो बाटो छल्दै फट्यांग्रो फट्किए झै फट्किहाल्यो ऊ ।

“ए…. ! मोरो त बोल्दोरेछ…. !” मनमनमा खुशी पैदा भयो र यो पनि लाग्यो कि यो मानिस बहुला नहुन पनि सक्छ । जब यसले घरको ठेगाना बतायो भने अरु कुरा पनि बताउन सक्छ । पख भाइ…. ।

त्यसको केही दिनपछिको कुरा हो । घरको ढोकाबाट निस्कने बित्तिकै ठ्याक्कै भेट भइहाल्यो- उस्तै हतार र उस्तै चालमा । अगाडि नै उभिएर बाटो रोकिदिएँ र आज भोलिका सुरक्षा निकायले बाटोघाटोमा हिँड्दाका शंकास्पद व्यक्तिलाई अराए जस्तो गरी आदेशात्मक स्वरले बोलेँ, “पख एक छिन !” ऊ रोकियो । “देखाऊ त तिम्रो यस धोक्रोभित्र के छ -” धोक्रो समातेँ । खुरुक्कन बिसायो उसले धोक्रो बीच सडकमा केही प्रतिकृया नै नजनाई । अनि खोल्यो त्यसलाई उसै गरी जसरी तिनै सुरक्षा फौजले बटुवाको झोला र पोका खोतलेर देखाउन लगाए झै देखाउन लगाएँ मैले । देखायो के रे भने आफूले लगाएका र लगाउने तिनै मैला, फाटेका र झुत्रा लुगाहरू । अनि त हत्तपत्त फेरि धोक्रोको मुखलाई बटारी काँधमा हाल्यो र दौडिहाल्यो अझ छिटो गरी ।

उसको हिँडाइको चाल, समयको प्रावधान, केके न होला भनेको झोलामा केवल दुइ चार टुक्रा थोत्रा र मैला लुगा हुनुले त मलाई झनै अन्यौलमा पारिदियो र उस प्रतिको चाख बढेर गयो । ऊ गइसकेपछि भनेँ- पर्खि, जालास् काहाँ र – यही बाटो त हिँड्ने होइनस् र तँ –

धेरै दिन भयो, त्यो व्यक्ति देखिएन । दिनहुँ मैले उसको प्रतीक्षा गरिरहेँ । तर अहँ…. ! सुनाएँ श्रीमती र केटाकेटीलाई उसका बारे । तर उनीहरूलाई मेरा यी कुराले कुनै चाख दिएन र उल्टो म आफैलाई काम नभएकामा गनिदिए । भने, “अब केही नपाएर त्यस बहुलाको बारेमा चिन्ता लिएर बस्ने -” भनेँ मैले उनीहरूलाई, “त्यो बहुला पक्कै होइन ।”

“त्यसोभए तपाईँ नै बहुला !” श्रीमतीले किटानीसाथ भनिदिइन् ।

“त्यो बहुला किन होइन भने मैले अस्ति तिम्रो घर कहाँ हँ – भनेर सोध्दा राम्रै किसिमले ओटु…. भनेर हिँड्यो त्यो । नत्र त्यति सद्दे जवाफ दिएरै हिँड्दैनथ्यो….,” मैले स्पष्टीकरण दिएँ, “पख, म पक्कै थाहा पाउँछु उसको

बारेमा ।” झन् मैले त्यसो भन्नु त के थियो श्रीमतीलाई काण्ड पुगिहाल्यो । थालिन् फतफताउन- “हो अब काम त्यही त बाँकी छ नि…. ! जागिर गइहाल्यो, कसैले केहीमा पत्याउने होइन । मिजास यही हो । अ…. घरमा बस्यो, काम केही छैन, अनि त्यस्तै बहुला, पागल, माग्ने, थाँग्नेको कुरा बुझ्दै नहिँडे त बिहान बेलुका खाएको के गरी पचाउनू नि -”

“ए बाबा ! त्यस्तो वचन नलाऊ न ए बूढी ! यस्ता दीन दुखीहरूको खोज खवरी हामीले नगरे के यिनीहरूका नाममा लाखौँ, करौडौँ डलर लिएर बसेका सामाजिक संस्था अथवा अँ…. के भन्छन् रे, गैर सरकारी संस्थाहरूले गर्छन् त – कि ती मानव अधिकारवादी हुँ भन्नेहरूले गर्छन् – यी सबलाई त राजनीति गर्न र आफू र आफ्ना आसेपासेको पेट भर्न नै फुर्सद छैन भने हामी जस्ताले यिनीहरूको खबर जनसमक्ष नल्याइदिए कसले ल्याउँछ त – कालो कुकुरले -”

“ल,ल गर्नोस् त्यस्ता-त्यस्ताको खोज खवरी तपाईँ नै । अरु-अरु त राम्रा-राम्रा र पैसा आउने काम पाइहाल्छन् नि..! कामै नहुनेहरूको काम पो यस्तो हुन्छ त..!” श्रीमतीका यस्ता व्यंग्यवाणलाई पनि मैले चूपचाप सहनु पर्यो, त्यस दिन ।

धेरै दिनपछि भेट भयो त्यो मानिस, ठ्याक्क मेरै घरको मूल ढोकामा । यस दिन त ऊ भाग्न नै पाएन । समातिहालेँ ट्याप्पै र बोले नेवारी भाषामा, “आसे, गन वनेगु – छिंगु छे गन ढायागु रे – ओटु खला -”

“ख बाज्या,” रोकिएर जवाफ दियो उसले सरल नै ढङ्गमा । त्यसपछि त ममा ऊसँग बोल्ने हौसला जागिहाल्यो र सोधेँ, “तिमी मसित बोल्दै नबोली किन हिँड्छौ, भन त – म तिमीलाई कति बोलाउँछु तिमी बोल्दै बोल्दैनौ र टुइँ….टुइँ….टुइँ…. मात्र हिँड्छौ बा…. !”

“हो बाज्या ! म तपाईँसँग अस्ति बोलेन । मलाई आज भोलि असाध्य पीर परेको छ ।”

“किन – के भो त्यस्तो -”

“मेरो तीस हजार रूपैयाँ चोरियो बाज्या ! पुलिसलाई भनेर त्यस चोरको घर पनि पुगेँ तर पुलिसले उसैलाई मदत गर्यो । म गरीबको त कुरै सुनेन । आजभोलिको पुलिस पनि यस्तो ब्यामान हुन्छ….” उसले एकै सासमा यी कुरा सुनाउँदा मन-मनमा लाग्यो- आज भोलिका पुलिस यस्ता नभए के पहिलाका हुन्थे त – तर आश्चर्य चाहिँ केमा लाग्यो भने कसरी उसको रूपैयाँ हरायो – सोधेँ, “कसरी हरायौ त तीस-तीस हजार रूपैयाँ – काहाँ राख्याथ्यौ -”

“यी यै धोक्रोमा….,” धोक्रो देखाउँदै बयान गर्यो उसले, “पशुपतिको ढोकाअगाडि यै धोक्रोमा टाउको राखेर सुतेको थिएँ, उसले चोरिदियो याँबाट झिकेर…. । त्यसैले अब त पशुपतिलाई पनि मान्न मन लाग्दैन बाज्या । कसैको नपाएर मेरै चोरी हुनु भन्ने छ त – लौ भन्नोस् त बाज्या -” मलाई विश्वास लागेन उसको कुरामा । सम्झे जुन मानिसलाई म स्वयंले आज यतिका वर्षदेखि यस्तै अवस्थामा देखिरहेको छु र मानिसहरूले जसलाई बहुला भनिरहेका छन् घरबार र खानपानविहीनको, आज उसैले तीस हजार एकै चोटि हरायो भन्दा कसरी पत्याउँ म – त्यसैले त नपत्याएरै सोधेँ, “साँच्चि हो यो कुरा – कहाँबाट जम्मा गर्याथ्यौ त तिमीले यी सब पैसा -”

“त्यइ त बाज्या, कसैले पत्याउँदैन मेरो कुरा । भैगो म जान्छ….,” उसले दुखित अनुहारमा आफ्नो मनको वह पोख्यो र एक छिन पनि नअडिई मबाट छुट्टिइ हाल्यो ।

“ए ! पखन पख ! पत्याउँछु, पत्याउँछु म तिम्रो कुरा । अँ…. ल भन, के भयो – कसरी चोरी भयो -”

“का जिल बाज्या, जिल । जी वने” भन्दै मैले समातेको पाखुरा पनि छुटाएर ऊ हिँडेको देख्दा एक मन त रिस पनि उठेर आयो- गए जावोस् मोरो बहुला ! झन् कसैले नगरेको र नदर्शाएको सहानुभूति दर्शाएर माया गर्न खोजेको त मात्तिँदो पो त रेछ !

तर पनि मलाई झन् त्यस दिनदेखि त उसको बारेमा तथ्य कुरा पत्ता नलगाई शान्ति नै मिलेन । पछुताउ लाग्यो- मैले उसमाथि विश्वास नगरेर उसको स्वाभिमानमाथि चोट पुर्याएँ ! त्यसैले भोलिपल्ट त उसले नदेख्ने गरेर केही भित्तो नै लागेर बाटै ढुकेर बसेँ । होइन भने त मलाई देख्नासाथ ऊ भागिहाल्थ्यो फेरि ।

ऊ आइपुग्यो । म उसको अगाडि टक्क उभिएँ र हातका पौँजा ठड्याएर इशारा गरेँ उसलाई पनि उभिनलाई । तर जब फुत्किन खोज्यो, समातेँ । अनि हिजोको आफ्नो नपत्याउनुमा माफी मागेँ र कुरा पुनः कोट्याएँ । उसले हिँड्दाहिँड्दै आफ्नो कुरा भन्न शुरु गर्यो, “म गरीब, बहुला भनेर सबैले मेरो कुरा उडाउँछन् बाज्या । मलाई नजान्ने र केही थाहा नपाउने सम्झिन्छन् । अनि भए भरको मेरो पैसा लुटिदिन्छन् यी पापी र अधर्मीहरू…. ” भन्दै उसले त यतिसम्मको कथा भन्यो कि एक चोटिको उसको एक लाख रूपैयाँ हराएको हरायै भयो । त्यस बेलादेखि त ऊ न दिनको भोक, न रातको न्रिद्रामा बसिरहेको छ । त्यसैले कसैले बोलाए पनि उसलाई बोल्न मन लाग्दैन । कसैले माया देखाए पनि कसैको माया लिन मन लाग्दैन । कसैको विश्वास नै छैन उसलाई । कोहीमाथि भर गर्नै सक्दैन ऊ । भन्छ- “सब सुखमा साथ दिने र दुखमा हाँस्ने त हुन् नि बाज्या । मलाई त के छ र यसै आवारा, उसै आवारा । भए खान्छ, नभए खान्न । मलाई लाउन पनि केही चाहिँदैन । म कसैसित माग्दैन पनि र दिए पनि मलाई चाहिँदैन…. ” भनेर इत्यादि-इत्यादि निकै कुरा गर्यो उसले मसित त्यस दिन । मैले ऊसित छुट्टिने बेलामा “लाऊ, चिया खाऊ” भनेर दश रूपैयाँको नोट हातमा थमाइदिँदा पनि लिनै मानेन । सम्झायो, “मैले भर्खरै भनेको होइन बाज्या तपाईँलाई, मलाई कसैको केही चाहिँदैन भनेर – मलाई कसैले दिए पनि म लिन्न भनेर – तपाईँले किन दिएको मलाई अहिले यो पैसा – म लिन्न बाज्या लिन्न ।” सम्झाएँ मैले उसलाई, “मैले तिमीलाई हेँला गरेर र खान पाएनौ भनेर दिएको होइन यो पैसा । त्यसै दाजुभाइ जस्तो गरेर अथवा साथीभाइ जस्तो गरेर चिया ख्वाएको हुँ । मसँग समय भएको भए तिमीसँगै बसेर चिया खान्थेँ । समय छैन अहिले मसँग पो र तिमीलाई मात्र खाऊ भनेर दिएको नि…. ! लेऊ हुन्छ यो पैसा मैले तिमीलाई श्रध्दाले दिएको ।”

बल्ल-बल्ल लियो उसले मेरो हातबाट पैसा र फुत्किइहाल्यो तुरुन्तै । अनि जब भोलि पल्टदेखि उसलाई भेट हुन्थ्यो टाढैबाट आफ्नो खल्तीमा जे जति पैसा छ गच्छेअनुसार दिन खोज्थेँ । उसले त्यसलाई लिनु त कहाँ-कहाँ उल्टो कुनै बखत मैले त्यसै खल्तीमा हात हालेको देख्दा पनि “म्वाँ बाजे…. म्वाँ…. ” भन्दै मेरो छेउ पनि नपरी फट्याँग्री हाल्थ्यो । उसको शरीरको लुगाको अवस्था देखेर आफ्ना लगाउने लुगा दिँदा पनि लिन मान्दैनथ्यो ।

मैले उसको बारेमा अबदेखि भ्रम पाल्नै छोडिदिएँ र बहुलाको संज्ञालाई आफ्नो मानसपटलबाट नै हटाइदिएँ । ऊ विलकुल सद्दे मानिसको भन्दा पनि राम्रो व्यवहार गर्छ । जे छ त्यसैमा सन्तोष लिन्छ, रमाउँछ, आनन्दित छ ऊ सधैं सधैं आफ्नै तालमा । ऊसँग छलछाम, छलकपट र लोभ-लालचको केही अंश छैन, विलकुल महात्मा र ज्ञानी जस्तो देखिन्छ ऊ । उसलाई यस दुनियाँको कुनै चिन्ता छैन र देशको परिस्थितिलाई उसले राम्ररी बुझेको पनि छैन, बुझ्ने काम पनि गर्दैन । बाटो-घाटोमा हिँड्दा साधारणतया जे सुनेको छ उसले उसको ज्ञान र संसार त्यहीँ छ । किनकि उसको कामलाई न अहिलेसम्म कसैले अड्काएको छ, न ऊ आफै कहिल्यै अड्किएको छ । जसरी प्रकृति आफ्नो गतिमा चलिरहेछ, ऊ त्यसरी नै आफ्नो गतिमा चलिरहेको छ- घरदेखि पशुपतिक्षेत्रसम्म र पशुपतिक्षेत्रदेखि फेरि बेलुका आफ्नै घरसम्म । कसले रोकेको छ उसलाई आफ्नो गतिमा चल्न –

काठमाडौँको बागबजारमा भेटेँ एक दिन, पुतलीसडकको मोहडाबाट केही पर । हातमा समातेर एउटा पसलको पेटीमा राखेँ । सोधेँ, “नाम के रे तिम्रो -” “के भन्नू बाज्या नाम पनि,” दिक्क मान्दै सुनायो उसले, “नाम भने भाग्य नाराँ राखिदियो बाउले । आफनो ताल भने यस्तो अभागीको जस्तो छ ।”

“घर काहाँ रे – ओटु होइन -”

“हो,” जवाफ दियो उसले, “हंसमान, गुञ्जमान काजीहरूको घरनजिकै…. -”

“अनि तिम्रो घर अझैसम्म छ त -”

“छ, त्यइ घरमा त म बस्छ ।”

“अहिले त्यहीँ जान लागेका हौ त -”

“हो ! आफ्नो घरमा नगएर काँ जाउँ -”

“घरमा अरु कोको छन् -”

“दाजु भाइ छन् । एउटा भाइ इन्डियामा छ , एउटा भाइ यीँ छ ।”

“के के गर्छन् उनीहरू -”

“दुइटै ड्राइभर छन् । ट्याक्सी चलाउँछन् ।”

“अनि तिमी किन यसरी हिँडेको त -”

“पइलेदेखि यसरी नै आवारा भएर हिँड्यो बाज्या, अइले पनि यसरी नैहिँड्छ ।”

“तिमीले हराएको पैसा कसरी जम्मा गर्यौ त – तिमी कसैले दिएको त नलिने मानिस । यत्रो पैसा तिमीसँग कसरी आयो -”

“म बेपार गर्छ बाज्या यस्तै खित्रिक-मित्रिक….!” उसले आफ्नो धोक्रोलाई उधिनेर देखायो लुगा राखिएकोभन्दा तल्लो भागमा । त्यहाँ केही बाटेका धूपका मूठा, पञ्चपल्लवका मूठा, सिँदूर, अबीर, सिंगा सुपारी, काँचो धागोको लछ्छा यस्तै हिन्दु समाजमा दैनिक रूपमा चाहिने र आजभोलि जहाँ पायो त्यहीँ नपाइने सामानको बेपार गर्दोरहेछ ऊ पशुपतिनाथको क्षेत्रमा गएर । काठमाडौँबाट त्यस्ता सामान त्यता पुर्याउने, त्यहाँको सामान काठमाडौँमा ओसार्ने रहेछ उसको मुख्य काम । कहिलेकाहीँ आलुको पनि बेपार गर्छ रे ऊ । त्यसैमा उसको जीवनको गति चलिरहेछ र ऊ यसैमा आनन्द मानिरहेछ । उसले यावत् वृत्तान्तलाई त्यस दिन निकै मित्रवत् रूपमा सुनायो र आफ्नो बाबुको पालामा भएको खेतीपाती र भाउ-बेसाहा अनि आज भोलिको कुरा सुनाउँदा निकै दङ्गदास पनि पर्यो । त्यस दिन पनि उसलाई दिन भनेर खल्तीबाट अगिपछिको भन्दा बढी पचासकै नोट झिकेर दिन लाग्दा ऊ जुरुक्क बसेको ठाउँबाट उठेर मतर्फ पनि नहेरी फेरि टुइँ….टुइँ…. हिँडिहाल्यो । म उसको बारेमा केही सोच्दै थिएँ कि त्यहाँ म नजिक बसेर सधैं आफू अगाडिबाट हिँडिरहने र बौलाहा ठानिएको त्यस्तो मानिससँग कुरा गरिरहेको मलाई देखेर छक्क परिरहेकाहरूले ऊ गएपछि मलाई सोधे, “होइन, त्यो मानिस बहुला होइन -” मैले भनेँ, “होइन, ऊ सद्दे मानिस हो तपाईँ हामी जस्तै । ”

“उसो भए तपाईँ जस्तो होला, हामी जस्तो त होइन,” तीमध्येको एउटाले व्यंग्य मार्यो ममाथि । मैले नबुझे झै गरी नम्र भएर सोधेँ, “होइन, मैले बुझिनँ यहाँले भन्न खोज्नुभएको कुरा -”

“बुझ्न सजिलो छ नि !” उसले सहज ढङ्गमा जवाफ दियो “आजसम्म सबैले बहुला भनी आएको मानिसलाई तपाईँले मात्र सद्दे ठान्नु हुन्छ भने तपाईँलाई बहुला नभने के भन्ने त हामीले -”

उसको यस्ता कुराले मलाई रिस उठेर आयो । जङ्गिएँ म पनि एकै पटकमा । भनेँ, “मानिस चिन्न नसक्ने र सबैलाई बहुला देख्ने तपाईँ बहुला हो, बुझनुभो – म कहाँ हूँ र -”

“ए बहुला ! कल्लाई बहुला भनिस् रे तैँलै -” ऊ पनि कस्सिइहाल्यो । अर्कोले भन्यो, “ए ! यो बूढोको पनि दिमाग खुस्किसकेको रहेछ र पो त त्यो दिमाग खुस्केकोसँग कुरा मिलेको रहेछ त…. !” बागबजारको ठाउँ न हो ! एकपछि अर्को धुइरिइहाले ममाथि र सबैले बीचमा पारेर “ए ! ए ! ए ! यो बहुलालाई ठीक पार, ठीक पार” पो भन्न थाले ! मलाई निर्घात कुटे त्यस दिन ती मानिसहरूले र मेरो शरीरको जताततै चिथोरे, कोपरे पनि । त्यस दिनदेखि त मैले त्यो बाटो हिँड्नै भएन । मलाई देख्नेहरू सबैले चिनिहाल्थे र भनिहाल्थे पनि, “ए ! यो मानिस त्यही हामीले त्यो फलानो दिन बहुला भनेर कुटेको मानिस होइन -”

“ए ! हो, हो, साँच्चि हो ! ए बहुला ! हा बहुला !” वरिपरिबाट मलाई भन्न थाले र केटाकेटीहरू त घर नै आइपुगे ताली ठटाउँदै । त्यसको केही दिनपछि त्यही आवाज काठमाडौँको वरिपरि अरु ठाउँबाट पनि आउन थाल्यो । यसरी बागवजारको दिनको त्यस घटनापछि असन्तुलित भएको मेरो मनस्थितिलाई मानिसहरूले स्वभावजन्य रूपमा पूर्णता दिए । यो नै उनीहरूको प्रकृति थियो, चरित्र थियो । त्यसपछि त म बिलकुल बहुला नै भएँ र आजसम्म नै त्यसै अवस्थाबाट गुज्रिरहेको छु । त्यसैले त कर्राई-कर्राई भन्छु- ए ! मेरा देशका संपूर्ण जनताहरू हो ! मलाई मेरो बहुलापनबाट मुक्त गरिदेऊ र मलाई यहाँ आनन्द र शान्तिले बाँच्न देऊ । मेरो यो बुध्दको शान्तिभूमिलाई शान्त नै रहन देऊ । बन्द गर यो हत्या, हिंसा र मारकाटको बाटो । मलाई पनि मेरो बोल्ने अधिकार र बाँच्ने हक देऊ । मलाई मेरो कर्मले गरिखान देऊ । यो हक तिम्रो मात्र होइन, मेरो पनि हो, हामी सबैको हो । यो देश तिम्रो मात्र होइन, मेरो पनि हो, हामी सबैको हो । हाम्रो नाममा तिमी आफ्नो वीरत्व नदेखाऊ । विश्वमा शत्रुको अगाडि वीर गोरखालीका नामले चिनिएका तिमी आफ्नै दाजुभाइको हत्यामा आफ्नो परिचय नफाल । सगरमाथा जस्तो नेपालीको उच्च शिरलाई आफ्नै कुकर्मले तिमी नझुकाऊ । हाम्रो नाम भजाएर आफ्नै शासन र सुखको बाटो मात्र नखोज । हाम्रो नाममा हामीलाई नै दुख नदेऊ, हाम्रै रगतको खोलो नबगाइदेऊ, बिन्ती छ ! बीन्ति छ ! हामीलाई हाम्रै जीवनमा रम्न देऊ । के थाहा तिमीलाई आफ्नू जीवन रम्नु कति रमाइलो र आनन्द हुन्छ भनेर, जसरी आज भाग्य नाराँ जस्ता हजारौँ हजारौँले आ-आफ्नो जीवन आ-आफ्नै हिसाबकिताबले बिताइरहेका छन् र त्यसै गरी मैले पनि बिताइरहेको छु …. !

२०६१ /३/६

Leave a Reply

Your email address will not be published. Required fields are marked *