Skip to content

कुम्भ मेला २०१३– एक चिनारी


हाम्रो जीवन यात्रा हो, राम्रो रमाईलो हदै
तय गर्नु छ यात्रा यो, दिवाकर उदाउँदै ।

रंग रोगनले युक्त, धरती स्वर्ग तुल्य छ
शब्दार्थ कुम्भको मेला, नियात्रा यो अमूल्य छ ।

हो, मलाई यात्रामा सहभागी हुन मन लाग्दछ । जीवन पनि त एउटा यात्रा नै हो । वि.सं २०६९ साल पौष १९ गतेको दिन थियो । बितेको १६ गते राष्ट्रिय नेपाली राजनीतिको एउटा यतिहासिक दिन, राष्ट्रिय मेलमिलाप दीवस भनेर मनाइन्छ । सुन्दरीजल बन्दी गृह (वी.पी. संग्रहालय)मा म आफैले रचना गरेको “क्रान्तिकारी विश्वेश्वर ” नामक महाकाब्यको विमोचनको कार्यक्रम सकेर नवलपरासी, प्रगतिनगर (घर) फर्केको दिन साँझ ठिक ७ बजे मोबाईलमा घण्टी बज्यो । फोन उठाए – “कुम्भ मेलामा जानुहुन्छ भने २५ गते भित्र झापा अउनुहोस् ” । यस्तो समाचार कानमा पर्यो । यसो विचार गरें । बाह्र वर्षमा लाग्ने कुम्भ मेलामा जानै पर्छ ।

पौष २४ गते झापा तर्फ लागे । नारायणगढबाट बेलुका ६ बजेको रात्री बसमा विष्णु (बुहारी) र म पूर्व झापातर्फ । २६ गते बिहान ८ बजेतिर विर्तामोडमा उत्रियौ त्यहा मेरो नाति जगत तिवारीको घर परिवाको सुन्दर फुलवारी छ । नित्यकर्म गर्यौ र स्वादिष्ट खाना खायौ, बुहारी जमुना तिवारीले तयार पारेको । पौष २७ गते धुलावारी झापा गयौ, जहाँ मेरी ठूली दिदी पार्वतीको घर परिवार छ । त्यो दिन त्यही रमाएर रहयौ ।

२०६९।९।२८ गते करिव २ः३० बजेतिर धुलावारीबाट कुम्भ मेला भर्नको लागि निस्क्यौ । २ः५०मा मेची पुल तरेर बागडोरा पानी टंकी र दार्जिलिङ मोड हुदै महानन्दा नदीको पुल तरेर रेल स्टेशन जलपाइगुडी (एन. जी. पी) पुगी North East Super Fast को AC ३ टायर रेलको वातानुकुलित डब्वामा चढ्दा घडीले ५.४० हानिसकेको थियो । यो यात्रामा हामी दश जनाको सहभागिता रहेको थियो । कृष्णा–विष्णु, दीपक – मिठू, गोपी–माया, गोकुल–जुना, रुपा अधिकारी र गुरु पुण्यप्रसाद बराल । ठिक ६ बजे नेपाली समयमा रेल इलाहावादको लागि स्टार्टभयो ।

आठ बजे किसानगंज स्टेशनमा पुगेपछि हामीले घरबाट लगेका पकवान्नका पोकाहरू फुकाउदै रोटी, आलुदम, करेलाको अचार, ब्रोकाउलीको तरकारी र लड्डु समेत मजाले हाँस्दै रमाउदै स्वाद लिएर खान थाल्यौ । उता रेल छक …….छक …….गर्दै अगाडि बढिरहेको थियो । हामी गफमा मस्त थियौ । रेलको यात्रा बडो आनन्ददायी र रमाईलो हुने रहेछ विचार पुर्याएर हिडिएको छ भने । हामीसँग साथीको संख्याभन्दा दोब्वर सुटकेस र ब्यागहरू थिए । धेरै जाडो हुन्छ भन्ने भनाइमा लागेर हामीले धेरै गरम लुगाहरू बोक्यौ । तर व्यर्थ भयो थर्मल, स्वीटर, ब्लान्केट, कोट र स्लीपिङ व्याग समेत बोकेका हामी सबै लगाएका हल्का लुगाले मात्रै इलाहावाद पुगेका थियौ । एक त जाडो पनि त्यति बढेन छर्ल· घाम लाग्यो दोस्रो वातानुकुलित रेलको डब्वा जाडोको महसुस नै भएन ।

यसरी रमाइलो गर्दै हामी २९ गते बिहान ४ बजे पटना पुगेका थियौ । ‘जमनिया’ बक्सार र चौसा स्टेशन हुँदै हाम्रो ल्यचतज भबकत भहउचभकक आफूलाई अगाडि बढाइरहेको थियो । आठ बजे ‘मुगलसराय’ स्टेशनमा पुगेर नित्य कर्म गरी आफै चिया पकाएर पियौ । यँहा रेल एक घण्टा रोकियो । नौ बजे मात्रै अहरौरा रोड र गैपुरा हुदै रेल अगाडि बढेको थियो । इलाहावाद भारतको उत्तर प्रदेश प्रान्त पर्दछ । बाटोमा गोवर सुकाएर बनाएका गुईठा बाल्ने र खेती गर्ने क्षेत्र प्रशस्त भेटियो । चर्दै रहेका गाइबस्तुहरू हेर्दै यमुना नदीको पुल तर्दा दिनको १२ः३५ बज्दै थियो । आज हामी इलाहावाद शहरमै बस्ने निश्चय गरेर अगाडि बढ्यौं । त्यसैले रेल स्टेशनमा उत्रेर ट्याक्सीको सहयोग लिई १ः४५ बजे हामी इलाहावाद शहरको मध्यभागमा रहेको ँहोटल काशीमा” पुगेका थियौ । इलाहावाद शहरमा पनि कुम्भ मेलाको रौनकताले छाइसकेको थियो । हामी क्ष्क्ष्क्ष् र ख्क्ष् नम्वरका, दुईटा कोठा लिएर झोलाहरू थन्क्यायौ, अनि शहर परिक्रमाको लागि निस्कियौ । मनपर्ने सामान खरिद्यौ । इलाहावादको नामुद राता र सेता अम्बाहरूको स्वाद लियौ । महाकुम्भ मेला २०१३ लेखिएका व्यानरहरूले सजाइएको इलाहावाद शहरको जता–तता तीर्थालुहरूलाई चिया नास्ता को फ्री व्यवस्था भएको पाइयो । १४४ वर्षमा विभिन्न नक्षत्र र ग्रहहरूको मिलनले बनेको हुनाले यो वर्ष महाकुम्भ मेला परेको कुरा हामीले जानकारी लियौं ।

कुम्भ पर्व एवं प्रयाग महात्म्य बुकलेट किनेर पढ्यौ । हामीले कुम्भमेला को पौराणिक इतिहास यसरी पत्ता लगायौ । हामी गंगा जमुना र गुप्त सरस्वती नदीको त्रिवेणी या संगम प्रयागराजमा मकर सक्रान्ति (माघेसक्रान्ति) कुम्भमेला स्नानर्थ प्रयागराज पुगेका थियौ । तीर्थहरूमा सर्वश्रेष्ठ भएकोले गंगा, जमुना र गुप्त सरस्वतीको संगम स्थललाई तीर्थराज प्रयाग भनिदो रहेछ । प्र–विशाल र याग –यज्ञ भन्ने शब्दार्थ आउदो रहेछ । यही पवित्र स्थानमा ब्रहमाजीले दश पटकसम्म अश्वमेध जस्तो ठूलो यज्ञ सम्पन्न गरेका रहेछन् । देवताहरूको जमघट भइरहने यो देवस्थलको महत्व अपरंपार रहेछ । त्यसो त नेपालको चितवन र तनहुँ जिल्लाको संगममा पर्ने देवघाट पवित्र धामलाई पनि पहिलो प्रयाग भनेर पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । यसरी देवताहरूको भेटघाट हुने तीर्थस्थललाई प्रयाग भनिदो रहेछ । अथवा प्रयागमा नै देवताहरूका सभा समारोह हुँदा रहेछन् । फेरि स्व. पं जवाहरलाल नेहरू, इन्दिरागान्धी, राजीव गान्धी र लालबहादुर शास्त्री जस्ता भारतीय रत्नहरूको जन्मस्थल भएको कारण पनि यो स्थानको महत्व बढी महत्वपूर्ण हुन गएको रहेछ ।

कुम्भ मेलाको आरम्भ यसरी भएको रहेछ ः

मंदराचल पर्वतको मधानी र वासुकी नागको नेती बनाएर देवता र दानवले समुद्र मन्थन गर्दा १४ (मूल्यवान वस्तु) निकाले । तीनमा १३ वटा रत्न देवता र दानवले बरावर बाँडे । तर अमृत जुन महत्वपूर्ण रत्न थियो त्यो एउटैले लिन खोज्दा देवता र दानवका वीच झगडा भयो । यो बेला अमृतको कुम्भ (घडा) धन्वन्तरीले सुटुक्क देवतालाई दिए । भगवान विष्णुले सोचे अमृत राक्षसलाई दिदा अनर्थ हुन्छ । यसरी विष्णुले मोहनी स्त्रीको रुप लिएर राक्षसलाई मोहित बनाएर अमृतको कुम्भ (घडा) इन्द्रका छोरा जयन्तलाई सुटुक्क जिम्मा लगाएछन् । यो कुम्भलाई रक्षा गर्ने जिम्मा सूर्य, चन्द्र, बृहस्पति र शनि देवलाई सुम्पेछन् । राक्षसहरूले यो कुरा थाहा पाए पश्चात् जयन्तले अमृतको कुम्भ लिएर भागेछन् । जयन्त भाग्दै जादा राक्षसहरूले पिछा गरेछन् । यसरी भाग्ने क्रममा जयन्तले प्रयागमा अमृत कुम्भ विसाएका हुनाले इलाहावादको प्रयागराजमा कुम्भ मेलाको आयोजना गर्ने धार्मिक पंरम्परा चलेको रहेछ ।

बृहस्पति मेष राशिमा, चन्द्र र सूर्य मकर राशिमा प्रत्येक वर्ष रहन्छन् तापनि बृहस्पतिले बाह्र राशीलाई घुम्दा बाह्र वर्ष लाग्ने हुनाले प्रत्येक बाह्र वर्षमा मात्र प्रयागराजमा कुम्भ मेलाको आयोजना हुने रहेछ । यसरी प्रयागलाई तीर्थराज प्रयाग भनिदो रहेछ । यो तीर्थको धार्मिक महत्व अपरम्पार रहेछ । यो कुम्भ मेलामा गंगा जमुना र गुप्त सरस्वती नदीको संगम जलाशयमा स्नान गर्नाले प्रयागराजमा गरेका बाहेक सम्पूर्ण पापकर्महरू नष्ट हुन्छन भन्ने धर्मिक भनाइले हामीलाई आनन्दित तुल्यायो । १४४ वर्ष पछि मात्र सन् २०१३मा नक्षत्र ग्रह र राशिको अनौठो संगम मिल्न आएकोले अहिले २०१३मा परेको कुम्भ मेलामा महाकुम्भ मेला भनी व्यानरहरू फहराएको देखियो । प्रयागराजमा यो मेला मकर सक्रान्ति देखि महाशिवरात्रिसम्म लाग्ने रहेछ । २०६९।१० ।०१ गते मकर संक्रान्तिका दिन बिहान सवेरै उठी नित्यकर्म गरेर हामी ९ ः१५ बजे कोठावाट स्नानार्थ निस्क्यौ । त्यो दिन इलाहावाद शहर देखि संगम स्थलसम्म सवारी साधन नचल्ने रहेछन् । कारण सम्पूर्ण तीर्थालुजनहरू मसान्तरको दिनमा नै प्रयागराजमा बस्न जाँदा रहेछन् । माघ महिना भरी कल्पवास वसेर स्नान गर्नेहरूको भीड लाग्दो रहेछ । स्नान गर्न पहिलो प्राथमिकता नाङ्गा बाबालाई दिइदो रहेछ र अरुलाई पछि । त्यहा नाङ्गा बाबाको महिमा राष्ट्रपतिको वरावर हुदो रहेछ । सम्पूर्ण तीर्थालुजनहरूलाई खाने –बस्ने व्यवस्था प्रयाग मै हुने रहेछ । तर हामी भने होटल काशी (इलाहावाद शहर)बाट पैदल १२ कि.मी. हिडेर संगम स्थलसम्म आइपुगेका थियौ । चार स्थानमा स्नानको व्यवस्था मिलाइएको थियो । ठिक १२.१५ बजे हामीले संगमजलासयमा डुबुल्की लगायौ । छोराहरूले पितृ श्राद्ध तर्पणादि गरे । हामी महिलाहरूले पितृगणलाई स्मरण गरेर तर्पणादि दिने कार्य गर्यौ । हामीले त्यहा मुगल सम्राट (अकवर र विरवल) को इलाहावाद किल्ला अवलोकन गरी ४, ५ कि.मी. पैदल हिड्दै होटल काशीतिर फक्यौ । तर मेला क्षेत्रबाट बाहिर निस्केपछि रिक्सा र बग्गीको सहयोग लिएर हामी ५ः३० बजेतिर इलाहावाद शहरमा भित्रिएका थियौ । होटल काशीमा स्वादिलो खाना खाएर हामी ९ः३० बजे थकाई सहितको निन्द्र सुत्यौ ।

०६९।१०।२ गते भने बिहान ६ बजे मात्र आँखा खुलेका थिए । गणेश चौथी तिथि, हामी महिला सबै नुहाएर गणेश मन्दिरमा पूजा अर्चनार्थ गयौ । पूजा सकेर सबैले एक साथ चिया पियौ । अनि वाराणसी तर्फ लाग्ने तर्खर गर्यौ । झण्डै ११ः३० बजे हामी न.पु.सी. ६५ ए सी ७१४ र न.पु.पी. ७० सि टी २१८५ नम्वरका २ सवारी साधनहरू रिर्जभेशन गरेर वनारस तर्फ लाग्यौ ।

कुम्भ नगरी प्रयाग श्रद्धालुजनमा स्वागत म लेखेका व्यानरहरूले हामीलाई दुई कि.मि.सम्म पछ्याइरहे । ‘सहिंदावाद’ र ‘खानपुरको’ बाटो हुदैं हामी काशी जान अगाडि बढ्यौ । लखनऊ जिल्लाका ठूला शहरहरू इलाहावाद, लखनऊ, भदोही हुदैं हामी महात्मागान्धी काशी विद्यापीठ निस्केर ३ः३० बजे वाराणसी शहर भित्रिएका थियौ । त्यहाँ बस्नको लागि हामीले होटल राजमहल रोज्यौ । ५ः३० बजे होटलबाट एउटा भाइलाई गाइडको रुपमा लिएर हामी गंगा किनारामा पौचियो । एउटा बोटे (डुङ्गा) लियौ र हरिश्चन्द्र र मनिकर्निका जस्ता महत्वपूर्ण घाटको दर्शन गरी गंगामा आरती गरेर ७ः४५ बजे बस्नको लागि होटल राजमहलमा फक्र्यौ । राजमहलको स्वादिलो खाना स्वाद लिदै खाएर एक छिन गफ गाफ गरी निदायौ ।

भोलिपल्ट माघ ३ गते बिहान ४ बजे नै आँखा खुलायौ नित्यकर्म सकेर प्रयाग घाट तर्फ लाग्यौ पिण्ड तर्पणादि कर्म गर्न डुङ्गाबाट पारी तरेर पितृश्राद्ध गरी हामी विश्वनाथबाबालाई जल चढाउन जल हातमा बोकेर लाइनमा लाग्यौ । विश्वनाथ बाबालाई जल चढाएर करिव एक बजेतिर खाना खायौ र अवश्यक सामान खरिद गर्न तितर वितर भयौ । वनारसी साडी चुरा र अन्य सामान किनेर ठिक दुई बजेतिर सवारी साधन रिजर्भ गरी मुगलसराय (बनारसको रेल) स्टेशन तर्फ लाग्यौ । दुई घण्टा पछि मात्र हामी मुगलसराय रेल स्टेशनमा पौचेका थियौ । यो रेल स्टेशनमा ६ घण्टासम्म बस्नु पर्यो । किन भने हामीले इलाहावादबाट आउने रेलमा यात्रा गर्नु थियो । हामीले रिजर्भेसन गरेको रेल त्यही ल्यचतज भबकत भहउचभकक थियो । करिब १० बजे मात्र हाम्रो रेल मुगलसराय आइपुग्यो । तर हामीले रिजर्भेसन गरेका सिटहरू टी.टी.ले बेचिसकेको थियो । किन भने हामी इलाहावादवाट चढेका थिएनौ । त्यसैले हामी १० जना यत्र तत्र अव्यवस्थित भएर बस्न बाध्य भयौ । केही घण्टा दुःखले यात्रा गरेपछि भने सीमा सुरक्षा बल (बोर्डस सेक्युरिटी फोर्स)को सहयोग लिएर मात्र सबै साथीहरू एकत्रित भएर आरामले बस्न सकेका थियौ ।

भोलिपल्ट माघ ४ गते बिहान ९ बजे किसनगञ्ज स्टेशनको रेल भित्रै आफै कफि बनाएर सबैले एकसाथ पियौ । अब ९ः३० बजे हामी न्यू जलपाइगुडी स्टेशन (बंगालमा)रेलवाट उत्रिएका थियौं ।

धुलावारी झापावाट हाम्रो आफ्नै घरवाट आएको टेक्सीमा चढेर लगभग २ घण्टा पश्चात धुलावारी घरमा छिर्यौ । स्नानादि कर्म गर्यौ । उमा, हेमु, गुञ्जु, सुनिता र सबिताले पकाएका मीठा–मीठा परिकार पूर्ण खाना खाएर घाम ताप्दै घरको छतमा बसेर यात्राको समीक्षा गर्यौ । यसरी १४४ वर्ष पछि प्रयागराज(इलाहावाद भारत)मा आयोजना भएको कुम्भ मेलामा दश करोड स्नानकर्ताहरूसँगै हामी पनि गंगा, जमुना र गुप्त सरस्वती नदीको संगम जलासयमा डुबुल्की लगाएका थियौ ।

एक श्लोक कविता

यात्राको महिमा बुझ्न
यात्रा नै गर्नु पर्दछ ।
यात्रा औषधी हो यौटा
दुःखेको मन भुल्दछ ।

अस्तु ।

कृष्णादेवी शर्मा श्रेष्ठ
अध्यक्ष
नारी साहित्य समाज नवलपरासी
प्रगतिनगर–३

Leave a Reply

Your email address will not be published. Required fields are marked *