मैले केही सोध्न नपाउँदै
आफ्नो व्यथाको अग्लो पहाड
ओठको सानो मुस्कानमा लुकाएर
कुनै अपरिभाषित सुखझैं
मेरो हालखबर सोधिहाल्नुहुन्छ
मेरो सञ्चोविसञ्चोमा
कैले हाँस्नुहुन्छ, कैले रुनुहुन्छ
चिठ्ठीजस्तै खामबन्दी गरेर पठाउनुहुन्छ मलाई
ममताको न्यानो क्षितिज
आफ्ना सपनाहरूको इन्द्रेनीले लेखेर
पठाउनुहुन्छ मलाई बाका पूराना कमिजहरू
आफ्ना दुखका आँसुहरूले धोएर
मलाई सपना देख्न लगाएर यता
सधैंभरी बाउसे गर्नुहुन्छ
बाले जिम्मा छोडेर गएका अभावहरूमाथि
र पठाउनुहुन्छ मलाई कुनै अमूल्य सपनाझैं
आाफ्नो पसिनाको मूल्य
कोसेलीजस्तै पोको पारेर पठाउनुहुन्छ मलाई
मेरा जिम्मेवारीहरू
आफ्ना पसिनाका सुन्दर फूलहरूमा
साना नानीहरूलेझैं हाँस्न सिकाएर मलाई
मेरो सुखमा आँसु सम्हाल्नुहुन्छ
मेरो दुखमा पसिना बगाउनुहुन्छ
मलाई त्यो सानो आकास चाहिँदैन
विस्कुनझै छरिएका ताराहरूको समग्रता चाहिँदैन
मलाई विश्वासजस्तो कुनै भगवान चाहिँदैन
मन्दिरजस्तो कुनै आस्था चाहिँदैन
मलाई फूलजस्तो कुनै पवित्रता चाहिँदैन
र चाहिँदैन मैले पढेकोझैं स्वर्ग
मलाई चाहिएको छ यतिखेर
सेतो घामझैं एउटा सत्य
जुन ममा सधैंसधैं उदाउँछ
जुन ममा सधैंसधैं अस्ताउँछ – मेरी आमा
मैले केही दिन नपाउँदै
आफ्नो जिन्दगीको सम्पूर्णता देखाउँदै
मलाई भरिदिनुहुन्छ ममताले
पखालिदिनुहुन्छ मेरा आँसुहरूलाई
स्नेहका दशधाराले
नदीजस्तो समयसँगै एकोहोरो बगिरहनुहुन्छ
मेरा सुखहरूमा, मेरा दुखहरूमा
मेरा प्राप्तिहरूमा, मेरा अप्राप्तिहरूमा
मैले केही भन्न खोजेखोजेजस्तो
मैले केही नभन्न खोजेखोजेजस्तो
मेरो आफ्नै मन हुनुहुन्छ
मेरो आफ्नै जीवन हुनुहुन्छ
केही बर्षअघिमात्र हो मैले देखेको
बाको अस्तु आफ्नै अगाडि वालुवामा गाड्दा
मन फुटेर बगेका कतिकतिरहरहरू
सपना टुटेर छरिएका कतिकति आसाहरू
साथ छुटेर बचेका कतिकति वियोगहरू
आमाका सेता आँसुहरूमा
मेरो सञ्चोविसञ्चोमा
कैले रुनुहुन्छ, कैले हाँस्नुहुन्छ
न म राम्रोसँग हाँसेको छु
न म राम्रोसँग रोएको छु
आमाको सञ्चोविसञ्चोमा ।
आमालाई ढोगेपछि
ढोग्न बाँकी कुनै आस्था हुँदैन
आमालाई पुजेपछि
पुज्न बाँकी कुनै भगवान रहँदैन
आमालाई चढाएपछि समर्पणहरू
चढाउन बाँकी कुनै भेटिरहँदैन
आमालाई विश्वास गरेपछि
विश्वासगर्न लायक अर्को कुनै सत्य हुँदैन ।
मीन थापा
कैलाली नेपाल
