Skip to content


मलाई सधैं झैं खेल्न निस्किने हतारो थियो । तर म दश वर्ष लाग्दै गरेको नयाँ वर्षको त्यो दिन केही नौलो भइदियो । बुबाले हामी दिदी–बहिनीलाई छेउमा बोलाएर एक–एक वटा कालो फुलबुट्टे डायरी दिंदै भन्नुभयो, “अबदेखि तिमीहरूले यसमा दिनको एक पाना लेखेर मलाई देखाउनुपर्छ ।” बुबाको आदेश त आयो, तर कहिले विषय नफुर्ने, फेरि शब्द छनोट गर्न नसकिने, कुनै बेला लेख्दालेख्दै अल्छी लाग्ने ।

तर, बुबालाई खुशी पार्न लेख्दै गयौं । साथीहरू आँगनमा एकखुट्टे खेल्ने, हामी रहर खुम्च्याएर त्यही खेलबारे लेख्ने । अरू फूल टिप्ने, हामी त्यसको सुगन्धको बयान गर्ने, अरूले गीत गाउने, हामी त्यसको व्याख्या गर्ने । रुँदै, निहुँ खोज्दै, भाग्दै, निसासिंदै, चेप्पिंदै त्यो उमेरमा कम्ता नाटक गरेर लेखेनौं हामीले । कुन वेला यो करको लेखाइ रहरको बन्न पुग्यो, कुन बेला शब्दहरू साथी बने, सम्झना छैन । यति चाहिं पक्का हो कि बुबाले त्यसरी लेख्न बाध्य नपार्नु भएको भए आज मसँग अरूको लेखनी पढ्दै लोभिनुको विकल्प हुन्थेन होला ।

त्यसको लगभग पन्ध्र वर्षपछि अनुराग र अनुकृत लामिछानेका डायरीका ठेली देख्दा लाग्यो, ती मेरै विगत हुन् । पाँच वर्ष नपुग्दै बा–आमाको प्रोत्साहनमा डायरी लेख्न थालेका यी दाजुभाइले क्रमशः १५ र १३ वर्ष हुँदासम्म हजारौं पृष्ठ भरिसकेका थिए । उनीहरूले लेख्न गाह्रो मानेका वेला अभिभावकले रचनालाई पुस्तकका रूपमा छाप्ने वाचा गरेका रहेछन् । सम्पादनको तयारीमा रहँदा यी दाजुभाइको कृतिसँग मेरो पहिलो पटक साक्षात्कार भएको थियो । तिनमा समेटिएका कथा, कविता, निबन्ध र नियात्रा चकितै तुल्याउने खालका नभए पनि हरेक शब्दमा बालापनको निर्दोष छनक पाइन्छ, जुन त्यही उमेर समूहका लागि खूबै मन पर्छ । र, लेखनभन्दा पनि मलाई उनीहरूको अनुशासन र दृढताले असाध्यै छोयो । मन दशतिर फिंजिएको र विद्यालयको गृहकार्यले थिचेको वेला पनि उनीहरूले लत्तो छोडेनन्, लेख्दै गए, निखार्दै गए । त्यसकै सम्मानस्वरुप पनि मलाई सम्पादन गर्ने रुचि जागेको हो ।

लेखन र सम्पादनमा काम गरिसकेकोले मलाई यी पुस्तक सम्पादन गर्न त्यति गाह्रो नहोला जस्तो लागेको थियो । फेरि अनुरागको कृति ‘अ बड्स क्रोनिकल’ लगभग तयार भइसकेको थियो । सम्पादनको असली मजा अनुकृतको कृतिबाट चाख्न पाइयो । लेखनको त्यो अथाह समुद्रबाट मोती छान्नु त छँदै थियो, तिनलाई सकेसम्म टल्काउनु पनि थियो । र, त्यही काम कठिन भइदियो । धेरै सम्पादन गरे आफ्नो शैली प्रतिबिम्बित होला भन्ने डरले सन्तुलित भएर, लेखकले प्रयोग गरेका शब्द र वर्ण विन्यास केलाई–केलाई, तिनको मर्म बुझेर सम्पादन गर्नु रमाइलोसँगै चुनौतीपूर्ण थियो । ‘द वल्र्ड थ्रू माई आइज’ प्रेसमा जान तयार हुँदा आफ्नै पुस्तक छापिन लागेको जत्तिकै प्रसन्न भएँ म ।

पढ्दै जाँदा मैले आफ्नै बालापन सम्झिंदै लेखकको परिकल्पनामा भुल्दै गएँ । उनीहरूले र मैले लेख्ने गरेको उमेर उही भए पनि हामीबीच कत्रो अन्तर थियो । मैले लेख्ने गरेका कथा अतिरञ्जित, कविता छन्दोबद्ध र निबन्ध अर्ति–उपदेश दिने खालका हुन्थे । तर अनुराग र अनुकृतका रचना तर्कपूर्ण, चित्तबुझदा र परिपक्व छन् । अङ्ग्रेजीमा प्रयोग हुने ‘सोफिस्टिकेटेड’ शब्दले दुवैको रचनाको उत्कृष्ट व्याख्या गर्छ । भ्रमण, अध्ययन र पारिवारिक पृष्ठभूमिले उनीहरूका रचनालाई परिपक्व बनाएका छन् । आफू गएका ठाउँमा पाठकलाई सँगै लगेका छन्, व्यञ्जन चखाएका छन्, दृष्टिकोण बुझाएका छन् । एप्पल र इन्टरनेट, खानपान र फूटबलका कुरा गर्दा उनीहरू दशकौं पछिको पुस्ता भए झैं लाग्छ ।

साहित्यिक योगदानमै केन्द्रित भएर कुरा गर्दा यी दुई कृतिले कति जनाको चित्त नबुझउलान् । किनभने यसलाई लेखक र तिनका अभिभावकले पनि फगत ‘साहित्य’का रूपमा नहेरेर साना लेखकको वर्षौंको मिहिनेतको फलका रूपमा लिएका छन् । त्यो उमेरका लेखकको कृति त्यसै पनि कम हुन्छ, त्यसैले पनि यी दुई रचना विशेष छन् । त्यसका साथै यी रचना तयार गर्नमा यी दुई लेखक र विशेषगरी परिवारको जुन लगन र परिश्रम छ, त्यसलाई प्रशंसा गर्नै पर्छ । कहीं घुम्न जाँदा पनि टिपोट गरेका छन्, छुट्टीमा पनि लेखेका छन्, कम्प्युटर गेम खेल्न पाउने आशामा अनेक निबन्ध तयार भएका छन् ।

यो चानचुने काम हुँदै होइन । एकछिन चूप लागेर बस्न नसक्ने चञ्चल उमेरका यी दुईलाई यति धैर्यवान भएर लेख्न सक्ने बनाउन अभिभावकले कति दुःख गर्नुपर्यो होला, कस्ता जुक्ति लाउनु पर्यो होला, कति भनाइ खेप्नु पर्यो होला । एकपटक त अनुरागले आक्रोश पोखेछन्, ‘मलाई लेख्नै मन छैन तैपनि पापाले कर गर्दै हुनुहुन्छ, मलाई उहाँ फिटिक्कै मन पर्दैन ।’ तर पनि अभिभावकको मार्गदर्शनमा यी दुईले लेख्दै गए, यसको रसमा भिज्दै भए, यसले दिने आनन्दमा डुब्दै गए । र आज आएर आफ्नो डायरी नै ‘सबैभन्दा मिल्ने साथी’ बनेको कुरा निर्धक्क भन्दा अभिभावकको कष्ट पनि विलाएर गएको छ । अब उनीहरूलाई लेख भनेर कसैले भनिराख्नै पर्दैन ।

अभिभावकको दायित्व

कति अभिभावक कडा अनुशासन रुचाउँदैनन् । बालबालिकालाई स्वतन्त्र छोडिदिने, उनीहरूको मनखुशी गर्न दिने इच्छा हुन्छ । जुन अत्यन्तै सराहनीय पनि हो । बालबालिकालाई कुनै कुरा अभ्यास गर्न र सिक्न तालिका बनाइदिए उनीहरूलाई पछिसम्म पनि यसले राम्रो प्रतिफल दिन्छ । लेखनकै कुरा गर्दा शुरूमा उनीहरूलाई सजिला र छरितो लेखन भएको किताब ल्याइदिने, मनपर्ने व्यक्ति वा अनुभवबारे लेख्न लगाउने, आफूले सम्पादन गरिदिने, पत्रपत्रिकामा छाप्नको लागि पठाउन सहयोग गर्ने, अनि केही लेखिसकेपछि प्रोत्साहित गर्ने गर्यो भने यो विस्तारै बानी बन्छ । यो काम निकै गाह्रो छ र स्वस्फूर्त बानी बस्न वर्षौं लाग्न सक्छ, तर असम्भव भने होइन । छोटो समयका लागि सहज विषय दिएर लेख्न बसाल्ने र उनीहरूको रचनाप्रति गर्व गर्ने गर्यो भने बालबालिकालाई यत्तिकै लेख्ने रहर लाग्न थाल्छ । जन्मजातै अद्भुत लेखनी त ज्यादै थोरैले लिएर आएका हुन्छन्, बाँकी सबैका लागि यो कठिन तर उत्कृष्ट नतीजा दिने बाटो नै हो ।

हिमाल खबरपत्रिका
९ भदौ २०७०
25 August 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *