राणाकालमा राज्यको आयस्रोतको मूल आधार नै मधेश थियो। त्यसैले, शासकहरूले चाहेर या नचाहेर पनि मधेश उहिल्यैदेखि चासोको विषय रहिआयो। राणाकालमा मधेशका माग वा गुनासा सुन्न वेला–वेला भारदारी सभा गरिन्थ्यो। शासकहरूले मधेशको माग वा गुनासाप्रति कति चासो दिन्थे वा सम्बोधन गर्थे भन्ने विषयमा विवाद भए पनि ११ जेठ २००३ को गोरखापत्र मा छापिएको ‘मधेशका प्रजाहरूको मागमा सरकारको स्वीकृति’ शीर्षक समाचारले राज्य–मधेश संवादको एक झलक दिन्छ।

तत्कालीन मधेशका मागहरूको जानकारी दिने गोरखापत्र को समाचारमा भनिएको छ– ‘मधेशमा आवश्यक सुधारका निम्ति मधेशका रैतीहरूले छानेका सज्जनहरू नेपाल आएका थिए। श्री द.क.ज. (दक्षिण कमाण्डिङ जर्नेल) को सभापतित्वमा धेरै दिनसम्म उनीहरूको सभा भै रह्यो। मधेशमा चाहिने आवश्यक मागलाई प्रायः प्रत्येक व्यक्तिले दिल खोलेर पेश गरे र प्रस्तावित कुराहरूमा धेरैजसो कुरा सरकारबाट स्वीकृत भयो।’ त्यसपछिका अंकहरूमा पनि गोरखापत्र ले मधेशका मागहरूको क्रमशः जानकारी दिएको छ।

तीमध्ये बुँदा नं ३ मा मधेशी मुसलमानहरूले उठाएको समस्याको जानकारी दिंदै लेखिएको छ– ‘मुसलमानहरूले आफ्ना जातका खानाको दोकान राख्न नपाएकाले वेसुबिस्ता भै रहेको थियो। यो कुरा जाहेर हुँदा ऐनले मनाइ भैरहेको गोमांस इत्यादि वाहेक ऐन–सवालमा बाधा नपर्ने अरू मुसलमानी खानाको दोकान टोल–टोलमा मुसलमानहरूले पनि मुसलमानको दोकान भन्ने साइनबोर्ड राखी खोल्न पाउने सवालै गरिदिने निकासा बक्सियो।’ यो समाचारले त्यो समयमा कतै न कतै कुनै न कुनै रूपमा राज्य र मुसलमानहरूका बीच संवाद कायम रहेको र केही हदसम्म समस्या समाधानका पहल गरिएको पत्ता लाग्छ।

मुसलमानहरूकै मागका सम्बन्धमा गोरखापत्र ले अर्को बुँदामा ‘होलीमा हिन्दूहरूले मुसलमानहरूलाई रङ हाल्न र गाली दिन नपाउने बन्दोबस्त गरिपाउँ भन्ने मुसलमानहरूको बिन्ती चढाइमा उनीहरूको जातमा गरी नआएको हिन्दूहरूले पनि रङ हाल्न र गाली दिन नपाउने ऐन बनाउन तजबीज गर्ने निकास बक्सेको’ जानकारी दिएको छ। कस्तो गाली, किन गर्थे भनेर नखुलाए पनि त्यसवेला हिन्दूहरूबाट अल्पसंख्यक मुसलमानहरू हेपिएको तथ्य गाली प्रसङ्गले खोल्छ।

यो प्रसंगबाट रङ नलगाएको वा लगाउन नमानेकोमा हिन्दूले मुसलमानहरूलाई गाली गरेको अनुमान लगाउन सकिन्छ। यसले पाठ्यपुस्तकमा पढाइए जस्तो हाम्रो समाज सबै जात, धर्म र क्षेत्रको सम्मान गर्ने खालको थिएन र छैन भन्ने प्रमाण पनि दिन्छ। साना–मसिना लाग्ने तर सामाजिक हिसाबले महतवपूर्ण यस्ता तथ्यहरूले नेपाली समाजमा ऐतिहासिककालदेखि विभेदले जरो गाडेको देखाउँछ। गोरखापत्र ले त्यो वेला मधेशवासीका २४ समस्यामा छलफल र तिनलाई सम्बोधन गर्ने प्रयास भएको देखाउँछ।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

दीपक अर्याल
हिमाल खबरपत्रिका
२ भदौ २०७०
18 August 2013

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *