Skip to content


युगले आधुनिक्ताको टुप्पी टेकेर
विश्व प्रगतिको शङ्खध्वनि गरिसक्यो,
तर आज पनि हाम्रो विश्वमा बिहान
भालेकै डाकमा हुन्छ ।

स्वर्नणम संसारको मिठो सपना छोडेर
गहभरि तितो आँसु बोकेर
भालेको पहिलो डाकमा
तर्सेर उठ्छिन् मेरी आमा
सधैँ झिसमिसे रातमा ।

जीवन जिउनुको अर्थ त के थहा
जीवन भोगाई नै बुझ्न सकिनन्
जिन्दगीको पैंतालीसवटा बसन्त
नाघिसक्ता पनि….. ।

बाध्यताको डोकोभित्र थुनिएकी
मेरी आमा, मुटुको डुक्डुकीमा होइन
कमानको साइरनको आवाजमा
बाँचेकी छिन् ।
जिन्दगीको रङ्गी चङ्गीमा होइन
नेताहरूका स्वार्थी भाषणमा
नाँचेकी छिन् ।

केवल सपनाका ठुल-ठूला महलमात्र
छन् तिनका आँखामा
कुनै विद्रोहको मुस्कान छैन
बाबुका जुँघामा ।

आधुनिक विश्वले विस्की, कोल्ड्रिङ्स, कफी
जन्माइसक्यो,
तर आज पनि मेरा बाबु
हाँडीको कालो चियामै
मन भुल्याउछन् ।
दाजु डिस्को, बारमा होइन
नेप्टी र पोक्चीका भट्टीको
जाँडमा पौडन्छन् ।

देशका कर्णधार भनाउँदा युवावर्ग
खै………! विदेश तिरै दौडन्छन् ।

रूद्र छेत्री “सृजन”
बुखिमबारी, कालचिनी (पूर्व डुवर्स)
पश्चिम बंगाल, भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *