Skip to content

‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ कृतिको अवलोकन


नाटक/एकाङ्की भन्नासाथ संवाद र अभिनयका माध्यमबाट मानव जीवनका नालिवेली प्रस्तुत गर्ने दृष्यविधा हो भन्ने बुझिन्छ । यस विधामा कथावस्तु, पात्र/चरित्र, संवाद/कथोपकथन द्वन्द्वविधान, भाषाशैली, देशकाल वातावरण, उद्देश्य, अभिनयजस्ता तत्वहरू आवश्यक पर्दछन् । नाट्य तत्वलाई देखाउन अङ्ग्रेजीको पोष्टकार्ड (पी. ओ. एस. टी. सी. ए. आर. डी. ) शब्दको सहारा रोज्दा श्रेयष्कर हुन्छ । यस शब्दले यसरी नाट्य तत्वलाई देखाउँदछ– पी–प्लोट, ओ–अर्गानाइजेशन, एस–सङ, टी–थाउट, सी–क्यारेक्टर, ए–एटमोसफियर, आर–र्याम्स, डी–डाइलोग । पूर्वीय साहित्य संसारको संस्कृत भाषामा कालिदास र भास, ग्रीक भाषामा एरिस्टोफेन्स, यूरेपाइडिज, सोल्फोक्लीज र एस्कीलसहरूको नाम अग्रहरफमा आउँछ । त्यस्तै लेटिन भाषामा पलाउटस, अङ्ग्रेजी भाषामा शेक्सपियर, अस्करवाइल्ड, जर्ज बर्नाड शा नाट्य जगत्का अमूल्य रत्न हुन् । जर्मनीका गेटे (गोथे), फ्रान्सका भिक्टर ह्युगो र नर्वेका हेनरी इब्सेनले समेत नाट्य विधामा संसार हल्लाएका छन् । नेपाली नाटक/एकाङ्की विधामा भने पहलमानसिंह स्वाँर, बालकृष्ण सम, गोविन्द गोठाले, विजय मल्ल, गोपालप्रसाद रिमालहरूको नाम अगाडि आउँछ । अहिले भने सरुभक्त र गोपी सापकोटालगायत दिल सहानी, कृष्ण शाह ‘यात्री’, किशन थापा ‘अधीर’, विमल भौकाजी, खेम थपलियाजस्ता दर्जनौं नाटककारहरूको विवरणमा आफ्नो उपस्थिति देखाउन सफल सर्जक हुन पुगेका छन्– नन्दलाल आचार्य । यहाँ उनै सर्जकको २०६७ सालमा लक्ष्मी रिजालद्वारा प्रकाशित नाटक/एकाङ्की कृति ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को सेरोफेरोमा रहेर एकाध कुराहरू अघि सार्ने जमर्को गरिएको छ ।

तपेश्वरी–१, गल्फडिया, उदयपुरमा जन्मेर लामो समयदेखि सप्तरी जिल्लाको राजविराज क्षेत्रलाई शिक्षणपेशा र साहित्य रचनाको भावभूमि बनाउँदै आएका आचार्यले मूलतः आफ्नै वरपरबाट विषयवस्तु टिप्ने काम गरेका छन् । बाँकी जीवनका अनन्त क्षणहरू पनि यसै जिल्लाको सेवामा समर्पित रहने दृढ संकल्प र प्रतिवद्धता रहिरहोस् भन्ने अपेक्षा राख्नु मनासिव ठहर्दछ । उदयपुर जिल्लाको भित्री मधेसमा जन्मेर तराई/मधेसको सेवामा यति योगदान पुर्याउनु आचार्यको चानचुने कुरा होइन । सरल, गम्भीर र नम्र स्वभाव तथा धैर्यता र सहासले निपूर्ण आचार्य एकाङ्की/नाटक, कविता, समीक्षा, निबन्धजस्ता थुप्रै साहित्यिक विधाहरूमा धाराप्रवाह रूपमा कलम चलाउने एक कुसल साहित्यिक पात्रको रूपमा चिनिन्छन् । मधेसको सेवामा सप्रेम समर्पित रहेका आचार्यको आगमन र योगदानलाई सप्तरीवासीहरूले गर्व गर्नैपर्छ र सौभाग्य ठान्नैपर्छ । नत्र आचार्यमाथि इतिहासमा हुनु नपर्ने अन्याय हुन जान्छ, कृतघ्न ठहर्न पुग्छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

प्रगतिवादी साहित्य संसारमा नन्दलाल आचार्य एक नमुना पारखी साहित्यकार हुन् । आचार्यको कृति ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा देश र समाजको, विगत र वर्तमानको यथार्थ समय र परिवेशका जल्दावल्दा विषयवस्तुलाई सैद्धान्तिक तथा तार्किकरूपमा प्रस्तुत गरेका छन् । यस कृतिमा आचार्य देश र समाजको, मुक्ति र स्वतन्त्रताको निम्ति परिवर्तनको पक्षमा दरो र खरो ढङ्गले उभिएका छन् । उनी नयाँ, गहकिला र सरल भाषाशैली एवं विचारको प्रयोग गरी क्रान्तिकारी वर्गचेत र प्रगतिशील चेतना एवं चरित्र बोकेका पात्रहरूको सिर्जनामा तल्लीन देखिन्छन् । आचार्यको यस कृतिमा राज्यद्वारा निर्मम तरिकाले हत्या गरिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’को दर्दनाक इतिवृति छ जुन इतिहासको एउटा नामेट दस्तावेज बन्न गएको छ । यस कृतिले समाजवादी यथार्थवाद समेट्ने काम गरेको छ । तत्कालीन समय र अवस्थालाई शब्दमा उतारिएको छ ।

जेले मन छोयो त्यसैमा कलम चलाउने आचार्यको प्रवृति नै हो । वादविवाद, करार विवाह, दर्द, आधा मेरो आधा तिम्रो, जस्तो मती उस्तै गति, युग उचाल्ने अक्षरकर्मीको अवसान, पीडा एक भाका अनेक, एकता, नम्र विनम्र, नाम तिम्रो काम हाम्रो, परिवर्तन, छलछाम छात्ते छ पार्टी, दाइजो, देश हराएको सूचना र परिचय गरी १५ वटा नाटक/एकाङ्कीलाई पुस्तकको रूप दिइएको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा अभाव कम सम्पूर्णता बढी देखिन्छ । आचार्यको यस कृतिमा कतिपय ठाउँमा विषयवस्तु र शीर्षकअनुसार पात्र र प्रवृत्तिको सिर्जनामा कमी खड्किएको महसुस हुन्छ । अधिकांश नाटक/एकाङ्कीमा हास्यव्यङ्गयात्मक शैलीको प्रस्तुतिकरण प्रचुर मात्रामा गरिएकाले ती बेजोड बनेका छन् । सारतः आचार्यको यो कृति उपलव्धिपूर्ण तथा महत्वपूर्ण छ जसले देश र समाजको आमूल परिवर्तनमा महत्वपूर्ण भूमिका तथा योगदान पुर्याउने देखिन्छ ।

‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ पढ्दै जाँदा त्यसभित्र रहेका घटना एवं परिवेशले देश र समाज, व्यक्ति र परिवार, महिला र पुरूष, धर्म र लिङ्ग, संस्कार र संस्कृति, अध्यात्म र भौतिक, गरिब र धनी, विगत र वर्तमान, अन्याय र अत्याचार, सत्य र असत्य, नयाँ र पुराना बीच कडा द्वन्द्व देखाएका छन् । संसारिक विभेदलाई अति नै मार्मिक र सान्दर्भिक ढङ्गले उजागर गरेका छन् । यसले पनि पुस्तकको उचाइ सगरमाथाझैं उच्च हुन पुगेको छ । उनको दृष्टिकोण अग्रगमनतर्फ लम्केको घामजूनझैं छर्लङ्ग देखिएको छ ।

वर्तमान समाजमा मान्छेहरू सत्य कुराको खोजी गर्ने युधिष्ठिरहरूलाई पागल भन्छन् तर असत्यको खेती गर्ने दुर्योधनहरूको प्रशंसा र जयगानमा रत्तिभर कञ्जुस्याइँ गर्दैनन् । यहाँ यस परिवर्तनशील समाजको गतिशील द्वन्द्वात्मक स्थिति र अन्तरविरोधको अवस्थालाई आचार्यले सजीव र सचेत ढङ्गले ओकलेका छन् । यहाँ देश र समाजप्रति अगाध स्नेह पाइन्छ । पहुँच नपुगी आफ्नो हक–अधिकारबाट वञ्चित हुनेहरूको कथाव्यथा भेटिन्छ । तिनै सोझासीधा सर्वसाधरणहरूको दमित आवाजलाई आचार्यको प्रस्तुत कृतिले बुलन्द गरेको अनुभूत गर्न सकिन्छ ।

नाटक/एकाङ्कीकार आचार्यले आफूले भोगेको र अनुभूति गरेको परिस्थिति र परिवेशलाई पक्रेका कारण धेरै जसो ठाउँमा यथार्थ विषयवस्तुलाई पनि सांकेतिक तथा अलंकारिक तरिकाले प्रस्तुत गरेको पाइन्छ । खास गरी यस कृतिमा देश र समाजका विभिन्न पाटामाथि कलम चलाएको भए तापनि आचार्यको मन मुटुको सम्वेदना संघर्षको गर्भबाट जन्मेका कृष्ण सेन ‘इच्छुक’को कलम र विचारप्रति बढी आकर्षित र प्रभावित भएको देखिन्छ । त्यसैले त ‘इच्छुक’लाई युग र देशसँग दाँजेर उनको इच्छा र शक्तिलाई शबदमा व्यक्त गरेको पाइन्छ । त्यसैले त यस पुस्तकको नाम पनि आचार्यले सेनको इतिहाससँगै जुराएका छन् । सेनले रचेका गीत/कविता र सेनका बारेमा भनिएका अभिव्यक्तिलाई पनि नाटकमा मार्मिक ढङ्गले शिलशिलावद्धरूपमा प्रस्तुत गरिएको छ जसले नाटक/एकाङ्कीको मूलमर्म र भावनालाई सहजै मूल्याङ्कन गर्न सकिन्छ । आचार्यको सेनप्रतिको झुकाव, श्रद्धा र समर्पणलाई सलाम गर्नैपर्छ । नाटकमा उनको जीवनलीलाको अन्तिम प्रहर अर्थात् शहादतको क्षणलाई नाटकीय रूप दिने क्रममा उनको जीवनको समग्र विशाल छवीलाई शब्दमा व्यक्त गर्न खोज्नु आचार्यको चातुर्यता पनि हो । आस्था र विश्वासका धरोहर जनकवि तथा पत्रकार महान् सहिद कृष्ण सेन ‘इच्छुक’ले लेखेका चर्चित गीत/कविताहरूलाई स्थान दिएर नाटकलाई अझ रोचक, भावपरक र सान्दर्भिक बनाइएको छ । प्रस्तुत नाटकमा पात्र सिर्जना र दृष्यको सुन्दर तालमेल सजीव ढङ्गले गर्नसक्नु साँच्चिकै यथार्थपरक देखिन्छ । सेनको लाश जलिरहेको बखत गीतिकवितालाई यसरी भावनात्मक तथा आक्रोसात्मक तरिकाले प्रस्तुत गरिएको छ–

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ–गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।

हाम्रा विचारमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातमा हत्कडी पहिर्याउँदै
तिमी भन्छौ–लेख न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौं ।

हाम्रा आस्थामा प्रतिबन्ध लगाउँदै
हाम्रा खुट्टामा नेल भिराउँदै
तिमी भन्छौ–हिँड न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौ ।

ओ शासक ! प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै जुलुम
र उत्पीडनहरू सुरू गर
सक्छौ भने हाम्रा चेतनामा प्रतिबन्ध लगाऊ
र सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौं
उठाइरहन्छौं, हामी तिम्रा विरूद्ध विद्रोहका मुट्ठीहरू
ओ अत्याचारका पहरेदारहरू !
जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
संघर्ष गरिरहन्छौ ।

कृष्ण सेन ‘इच्छुक’को यो मार्मिक र भावनात्मक गीत/कविताको संयोजनले नाटकलाई थप परिस्कृत गरेको छ । शोषण, दमन र अन्याय/अत्याचार विरूद्ध विद्रोहका आवाजहरू बुलन्द पाराले उठाइएको छ । वास्तवमा भन्ने हो भने अधिकार मागेर होइन, खोसेरै पाइन्छ भन्ने भाव आचार्यको कृतिमा पाइन्छ । ‘देश हराएको सूचना’ एकाङ्कीमा पनि जनताले देश खोजिरहेको भाव र दृष्य त्यत्तिकै सशक्त पाराले झल्किन्छ ।

आचार्यका नाटक/एकाङ्कीहरूको परिक्रमा गर्दा पाइएका सत्य पाटाहरूलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु– सङ्ग्रहको पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवाद र अध्यात्मवाद बीचको अन्त्यहीन द्वन्द्वलाई देखाइएको छ । दोस्रो ‘करार–विवाह’ मा व्यस्त मानव जीवनमा अग्रगतिको बाटोमा हिंड्न मद्दत पुग्छ भने अस्थायी विवाहलाई हृदयतः स्वीकार्न सक्नुपर्छ भनेर भोलिको समाजको कुरा आज लेखिएको छ । तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाले पुरुषको पाउमा परेर हैन आफ्नै सीप र जाँगरमा विश्वास गरेर अर्को सगरमाथा खडा गरी चुनौतीलाई परारस्त गर्न सक्नुपर्छ भन्ने कुरा देखाइएको छ । चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानको चौतर्फी समुन्नति र पहिचानमा आमा र बाबु दुबैको बराबर हक रहेको भन्दै हरेक कुरामा लैङ्गिक समानता हुनुपर्छ भन्ने आवाज बुलन्द पारिएको छ । पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा हाँस्यव्यङ्ग्यको जमिन टेक्दै पति र पत्नीबीचको सामाजिक अहङ्कारलाई छताछुल्ल पारी पोखेर एकअर्कामा सम्मानजनक व्यवहारले मात्र समुन्नतिको दैलो उघ्रने कुरा देखाइएको छ । अर्को पुस्तककै नाम बोकेको सशक्त छैटौँ नाटक ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा प्रगतिवादी कवि एवम् निर्भीक पत्रकार कृष्णसेन ‘इच्छुक’को सङ्घर्षशील स्वभावलाई औंल्याउँदै कायर पुलिस प्रशासनको पाशविक यातनाको भण्डाफोर गरिएको छ । त्यस्तै आचार्यको सातौँ एकाङ्की ‘पीडा एक भाका अनेक’मा जनअपेक्षालाई लात मार्ने नेतानेतृको कर्तुतप्रति व्यङ्ग्यवाण प्रहार भएको छ । आठौँ ‘एकता’ मा सामाजिक एकता, समझदारी र सद्भावले मात्र राष्ट्रोत्थान हुनसक्ने कुरामा जोड दिइएको छ । नवौँ ‘नम्र–विनम्र’मा नम्रताले बिग्रेको कुरा पनि सपार्न सक्छ भन्ने नैतिक चेतना दिइएको छ । दशौँ ‘नाम तिम्रो काम हाम्रो’मा निजी संस्थाहरूको ब्रह्मलुट प्रवृतिको घोर भत्र्सना गरिएको छ । एघारौँ ‘परिवर्तन’मा परिवर्तनको नाममा अन्धोभक्त हुँदा विकृतिको वास हुन सक्ने कुरालाई समेत ख्याल गर्नुपर्ने भन्ने चेतना छर्न खोजिएको छ । त्यस्तै बाह्रौँ एकाङ्की ‘छलछाम छात्ते छ पार्टी’मा हास्यव्यङ्ग्यको माध्यमबाट राजनैतिक चाटुकारहरूको उछितो काड्दै दलहरूको ध्येयप्रति नेपाली जनता सतर्क र सचेत रहनुपर्छ नत्र नेपाललाई सिक्किमिकरण गर्न बेर लाग्दैन भन्ने कुरा सुझाइएको छ । अर्कोे तेह्रौँ ‘दाइजो’मा भने दाइजोपीडितहरूको टीठलाग्दो मनोदशा देखाई समाज रूपान्तरणमा क्रान्तिकारी सोचले प्रश्रय पाउनुपर्ने कुरामा जोड दिइएको छ । चौधौँ ‘देश हराएको सूचना’मा देशको सीमा बारे, देश विखण्डन हुने बारे, संविधान–सभाको चुनावी नाटक बारे रुष्ट भावना प्रेषण गरी सम्भावित सङ्कट टार्न सतर्क हुनुपर्ने कुरा अघि सारिएको छ । अन्तिमको पन्ध्रौँ ‘परिचय’मा सङ्घीयताको औचित्य बारे वकालत गर्दै नयाँ नेपालनिर्माणको स्पष्ट खाका सुझाइएको छ ।

अन्तमा, प्रस्तुत नाटक/एकाङ्कीहरूमा अन्तर्निहित कथावस्तु, पात्र/चरित्र, संवाद/कथोपकथन द्वन्द्वविधान, भाषाशैली, देशकाल वातावरण, उद्देश्यजस्ता नाटकीय तत्वहरूका आधारमा भन्नुपर्दा सिर्जित पात्रहरूले आफ्नो अस्तित्व, परिचय, हक र अधिकार खोजेका छन् । समतामूलक र अग्रगामी समाज निर्माणमा गौरवशाली भूमिका खोजेका र खेलेका छन् । आचार्यको यो ऐतिहासिक कृति फुलोस्, फलोस्, फैलियोस् । त्यसरी नै नयाँनयाँ थप जनप्रेमी सिर्जनाहरू हामीहरू माँझ आइरहून्, हामीले हेर्न, पढ्न पाइरहौं भन्ने अपेक्षासहित साहित्यको धरोहर निर्माणमा नाटक/एकाङ्कीकार आचार्यलाई सफतता हात पर्दै जाओस् भन्ने शुभेच्छा र शुभकामना अर्पणका साथ यस अध्यायको बिट मार्दछु । धन्यवाद !!!

राजेश विद्रोही
–लहान, सिरहा, मो. नं. ९८४२८००५५५

पहिलो पटक प्रकाशित – 2013-08-31 14:59:44 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *