Skip to content


धेरै जन्तुहरू एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुली साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरू हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान पनि डरमर्दो थियो । उनीहरू आफूआफैमा त दाह्रा हान्दै थिए भने हामी अर्का जातिकालाई के बाँकी राख्लान् –

टाढैबाट रमिता हेरेँ । ङारङारङुरङुर तँछाड मछाड – जात्रै थियो त्यहाँ ।

धकेलम धकेलबाट उछिट्टिएको एउटा जन्तु मेरै छेउमा पछारिन आइपुग्यो । मद्दत चाहिने हो कि, म ट्वाल्ल उभिएँ । उसले मलाई हकार्‍यो — ‘के जात्रा हेरिरहेको बाँदरको मुख कहिल्यै देखेका छैनौ ।’

स्पष्ट भयो यिनीहरू बाँदर रहेछन् ।

अर्कै क्षण उसको व्यवहारमा परिवर्तन आयो – ‘अहो पत्रकारज्यू मैले त नचिनेको । चिन्नु पनि कसरी ? आफ्नो त ध्यानै खान्कीमा थियो । हेर्नुहोस् न, बजियाहरूले बाजेको पालाको रुखको बिजोगै गरे । पहिले सबै मिलेर फल खाइँदैथ्यो । पाकेको फल सकिएपछि काँचैमा सुरु गरे केही हन्तकालेहरूले । आफू मात्र किन पछाडि पर्ने ? मैले छाडेँ भने त्यो बच्नेवाला थिएन । यसैउसै नबच्ने भएपछि म पनि काँचै फल चिथोर्न लागेँ । त्यो पनि सकिएपछि त्यसको फूल नै खाइयो । फूल पनि सकिए पछि पातमा सुरु गरियो । पात पनि सकिएपछि हाँगातिर लागियो । हाँगा पनि सकिँदै गएपछि फेदतिरै लागियो । सन्तान यतिका छौँ मुख गाड्न पनि ठाउँ नै भएन त्यसैले फेद र जरामा एकैचोटि लागियो । तै पनि सवैले मुण्टो जोत्न ठाउँ नपाएर मारामार भइरहेको छ । गाँठे ! बलियाहरूकै मात्र दिन आएछ । हेर्नोस् त मलाई कसरी फालेका !’

उदेखि मलाई माया लाग्यो- ‘तपाईंहरू पनि कस्ता त ? बेलैमा फलको नयाँ बिरुवा रोपे हुन्थ्यो नि -‘

उ दाह्रा देखाउँदै झोँक्कियो- ‘तिमी पनि मूर्खै रहेछौ । बाँदरले रुख रोपेको कतै देखेका छौ ? कि जिस्काएको हो हँ ! खोजेको हो ?

उसको डरलाग्दो दाह्रा देखेर म त थरर । झम्टिहाल्यो भने रेविज लाग्नेछ । बाँदर भनेर जान्दाजान्दै मैले उसलाई मान्छेको कोटीमा उकालेर व्यवहार गर्न नहुने । उसलाई व्यङ्गय दिएको अनुभूति भएछ । यत्तिखेर उन्मत्त बाँदरहरूकै हैकम छ । यो जात बडै सम्वेदनशील हुँदैन । क्या फसियो ! क्या संकट ! म अकमकिएँ ।

उ ढलेको ढल्यै थियो । उठ्न सकिरहेको थिएन । करङै भाँचिएको हो कि ? मेरो मानवताले उसलाई हात दिन अह्रायो । त्यसो मात्र होइन, हात नदिँदा पनि उबाट हुने खतरा आफ्नै ठाउँमा थियो । हात त दिनै पर्ने भयो । तर उसको डरलाग्दो दाह्राले चिथरीनै हाल्ला कि भन्ने डर मनमा कतैनकतै भइ नै रह्यो । हात बढाउँ कि नबढाउँ संकोचमा म यसै उभिएर रहेँ । त्यो अशक्त बाँदरले हैकमी ओकल्यो- ‘के जात्रा देखिस् यहाँ ? भाग्छस् कि ठीक गरुँ ?

‘तपाईँ’ बाट ‘तिमी’ अनि तिमीबाट ‘तँ’ ! अब त मेरो मानवतावादले पूरै हावा खायो । धन्य, भाग्ने बाटो उसैले खोलिदियो ‘भाग्छस् कि ठीक गरुँ ? भनेर । ठोकेँ कुलेलम् आफ्नो सम्वेदनशीलतालाई कुल्चेर । पछाडि फर्केर हेर्दै हेरिनँ ।

किन मैले रेवीजको घर बाँदरहरूको चासो लिइराख्नुपर्छ ? त्यो मरोस् कि बाँचोस्, त्योसँग म अब पूर्ण असम्बद्ध रहने भएँ । बाँदरहरूबाट मुक्त मान्छेको समाज किन हुन सक्दैन ? के तपाईं हुनुहुन्छ मेरो साथमा मान्छेहरूको समाज निर्माणको लागि ? बुझ्नुहोस् बाँदरहरू आफ्नो घर बनाउँदैनन् । खेती गर्ने त कुरै छाड्नुहोस् । आउनोस् बुख्याँचा उठाएर टीन ठटाउँदै बाँदरहरूलाई खेदौँ । यसै समयदेखि सुरु गरिहालौँ यो शुभ कार्य । अब त अचाक्ली नै भइसकेको छ, यो बाँदरे रोग सरेर भोलिका हाम्रा सन्तान पनि यस्तै बिजोगको मरणमा नमरुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *