श्रद्धेय गुरु आशिन मियाँज्यू,
लाख–लाख अभिवादन !
आज मैले जे देखेँ, त्यसैलाई लिपिबद्ध गर्दै छु । सेतै फुलेको ६४ वर्षीय वयोवृद्ध काया लिएर लोकोपकारी कार्यमा जुट्ने हजुरको स्वभावलाई हृदयदेखि नै सलाम ठोक्दै छु । चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु । स्वार्थी संसारको एक पात्र आफूलाई नै भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले हजुरभित्र विशाल मन भेट्टाएको छु । त्यो कस्तो मन हो, मूल्याङ्कनका लागि शब्द नै हराएको अवस्थामा छु । ‘हामी, हामी हुनुभन्दा पहिले नेपाली हौँ, त्यसपछि मात्र दुनियाँ थरी हौँ । नेपालीको कर्तव्य पूरा नगरी हामी भन्नुको तात्पर्य रहन्न । नेपाली बनी सकेपछि मात्र हामी कोही मधेसी बन्छौं, कोही पहाडी हुन्छौं र कोही हिमाली कहलिन्छौं । त्यसपछि मात्रै शेर्पा कहलिएलाऔं, मियाँ भनिएलाऔं ।’ हजुरको मुखबाट यी शब्द सुन्न पाउँदा र हजुरको जीवनशैली, विचार एवं कार्यव्यापारलाई नियाल्दा बोरिया मा.वि., सप्तरीकी शिक्षिका किरण झाका यी गीतका शब्दहरू याद आउँछन्–
सुनुसुनु मिथिलाके युवक जन, सुनु हमर ई प्रार्थना यौ
एहन सुन्नर मिथिला नगरी नही करू विध्वंस यौ ।
राग–द्वैष, इष्र्याके छोडि’क प्रेमके ज्योति जगाउ यौ
प्रेम’क चुम्बन सबसँ बाढि’क, प्रेमसँ सबके तानु यौ ।
नेपाली मुसलमान भन्न रुचाउने र मैथिली कलासंस्कृति एवं भाषाभेषभूषा भनेपछि गर्वले शिर उच्च बनाउने त्यो विशाल चित्तसँग २०७०।०२।१८ गते शनिबारका दिन साक्षात्कार गर्न पाउँदा नै यी शब्दहरू जोडजाड गर्ने रहर गरेको हुँ । मैथिली भाषीप्रेमी मात्र नभई मैथिली जनजागरण मञ्चका केन्द्रीय अध्यक्ष समेत रही मातृभाषा मैथिलीको उत्थानमा सक्रिय पाउँदा को प्रभावित नभई रहन सक्छ र ! आफ्नै वरबुताले र वैयक्तिक लगानीमा मदरसा आशिनियाँ दारुल उलुम राजविराज–२, चनौरा खोल्नुभएको रहेछ । त्यस विद्यालयमा हाल अध्ययनरत् १३७ जना विद्यार्थीमा ४५ जना हिन्दूका र बाँकी मुस्लिम परिवारका छोराछोरी पढ्दा रहेछन् । प्रधानाध्यापक मो. युनुसका अनुसार हिन्दू परिवारका नानीहरू पनि उर्दू र फारसी भाषा सिकिरहेका छन् । यसबाट सांस्कृतिक एकता र सद्भावको बिजारोपण भइरहेको छ । शिक्षक पंकज दास र रञ्जुदेवी दासका अनुसार विद्यालयमा कुनै किसिमको धार्मिक कट्टरताको गन्ध विल्कुलै छैन । सरकारी विद्यालयको कोर्ष पनि पढाइ हुन्छ र सरकारी नीतिको पूरापूरी अनुसरण भइरहेको छ । साँच्चिकै गाउँगाउँ शिक्षाको ज्योति फैलाउन सरकारी निकाय असक्षम भए पनि आफ्नै बरबुताले हजुर जुट्नुभएको रहेछ ।
आशिनज्यू ! हजुर आफ्नी धर्मपत्नी हाजी सगिरा मियाइनका साथ विद्यालयका विद्यार्थीलाई नास्ता खुवाउन प्रत्येक विहीबार/शुक्रबार आफैं जुट्नु हुँदो रहेछ । आफ्नो आम्दानीको केही अंश दीनहिन असहाय बालबालिका, वृद्धवृद्धाका लागि समर्पण गर्नु आफ्नो सनातन धर्म ठान्नुहुँदो रहेछ । रातोदिन कर्मपथमा सरिक भइरहने विचारले ओतप्रोत भई मुखले भन्नुभन्दा बढी कार्य गरेर देखाइदिनुहुँदो रहेछ । ‘हामी मिले स्वर्गीय सुख कसैले छिन्न सक्दैन । हामी नाडी हौं । काम गर्ने थरीथरीका औंला छन् । ती औंला दर्बिला हुन नाडी दह्रो हुुनुपर्छ । व्यक्तिभन्दा माथि उठेर समाजको सर्वाङ्गीण पक्षलाई नियाल्ने हो भने हामी सगरमाथाझैं अग्लिन सक्छौं । ईश्वर–अल्लाह आफ्ना ठाउँमा छन् । मानव कल्याणको धर्म गर्नु नै ईश्वर–अल्लाह प्राप्तिको श्रेष्ठ उपाय हो । हामी जतासुकै भौतारिए पनि गन्तव्यको राजमार्ग एकै छ । संसारको यस सृष्टिको एक उदाहरण बन्न मान्छे आतुर हुनुपर्छ । यसका लागि लोकोपकारी कार्यमा समय र साधना लगाउनुपर्छ । हाम्रो सानो योगदानले अरूले प्रोत्साहन भेट्छन् भने किन हामी नजुट्ने !’ हजुरका यी विचारले मेरो मनमस्तिष्कमा निकै बेर झड्का दिई नै रहे ।
यत्तिखेर मलाई हजुरको विगत कोट्याउने मन भइरहेछ । हजुरको विगतको जीवन दर्शन/श्रवण गरेर मान्छेले कर्ममा विश्वास गर्दै गएमा सबथोक गर्न सक्दो रहेछ भन्ने ठहरमा पुगेको छु । तपाईंको त्यो कर्णप्रिय आवाज मेरा कानमा अझै पनि ठोक्किरहेको छ– ‘सातमास मात्रै पुगेर जन्मेका मेरा पिताजी दुःखन मियाँ परिवारको एक्लो सदस्य हुनुहुँदो रहेछ । ‘एकटा बेटा के बेटा आ एकटा टका के टका’ भनेर साराले हजुरआमालाई अर्को विवाह गर्न उक्साएछन् । पिता गर्वमै छँदा हजुरवुवा अल्लाहकहाँ स्याहाश्रेस्ता बुझाउन निस्कनु भएकोले अर्को सन्तानको कुनै गुञ्जाइस् थिएन । अर्को विवाहपश्चात् मात्र अरू सन्तान हुनसक्ने अवस्था थियो । हाम्री हजुरआमाको अल्लाहप्रतिको अटल विश्वासका अगाडि समय पनि झुकेछ । यही एक छोराबाट म घरभरि सन्तान भएको हेरेर मात्र मर्छु भन्ने कुरामा उहाँ विश्वस्त हुनु भएछ । नभन्दै ठेलिया गाविस, गोरपारमा काकाकाकीको संरक्षणमा रहनुभएकी हाम्री माताजी भदलोसँग उहाँले विवाह गर्नुभएछ । जेठो सन्तानको रूपमा म वि.सं. २००६ सालमा जन्मेँ । म पछि ३ भाइ र ३ बहिनीले पनि जन्म लिए । घरभरि सन्तान हुँदा हजुरआमाको सपना र जपना त पूरा भयो तर आर्थिक दुरावस्थाले हाम्रो परिवारलाई नराम्ररी गाँज्यो । उमेर पुगेपछि गाउँकै मदरसामा मौलवी (शिक्षक) राखेर पढ्न थालेँ । पछि विवाद भएकोले मौलवी उठेर गयो अनि म चनौरा पडरिया नि.मा.वि.मा पढ्न थालेँ । पछि के.अ. स्कूलमा कक्षा ६ उत्तीर्ण गरी राम्रो पढाइको अपेक्षा लिएर प.वि.मा.वि. मा भर्ना भएँ । परशुराम हेडसरको नेतृत्वमा त्यो स्कूलको पढाइ ज्यादै राम्रो थियो । आर्थिक कठिनाइका बाबजुत कोदाको रोटी खाएर र टेर्निङ्गको हाफ सर्ट–पेन्ट लगाएरै भए पनि कक्षा ८ उत्तीर्ण गरेँ । भाइबहिनीको लालनपोषणमा ध्यान पुर्याउन वाध्य हुनुभएकोले मातापिताले मेरो पढाइमा लगानी गर्न सक्नु भएन । पढाइलाई अधुरो छाडेर म सलाई कारखानामा मजदुरी गर्न थालेँ । त्यसले पनि नपुगेर मिल मजदुर भएँ । पछि खलासी भएँ । गुरुजी कहलाउन पनि सफल भएँ । ट्याक्टर, ट्रक, दिवा बस हुँदै मेरो गुरुजी कर्म नाइट बस चालकसम्म पुग्यो । जाँड–रक्सी नखाने र होसियारीका साथ गाडी हाँक्ने मेरो बानी थियो । त्यसैले म चालक भएको गाडीमा नै यात्रुहरू यात्रा गर्न रुचाउँथे । म पनि सबैसँग विश्वासिलो व्यवहार गर्थेँ । सबैको प्रेम पाएको आभाष हुन्थ्यो । मैले रोजगारी भेटेको थिएँ भने गाडी मालिकहरूले पनि मेरो कार्यकालमा प्रशस्त मुनाफा आर्जन गरेका थिए । म कसैसँग निउँ खोज्दिनथेँ तर कतिपय मालिकहरूका नजरमा म प्रतिकूल पात्र ठहरिन पुगेको पनि छु । त्यसैले मैले गाडी चेन्ज गरिरहनु परेको तीतो अनुभव छ । म जहाँ पुग्थेँ, सबैको भलो हुन्थ्यो । मैले जागिर छाड्न विवश भए पछि भने मालिकहरूको जययात्रामा विराम लागेको पाएको छु । म लोलोपोतो गरेर मालिक रिझाउने पात्र नभई स्वाभिमानी शिर उच्च पारिरहने नेपाली मुसमानको बच्चो भएकोले म कसैले दबाउँदैमा दबिन मान्दिनथेँ । जीवनको उतारचढावलाई मैले सहर्ष पचाउँदै दुईचार पैसा कमाउँदै गएँ । अल्छी कुन चराको नाम हो भन्ने मलाई थाहा थिएन । गरिवीको रापले सेकिएर मलाई इस्पात बनाएको थियो । म कर्मद्वारा नौलो संसार रचना गर्न चाहन्थेँ । दु.खको स्वाद चाखिसकेकोले सुखको सुवास लिन रुचाउँथेँ । सबै खाले चाहना पूरा हुन सम्भव पनि छैन । धर्मपत्नीलाई पित्तमा पत्थरी भएको थाहा पाए पछि म साह्रै विचलित भएँ । पत्नीविनाको जीवनको कल्पना नै गर्न नसक्ने अवस्थामा थिएँ । बनेपा हस्पिटलमा पत्थरीको इलाज हुन्छ भन्ने थाहा भएपछि अलिक प्राण आयो । आफूले पाउने नौ हजार तलब मालिकसँग मागेँ । उनले आलटाल गरे । दिन मानेनन् । बीस हजार जुटाउनु थियो । मेरो लागि महासागर तर्नुझैं गाह्रो भयो । त्यस बेला आवेगमा आएर मैले मालिकलाई भनेको थिएँ– हेर्नुस् मालिक ! तपाईंको कारणले मेरी पत्नीको ज्यान तलमाथि भयो भने म गाडीसहित त्रिशुलीमा आत्मदाह गर्दिन्छु । उनीविनाको जीवन मैले कल्पना गरेको छैन । आवेशमा जे भने पनि जीवनका लागि जुध्नु नै थियो । जुधेँ । र, जितेँ पनि । पत्नीलाई मृत्युको मुखबाट बचाएँ तर जागिर चट भयो । सुखमा हाईहाई, दुःखमा बाईबाई गर्ने मालिकहरूको रवैयाबाट वाक्कदिक्क भएँ । केही दिन पछि माँ कंकालिनी नाइट बसमा जागिर भेटेँ । आम्दानीको ढोका पुनः खुल्यो । सुरुआतका दिनमा ठीकै थियो । पछि चालकहरूकै चुक्लीमा फँस्न पुगेँ । यस मियाँलाई धपाउनुपर्छ भनेर कतिपय चालकले खलासीसँग मिलेर मेरा विरुद्धमा कुरा लगाएछन् । पछि कुरा बुझ्दा थाहा पाइयो । न्युट्रलमा गाडी चलाउँदा रहेछन् र तेल कम खाँदो रहेछ । बदलामा प्रत्येक दिन दुई सय भत्ता पाउँदा रहेछन् । मलाई खलासीले आइडिया सुनायो । मैले पनि ओरालोमा त्यही विधि लागू गरेँ । काठमाडौं–राजविराज आवतजावत गर्दा सबैभन्दा कम तेल मैले हाँकेको गाडीले नै खाएको देखियो । त्यस दिनको अनुभवले म आत्तिएको थिएँ । मालिकबाट दुई सय बक्सिस त पाएँ तर त्यो पैसा मैले समाइन् । आफ्नो र यात्रुको जीवन हत्केलामा राखेर दुई सयको प्रलोभनमा फँस्नु उचित लागेन । गाडीको इञ्जिन पनि थोत्रिने र दुर्घटनामा समेत परिने सम्भावना वताएर मालिकलाई सतर्क पार्न खोजेँ । ‘विनाशकाले विपरीत बुद्धि’ भनेझैं मालिक मेरा कुरामा विश्वस्त हुन सकेनन् । फलस्वरूप मैले जागिरबाट हातै धुनु पर्यो । जसो गरे पनि धोका बाहेक अर्थोक भेटिनँ । मैले जागिर त्यागेको एक हप्ता नवित्दै मुग्लिङ्ग क्षेत्रमा गाडी दुर्घटना परेर झा थरका चालक ठहरै भए । मनमा विरक्तता छायो । त्यस पछि एक दिन म मुस्लिम धर्मको इस्तमा (प्रवचन) सुन्न गएँ । मैले जीवन जिउने नौलो उपाय थाहा पाएँ । मान्छे मरेर केही लिएर जाँदैन । मात्र आफ्नो इमान, आफ्नो धर्म, अल्लाहको भक्ति लिएर जान्छ । भैंसी बेचेर खर्च जुटाई चार महिने इस्लाम ज्ञान सिकाइ मार्गमा होमिएँ । चार महिनामा धेरै ज्ञान सिकेँ । त्यसपछि मान्छे गुडाउने चालक नबन्ने निर्णयमा पुगेँ । चराचर जगत्को चालक नै साथमा भए पछि किन चालक बन्नुपर्यो र ! इज्जत दिने, दिलाउने, जियाउने, पिलाउने, बचाउने, हँसाउने, रुवाउने एक मात्र चालक अल्लाहको शरणमा पुगेपछि उनैले हरअसम्भवलाई सम्भव पारिदिन्छन् भनेर भक्तिमार्गमा एकोहोरिएँ । भगवान्सँग विन्ती गरेँ–मलाई आफ्नो घर मक्कामा बोलाएर हज गराई आफ्नै काम गर्न फर्काऊ । नभन्दै धर्मपत्नीका साथ हज गर्ने सौभाग्य मिल्यो । हज गरेपछि भने हलाल–हराम छुट्याउने, मानव–पशु भेद पर्गेल्ने दिमाग शिक्षाले मात्र दिन्छ भन्ने ठाने र आफ्नै निजी लगानीमा वि.सं. २०६६ सालमा सरकारी स्कूल खोलेँ– मदरसा आशिनियाँ दारुल उलुम राजविराज–२, चनौरा । सरकारी स्तरबाट शिक्षक व्यवस्थापनका लागि एक लाख अठसठ्ठी हजार वर्षको प्राप्त हुन्छ । त्यसमै केही रकम थपेर तीन शिक्षक र एक पियनलाई जागिर दिलाएको छु । त्यसमा उर्दू र फारसी १००/१०० पूर्णाङ्कको समेत पढाइ हुन्छ । अहिले रातोदिन विद्यालयको पछि लागेको छु । जिशिका सप्तरीले ट्वाइलेट बनाउने खर्च दियो । दुई कोठे ट्वाइलेट निर्माण गरेको छु । विद्यार्थीहरूको चापलाई ख्याल गर्दै नयाँ पक्की भवन बनाइरहेको छु । अल्लाहले साथ दिएर सुविस्तै राखेमा यस मदरसा आशिनियाँ दारुल उलुम स्कूललाई उच्च मावि बनाउने धोको छ । अहिले विद्यालयको नाममा दुई कठ्ठा आधा घूर जग्गा छ । पछि आवश्यकता परेमा अरू थप्नेछु । बाँचुञ्जेल विद्यालय विकासमा समर्पित हुने र मरेपछि पनि विद्यालय सेरोफेरोमा नै समाधीस्त हुने इच्छा छ । कब्र (चिहान)का लागि स्थानसमेत चुन्ने इच्छा छ । मेरी धर्मपत्नी हाजी सगिरा मियाइन र म हाजी आशिन मियाँ दुबैको कब्र विद्यालय सेरोफेरोमा हुनेछ । बाँचुञ्जेल विद्यालयका पछि छौं, मरेपछि पनि यसका छेवैमा रहने परम इच्छा छ । यो सङ्कल्पलाई औपचारिक रूप दिन भने दिइएको छैन । चाँडै घर–सल्लाहमार्फत् औपचारिक निर्णय सार्वजनिक गर्नेछौँ । विद्यालय भवन, फर्निचर, बाटोघाटो, पुस्तक, पोशाक आदि क्षेत्रको व्यवस्थापनमा कमी छ । विद्यार्थी चापलाई समेट्न जनशक्ति व्यवस्थापनमा अभाव छ । मैले थालेको शिक्षाको यस जागरणलाई सफल पार्न हिन्दू–मुस्लिम–बौद्ध–क्रिस्चियन आदि सबै समूदायलाई हात र साथ दिन अनुरोध गर्दछु । सबै वर्ग/समुदाय अट्न सक्ने र अटिरहेको पवित्र थलोको रूपमा विकास गरिरहेको छु । यसलाई हुर्काउन/फुलाउन हार्दिक आह्वान् गर्दै आफ्ना भनाइलाई विश्राम दिन रुचाउँछु ।’
आशिनज्यू ! मदरसा समन्वय समिति सप्तरी जिल्ला अध्यक्ष, मैथिली जागरण मञ्च, केन्द्रीय अध्यक्ष, तमोलोपा, सप्तरी कार्य समिति कोषाध्यक्ष, मैथिली साहित्य परिषद्, केन्द्रीय सदस्य, मदरसा व्यवस्थापन समिति जिल्ला अध्यक्ष, मदरसा बोर्डको शिक्षा विभाग सदस्यजस्ता सार्वजनिक सरोकारका विविध पदमा बसेर समाजको सेवा गरिरहनु र आफ्नै बरबुताले शिक्षालय खोली ज्ञानदान गर्नु आफैंमा पुन्यकर्म हो । मैले तपाईंलाई चिन्न पाउँदा आफ्नो धारणामा आमूल परिवर्तन गर्न पाएको छु । अझै सांस्कृतिक पक्षका कुरा बुझ्न बाँकी छन् । हाम्रो भेटघाट बाक्लो हुनु जरुरी छ । जहाँ बसे पनि हामी नेपाली हौँ र भौगोलिक पहिचानस्वरूप चिनिएका नागरिक हौं भन्ने यहाँको ठहर सादुवादयोग्य छ । मधेसमा बस्ने सबै मधेसी, पहाडमा रहने सबै पहाडी र समग्रमा सबै नेपाली भन्ने र सोच्ने अनि व्यवहारमा लागू गर्ने तपाईंको क्रियाकलाप स्वागतयोग्य छ । हामी नयाँ पुस्तालाई गतिलो पाठ पढाइरहनुभएको छ । तपाईंको आस्था, विश्वास र चाहनाले दीर्घजीवन पाओस् । हजुरका हातबाट हाम्रा लागि प्रेरणादायी कार्यहरू भइरहून्, यही शुभेच्छा र शुभकामनाका साथ पत्रान्त गर्दछु । धन्यवाद !
–नन्दलाल आचार्य
