Skip to content


पौराणिक व्रतकथा स्वस्थानी शालीनदीसित आबद्ध एक शालीन कथाझैं लाग्न थालेछ। वाचन गर्दै गर्‍यो, वाचन वाचाका ब्रह्म विवेकिन थाल्छ। कथा शालीन यस निमित्त लाग्छ कि यसका सांकेतिक सन्देशहरू विम्बात्मक छन्। विम्बात्मकताभित्र जीवनपरक विवेचनाका प्रशस्ति भेटिन्छन्। प्रशस्ति छेलोखेलो वर्णन, विश्लेषणमूलक तत्त्वहरूका पर्याप्तता भन्छु।

स्वस्थानी पौराणिक आख्यान। पौराणिक ग्रन्थकाल पनि जीवन जगत्लाई कथात्मकतामा उनेर समाजमा संवाद गर्ने गराउने सन्देशवाहक साधन बनेको छ। पूराण पण्डितहरू परम्परावादी भए। विश्लेषण समकालीन बन्नै पाएनन्। कुनै पनि पौराणिक आख्यान कुण्ठित रहने थिएनन्, यदि व्याख्याताहरूमा युगसापेक्ष विचारब्रह्म फुर्न सक्दा।

पौराणिक शैली पूराणकाल सापेक्ष छन्। पूराणलाई युगसापेक्ष बनाउने साधना विश्लेषण। विश्लेषण विवेकभित्र पलाउँछ। जहाँ विवेक त्यही सही विश्लेषण। विश्लेषणबिना आख्यान अन्ध परम्परामा कुँजिन पुग्छ। परम्परा सबै अन्ध थिएन। विश्लेषण अन्धका आँखा हुन्। प्रकाश हुन्। परम्परामाथि प्रकाशमय आँखा जड्दा आलोकित बन्न थाल्छ।

स्वस्थानी व्रत आफ्नो स्थानप्रतिको सम्मोहन, संवेदन र संक ल्पका सन्देश संवाहक साधनामा मन पराए। आफ्नो स्थान, जन्मस्थान, जन्मभूमि माटोमाथि लडीबुडी खेली हुर्केको मातृभूमि, कसलाई पो नहुँदो हो माटोमाथिको मोह? स्वस्थानी व्रत आफ्नो मातृभूमिप्रतिको जीवन अर्पण गाथा बन्न थाल्छ। पूराणसित ‘व्रत’ शब्द मात्रकै व्याख्या गर्न थाल्दा।

व्रत उपासनाको एक स्वरूप। उपासनाका अन्य प्रकरणहरू पनि छन्। उपासना साध्ने संस्कार र संस्कारअनुरूप गरिने यावत् क्रिया उपासनाका विधि हुन्। स्वस्थानी व्रत पालना गर्न शिवभक्त शर्मा र दुलही सतीले छोरी गोमालाई अक्षता केलाउन लाउँछन्।

यसै अवसरमा स्वस्थानी व्रतकथाका महानायक शिव भेष बदलेर गोमासित भिक्षा माग्न पुग्छन्। अक्षता त मातापिताका व्रतचर्या निमित्त भएकाले दिन इन्कार्छे। चामल ल्याउँदै गर्दा भिखारी चुर्मुरिन्छन्। नकारात्मक श्राप दिन्छन्- दुर्भेक्ष…। सबै नै वैभव पतन, ऐश्वर्य नाश…।

वियोगान्त कथाको विनाशकारी घटनाक्रम सुरु हुन थाल्छ। शिवभक्त शर्माले वयोवृद्ध शिव ब्राह्मणसित बालिका छोरी गोमाको विवाह निश्चय गर्छन्। कहाँ वयोवृद्ध अवस्था, कहाँ बालिका गोमा? सती शर्माको इच्छाविपरित विवाह हुन्छ। बिहावारीपछि आँखाले भ्याइन्जेल हेर्छन्। अँझै रूख चढी अवलोकन गर्न चाहँदा रूखबाट खसेर दुवैको अवसान हुन्छ। बाटामा बास बस्दा शिव ब्राह्मण र गोमाका स्वर्ण धनदौलत चोरले हरण गर्छ। शोक र क ष्टकर अवसानसित वियोगान्त कथाको एक्काइसौं अध्याय टुंगिन्छ।

कथा प्रसंगका प्रत्येक घटनाक्रमले विवेचना चाहेका हुन्छन्। महादेवका भेष बदल्ने शक्ति विश्लेषणयोग्य बन्छ। भेष बदल्नु त रूप अन्तर गर्नु न हो? असहज र असरल बन्दोइन यो। तैपनि मनोविज्ञान भने विश्लेषण गर्नुपर्ने पक्ष रहन्छ। मनोविश्लेषणका आधार भेष बदल्नु पक्कै पनि पहिलो सरल र सहज प्रवृत्तिमूलक व्यवहार भन्छु। यसो गर्नु आदिम मनोविज्ञानका व्यावहारिक प्रकृया रहेको छ।

निरन्तरता यसको अविरल छ। ध्वनिमा अन्तर स्वरतरंग मच्चाउनु अर्को अभ्यासबाट सम्भव बन्ने र बनेको यथार्थ क्यारिकेचर गर्ने प्रयोजनमा प्रचुर प्रयोग भई नै रहेको छ। प्रशंसा वा क्षिद्रावलोकन गर्नु गराउनु पनि मनोविश्लेषणका आधार बन्छ।

मनोविश्लेषणमा ध्वनि संयोग प्रलम्भ, विप्रलम्भ आदिको ठूलो करामत रहन्छ। ध्वनि संयोगमा वक्ताको आशय मुखरण हुन्छ वा भइरहन्छ। प्रलम्भ, विप्रलम्भ उनको छलकपट भाव-धारणा व्यक्त भइरहन्छ। यसप्रकार मनोविश्लेषणात्मक खोज, अनुसन्धानमा अत्याधुनिक विज्ञानले महत्त्वपूर्ण योग पुर्‍याएको छ। यसको उदाहरणस्वरूप पोलिग्राफी यन्त्र रहेको छ।

भ्याइन्जेल आँखै नचिम्ली निरन्तर हेर्नु मायालु मातृ पितृ स्नेहका संवेग बोक्छ। भुइँ सतहबाट आउन नसक्दा रूख चढेर हेर्न उद्यत हुन्छ शिवभक्त र सती सर्मन दुवै। एकोहोरिएर आँखै नझिम्क्याई रूखमा रहँदा दुवै खसेर अवसान हुन्छन्।

घटना टुंगिन्छ आमाबुवाका वियोगका। उता बास बस्दा शिव ब्राह्मण र गोमाका सबै जायजेथा चोरीडकैती हुन्छ। बिलौना वेदनैमा तिनका पनि अवसान हुन पुग्छन्। यी दुर्दान्त वियोग वेदनाका तारतम्य पौराणिक साहित्यिक आख्यानका सम्पदा बनेको अनुभूत हुन्छ यहाँ।

यी दुर्दान्त घटनाका गर्भ शिवभक्त शर्माका एकोहोरो निर्णय र वृद्ध-बालविवाह परम्परा प्रस्तुत छ। पाठकश्रोताका अन्तरदेखि नै यस्तो प्रथाप्रति नकारात्मक आवेग सिर्जना गर्न खोजिएको छ। तर, परम्परा एकलकाँटे समाजको भक्ति रस-शृंगार बनेको हुन्छ।

परम्परावादी समाज पुर्ख्यौली प्रवृत्तिपालक रहन्छ। नयाँ प्रवर्तनकारी सोच विधर्मी ठान्छन्। परम्परा पालन र तिनबाट मुक्ति पाउने सोचविचार आयामिक हुन्छन्। आयामलाई युगसापेक्ष र समकालीन बनाउन विश्लेषणात्मक विवेचना चाहिएकै हुन्छ। अन्तर तहसम्मै डुबुल्किँदा यस्ता गोताखोरी भेट्टाएँ।

परम्परामा अटल परम्परा अनुसरणमै अनुसरणमात्र रहेका हुन्नन्। परम्परासितै परम्परा मुक्तिका सूक्ष्म संकेतहरू तितरबितरिएका हुन्छन्। पाठकीय क्षमता यस्ता मुक्तिकारी भनौं मुक्तिवादी सोचका छेस्काहरू छेस्किएका हुन्छन्।

वर्तमान परिप्रेक्ष्यमा पौराणिक आख्यानलाई केलाउने सूक्ष्म साधनालाई सान्दर्भिक बनाउन पाठकीय क्षमतावान् दायित्व भन्ठानेको छु। यस्ता ठनाइका परिप्रेक्षकहरू अध्यायगत रूपमा एकपछि अर्को र अर्कोपछि अर्को आयामिक छेस्काहरू छेस्किइरहेका छन्। अहिले सान्दर्भिक सरोकार यसमै आबद्ध राख्न मन पराएँ।

अन्नपूर्ण पोष्‍ट
२०७० फागुन ३, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *