कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा


ज्ञान मण्डल लिमिटेड वाराणसीद्वारा प्रकाशित ‘वृहत हिन्दी कोश’मा कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न व्यक्ति भनेको छ । त्यस्तै वामन शिवराम आप्टेको स्तरीय र मान्य भनी विद्वानहरूले स्वीकार गर्दै आएको ‘संस्कृत हिन्दी कोश’ले एक ऋषिको नाउँ भनी कौण्डिन्यको व्युत्पत्ति भनेर कुण्डिन±ष्यञ दिएको छ । ‘नेपाली वृहत शब्दकोश’ले भने कौण्डिन्य भनी पराशर र कौण्डिनीबाट जन्मिएका गोत्र प्रवर्तक ऋषि भनेको छ ।

यी तीनवटा शब्दकोशले दिएका अर्थमा समानता पाइदैन । नेपाली वृहत् शब्दकोशले कौण्डिन्यलाई गोत्र प्रवर्तक ऋषि भने तापनि प्राचीन संस्कृत वाङ्मयमा न कौण्डिन्य भन्ने शब्द नै कतै पाइन्छ न त ती कुनै स्रोतले तिनीलाई गोत्र प्रवर्तक नै भनेको छ । कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न भनेर वृहत् हिन्दी कोशले भने तापनि कौण्डिन्य गोत्रीयहरू आज नेपाल र भारतमा आफ्नो निकै ठूलो जनसंख्या भएको भन्छन् । नेपाली वृहत् कोशले बोलेको पराशर र कुण्डिनीबाट जन्मिएका गोत्र प्रवर्तक भन्ने कथनको पुष्टि खोज्दा मैले आफूसित रहेका प्राचीन संस्कृत वाङ्मयका कुनै ग्रन्थमा पनि भेट्टाउन सकिन ।

प्राचीन वैदिक वाङ्मय केलाउँदा शुक्ल यजुर्वेदको गद्यमय आख्यानमा भनिएको वृहदारण्यकोपनिषद्को दोस्रो अध्यायको मधुविद्याको सम्प्रदाय परम्परा भनिएको छैठौं ब्राहृमणमा ‘याज्ञवल्कीय काण्डको वंश परम्परा’ अर्थात् ती दुइ गुरु शिष्य परम्परामा सर्वप्रथम कौण्डिन्यबारे उल्लेख गरिएको देखिन्छ । ती दुवै ठाउँमा ‘गौपवनले कौशिकबाट, कौशिकले कौण्डिन्यबाट, कौण्डिन्यले शाण्डिल्यबाट मधुविद्या र ज्ञान प्राप्त गरेकाबारे उल्लेख छ ।

वृहदारण्यकोपनिषद्मा रहेका उपर्युक्त दुइ चर्चामा ‘ कौण्डिन्य’ र ‘विदर्भी कौण्डिन्य’ भनेर दुइ कौण्डिन्यका उल्लेख छन् । गुरु शिष्य वा आचार्य परम्पराबारे चर्चा गर्ने उक्त उपनिषद्ले शतपथ व्राहृमण र पछि उपनिषद्मा प्रख्यात व्यक्तित्व रहेका याज्ञवल्क्य र निजका समकालीनबाट सुरु गरी पहिले पहिलेका आचार्यहरूबारे क्रमशः उल्लेख गर्दै जात्योष्ठि ब्रहृमासम्म आचार्य परम्परालाई पुर्‍याएको छ ।

यो सम्प्रदाय वा वंश परम्परा पुस्ता अर्थात् समय आधारित छैन तथा जो दुइ परम्पराको उल्लेख भएका छन् सो आधारमा हेर्दा कौण्डिन्य भन्दा विदर्भी कौण्डिन्यको परम्परा अपेक्षाकृत प्राचीनतर देखिएको छ । त्यसो हुनु स्वाभाविक पनि थियो । किनभने विक्रम पूर्व १०० तिर सिन्धु सभ्यताको पूर्ण अन्त्यपछि वैदिक आर्य-श्रेष्ठताका राज्यहरू स्थापित हुनुभन्दा पहिलेका दुइ सभ्यताबीचको संक्रमणकालका सिन्धु क्षेत्र र त्यसको उत्तर पूर्व र दक्षिणमा निषध, विदर्भ, दशार्पा, चेदि, कोश, पाञ्चाल आदि गरी दस बाह्रवटा ठूला र साना जनपदहरू स्थापित भएका थिए । तर, महाभारतमा चर्चित कुरुक्षेत्रको युद्ध कृष्ण द्वैपायन व्यास, तिनका शिष्य वैशम्पायन, तिनका शिष्य याज्ञवल्क्य, र उद्दालक, अजातशत्रु आदि विक्रमपूर्व १४०० तिरका सुरु उत्तरवैदिक काल अर्थात् पुराणहरूमा चर्चित द्वापरयुगको प्रारम्भ तथा द्वापरयुगको अन्त्यतिरको भेद थियो । यी आधारबाट हेर्ने हो भने विदर्भी कौण्डिन्य द्वापरको प्रारम्भतिरका र कौण्डिन्य त्यो युगका अन्त्यतिर रहेका अनुमान गर्नुपर्ने देखिन्छ ।

विदर्भी कौण्डिन्य र कौण्डिन्य गरी कौण्डिन्य गोत्रीय दुइजनाले वृहदारण्यकोपनिषदमा रहेका सम्प्रदाय, परम्परामा र गुरु शिष्य परम्परामा चर्चा पाउनुलाई ठूलै महत्वको उपलब्धि भनि स्वीकार गर्नैपर्छ । कौण्डिन्य गोत्रीयहरूको प्रारम्भ विदर्भबाट भयो । तर त्यो गोत्रको विस्तार भएर वर्तमान भारतका मध्य प्रदेश र उत्तर प्रदेशतिर हुँदै जाँदा कौण्डिन्यले ‘विदर्भ, नामको स्थल विशेषणलाई छोडे ।

वृहदारण्यकोपनिषद्पछि वौधायन गृहृयसूत्र -३.१.६ मा वृक्षिकार कौण्डिन्यबारे उल्लेख भएको पाइन्छ । भारतका महापण्डित पुन्ताम्वेकर काषो (धर्मशास्त्रको इतिहासका लेखक) अनुसार वौधायन गृहृय सूत्रको काल निर्धारण गर्दा विक्रम पूर्व ८५०-४५० को समय ठहरिनुपर्ने देखिन्छ । कौण्डिन्यबारे महाभारतको सभापर्व -४।१६) मा इन्द्रप्रस्थमा युधिष्ठिरका दरबारमा युधिष्ठिर सभाका निकैमध्ये एक सदस्यको रूपमा कौण्डिन्यबारे उल्लेख छ ।

महाभारतबारे सन्दर्भ उल्लेख गर्नासाथ त्यो विश्व सम्पदाको विषयवस्तु र त्यहाँको लिखित पाठको कालावधिबारे गम्भीर प्रश्न उठ्छ । ‘जय’ र ‘भारत’ हुँदै अघि बढेर लिखित ग्रन्थको रूपमा पुग्दा आधुनिक अध्येताहरूले महाभारतको लेखन प्रारम्भ अनुमानतः वि.पू. ३५० बाट सुरु भई विक्रमको ४०० तिर प्रायः अन्त्य भएको भनी अनुमान गरेका छन् । महाभारतको पाठको रूपमा जहिले जे रहेको होओस् । युधिष्ठिर सभामा कौण्डिन्यमुनिको उपस्थितिको कुरा वृहदारण्यकोपनिषदमा रहेको चर्चासित भने मिल्दछ । कौण्डिन्यको समय याज्ञवल्क्य समकालीन हो भनी स्वीकार गर्नुमा म बाधा देख्दिन ।

कौण्डिन्यबारे थप केही कुरा यस्ता छन्

जैमिनीको पूर्व मीमांसा सूत्र -विक्रमाब्द २५०-५५०) का भाष्यकार शवरले ‘ कौण्डिन्यको कल्पसूत्र’को उल्लेख गरेकाबारे श्री पि.वि. काषोले आफ्नो ‘धर्मशास्त्र का इतिहास’ भन्ने ५ खण्डमा प्रकाशित पुस्तकमा उल्लेख गरेका छन् । त्यस्तै ‘पद्म पुराण’ उत्तरखण्ड अध्याय १४५ मा र धृष्टबुद्धि भन्ने सरस्वती नदी किनाराको भद्रावतीका राजा धृतिमानको राज्यको महापापी वैश्यलाई कौण्डिन्यले शुद्ध बुद्धि र ज्ञान प्रदान गरेर स्वर्ग पठाएकाबारे पद्म पुराणकै अध्याय ५१ मा उल्लेख भएको पाइन्छ ।

कौण्डिन्यबारे अन्तिम उल्लेख १२ खण्डमा प्रकाशित आर.सि. मजुमदारको The History and culture of the Indian People भन्ने पुस्तकको दोस्रो खण्डमा पाइन्छ । चिनिया स्रोतका अभिलेखको आधारमा सो पुस्तकमा भनिएअनुसार विक्रम पूर्व ३५० तिर उडीसाको जहाजघाटबाट जहाज यात्रा गरी एक कौण्डिन्य वर्तमान कम्बोडिया पुगे । त्यो युगमा त्यहाँका नरनारी पूर्व वर्वर युगमा नांगा र वस्त्रहीन बस्थे । कौण्डिन्य तिनीहरूलाई सभ्य समाजतिर बाटो देखाउदै आफू राजा भएर त्यहाँ बसे । त्यसपछि के भयो भन्ने चर्चा छैन । परन्तु विक्रमाब्द ३५० तिर फेरि आर्को कौण्डिन्य उही कम्बोडिया पुगेर एक सय वर्षजति कौण्डिन्यको राज्य त्यहाँ चलाए ।

कौण्डिन्यबारे यी भन्दा बढ्ता आधिकारिक जानकारी आफ्ना स्रोत साधनबाट मैले पाउन सकिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा”

  1. म पनि कौण्डिन्य गोत्री भट्ट
    म पनि कौण्डिन्य गोत्री भट्ट हो । गोत्र, प्रवर र गोत्रगणको बारेमा अध्ययन गर्दै जाँदा केहि कुरा अधुरो मै चित्त बुझाउनु पर्ने भयो । जस्तो कि,
    कुण्डिन गोत्र र कौण्डिन्य गोत्र यउटै हो वा होईन ?
    कुण्डिन र कौण्डिन्य मध्ये कुन पुरानो पुस्ताका हुन ?
    उपरोक्त दुवै गोत्रका प्रवर एकै हो वा फरक हुन ?
    गोत्रप्रवर्तक र यसका प्रवर ऋषि एउटै कुलका हुन वा फ़रक ?
    बिहाबारीका सम्बन्धमा गोत्रगण र प्रवर दुवैको ख़्याल गर्नु पर्ने कारण के रहेछ ?
    जिज्ञासा मेटाउन पाए धेरै धेरै आभारी हुने थिए । कृपया प्रतिक्षामा हुनेछु । फ़ोन नं. ९८५१०७४२२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *