अचानक हराएको स्वर सम्झेर

  • by


बाले खैरो रङ्गको खोल भएको ट्रान्जिष्टर किन्नुभएको थियो । मलाई काम अह्राउनुपरे भर्‍याङ छेउ झुन्डिएको त्यही ट्रान्जिष्टर मेरो काँधमा झुन्डन पुग्थ्यो । म त्यसलाई भिरेर गोठालो जान्थेँ । बेँसीमा भए बाख्राको बथानसित । लेकमा भए गाईको बगालसित । म दिनभर त्यही ट्रान्जिष्टरबाट बज्ने स्वरहरूसित संगत गर्थें । त्यही मेसोमा हो, मैले गायक फत्तेमानलाई चिनेको । तिनको स्वरमा स्वर मिलाएर धेरैपटक छहराको पाखो थर्काउने गर्थें म-यस्तो पनि हुँदोरै’छ जिन्दगीमा कैले-कैले कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले मलाई तिनको स्वर सिमलको भुवाजस्तो मुलायम लाग्थ्यो । झन् जंगलको एकान्तमा किथ्रै-किथ्राको किर्किर् बीचमा तिनलाई सुन्दा अद्भुत अनुभूति हुन्थ्यो । त्यो उमेर रेडियोभित्र स-साना आकारका मान्छे बसेर बोल्छन्, गाउँछन् भन्ने भ्रमबाट भर्खर मुक्त भएको उमेर थियो । गोठालोमा संगत पाएका स्वरका सहयात्रीका विम्बहरू बुन्न थालिसकेको थिएँ म । मैले कल्पना गरेको फत्तेमान अग्लो थियो । गोरो वर्णको । तर त्यो विम्ब सधैं एकरुपको हुँदैनथ्यो । हरेकपल्ट गीत सुन्दा फरक-फरक विम्ब निर्माण हुन्थ्यो । त्यो बेला नै कल्पनामय थियो । अहिलेजस्तो दृश्यप्रधान होइन, श्रव्यप्रधान समय थियो त्यो ।

यसरी किशोर अवस्थामा कल्पना गरेका व्यक्तित्वसित प्रत्यक्ष संगत होला सोचेकै थिएन । फेरि क्षेत्र पनि यही रोजिएला, झन् सोचेकै थिएन । तर थाहै नपाई संगीतसितै प्रगाढ नाता जोड्न पुगिएछ । बाले सचेत नगराउनुभएको होइन- ‘नसिक् त्यो संगीत-फंगीत । बरु टाइप सिक् । जागिर पाउन सजिलो हुन्छ ।’ अहँ, बाको अर्तिले मनलाई निर्देश गर्न सकेनछ । संगीतको मोहनीले निर्देशित भएछ मन । यसमै टिक्नका लागि कहिले विद्यालयहरूमा संगीत शिक्षक त कहिले स्टुडियो स्थापना । अनेक प्रयत्न गरिएछ ।

सन् २००२ को मध्यतिर । संगीतलाई नछोड्नकै लागि अनेक विकल्प खोजेकै बखत हुन्छ । एकदिन कोठामै संगीत सुन्दै सुस्ताइरहेको हुन्छु । सायद रविशंकरको ‘तनमन’ या नताली कोल, कुनै एक सामुन्नेको स्पिकरमा बज्दै हुन्छन् । ठीक त्यति नै बेला फोनको घन्टी बज्छ । हातमा रिसिभर उठाउँछु । अपरिचित बोली हुन्छ- ‘हेलो आभासजी हो ?’ फर्काउँछु- ‘हजुर हो, भन्नुस् न ।’ बोली आफ्नो कुरा फुकाउन थाल्छ- ‘सुन्नुस् न ! हामीले फत्तेमान दाइको सोलो कन्सर्ट गर्ने सोच बनाएको । त्यसका निम्ति संगीत लेख्ने र संयोजन गर्ने व्यक्ति खोज्दा तपाईंको नाम आयो र मैले फोन गरेको हुँ ।’ स्टुडियो बेचेर नयाँ ठाउँमा सरेको केही समयमात्र भएको हुन्छ । सबैतिरबाट तर्सिएर नेपालै छोडौं कि ? पनि सोच्दै हुन्छु । त्यसैले अनकनाउँछु- ‘काम त राम्रो हो, तर अलि सोचेर भन्छु ।’ फोनवार्ता केही छिन् लम्मिन्छ । मलाई के सुरले समात्यो कुन्नी । म त्यो प्रस्तावलाई स्वीकार्छु ।

त्यसको करिब एक घन्टाभित्रै मलाई फोन गर्ने नेपथ्यका अमृत मेरो निवास सामुन्ने आइपुग्छन् । पुरानो मोडलको साधारण मोटर बाइकमा म पनि थपिन्छु । हामी देवपतनमा रहेको एउटा पहेँलो रङको घरभित्र छिर्छौं । पहिलो तलाको भर्‍याङ सामुन्नेको ढोका खुल्छ । ‘ल आउनुस् ! आउनुस् !’ फत्तेमान दाइ हाम्रै प्रतीक्षामा हुनुहुँदो रहेछ । हामी भुइँमै पलेँटी मारेर बस्छौं । दाइसित मेरो छोटकरी परिचयको औपचारिकता पूरा हुन्छ । सामुन्नेमा केही छिन पहिले बजाएर छोडेको अवस्थाको हार्मोनियम हुन्छ । फिक्का पहँेलो रङको हार्मोनियमसँगै एउटा साधारण कुशनमा बसेका सानोकाँटीका फत्तेमान दाइका आँखा छल्दै मेरा आँखा कोठाको निरीक्षणतिर लाग्छन् । पश्चिमतर्फको दराज र त्यसको सामुन्ने भुइँमै प्रशंसापत्र र मानसम्मानका प्रतीकहरू छरपस्ट देखिन्छन् । फत्तेमान दाइको अनुहार पनि त्यति कान्तिपूर्ण देखिन्न । अमृत आफ्नो कुरा थाल्ने वातावरणलाई सहज बनाउन होला सायद । फत्तेमान दाइतर्फ हेर्दै भन्छन्- ‘दाइ चिया खान पाइन्छ ?’ फत्तेमान दाइ- ‘चिया, किन नपाउने ? जरुर पाइन्छ’ भन्दै माथिल्लो तलामा उक्लन्छन् । फत्तेमान दाइ भर्‍याङ चढेको आवाजसितै म फेरि कोठाको निरीक्षणतिर लाग्छु । पूर्वतिरको भित्तामा टँसाएर राखेको साधारण सोफाभन्दा माथि गाउँदै गरेको फत्तेमानको फोटो छ, शिरमा भादगाउँले टोपीसहितको । मैले उनलाई अघिल्लो पूणिर्माको दिन किरातेश्वरमा यस्तै भेषमा देखेथेँ । भजन गाउँदै गरेका । तर यी कोमल स्वरका धनीसित म आज पहिलोचोटी आमुन्ने-सामुन्ने भएको थिएँ । उनकोे बसाइ यति साधारण होला भन्ने त कल्पनै थिएन । मैले सोफा अगाडिको चियाटेबलमा आफ्नो दाहिने कुहिनो टेकाएँ । अमृत आफ्नो हातमा भएको क्यामेराको लेन्स घुमाउँदै हुन्छन् । फत्तेमान दाइ चियाको ट्रे आफ्नै हातमा बोकेर कोठामा प्रवेश गर्छन् । म उनको सरलतासित पहिलो भेटमै प्रभावित हुन्छु । ‘दाइ ! चिया मागेर मैले दुःख दिएँ है ? माफ पाउँ दाइ ! के गर्नु खान मन लाग्यो । ठाडै भनेँ ।’ अमृतलाई लागेको अप्ठेरो हटाउन फत्तेमान दाइ ‘खुलस्त हुनु त राम्रो कप्टी हुनुभन्दा’ भन्दै सुन्दर हाँसो हाँस्छन् ।

सम्भावित कन्सर्ट र त्यसको संगीत संयोजन बारेमा छलफल सुरु हुन्छ । मेरो मस्तिष्कमा नारायणगोपाल संगीत कोसमा भ्वाइलिन सिक्दै गरेका कलिला वाद्यवादकहरू हुन्छन् । तिनको सीपलाई प्रदर्शन गर्ने उद्देश्यले आफ्नो पहिलो कन्सर्टमा तिनलाई मञ्चमा उतारेथेँ । फत्तेमान जस्तो स्थापित कलाकारसित तिनलाई जोड्न पाए वाद्यवादनको नयाँ प्रचलन सुरु हुन्थ्यो भन्ने पनि थियो । मैले फत्तेमान दाइको कन्सर्ट अर्केष्ट्रासहित गर्ने हो भने आफूले संयोजन गर्ने धारणा व्यक्त गरेँ । दाइ भने सहमत भएनन् । ‘यहाँ भ्वाइलिन बजाउने समूह गतिलो कहाँ छ ? बेसुरा हुन्छ । गाउन सकिँदैन ।’ म त्यो तर्कसित असहमत भएँ । भनेँ- ‘दाइ, हामीले प्रयत्न नगरे सुदूर भविष्यसम्म पनि हाम्रा कन्सर्ट सुसम्पन्न हुँदैनन् ।’ तर मेरो कुरामा दाइले चित्त बुझाएनन् । भने- ‘म त नारायणगोपालले गरेजस्तो थोरै बाजामा गर्ने हो । थोरै बाजामा गाउन पनि सहज हुन्छ ।’ मैले अमृततिर हेर्दै भनेँ- ‘साधारण कर्डस् लेख्न त मलाई जाँगर छैन ।’ वातावरणमा मौनता छायो । मलाई त्यहाँबाट निस्किहाल्न मन लाग्यो । विदाइको औपचारिकतापछि अमृतले मलाई यथास्थानमा छोडे ।

निवासमा फिरेर बच्चुकैलाशका गीत सुन्न थालेको हुन्छु । फेरि फोनको घन्टी बज्छ । अमृत जानकारी गराउँछन्- ‘आभासजी, फत्तेमान दाइ तपाईंले भनेकै तरिकामा राजी हुनुभयो । काम छिटै सुरु गरौं । केही दिनमै फत्तेमान दाइका पुराना टेप सुन्ने सिलसिला सुरु हुन्छ । फिनाले सफ्टवेयरको सहाराले म स्टाफ नोटेसन लेख्नतिर लाग्छु ।

सन् २००२ को अगष्ट १० तारिख साँझ । भव्य मञ्चमा ‘गायक फत्तेमान साँझ’ सम्पन्न हुन्छ । टेलिभिजनको पर्दामा गाइरहेका फत्तेमान प्रसारित हुन्छन् । स्वरको आरोह-अवरोहसितै फत्तेमान आफ्नो सम्पूर्ण शरीरलाई संगीतसितै समर्पित गर्दै गरेका देखिन्छन् । लामो समय गुमनाम बनेका फत्तेमानको एक्कासी चर्चा चुलिन्छ । कार्यक्रमको सफलताले हामी सबै हषिर्त बन्छौं । एकदिन फत्तेमान दाइकै मुखबाट सुन्छु- ‘भाइ ! तपाईंहरूसित भेट हुनु मेरो जीवनकै दोस्रो जन्म हो । त्यो साँझको कार्यक्रम नभेको भे म त टिम्मुर खाइसक्थेँ होला ।’ उनको त्यो अभिव्यक्ति नै हाम्रो अमूल्य आर्जन थियो ।

फत्तेमान दाइसितको निकटता झन् बाक्लिँदै जान्छ । एकदिन मित्र किरणकृष्णबाट प्रस्ताव आउँछ- ‘फत्तेमान दाइका निम्ति नयाँ एलबम गर्नुस्, आभासजी ।’ मलाई प्रस्ताव मनपर्छ । गीत छनोट गर्दै कम्पोज सुरु गर्छु । प्रिल्युड, इन्टरल्युड तयार गर्दै आफै प्रोग्रामिङ गर्छु । गीतका धुनहरू सिकाउन म फेरि उही घरको त्यही कोठामा बारम्बार जान्छु । मैले पहिलोपल्ट देखेको कोठाको अव्यवस्थापन अब त्यहाँ थिएन । सबै सामग्री एकदम चिटिक्क मिलाएर सजाइएका । कोठामा एकथोक मात्र अव्यवस्थित थियो । एस्ट्रे भित्रका चुरोटका ठुटाहरू । गीत सिक्दै गर्दा पनि चुरोटको सर्कोको मजा लिन चुक्दैनथे, फत्तेमान दाइ ।
एलबममा स्वर भर्ने बेला आइपुग्यो । रेकर्डिङ स्टुडियो थियो, लैनचौर नजिक । गीत रेकर्ड गर्दा कहिलेकाहीं एउटा हरफ पनि चित्त बुझ्दैनथ्यो । कहिले त फत्तेमान दाइको स्वरको मौलिक चमक पनि फिक्का भएको हो कि झैं ठान्थेँ र आफै अत्तालिन्थेँ । स्टुडियोबाट निस्केपछि एकदिन फत्तेमान दाइले मेरो अत्यास मेट्न खोज्दै भने- ‘भाइ, आज अलिक बढी सास फेरिएछ ।’ मलाई थाहा थियो, धुवाँ निल्नुलाई दाइ ‘सास फेर्नु’ भन्थे । अब मैले उनलाई सबेरै घरमा पुगेर स्टुडियो ल्याउने शैली अपनाएँ । त्यसपछि पनि कति खेप दाइको स्वरमा उस्तै समस्या देखिन्थ्यो । फेरि स्टुडियोबाट निस्केर पोल खोल्थे- ‘भाइ, आज तपाईं मेरो घरमा भित्रनु पहिल्यै मैले दुई खिल्ली सास फेरिसकेको थिएँ ।’ म अवाक् बन्थेँ । अब स्वर भर्ने दिनको अनुकूलता मिलाउने जिम्मा उनैलाई सुम्पेँ । स्वर र मुड ठीक भएको बखत फत्तेमान दाइको फोन रिसिभ गर्थें र स्टुडियो दौडन्थेँ ।

एक हप्ताअघि भने म ओम अस्पतालतर्फ दौडिएँ । अस्पतालको बेडमा मुख फुलेर चिन्नै नसकिएला जस्ता फत्तेमान देखेर आत्तिएँ । त्यो अवस्थामा पनि उनले पहिलो दिन भेटेकै शैलीमा आफू नजिक टुलमा बस्न आग्रह गरे- ‘बसौं न !’ हाम्रो अनुहारमा झल्किएको भावलाई सायद उनले सरसर्ती पढे र हाम्रानिम्ति अन्तिम अभिव्यक्ति सुनाए- ‘जान त सबैले पर्छ । अब थलिएर अरुलाई झन्झट हुनेगरी नरहुँ । रातको १२:५६ मा फत्तेमान दाइकै वार्डमा कार्यरत मेरी भाञ्जीले पठाएको म्यासेज बिहानमात्र पढेँ- ‘मामा, फत्तेमानजी रहनुभएन !’ खुट्टा लगलग काँपेको मैले वर्षौं पुरानो त्यही खैरो रङ्गको खोल भएको ट्रान्जिष्टरको कल्पना गरेँ । जसमा उही परिचित अद्वितीय स्वर घन्किरहेको हुन्छ-मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न ।

http://www.kantipuronline.com/np/2070/5/29/full-story/375723.html#sthash.81bibfQO.dpuf

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *