सङ्गीतमा विश्व-शैली र मौलिकताको प्रश्न


हाम्रो नेपाली साङ्गीतिक शैली कति प्रतिशत मौलिक छ ? हुन त यो हिसाब-किताबको विषय होइन । तर लाग्छ- लोक र केही परम्परागत सङ्गीतबाहेक हाम्रा अधिकांश साङ्गीतिक पारा कतै न कतैबाट प्रभावित भएकै छन् । नहिच्किचाई भन्ने हो भने- छिमेकको हिन्दी फिल्मी-सङ्गीत शैलीको प्रभावबाट हामी त्यति पृथक् हुनसकेका छैनौं । खासगरी हामीले नामकरण गरेको ‘नेपाली आधुनिक सङ्गीत’को प्रारम्भिक चरण त हिन्दी शब्दका ठाउँमा नेपाली शब्द स्थापित गरेर सुरु भएको हो । त्यो क्रमले अहिलेसम्म पनि हामीलाई चटक्कै नछोडेको अवस्था छ भन्दा फरक पर्दैन । त्यही खाले अभ्यस्तताले पनि होला, हाम्रोमा सङ्गीत भन्ने बित्तिकै गीत भन्ने बुझिन्छ । यही बुझाइले शब्द-वर्जित वाद्य-सङ्गीततर्फ हाम्रो ध्यान गएको छैन । वास्तवमा विशुद्ध वाद्य-सङ्गीतको विकासबिना हामीले हाम्रो साङ्गीतिक मौलिकतालाई विश्वव्यापी बनाउन सक्दैनौं । वाद्य सङ्गीतलाई विश्वका अनेकौं विकासशील र विकसित मुलुकले विशेषगरी दुई तरिकाले अपनाएका छन् ।

पहिलो- विश्वव्यापी प्रसिद्ध रचनालाई जस्ताको त्यस्तै बजाएर । यो एक प्रकारले विश्वप्रसिद्ध कवि तथा साहित्यकारका पुस्तक उनकै भाषामा या अनुवाद गरेर पढेको या वाचन गरेको जस्तै अवस्था हो । ती रचनाहरू हाम्रा स्वयम्भू या कृष्ण मन्दिरजस्तै विश्वसम्पदा हुन्, जो हाम्रा भएर पनि हाम्रामात्रै होइनन् । सिर्जनात्मक विश्व-सङ्गीत पनि त्यस्तै हो । त्यसैले हामीले तिनको रूप र सौन्दर्यलाई बिना हिच्किचाहट स्वीकार्न सक्नुपर्छ । किनभने तिनको सौन्दर्य उच्च भएर नै ती रचनाहरू प्रसिद्ध र दीर्घजीवी बनेका हुन् । तिनको हुबहु नक्कल गरेर आपनो भनी प्रचार गरेको खण्डमा जोकोही पनि बौद्धिक सम्पदाको चोर ठहरिन्छ । तर तिनलाई ज-जसका हुन्, उनकै भनेर रूप र सौन्दर्यको आनन्द लिए, हाम्रो व्यक्तिगत साथै देशकै साङ्गीतिक घेरा फराकिलो बन्दै जान्छ । हाम्रा एसियाली मित्रहरू जापान, चीन, कोरिया लगायत विश्वका कैयौं देशले यसखाले अभ्यास थालेको वर्षौ भइसकेको छ । ती देशका आपना मौलिक लोक या परम्परागत सङ्गीत हुँदै नभएको कारणले मोजार्ट, बिथोभेन, हेन्डल या शुमानका रचना बजाउने अभ्यास गरेका होइनन् । फेरि विश्वप्रसिद्ध सङ्गीतिक रचनालाई अपनाउँदा ती देशका सङ्गीतको मौलिकतामा ह्रास आएको पनि छैन । बरु विश्वप्रसिद्ध साङ्गीतिक रचनाको संगतले ती देशका मौलिक सङ्गीतलाई समेत विश्वसामु उभ्याउन सहज भएको छ । त्यसैले हाम्रा वाद्यवादकले पनि निर्धक्क भएर विश्वप्रसिद्ध रचना बजाउने अभ्यास गर्नुपर्छ । त्यो अभ्यासले हामीलाई बहुआयामिक बनाउँछ । हामी बहुआयामिक हुँदा फाइदा हामीलाई नै हुने हो । हाम्रा वाद्यवादकको सीप विकास हुँदा हाम्रै सङ्गीतको विकास हुने हो । तर हाम्रो सामाजिक मानसिकता अझै संकुचित छ ।

यसै सन्दर्भमा केही दिन पहिले हाम्रा केही वाद्यवादकले पोलिस कम्पोजर पेडरिक शोपेनको ‘रोमान्स’ अभ्यास गरिरहेका बेला एक परिचितले प्रतिक्रिया व्यक्त गरे- ‘विदेशी धुन बजाएर नेपाली सङ्गीतको कसरी उन्नति हुन्छ ?’ उनको मुखारविन्दमार्फत नेपाली सङ्गीतको मौलिकता जोगाउने सोचले अभिप्रेरित अभिव्यक्ति गुञ्जेकोमा मलाई खुसी लाग्यो । तर मैले उनलाई तत्काल प्रतिप्रश्न गरेँ- ‘मित्र ! तपाईंको एकमात्र सुपुत्र विदेशबाट ‘सर्जन’ भएर नेपाल फिर्दैछन् भनेको हैन ? त्यसको माने हाम्रो स्थानीय ज्ञानले मात्र तपाईंको पुत्रलाई डक्टर बन्न सम्भव भएन छ नि त, हैन ?’ मेरो ठाडो तर मित्रवत भनाइले उनको जिब्रो ओठभन्दा थोरै बाहिर निक्लियो । विषयमा मैले खिप्न नपाउँदै उनको मोबाइलको रिङटोन बज्यो । रिङटोनको गीत त नेपाली भाषामै थियो । तर त्यो कम्पोजिसनमा नेपालीपन भने पटक्कै थिएन । कुनै-कुनै भाग त सिधा कपी-पेस्ट थियो । त्यो पनि छिमेकीको व्यावसायिक फिल्मी सङ्गीतबाट । उनको मोबाइल-वार्ता टुंगेपछि म फेरि उनीतिरै फर्किएँ र सोधेँ- ‘तपाईंको मोबाइलमा बजेको गीतबारे तपाईंको धारणा के छ नि ?’ उनले भने- ‘यो त ठीक छ नि, नेपाली भाषाको गीत हो । गज्जब लागेर त रिङटोनमा राखेँ नि !’ यत्तिमै मैले उनको साङ्गीतिक ज्ञानको खुत्रुकेको आकार थाहा पाएँ र तर्कलाई अघि नबढाउने सोच बनाएँ । उनीसितको छोटो वार्ताले हाम्रा वरिपरि सङ्गीतमाथि केकस्ता तर्क-वितर्क भइरहेका रहेछन् भन्ने अनुमान लगाउन भने सहयोग नै गर्‍यो । साथै हाम्रो समाजमा सङ्गीत भनेर गीतमात्र सुन्ने परम्परा अझै कायमै रहेछ भन्ने पनि थाहा भयो ।

हामीले हाम्रो वर्तमान अवस्थालाई माथि उठाउन अनेक तर्क गर्दैरहेका छौं । संविधान नबनेकोमा चारैतिर चिन्ता छ । संविधानको रूपबारे छलफल हुँदा फलानो र ढिस्कानो देशको संविधान यस्तो छ, उस्तो छ, त्यसबाट हामीले सिक्नुपर्छ भन्ने सुनिन्छ । सङ्गीत पनि त्यस्तै हो । संसारभरका राम्रा र सिर्जनशील सङ्गीतबाट हामीले सिक्नुपर्छ । हामीले विश्वका गुनी रचनालाई चिन्नसके, आत्मसात गर्नसके, उनीहरू पनि हाम्रा रचनातर्फ आकषिर्त हुन्छन् । नेपाली नाटक निर्देशकले- ‘सेक्सपियर चिन्दिन, शममात्र चिन्छु’ भन्यो भने कति हास्यास्पद हुन्छ ? सङ्गीतमा लागु हुने कुरा पनि त्यस्तै हो । यसो भन्नुको माने हामीले विश्वप्रसिद्ध रचनाबाहेक आपनो भूमिको सुगन्ध भरिएका रचनालाई वास्ता गर्न आवश्यक छैन भन्ने होइन । हामीले आपनोपनलाई विकसित गर्ने दोस्रो तरिका पनि जारी राख्नु आवश्यक हुन्छ । दोस्रो- हाम्रोमा लोक र परम्परागत सङ्गीत र बाजाहरूको अभाव छैन । तर तिनलाई कसरी आकर्षक र अत्याधुनिक बनाउने भन्ने सोचको भने अभाव छ । त्यसैले हाम्रो नयाँ पुस्ता खाँटी लोक र परम्परागत सङ्गीतमा कम आकषिर्त भएको देखिन्छ । यो अवस्थालाई सुधार्नका निम्ति हामीले हाम्रा सङ्गीत र बाजामा रहेका विशेषताहरूको अध्ययन र अनुसन्धान गर्नु आवश्यक छ । यस्तो अध्ययन र अनुसन्धान पनि अभिलेखालयमा थन्काउनतिर मात्र केन्दि्रत भएर पुग्दैन । हाम्रा सङ्गीत र बाजामा रहेका सबल पक्षलाई उजागर गरी कसरी विश्व-शैलीसित हाम्रो तादात्म्य मिलाउन सकिन्छ भन्नेतिर उन्मुख हुनु जरुरी छ ।

यसखाले शैलीबारे हाम्रो छिमेकका विश्वप्रसिद्ध सङ्गीतकार पण्डित रविशंकरको कार्यकुशलता सकारात्मक उदाहरण बनेको छ । रविशंकर पूर्वीय -हिन्दुस्थानी) ‘शास्त्रीय सङ्गीतका पितामह’ भनेर चिनिने अल्लाहउद्दिन खाँका शिष्य थिए । रविशंकर र उनको सितार वादनसित अनेकौं किंवदन्ती प्रचलित भए । ती किंवदन्ती पूर्वीय शास्त्रीय सङ्गीतमा रविशंकरको दक्षतासित जोडिएर आएका हुन्थे । कालान्तरमा तिनै रविले विश्वप्रसिद्ध सङ्गीत समूह ‘बिटल्स’लाई प्रभावित पारे । पप सङ्गीतबाट सुरु भएको पश्चिमसितको उनको संगत पछि गएर संसारभर फैलियो । उनका रचनालाई उनकै संलग्नतामा विश्वका अनेकौं ‘च्याम्बर अर्केष्ट्रा’देखि ‘सिम्फोनी अर्केष्ट्रा’सम्मले बजाए । रविशंकरका सिर्जना सुनेर पश्चिमका सङ्गीत समालोचकहरूले उनलाई ‘जीवित मोजार्ट’को उपाधिसमेत दिए । प्रारम्भमा रविशंकरले अपनाएको शैलीलाई उनकै देशका अगुवा र समकालीन शास्त्रीय सङ्गीतकर्मीले कटु आलोचना नगरेका होइनन् । तर रविशंकरको प्रसिद्धिसामु आलोचकहरूको अडान लामो समय टिक्न सकेन । पछि तिनै आलोचकले रविको प्रशंसामा बोल्न कर लाग्यो । खासमा पूर्वीय सङ्गीतलाई जस्ताको त्यस्तै राख्नुपर्छ भन्ने अति शुद्धतावादी सोचले रविको ‘अर्केष्ट्रेसन’लाई सुरुमा पचाउन नसकेका हुन् । तर रविशंकरले इमन, खमाज, हंशध्वनि लगायतका अनेकौं पूर्वीय रागमा आधारित रहेर ‘अर्केष्ट्रा’लाई सुहाउँदोगरी आपना सिर्जनाहरू तयार पारे । साथै रागलाई शुद्ध तरिकाले प्रस्तुत गर्ने शैलीलाई पनि निरन्तरता दिए । त्यसरी रविशंकरले पूर्वीय शास्त्रीय सङ्गीतको रङलाई पश्चिमी ‘अर्केष्ट्रा’ शैलीमा प्रस्तुत गर्दा भारतको सङ्गीतलाई के कति नोक्सानी भयो त ? एक औंश पनि नोक्सानी भएन । बरु रविशंकरका रचना सुनेर अनगिन्ती पश्चिमाले पूर्वीय शास्त्रीय सङ्गीतको दीक्षा लिन सुरु गरे । जसको प्रत्यक्ष फाइदा भारतीय सङ्गीत जगतलाई नै भइरहेको छ । हामीले पनि हाम्रा मौलिक रचनालाई विश्व-शैलीमा प्रस्तुत गर्नसकेमा सबै खाले फाइदा हाम्रै सङ्गीत जगतलाई हुने हो । कुनै विदेशीलाई होइन । लेखक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव हुन् ।

http://www.kantipuronline.com/np/2070/2/9/full-story/368586.html#sthash.Z7BGCs4Y.dpuf

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *