Skip to content

महेश्वर शर्माको समग्र व्यक्तित्व


‘एउटै मान्छे पनि भिन्नभिन्न मान्छेका आँखाले हेर्दा कति फरक फरक किसिमले देखिने रहेछ। कति धेरै किसिमले अर्थ लाग्ने रहेछ एउटै मान्छे।’

महेश्वर शर्माको ८२औँ वर्ष प्रवेशका अवसरमा प्रकाशित अभिनन्दन ग्रन्थ महेश्वर शर्मा : आलेख र अभिलेखमा शारदा शर्माको सम्पादकीय-प्राक्कथन यथार्थपूर्ण लाग्छ। हुन पनि संसारको सृष्टि संरचनामा मान्छे सबैभन्दा रहस्यमय र कहिल्यै बुझ्न र चिन्न नसकिने प्राणी हो। एउटा मान्छेलाई अरू दर्जनौँ मान्छेले हेर्दा भिन्न भिन्न रूपमा हेर्नु र बुझ्नु स्वाभाविक हो।

श्रीमद्भागवत्को दशम स्कन्धको ४३औँ अध्यायमा भनिएको छ, ‘जब श्रीकृष्ण ब्रजबाट मथुरा पुगे र रंगशालामा प्रवेश गरे। त्यतिबेला वरपर बसेका विभिन्न दर्शकमध्ये मल्ल-पहलमानहरूले कृष्णलाई बज्रजस्तै कठोर र शक्तिशाली पहलमानका रूपमा देखे, बुझे। साधारण व्यक्तिहरूले नररत्न अर्थात् सर्वश्रेष्ठ मनुष्य भन्ने ठाने, युवा नारीहरूले कामदेवको अवतार भन्ने बुझे, ग्वालाहरूले आफन्त बन्धुका रूपमा लिए। दुष्टहरूले दण्ड दिन सक्ने शासकझैँ ठाने, बूढाबूढीले आफ्नै छोरानातिजस्तो देखे, अज्ञानीहरूले कुनै ठूला मान्छे होलान् भन्ने सम्झे। कंशले चाहिँ महाकाल, मृत्यु आएको जस्तो देखे। योगीहरूले परम् तत्त्वका रूपमा प्रकट भएको भन्ने बुझे भने भक्त वृष्ण्िावंशीहरूले आफ्नो इस्टदेवका रूपमा चिने।’ भागवत् र श्रीकृष्णसँग जोडिएको यो कथन सामान्यभन्दा अलि माथि उठेका प्रत्येक व्यक्तिका निम्ति घटित हुन सक्छ।

पुस्तकभित्र समेटिएका एक दर्जनजति कविता, १७ वटा संस्मरणात्मक राजनीतिक विषयक आलेख, करबि चार दर्जन पारविारकि र सामाजिक सम्बद्ध दसवटा लेख, दुई दर्जनजति साहित्यिक, सांस्कृतिक योगदानबारेको विवरणात्मक परचिय, डेढ दर्जनजति कृति समीक्षात्मक आलेख अनि अन्त्यमा एक सय पृष्ठमा दिइएका तस्बिर र विभिन्न अभिनन्दन सामग्रीहरूले महेश्वर शर्माको व्यक्तित्व र कृतित्वलाई पर्याप्त रूपमा प्रकाश पारेका छन्।

१२ माघ १९८८ मा स्याङ्जाको थुम गाउँमा यशोदादेवी र रामप्रसाद पौडेलका सुपुत्रका रूपमा जन्मिएका महेश्वर शर्माले प्रारम्भिक शिक्षा आफ्नै पिताबाट प्राप्त गरेका र पछि बनारसबाट संस्कृत व्याकरणमा स्नातकोत्तर गरेको देखिन्छ। महेश्वरले चिकित्साशास्त्रको पनि उच्च अध्ययन गरेका रहेछन्।

००७ मा प्रजातान्त्रिक युगमा प्रवेश गरेको नेपालमा सामाजिक, राजनीतिक, सांस्कृतिक एवं शैक्षिक आदि क्षेत्र ज्यादै पिछडिएका थिए। यी क्षेत्रको उत्थानका निम्ति नै राजनीतिमा प्रवेश गरेका उनले ०१० देखि नेपाली कांग्रेस स्याङ्जाका सचिव बनेर काम गर्न थाले। पार्टीभित्र बढ्दै गएको गुट/उपगुटबाट दिक्क भएर नेपाल प्रजा परिषदमा प्रवेश गरेका शर्मा ०१७ सालमा राजनीतिक दल प्रतिबन्धित भएपछि पारिवारिक स्थिति सम्हाल्नुपर्ने परिस्थितिका कारण ०१८ देखि जागिरमा प्रवेश गरे। तीन दशक जागिरे जीवन व्यतीत गरी ०४९ मा सहसचिवबाट पजनीमा परी उनी मुक्त भए। यसपछि मात्र उनको लेखन क्षेत्रमा सक्रियता बढेको हो। उनका विविध विधामा दुई दर्जन कृति प्रकाशित भइसकेका छन्।

ग्रन्थको प्रारम्भमै गोविन्दराज विनोदीले शर्मालाई ‘वाङ्मय साधक’को उपाधि दिएका छन्। ‘जीवन चुनौती र अवसर दुवै हो’ भन्ने शर्मालाई ‘स्याङ्जाली चन्द्रमा’ पनि भनिएको छ। स्वाभिमानी व्यक्तित्व, प्रजातन्त्रवादी तर दह्रो खरो असल प्रशासक, विरलै पाइने व्यक्ति, रचनाधर्मिताका साधक, सेवाधर्मी तपस्वी, निडर समाजसुधारक, चिन्तनशील र कलात्मक लेखनका धनी, राष्ट्रिय चेतनाबाट प्रेरति, सामाजिक जागरणका अभियन्ता, निर्भीक लेखक, भद्र पुरुष, कर्तव्यनिष्ठ र लगनशील, कर्मयोगी, सत्यवादी, पि्रयवादी, प्रवल प्रवक्ता, एक्लो वृहस्पति आदि विशेषणद्वारा विभूषित गरेका छन्, ग्रन्थभित्रका करबि १ सय ५० जना लेखकले। शर्माका समकालीन लेखक, राजनीतिकर्मी, समाजसेवी, आफन्त, परिवारजन र अन्य शुभेच्छुकहरूका रचनाले यस ग्रन्थलाई झन् खँदिलो पारेका छन्।

“राजनीति गर्नेले प्रशासनमा हस्तक्षेप नगर्ने, प्रशासनमा बस्नेले पनि आफ्नो क्षमतालाई इमानदारीसाथ कसैको ताबेदारी नगरी निष्पक्ष र स्वतन्त्र प्रयास गर्ने हो भने मुलुकको उन्नति हुन धेरै समय लाग्दैन।” शर्माले भनेका छन्। तर, आज सम्पूर्ण मुलुक र जनतालाई राजनीतिक दल र नेताहरूले बन्धक बनाएर आफ्नो स्वार्थ पूरा गर्न मात्र प्रयोग गररिहेका छन्। त्यसो हुँदा मुलुक बन्ने सम्भावना सपनाजस्तै भएको छ।

प्रस्तुत कृतिको पहिलो पृष्ठमा प्रजा परिषद १९९७ काण्डका नायक रामहरि शर्माको शुभकामना पनि छ। कुनै विशिष्ट व्यक्तिको अवसानपछि स्मृतिग्रन्थ प्रकाशन गर्ने परम्परा रहेको हाम्रो मुलुकमा यसरी जीवनकालमा नै अभिनन्दन ग्रन्थ प्रकाशित गरेर व्यक्तिविशेषको जीवनयात्रा अझ सारपूर्ण बनाइदिनु ज्यादै महत्त्वको कुरा हो। यस कार्यमा तयारी समितिका संयोजक चेतन कार्की र सम्पादक शारदा शर्माको प्रयास प्रशंसनीय छ।

महेश्वर शर्मा : आलेख र अभिलेख
सम्पादक : शारदा शर्मा
प्रकाशक : गण्डकी साहित्य परिषद्
पृष्ठ : १३+५९४
मूल्य : ५०० रुपियाँ

नेपाल साप्ताहिक
अंक: ५६२
२०७० भाद्र २३
Sep 8, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *