चौरस्ताको सेरोफेरोमा मेरो कविता घुमिरहेछ,
निर्धक्कसित एउटा हातको
दुई औंलाले चुरोट च्यापि हिडने
किशोरवर्ग देख्दा यो दङ्ग पर्छ ।
ठिही लाग्दो गर्मीमा आइसक्रिम
चुस्ने युवतीका निला ओठ
रेलको अनुहार नदेख्ने युवकले
काला ओठमा च्यापेर
उडाउने धुवाँकको रेल,
बाबुको पसिनाको छाला काडेर
ब्यूटि पार्लर धाउने छोरी,
बाबुको ए.टी.एम.बोकेर
युवती डुलाउने छोराहरूका
जनसंखया हिजो-आज
चौरस्ताको सेरोफेरोमा
धेरै बढेको छ ।
दिनहुँको कुकुरहरूका
सम्मेलन र अधिवेशनले
चोरस्ताको सेरोफेरोमा
मेरो कविता पढेको छ ।
चाँप र गुराँसका बैंसले सेतम्मै
फुल्ने चौरस्ताको सेरोफेरोमा
हिजो-आज कोपिलामै ओइलाउने
बैंसले रक्तमै भएको छ ।
ड्रक्स र विदेशी रक्सीका बोतलहरूले
चौरस्ताको सेरोफेरो रङ्गी-चङ्गी भएको छ ।
राष्ट्रका घरेडी भनाउँदा
युवकहरू हिजो-आज
देवराज इन्द्र भएका छन् ।
स्कूल, कलेजमा होइन,
कहिले मेनका, रम्भा
र कहिले तिलोतमासित
चौरस्ताको सेरोफेरोमा दिन बिताउँ छन्
सिरकभित्र पसेर रात निदाउँ छन् ।
यसरी नै चौरस्ताको सेरोफेरोमा
मेरो कविता बाँचेको छ ।
एक दिन यहाँको स्वस्थ्य हावामा
श्वास फेर्ने आशा यसले साँचेको छ ।
रुद्र छेत्री, काशी हिन्दू विश्वविद्यालय
