त्यो बिरानो ठाउँमा,
अग्ला अग्ला हरिया पहाडहरू,
त्याहा सुनगाभा र सल्ल थिएन,
आँखाँ लोभ्याउने प्रकृतिक छटाहरू,
त्यहा मन लोभ्याउने कस्तुरी थिएन,
ह्याङ्ग त बगेकै हो,
त्याहा कोशीको चन्चलता थिएन,
फेरि म कसरी अडिन सक्थें?
त्यो बिरानो ठाउँमा,
ती सुकिला सडकहरूमा
मेरो गाउँको गोरेटो कम्ता खोजिन,
त्यो गगन चुम्बी भवनको टुप्पातिर
मेरो सगरमाथा कहिँ कतै भेटिन,
बाटो माथिको बाटो देखी थकाई लाग्दा,
मेरै भन्ज्याङ र चौतारी अहँ,कतै पाइन,
फेरि म कसरी अडिन सक्थें?
त्यो बिरानो ठाउँमा,
रंगी चंगी पहिरन माझ
गुडिया जस्ता सुन्दरी कति-कति,
तर
कसम होला,
चौबन्दी र फरिया पैरी
पटुकिले कम्मर कस्दै
स्याउ जस्ता गालासँगै
गाजलु आँखा झुकाई लजाउने
कोही मेरो सखी थिएन
फेरि म कसरी अडिन सक्थें?
त्यो बिरानो ठाउँमा,
हरेक गल्ली घुम्तीहरूमा
भोकाएका ब्वासाहरू
तिर्खाएका मृगहरू
गर्जिरहेका बाघहरू
अड्डा जमाई बसेको देख्दा
मैले मेरो सुरक्षाको निम्ति,
धेरै सम्झे उनीलाई
पल पल सम्झे उनैलाई
देख्छु कि कतै भनी
सुख्खा बगर जस्तो नजर
कोसौ टाढासम्म फालें,
तर
अहँ !
ऊ थिएन
उनको छायाँ थिएन
उनको जस्तो मायाँ थिएन
फेरि म कसरी अडिन सक्थें?
त्यो बिरानो ठाउँमा,
त्यही भएर
मलाई माफ गर,
कोरियाको मुटु सउल,
तिमी मेरो सपना भयौ,
कल्पना होइन !
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया