Skip to content


गाउँमा भुकभुके उज्यालो फैलिईसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो …सावित्राकी मम्मीले छोरी पाइछ ।’ बिहान उज्यालो हुँदा बिउँझेको यो समाचारले धारा, पाटी, पौवा, खेत गरा, चिया खाने पसल आदि सबैठाउँमा आफ्नो आयतन ओगेटिसकेको थियो ।

– “बिचरो रामप्रसादकी फेरि छोरी भई । ”

-” कठै धमाल्नी आमैकी फेरि नातिनी भइछ, बिचरी Û नातीको मुख हेर्न नपाई मर्ने भई ।”

-” ए फेरि छोरी पाइछे साबित्राकी मम्मीले Û”

– ” हैन जँचाएर आएका भन्थे रे नि, छोरा नै हुन्छ भन्थे रे नि !”

गाउँभरि क्रिया, प्रतिक्रियाहरू रोटेपिङमा दोहरी झुत्ता खेले झैं खेलिरहे । धेरै दिनदेखि गाउँमा उभिएको उत्सुकताको किलो आज सधैंको लागि उखेलिइसकेको थियो ।

आज दुइदिन भयो ऊ सुत्केरी भएकी । घरमा एक किसिमको शङ्का र अविश्वासको वातावरण छ । उसको कोठामा घरको कामधन्दा गर्ने सुन्तली बाहेक अरु कोही पसेका छैनन् । उसलाई खान मन छैन । प्रसवपीडासँगै जन्मेको मानसिक पीडाले उसको शरीर शिथिल भएको छ । मस्तिष्क शून्य भएको छ । पेटमा ज्वानोको झोलबाहेक केही परेको छैन …खा’ भनेर कर गर्ने कोही छैनन् । गाउँका दिदी बहिनीहरू पनि सहनभूति पोख्न कोही आएनन् । तेस्री छोरी जन्मदासम्म उनीहरू आएर सान्त्वना र ढाडस दिन्थे । अब उनीहरूलाई पनि लाग्यो होला त्यो सान्त्वना र ढाडसमा बासी भएर ढुसी लागिसकेको छ त्यसैले अब त्यसले खुराकीको काम हैन अपाच्यको काम गर्नेछ त्यसैले सहानुभूतिका खुराक पस्कन कोही पनि आएनन् । उसले पुलुक्क छोरीको मुहार हेरी । एउटा निर्दोष अनुहार सांसारिक विधि, वन्धन देखि टाढा निदाइरहेको थियो । उसले त्यहाँ आफ्नो प्रतिविम्ब देखी । आफ्नो अस्तित्व देखी । अन्धकार भविष्य लिएर झुल्केको निर्दोष अनुहारमा अनभिज्ञताका लहरहरू देखी ।

उसको मुटु टुक्रेको छ छोरी भएर जन्मनुको पीडाले । उसको शरीर जलेको छ , छोरीकी आमा हुनुको अभिशापले । उसको आकाश अन्धकार भएको छ । धरती भासिएको छ । जताततै दलदल छ पाइला राख्ने ठाउँ छैन ।

दुइ दिन अघिसम्म उसको श्रीमान् कति खुसी थियो । मुहारमा, ओठमा भविष्यमा आउने खुसीका किरणहरू छरिएका थिए । तीनवटी छोरी जन्मदा अस्पताल नलगेको उसको श्रीमानले यसपाली आफै अस्पताल लगेको थियो ।

त्यो उमङ्गको क्षण त्यो खुसीको लहर क्षणभरमा नै बिलाएको थियो चिसो हिउँमा सूर्यको किरण पर्नासाथ बिलाएझैं । क्षणभरमा नै उसको सारा संसार बदलिएको थियो । प्रसव पीडाबाट भर्खर मुक्त भएकी उसलाई त्यो समय , त्यो क्षण उसको जीवनमा सुनामी आएझैं भयो । त्यो सुनामीले उसको सारा विश्वास, इच्छा , चाहना र भविष्यहरू भत्काएर चकनाचूर पारिदिएको थियो । उसले कुनचाहिं देवतालाई भाकल गरिन कुनचाहिं व्रत गरिन , कुनचाहिं धामीझाक्री गरिन < प्रसवपीडापछि उसले ठूलो साहस बटुलेर डाक्टरलाई सोधेकी थिई के भयो भनेर । त्यसपछि उसले थाहा पाई के भयो भनेर । ऊ धेरैबेर बेहोश भई रे । जब उसको होश आयो तब उसले यथार्थलाई स्वीकार गर्ने आत्मबल पैदा गरिसकेकी थिई । त्यही आत्मबलले ऊ अहिले सम्म जीवित छे । उसले अँध्यारो अनुहार पार्दै भिडियो एक्सरे गर्ने डाक्टरलाई पनि सोधेकी थिई । डाक्टर साहेब के हुन्छ, छोरा कि छोरी < ' " यो त हामीले भन्न मिल्दैन, तपाइँका तीनवटी छोरी भइसकेका रहेछन् । फेरि किन पाउनुभएको <" " छोरा चाहिन्छ अरे, छोरा मात्र सन्तान हो रे छोरी होइनन् रे," यति भनि सक्दा उसले ठूलो सुस्केरा लिइसकेकी थिई । " छोरा र छोरी एउटै हो भन्ने बुझ्नुपर्ने हो तपाईंको श्रीमानले ।" उसको श्रीमानले नबुझेको त कहाँ हो र < "छोरा नभए सन्तान मासिन्छ , छोरी अर्काका घर जाने जात, छोरा नभई कहाँ हुन्छ र Û तँ छस् र तेरो सहारामा म छु । एउटा छोरा नभई कहाँ हुन्छ <" उसकी सासूले उसको श्रीमानको मास्टरी दिमागलाई यसरी संस्कारवादी धारणाले धोई पखाली गरिदिएकी थिई । गाउँको सरकारी स्कूलमा सामान्य तलब खाने उसको श्रीमानले आमाको इच्छा तोड्न , विश्वास मोड्न नखोजेको कहाँ हो र Û "आमा अहिलेको जमानामा के छोरा के छोरी < एउटै हुन् । ससुरालीमा पनि भन्न थालेका छन् - अब छोराको रहर नगर्नु भनेर । " " उनीहरूले नगर्नु भनेर कहाँ हुन्छ < हाम्रो वंश मासिदैन < एउटाबाट नभए अर्कोबाट हुन्छ । खुट्टा भए जुत्ता कति पाइन्छन् तेरा काईंला काकाका पनि जेठीबाट छोरा नभएर कान्छी ल्याएका हुन् नि त । " " कस्तो कुरा गर्नुभएको आमाले पनि Û म मास्टर मान्छेले बहुविवाह गर्न हुन्छ < आफैं मुखिया आफैं बाटो हगुवा गर्न हुन्छ < " " त्यसो भए पाउनुपर्छ एउटा छोरा तीनवटी छोरी मुनि धेरैका छोरा भएका छन् ।" आमाको व्यक्तित्वले प्रभुत्व जमाउन सफल उसको श्रीमानले जीवनमा आमाको निर्णयलाई कहिल्यै पनि नकार्न सकेको थिएन । सौता हाल्ने कुराले उसको मुटु घोचेको थियो । त्यसैले ऊ राजी भइदिई , लोग्ने र सासूको कठोर निर्णयमा उसको व्यक्तिगत स्वतन्त्रताको कुनै अर्थ रहदैनथ्यो । तीनवटी छोरीहरूको लालनपालन नै राम्रोसँग हुन नसकेको परिस्थितिमा अझ चौथो सन्तानको आगमनले उसले आफ्ना छोरीहरूले खाए खाएनन् केही हेर्न भ्याएकी थिइन । घरभरि एउटा सन्नाटा फैलिएको छ । सबैको बोलीचाली व्यवहारमा सुनामीले देखाएको महाप्रलयपछिको सन्नाटाझैं सन्नाटा फैलिएको छ । मनभरि कोही आक्रोश, कोही घृणा, कोही तिरस्कार , कोही वितृष्णा जन्माएर बसेका छन् । यो सब हुनुको कारक उही हो । ऊ नभएको भए यो सब हुने थिएन । उसैले निम्त्याएकी हो यो घनघोर आपत्ति उसले आफूलाई खतम पार्ने योजना बनाई । आफू नभए घरभरि शान्ति छाउने छ । ऊ रोई धेरै बेर रोई । धरतीले आफ्नो पीडालाई छाती पिटेर साउने भेल बगाएझैं , उसले पनि आफ्नो पीडालाई पखाली । ऊ छोरी भएर जन्मनुको पीडाले रोई , छोरी जन्माएको अभिशापले रोई । उसले बाँच्नुको कुनै सार्थकता देखिन । उसले आफूसँगै भोलि भाग्नु पर्ने नियतिका कर्तालाई पनि खतम पार्ने विचार गरी । तर समाजले के भन्छ < अरु छोरीको भविष्य के हुन्छ < यस्तै विचार गर्दै ऊ अथाह समुद्रमा डुब्दै उत्रदै गरी निकैबेर सम्म । छोरीको रुवाइले ऊ झस्की । मातृ वात्सल्य उर्लेर आयो । ऊ छोरी चेपेर फेरि रोई अघाउञ्जेल रोई । उसको पेट भरियो । ऊ टन्न भई । अनि छोरीलाई दूध चुसाउन थाली । ऊ हराउन पुगी जिन्दगीका रमाइला दिनहरूमा । सम्पन्न परिवारकी चेली लाउन खान उचालपछार थियो । के खाउँ, के लाउँ थिएन । तीन दाजुकी दुइ चेलीमा कान्छी चेली थिई ऊ । सबैले असाध्यै माया गर्थे । दाजुले ठेकेदार साथीसँग विहेको कुरा चलाउँदा उसको लोग्नेको काकाले उसलाई मागेको थियो । ठेकेदारीमा केही लेनदेन हुन्थ्यो । त्यही लेनदेनको सञ्जालमा उसको भविष्य दाउमा लाग्यो जुवामा दाउ लागे झैं । जात मिल्यो , केटो एक्लो छोरो, मास्टर जागिर अरु धनसम्पत्तिमा धेरै पोलिश गरेर नक्कली गहनालाई चम्काएझैं चम्काइएको थियो । यसरी होमिएको थियो उसको जिन्दगी दाजुको ठेकेदारी महायज्ञको आहुतिमा । उसले धेरै बुहार्तन सही घरमा । बाबुआमा र दाजुले गोडा धोएर कन्यादान गरेर दिएका ! उसको कर्तव्य जसरी भएपनि घर खानु थियो । उसले घर खाई । कहिले आँसु खाई , कहिले भोक खाई , कहिले पीडा खाई , कहिले तिरस्कार खाई , कहिले वितृष्णा खाई , उसले धेरै थोक खाई । खानुको कुनै सीमा रहेन । तर उसले माइतमा गएर घरको बखान कहिले सुनाइन । सधैं मीठो खाएको , राम्रो लाएको मात्र बयान गरी । घरको दुःख माइतमा देखाउँदा भाउजूहरूले होच्याएर व्यवहार गर्छन् भनेर कहिल्यै दु:ख देखाइन उसले । सुखमा बाँचेको अभिनय गरी रही । माइतीले केही हेरेका थिए । त्यसलाई उसले नकार्न सकेकी थिइन । बिहान उठेदेखि घरधन्दामा लाग्नु पाडाबाच्छा स्याहार्नु देखि लिएर फुर्सदमा खेतबारी सम्म तानिन्थ्यो उसको दायित्वको डोरी । उसलाई वर्षा कहिल्यै आएन, हिउँद कहिल्यै भएन,। आए भने धान रोप्ने दिन आए अनि धान काट्ने दिन आए । उसका खुसीका दिन भनेका तीज र दशै हुन्थे । यी दुइ चाडमा ऊ नयाँ लुगा पाउँथी अनि मीठामीठा खानेकुरा खान पाउथी । अझ खानेकुराभन्दा मीठो माइतमा धित मरुञ्जेल बसेर गफ गर्न पाउँथी । यी दिन नै उसको जीवनका रमाइला दिन हुन्थे । तर छोरीको सङ्ख्या बढ्दै जाँदा यस्ता कुरामा पनि उसलाई बन्देज लाग्न थालेको थियो । अब चौथो सन्तानको जन्मपछि त उसलाई माइत जान कर्फ्यू लाग्ने अवश्यम्भावी थियो । ठूली छोरी बेलाबखत उसको कोठामा आउने गर्थी । सुत्केरीलाई छुन हुँदैन भन्ने निर्देशनले अरु छोरी तर्केका थिए । ऊ सँग सम्वादमा अल्झने भनेकी ठूली छोरी मात्र थिई । ठूली छोरीले आमाको केही मात्र भएपनि पीडा बुझेकी र महसुस गरेकी थिई । उसले घरको प्रत्येक क्रियाकलापलाई सूक्ष्म निरीक्षण गरेकी थिई क्यार, त्यसैले उसको बाल हृदयले जे बुझेको थियो त्यो ओकली आमालाई । " मम्मी हाम्री बैनी भई भनेर बुबा र हजुरआमा रिसाउनु भएको हो < हामीसँग राम्ररी नै बोल्नु हुन्न । " उसले चिता झैं जलेको पीडालाई छातीभित्र नै दाहसंस्कार गर्दै भनी, "हो छोरी रिस त उठी हाल्छ नि छोरा भएको भए तिमीहरूको भाइ हुन्थ्यो । पछि तिमेरु माइत आउने ठाउँ हुन्थ्यो । तर के गर्नु भगवानले हात थामिदिएनन् । भगवान भन्ने सब मिथ्या रहेछ, छोरी । " "हामी पनि त छोरा जस्तै छौं नि हामीलाई छोरा भन्दा हुदैन मम्मी <" "हुन त हुन्छ नि नानी तर समाज , यही समाजले गर्दा मैले यत्रो सन्तानको भार खप्नु पर्‍यो नि , छोरी । आफ्नो मनले माने पनि समाजका मानिसहरू छोरीलाई मान्छे गन्दैनन् । हामीले पर्दैन भन्दा पनि उनीहरू हरदम खोतली खोतली छोराका कुरा निकाल्छन् । छोरा पाउन सकेन भनेर कस्तरी हाच्याएर बोल्छन् छोरी !" उसकी छोरीले कति कुरा बुझी कति बुझिन । उसलाई ख्याल भएन । उसले आमाको कुरामा कुनै प्रतिक्रिया जाहेर गरिन । उसले पुनः छोरीलाई सोधी, "नानी तिमीहरूका बुबा खोई त < " " बुबा,... त पंडित बाजेसँग पात्रो हेराउँदै हुनुहुन्छ !" "अनि के भन्दैछन् त <" उसले सोधी । " सानी बैनीको जन्ममिति मिलाउँदै हुनुहुन्छ, न्वारन गर्नलाई !" "अनि अरु के भन्दैछन् छोराको कुरा पनि गर्दैछन् त <" " अँ ,अब यो मुनि भाई जन्मदैन अरे त्यसैले हजुरआमाले बुबालाई अर्को विहे गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो ।" उसले अन्तिमको वाक्य राम्रोसँग बुझ्न सकिन , आँखा वरिपरि कालो भएर आयो केही देखिन , रिंगटा लागेर आयो । बेहोश होलाझैं भई , तर आफूलाई सम्हाली । उसको छाती एक्कासी बज्र जस्तै भयो । तीरले रोपेपनि केही नहोला जस्तो भयो । उ रुन खोजी, तर पटक्कै आँखाबाट आँसु झरेन । ऊ डराई । अझ आफूलाई पीडाले मर्माहत बनाई तर पनि आँसु आएन । उसलाई अचम्म लाग्यो । यो के भयो भनेर । उसलाई सान्त्वना दिनलाई कोही आइदिए पनि हुन्थ्यो जस्तो लाग्यो तर कोही आएनन् । अँह पटक्क आएनन् धेरैबेर बाटो हेरी । छोरी बैनीको मुख हेरेर बाहिरिइ सकेकी थिई । ऊ एकोहोरो टोल्हाई रही । धेरै टाढासम्म टोल्हाइ रही । क्षितिजभन्दा टाढासम्म टोल्हाइ रही । उसलाई थाहा भएन - यो दिन थियो कि रात ! उसको सामु विगत आयो , अनि वर्तमान र भविष्य । चार छोरीहरूका पीडादायक निरीह अनुहारहरू आए । उसले निर्णय गरी - जसरी पनि बाँच्नु पर्छ परिवार र समाजसँग संघर्ष गर्नुपर्छ । उसले एकैछिनमा सोची- ऊ सक्तिन । यौटी कमजोर महिलाले कसरी संघर्ष गर्न सक्छे , कसरी उभ्भिन सक्छे । जहाँ तहाँ बार र काँडाहरू छन् , घुम्ती र मोडहरू छन् । त्यो खोला ऊ कसरी तर्न सक्छे , जहाँ न कुनै सहारा छ न कुनै साधन । ऊ निर्णय ,अनिर्णयको बीच भौंतारिइ रही । के आफैं मरिदिनु सारा समस्याको हल हो < आखिर एकदिन मर्नै पर्छ । तर यी चार - चार निर्दोष छोरीहरूका याचना पूर्ण आँखाहरूले जीवनको भिख मागिरहेको कल्पना गरी उसले । ती भन्छन् -"हाम्रो के भूल थियो मम्मी Û हामीले के अपराध गरेका छौं मम्मी < " ऊ एकछिन मर्छे अनि अर्को क्षण बाँच्छे । ऊ बाँच्तै , मर्दै गर्छे । कतै टाढाबाट छोरीहरूले " मम्मी मम्मी " भनेर चिच्याएको आवाज सुन्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *