हामी सबैले नेपाललाई कृषि प्रधान देशकोरूपमा लिएका छौं । नेपालमा माटो व्यवस्थापनको तथा कृषि विकास कार्यक्रमको इतिहासलाई खोतल्न थाल्यो भने पौराणिक कालबाट सुरुगर्नु पर्दछ । नेपालको माटोको व्यवस्थापनलाई हेर्दा नेपाल उपत्याका नागदह नामक सरोवरको पेटमा थियो । हिन्दु अनुश्रुति अनुसार विष्णु र बुद्ध अनुश्रुति अनुसार मञ्जुश्रीले बागद्वारबाट पानीको प्रवाहमार्ग खोलेर काठमाण्डूको जमिनको व्यवस्थापन कार्यको थालनी भएको मान्न सकिन्छ । नेपालमा गोपाल वंशी राजाहरूले राज्य गर्दा बस्तीको आवाद तथा पशुपालनले अग्रसरता लिएको पाइन्छ । महिपाल शासनको समयमा भैसी पालनको कुराहरू, किरात र लिक्षवीकालमा कृषि व्यवसाय कमि थियो र कृषिमा जोडदिइएको थियो भन्नेकुरा पनि इतिहासबाटै थाहा लाग्दछ । शिवदेव प्रथमको पालामा कृषि तथा पशुमा लगाइने कर मद्धे लसुन र प्याजमा लगाइने कर माफी गरिएको थियो । माछामा लगाइने कर निकै घटाइएको थियो । यसबाट के थाहा लाग्दछ भने यी बस्तुको उत्पादनमा बढवा दिइएको थियो । कृषि विकासको लागि बल्खु खोलामा बाँध पनि शिवदेवको पालामा बनेको थियो । अंशुवर्माको पालामा कुलो बनाइदिने, पशुपालन व्यवसायमा कर हटाइदिने जस्ता कामहरू भएको पाइन्छ । नरेन्द्रदेवका पालामा पशुहरूको राम्रो स्यहारसुसार गर्नु पर्दथ्यो नत्र डण्डको भागी बन्न पर्दथ्यो । जय देवका पालामा पानीको बाँडफाँड कुलो पानीको बन्दोबस्त भएको पाइन्छ । रणबहादुर शाहाका पालामा रेखाङ्कन गरेर सेरा फाँटमा सेरा बगैचा लगाइयोे । जङ्ग बहादुरको पालामा पनि नुवाकोटको खिन्चेत फाँटमा खिन्चेत बगैंचा र गाडाखर गाउँमा गाडाखर बगैचाको स्थापना भयो । रणदिप सिंहले गंगुटारमा, चन्द्रसम्सेर, भिम सम्सेर र जुद्ध सम्सेरले पनि थाङ्सिङ्ग नुवाकोटमा र मुवारकोट काभ्रे जिल्लामा बगैचा स्थापना गरेको देखिन्छ । श्री ६ गुरुराज हेक राज पण्डित र कर्नेल श्री किसोर नारसिंह राणले कपान र इचान्गुमा दुईवटा बगैंचाको स्थापनाबाट बगैंचा स्थापनामा बैज्ञानिक करण भएको पाइन्छ । डाक्टर ज्ञानकुमार श्रेष्ठद्वारा लिखित Fruits Development In Nepal Past, present and future पुस्तकको अध्ययन गर्ने हो भनै हामीले नेपालमा वागवानी विकास सम्बन्धी धेरै ज्ञान पाउन सकिन्छ । १९३७मा श्री ३ महाराज चन्द्रसम्सेरको पालामा कृषि विकास बोर्डको / काउन्सिलको स्थापना भयो । यसैबाट कृषि विकासकार्य सरकारी निकायको सञ्चालनमा आयो । १९५०/५१मा कृषि विकास काउन्सिलबाट कृषि विभागको स्थापना भयो र अधिकार सहित कामको थालनी भयो । १९५१/५२मा गोदाबरीमा बिरुवा परिचय एकाईको रुपमा Plant Introduction unitsको स्थपना भयो । १९६०देखि १९६७ को बिचमा १४ वटा वागवानी केन्द्रको स्थापना भयो । १९७२मा कृषि विभागको संरचना परिवर्तन भयो १९९०मा NARCको स्थापना भयो । NARCले देशको आवश्यक्तालाई मध्यनजर राख्दै अनुसन्धानको कामको थालनी गर्ने भयो भने कृषि विभागले विकासको कामको (कृषिप्रसारको कामको) थालनी गर्यो । माथिको तथ्याङ्कबाट कृषिको कमाको थालनी परापूर्वकालदेखि हुँदै आए पनि आधुनिक कृषि कर्मको अग्रसरता भने प्रजातन्त्रको बहाली वि.सं २००७ साल पछिबाट अगाडि बढेको पाइन्छ ।
कृषि विकास कार्यक्रमलाई, टेवा दिनको लागि जेटी / जे टि ए तालिमको थालनी भयो । कृषिशिक्षा तथा अनुसन्धान विभागको स्थापना गरी कृषि शिक्षलाई बढवा दिने काम भयो । पछि गएर अनुसन्धान NARCले र कृषि शिक्षालाई रामपुर चितवनमा कृषि क्याम्पसले अगाडि बढायो । जनशक्ति विकासको लागि बिएस्सी कृषिको पढाईको थालनी भयो । आज देशमै कृषि शिक्षलाई अग्रगामी बनाउन पिएचडी सम्मको अध्यायन हुन्छ । कृषक र कृषि प्राविधिकहरूलाई दक्ष बनाउनको लागि केन्द्रदेखि पाँच विकास क्षेत्रमा कृषि तालिम केन्द्रहरूले कृषि शिक्षा दिंदै आएका छन् । देशले उत्पादनमूलक शिक्षाको शिक्षा प्रदान गर्नुपर्ने काममा जेजति प्रयास गरे पनि, जति जनशक्ति तयार पार्न खोजे पनि हालसम्मको परिपेक्षमा व्यवहारिकमूलक दक्ष जनशक्तिको अभाव भने खड्किरहेको छ । जसको प्रभाव कृषि उत्पादनमा प्रत्यक्ष पर्न गएको छ ।
संक्षेपमा भन्नुपर्दा आज कृषि उत्पादनलाई सरकारी र गैरसरकारी तवरबाट कामको तीब्रता दिन थालिएको छ । कृषकलाई सुशिक्षित पार्नको लागि कृषि तालिमहरू सञ्चालन भएका छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनबाट कृषि समाचार र प्रविधिप्रसारण गरिएको हुन्छ । यी सबै प्रयासको नतिजा देशले कृषि विकासमा मोड लिएको छ तर पनि जुनरूपमा कृषि उत्पादनले देशलाई आत्मनिर्भर गराउनु पर्ने थियो त्यो भने हुन सकिरहेको छैन । देश निर्यातमुखी नभएर आयतमुखी भएर गएको छ । देशका जमिन बाँझिन थालेका छन् । कृषिउत्पादनले कृषिमाहुने लागतलाई थाम्न धौ धौ भएको छ । कृषकका उत्पादनले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठीन परेको छ ।
देशमा हरितक्रान्ति ल्याउन कृषिबर्ष मनाइयो । कृषि उत्पादनका हरेक क्षेत्रलाई जोड दिइयो तर पनि देशले गरेको आशा अनुकुल कृषि उत्पादनले मोड लिन सकेन । यसमा सबैक्षेत्र सम्लग्न भएर काम पनि गरियो बजेट पनि प्रयोगमा आयो तर कृषि उत्पादनका तत्वहरू (मल, माटो, उन्नत बीऊ, सिञ्चाई, प्रविधि, बाली संरक्षण र त्यसलाई असर पार्ने तत्त्व बजार)लाई एकीकृत र संतुलित रूपमा प्रयोग गर्न सक्नुपर्दथ्यो तर सम्भव थिएन, गर्न सकिएन । कृषिउत्पान आकाशे (बर्षाको पानीको) भरमा छ । कृषि सूचना तथा सञ्चार केन्द्रको कृषि डायरी(२०७०)मा उल्लेखित तथ्याङ्कलाई अध्ययन गर्दा नेपालको खेती गरिएको ३०, ९१, ००० हेक्टर जमिनमा २०१०/११सम्म सिञ्चित क्षेत्रफल १२, ५४, २७२ हेक्टरमामात्र पूग्न सकेको छ । सिञ्चाइ विनाको कृषि कसरी सम्भव छ र ?
यो विषयलाई पुःन कृषि शिक्षातिर जोडौं । देशमा उत्पादन मूलक शिक्षाको लागि नयाँ शिक्षाको थालनी गरियो । कृषिमा पनि विद्यालयमा ४०० नम्बरको कृषि विषयमा अध्ययन गराइयो । सुरुमा तयार भएको जनशक्तिलाई जागीरप्रवेश सजिलो भएन, जागीरमा प्रवेश गरेपछि, कृषकलाई दिने ज्ञान त्यो जनशत्तितलाई प्रयाप्त भएन । कृषि विभागले त्यो जनशक्तिलाई तालिम दिएर सशक्त पार्ने प्रयास गर्यो ।
हाल आएर सरकारले प्राविधिक शिक्षाको केही स्कुलहरूमा थालनी गरेको छ । निश्चय पनि यो गौरवको विषय हो । प्राविधिक शिक्षामा कृषि शिक्षा पनि एक हो । यसलाई नौ कक्षाबाटै थालनी गरिएको छ । कृषि प्राविधिक शिक्षालाई राष्ट्रिय कृषि नीतिसँग जोडेर हेरौं । राष्ट्रिय कृषि नीति २०६१ले कृषि शब्दलाई द्रष्टव्यमा यसरी परिभाषित गरेको छ (“कृषि शब्दले बाली, बागवानी, पशुपंक्षी, माछा, आदि कृषिका सबै उपक्षेत्रसँग, सम्बन्ध उत्पादन, उद्योग, एवं व्यवसायहरू समेत जनाउँछ” । कृषि क्षेत्रले व्यापक क्षेत्र ओगट्ने भएकाले र ९ कक्षादेखि १२ कक्षासम्म यसको अध्ययन गराइने भएकाले कृषि नीतिले लिएको अवधारणालाई मध्यनजर राख्दै यो जनशक्तिलाई सैधान्तिक ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानमा जोड दिएर सुशिक्षित पार्नुपर्दछ ।
मेरो लामो जागीरको अनुभव र माटो व्यवस्थापन निर्देशनालयबाट पेन्सनमा जागिरबाट अवकास पाए पछि पनि विभिन्न संसथामा मेरो अपेक्षा गरिएको ठाउँमा म पुग्दछु र मैले जानेका विषयमा ज्ञान दिने काम पनि गर्दछु । यसै सिलसिलामा नवलपरासी, प्रगतिनगरको पृथ्वी मा.वि.मा प्राविधिक कृषि शिक्षाको महत्वको बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइदिनु पर्यो भन्ने अनुरोध भए पछि म त्यस स्कुलमा २/३ पटक जाने अवसर प्राप्त भयो । यस सम्बन्धमा कृषि शिक्षाका कक्षा सञ्चालन गर्नको लागि भौतिक पूर्वाधार सम्बन्धमा जस्तै कृषि प्रविधि शिकाउनको लागि आवश्यक प्रयोगशालाको स्थापना, कृषिबालीहरू उत्पादनको लागि व्यवहारिक ज्ञान दिन आवश्यक जग्गा र शिक्षक तथा विद्यार्थीको लागि आवश्यक पर्ने कितापहरूको लागि पुस्तकालयको व्यवस्था आदिबारे क्षलफल भए भने विद्यार्थी र अभिभावकलाई कृेषि विषय पढेमा/ पढाएमा त्यसबाट हुने फाइदा सम्बन्धमा प्रकाश पार्नुको साथै पाठ्रयक्रम पनि हेर्ने मौका पाएँ । पाठ्यक्रमलाई नियाल्दा, शिक्षकको संख्या हेर्दा र विद्यार्थीले पढ्ने सिफारिस गरिएका कितावको सूची अध्ययन गदार्, यस सम्बन्धमा पूर्वयोजना विना नै कृषि प्रविधिक शिक्षाको थालनी गरेजस्तो लाग्यो । भन्दा, कृषि भने पनि, बाउबाजेले गरेकै हुन् भन्ने अर्थ लगाए पनि कृषि शिक्षा एक गहन विषय हो । यसमा धेरै हाँगाहरू छन् । यसको क्षेत्र पनि ठूलो छ । प्राविधिक कृषि शिक्षाको थालनी पूर्व सरल, सहज र व्यवहारमा उतार्न सकिने खालको पाठ्यक्रम, ती पाठ्यक्रमलाई पूर्णता प्रदान गर्नसक्ने, सरल भाषामा नेपालीमा लेखिएका पाठ्य पुस्तकहरूको व्यवस्थापन हुनु आवश्यक थियो । तर यहाँ विदेशी लेखकका उच्च शिक्षामा पढाइने कितावहरू पाठ्यक्रममा राखिएको देखियो । यी पाठ्यपुस्तक न त सजिलेरी उपलब्ध हुन्छन् न त विद्यार्थीले सहजरूपमा बुझ्न नै सक्दछन् साथै न त गाउँघरका गरिब किसानहरूले महगा किताप जुटाएर छोरा छोरीलाई प्राविधिक शिक्षा नै पढाउन सक्ने सम्भावना हुन्छ । त्यसोहुँदा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारीमा सम्बन्धित निकायको ध्यान जाओस् भन्ने मेरो हार्दिक अनुरोध छ ।
आज देश लोकतन्त्रदेखि गणतन्त्रसम्मको परिवर्तनमा आइसकेको छ । गरिव कृषकले यो परिवर्तनबाट के पाए त ? परिवर्तन अनुसार जनताले शिक्षा, स्वास्थ, खाने पानी आदिमा मौलिकहक प्राप्त गर्न सक्नु पर्थ्यो तर हक हैन, जनतालाई राहतभन्दा जनताले आहत बढ्ता बोक्न परेको छ । युवायुवती विदेशमा रोजगारको लागि पलायन छन् । देशमा कृषि ज्यामीहरूको कमी छ । उच्च शिक्षा हाँसिल गरेका दक्ष जनशक्ति पनि विदेश जानै मन पराउँछन् । पढेलेखेकालाई कृषिमा काम गर्न मन लाग्दैन । खानमा दूधबसाउँछ तर गाईभैसीको गोवर गन्हाउँछ । शिक्षाले श्रममूलक जनशक्तिको उत्पादन गर्न सक्नु पर्ने थियो । दुर्भाग्य भनौं या के भनौं, कृषि पढेलेखेकै जनशक्तिले पनि आफ्नो दक्षता कृषि उत्पादन तथा कृषि व्यवसायमा लगाउनेको संख्या निकै कम छ । उत्पादनमूलक शिक्षा हुनको लागि प्राविधिक तथा व्यवसायिक शिक्षा नै अङ्गालु पर्दछ । हामीले जनशक्तिको उत्पादन गर्नु पर्दछ । यो उत्पान गरिएको जनशक्तिको श्रमलाई उत्पादनमा लगेर जोडेपछिमात्र, देशको उत्पादन बढ्छ । उत्पादनमा स्रोत र साधनको समोचित प्रयोगको पनि आवश्यक हुन्छ । भनिन्छ नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश हो । जैविक विविधताले भरिएको देश र जलस्रोतको दोस्रो धनी देश हो तर खोइ त यसलाई उत्पादनमूलक बनाइएको ?
अतः प्राविधिक शिक्षालाई व्यवहारमुखी बनाएकोमा देशले दक्ष जनशक्ति त पाउँछ तर उत्पादित जनशक्तिलाई राज्यले कुन कुन ठाउँमा लगायर विकासका कामहरू अघि बढाउने हो सोको पूर्वयोजना हुनुपर्दछ । यदि सो हुन सकेन र यो जनशक्ति पनि विदेशमै पलायन हुनपर्ने हो भने यो देश, विद्यार्थी र अविभावकको लागि दुर्भाग्य हुने छ । कृषि विकास तथा कृषि शिक्षामा धेरै कुराहरूलाई लेख्न बाँकिरहँदा रहदै आज भने यो लेखलाई यहीं बिटमार्ने अनुमति चाहान्छु ।
सदानन्द अभागी
नवलपरासी, कावासोती, शान्तिचोक
२०७०/६/७ गते
